२८ वर्षदेखि शिक्षणमा

वीरेन्द्रनगर–१० का कृष्णबहादुर थापा पेसाले शिक्षक हुन् । श्री जनसेवा माध्यमिक विद्यालय घुस्रामा अध्यापन गराउँदै आएका थापा वि.सं. २०२८ साल पुस १२ गते दैलेखमा जन्मिएका हुन् । बुवा खम्मबहादुर थापा र आमा सुमित्रा थापाका जेठा छोरा कृष्ण नेपाल शिक्षक महासंघ जिल्ला समिति, सुर्खेतका अध्यक्ष समेत हुन् । समाजमा सबै किसिमका व्यक्ति उत्पादनमा सदैव खट्ने शिक्षक समाजको ऐना भएको उनको बुझाइ छ । आर्थिक समृद्धिका हिसाबले भन्दा पनि शिक्षण पेसा सेवाका हिसाबले एकदमै राम्रो भएको बताउने कृष्णबहादुर थापाले हाम्रा सहकर्मी सीता वलीसँग आफ्नो पेसागत जीवन कथा यसरी साटे ः

मेरो जन्म सामान्य कृषक परिवारमा भएको हो । बुवा राष्ट्रिय स्तरको कृषक हुनुहुन्थ्यो भने आमा गृहिणी । हामी पाँच भाइ थियौैं । म घरको जेठो छोरा भएकोले पनि ममाथि धेरै जिम्मेवारी थियो ।
पढाइमा समेत राम्रो विद्यार्थी थिएँ । तर मैले समयमै पढ्न पाइनँ । सामान्य लेखपढ गरे हुन्छ भन्ने बुवाको सोचका कारण कक्षा सातसम्म त पढ्न पाएँ त्यसपछि भने बुवासँगै कृषिमा काम गर्नुपर्ने भएकोले बुवाको आग्रहमा पढाइ छोडेँ । त्यो बेलामा कक्षा सातमा नै जिल्लास्तरीय परीक्षा हुन्थ्यो ।
बुवा चर्चित कृषक भएकोले घरमा धेरै मान्छेहरू अनुगमनको लागि आउँथे । त्यो बेला बुवाले आलु खेती गर्नुहुन्थ्यो । पढ्ने रहर हुँदाहुँदै पनि मैले विद्यालय छोडेर बुवालाई सघाउँदै आएको थिएँ । एक पटक हाम्रो घरमा स्वीस नागरिक हङ्स होल्ड खुर्सीको आउनुभएको थियो । उहाँले छोरालाई पढाउनुपर्छ भन्नुभयो तर बुवाले मान्नुभएन । उहाँले पटक–पटक बुवालाई छोरा पढाउनुपर्छ भन्नुहुन्थ्यो तर बुवाले मान्नु भएको थिएन । किन भने घरमा काम गर्ने अरु कोही पनि थिएन । त्यो बेला नै आलु खेतीको निरीक्षणको लागि अर्थसचिव देवेन्द्रराज पाण्डे र पत्रकार समेत रहनुभएका भैरब रिसाल मेरो घरमा आउनुभयो । त्यसपछि मेरो पढ्ने सपना पूरा भयो । मेरो बुवालाई उहाँहरूले यस्तो दवाव दिनुभयो कि घरमा शौचालय बनाउने र मलाई विद्यालय पठाउने गरी बुवासँग कुरा गर्नुभयो । अनि मैले पढ्न पाएँ ।
वि.सं. २०४८ सालमा मैले दोस्रो श्रेणीमा प्रवेशिका उत्तीर्ण गरें । यो बीचमा मेरो जीवनमा धेरै जनाले सहयोग गर्नुभयो । आरएसडीसी प्रोजेक्टमा काम गर्ने नारायण धिमालले समेत मलाई खुब सहयोग गर्नुभएको थियो । त्यो बेलामा अमेरिकी सरकारले पिसकोर भोलेन्टेयर शिक्षक राखेको थियो । अमेरिकी नागरिक लरियन भ्यास्लीले समेत मलाई ठूलो हौसला र सहयोग गर्नु भएको थियो । जसका कारण आज म यो स्थानमा छु ।
मैले करिब आधा जिन्दगी त शिक्षणमा नै व्यतित गरेको छु । कक्षाकोठामा शिक्षकहरूले ‘तिमी भविष्यमा के बन्छौं ?’ भनेर सोध्दा मैले सधैँ ‘हवल्दार (हली बन्छु) भन्थें ।’ किनकी मैले जोत्ने बाहेकको अरु सपना देखेकै थिएन । मेरो बुवा–आमाको समेत मलाई यो बनाउँछु वा त्यो बनाउँछु भन्ने सपना थिएन । सामान्य पढेर कृषिमा काम गरोस् भन्ने चाहना थियो सायद ।
म कक्षा आठमा अध्ययन गर्दै गर्दा मेरो घरमा आरएसडीसी प्रोजेक्टमा काम गर्ने नारायण धिमाल पुग्नुभयोे । त्यो बेलामा सवारी साधन खासै हुँदैनथे । उहाँले घ्यू र पाखी बोकाएर मलाई आफूसँगै सुर्खेत ल्याउनुभयो । जीवनमा एक पटक मात्रै सुर्खेत झरेको मेरो मनले दोस्रो पटक सुर्खेत झरेपछि काठमाडौं नै जाने मन ग¥यो । मैले नारायण दाइलाई काठमाडौं नै लैदिन आग्रह गरी बुवालाई चिठ्ठी लेखेर पठाइदिएँ ।
जीवनमा कहिल्यै गाडी नचढेको मैले जुत्ता समेत लगाउन पाएँ । काठमाडौंको एक महिने बसाइँले मलाई जीवनमा ऊर्जा थप्यो । सहरी वातावरणमा हुर्कन र बस्नको लागि राम्रो पढाइ आवश्यक रहेछ भन्ने मेरो बुझाइ भयो र म राम्रो पढाइ सुरु गर्न थालेँ । मसँगै ३५ जना विद्यार्थीले एसएलसी दिएका थियौं । त्यसमध्ये उत्तीर्ण हुने म मात्रै थिएँ ।
तर मलाई परिवन्दले शिक्षक बनायो । एसएलसी दिएलगत्तै २०४८ फागुन १ गतेदेखि शिक्षण पेसामा आवद्ध भएको हुँ । जुन विद्यालयमा म सानैदेखि अध्ययन गर्दै आएको थिएँ सोही विद्यालयमा मैले अध्यापन गराउन पाएँ । अनि मलाई प्रधानाध्यापकले अध्यापन गर्न दिनुभयो । तर मैले उक्त विद्यालयमा तीन महिना मात्रै अध्यापन गराउन पाएँ । त्यो बेलामा पञ्चायतका समर्थक (मण्डले) मेरै विद्यालयका प्रधानाध्यापक भएको हुनाले कृष्णप्रसाद भट्टराईको संयोजकŒवमा गठित सरकारले उहाँलाई फाल्यो । उहाँले नै मलाई दिएको अवसर पनि गुम्यो । त्यसपछि म काठमाडौं हानिएँ ।
काठमाडौंको त्रिचन्द्र कलेजबाट आईएस्सी गरें । निजी विद्यालयमा समेत पढाएँ । वि.सं. २०५२ सालमा म सुर्खेत फर्किएँ । डाइनामिक इन्स्टिच्यूट तथा निजी विद्यालयमा अध्यापन गराउन थालेपछि वि.सं. २०५५ सालदेखि जनसेवा माध्यमिक विद्यालयमा दरबन्दीमा शिक्षक भएँ । २०५९ सालदेखि २०६२ सालसम्म प्रधानाध्यापकको भूमिकामा समेत रहें । २०६३ सालमा आन्तरिक स्थायी भएर आजसम्म काम गरिरहेको छु ।
पेसाको हिसाबले शिक्षण पेसा एकदमै सम्मानित पेसा हो । विद्यार्थीको भविष्य शिक्षकले पहिल्यै देखेको हुन्छ । विद्यार्थीको मनोविज्ञान बुझेर शिक्षकले सधैं काम गर्दै आएको हुन्छ । तर सबै सरकारी सेवाको स्केल एउटै भए पनि शिक्षकले तलबमा मात्रै चित्त बुझाएको हुन्छ । अरु कर्मचारीले तलब चोखै बचाउने गर्छन् । विद्यालयको काममा कतै बाहिर जानुपरेमा यातायात वा अन्य कुनै शीर्षकमा पैसा आउँदैन । यथार्थ कुरा गर्नुपर्दा शिक्षकलाई भ्रष्टाचार गर्ने ठाउँ हुँदैन । त्यसैले शिक्षक सम्मानित र आदर्शको पेसा हो । समाजमा केही जिम्मेवारी सम्हाल्न नसक्ने शिक्षकहरू समेत छन् । तर ८० प्रतिशत शिक्षकहरू जिम्मेवारीबाट पन्छिएका छैनन् । पहिलेको कुरा गर्दा समाजमा वकिल, डाक्टर, नेता समेत शिक्षक हुन्थ्यो । तर अहिले त्यो अवस्था छैन । मलाई मेरो पेसाप्रति एकदमै सन्तुष्टी छ । यही पेसाबाट मैले समाजमा अगाडि बढ्ने मौका पाएको हुँ । तर मेरो परिवारमा म बाहेक अरु शिक्षक छैनन् । सबै व्यवसायमा आवद्ध छन् । आर्थिक हिसाबले मनग्य कमाउन नसके पनि पर्याप्त सन्तुष्टी शिक्षण पेसाबाट मिलेको छ । जीवनमा संघर्ष गरे सफलता हात पर्दो रहेछ भन्ने मेरो भोगाइ र बुझाइ छ ।

प्रकाशित मितिः   १५ आश्विन २०७६, बुधबार १४:०९