अभियानलाई निरन्तरता देउ
सरकारले यसैसाता मुलुकलाई खुला दिसामुक्त घोषणा ग¥यो । सुर्खेत जिल्लालाई केही वर्षअघि नै खुला दिसामुक्त घोषण भइसकेको हो । खुला दिसामुक्त घोषणापछि जिल्लालाई पूर्ण सरसफाइयुक्त बनाउने बताइएको थियो । चार वर्षभित्रमा सुर्खेतलाई पूर्ण सरसफाइयुक्त घोषणा गर्ने लक्ष्यसहित वि.सं. २०७२ को चैतमा सरोकारवालाहरुसँग छलफल गरी रणनीतिक योजना बन्यो । तत्कालीन जिल्लास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डीवास–सीसी)ले गठन गरेको कार्यदलले पूर्ण सरसफाइ रणनीतिक योजना निर्माण गरेको थियो । जसको उद्देश्य थियो सन् २०२० सम्ममा राज्यले तोकेका पूर्ण सरसफाइका ६ वटा सूचकलाई पूरा गर्दै जिल्लालाई पूर्ण सरसफाइयुक्त घोषणा गर्ने । तर निर्धारित चार वर्षनजिकै आइपुग्दासम्म जिल्लामा सरसफाइ अभियान नै अलपत्र छ । यतिबेला निर्धारित योजना अनुसार जिल्लामा कुनै पनि सरसफाइ कार्यक्रम सञ्चालनमा छैनन् । जसले गर्दा सन् २०२० भित्रमा जिल्लालाई पूर्ण सरसफाइयुक्त बनाउने रणनीतिक योजनाको लक्ष्य पूरा नहुने भएको छ । किनभने अबको बाँकी अवधिमा त्यो सम्भव देखिदैन ।
सरसफाइ अभियानले व्यापकता पाउनुपर्ने हो । सुर्खेतमा भने सञ्चालन गरिएको अभियान नै अलपत्र परेको छ । यसले सरसफाइप्रतिको असंवेदनशीलता प्रष्ट बनाउँछ । सरसफाइको कमीले निम्त्याउने क्षतिप्रति नजरअन्दाज गरिएको छ । तर अब यसलाई बदल्न जरुरी छ । पूर्वनिर्धारित लक्ष्य र रणनीति अनुसार काम गर्न जरुरी छ । रणनीतिक योजनामा व्यक्तिगत सरसफाइदेखि घर–आँगनको सरसफाइ, स्वस्थ परिवार निर्माण, सुन्दर समृद्ध टोल निर्माण लगायतका विषय समेटिएका छन् । जिल्लालाई सफा स्वच्छ बनाउने, सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने, सार्वजनिक स्थानहरुमा आवश्यक मात्रामा सार्वजनिक शौचालय निर्माण गर्ने, विद्यालय सरकारी र गैरसरकारी संघ–संस्थामा सरसफाइ अभियान सञ्चालन गर्ने, फोहोरको वैज्ञानिक ढङ्गले व्यवस्थित गर्ने योजना बनाइएको थियो । जिल्लालाई खुला दिसामुक्त घोषणा गरिसकिएकाले पूर्ण सरसफाइ अभियान सञ्चालन गर्न सहज हुने अपेक्षा समितिको थियो । योजना कार्यान्वयनका लागि जिल्लाका तत्कालीन आधा दर्जनभन्दा बढी गाविसमा पूर्ण सरसफाइ घोषणा अभियान समेत सुरु भइसकेको थियो ।
सरसफाइ मानव जीवनका लागि अपरिहार्य त छँदैछ जिल्लाको प्रतिष्ठा र गौरवसँग पनि जोडिएको विषय पनि हो । त्यसकारण पनि सरसफाइलाई सम्बन्धित निकायहरुले पनि महत्व दिनुपर्दछ । मुलुक संघीयतामा गएको छ । यतिबेला तीन तहका सरकार सञ्चालनमा छन् । तर विगतमा तीव्रताका साथ सञ्चालनमा आएको अभियान नै अलपत्र पर्नु आफैमा दुःखद् छ । त्यसैले अब फेरि पनि स्थानीय तथा प्रदेश सरकारका साथसाथै सबै सरोकारवालाहरु मिलेर सरसफाइ अभियानलाई निरन्तरता दिन जरुरी छ ।
प्रकाशित मितिः १६ आश्विन २०७६, बिहीबार १६:५५
साझा बिसौनी ।