वर्षेनी बेचिन्छन् कर्णालीका छोरी

‘कर्णालीको गरिबीलाई मानव बेचबिखनको गिरोहले माध्यम बनाएको छ’ उनले थपे ‘यहाँका अधिकांश ग्रामीण क्षेत्रबाट सहरमा रोजगारीमा लगाईदिने वा विवाह गरी सुखसँग राख्ने बहाना बनाई आफन्तबाटै उनीहरू बेचिन बाध्य भएका छन् ।’

सीता वली
सुर्खेत : कर्णाली प्रदेशबाट हरेक वर्ष चेलीहरू बेचिने गरेको पाइएको छ । वर्षेनी यहाँका छोरी छिमेकी देश भारतलगायत अन्य क्षेत्रमा विभिन्न बहानामा बेचिँदै आएका छन् । रोजगारीमा लगाइदिने बहाना होस् या विवाह गरी सुखसँग राख्ने प्रलोभनमा होस् कर्णालीका जिल्लाहरूबाट उनीहरू वर्षेनी बेचिन बाध्य भएका हुन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको पछिल्लो चार वर्षको तथ्यांक हेर्दा हरेक वर्ष चेलीहरू बेचिने क्रम पनि बढेको देखिन्छ । चार वर्षमा प्रदेशभर २४ जना छोरी बेचिएको तथ्यांक प्रहरीसँग छ । २०७२ यता कर्णालीबाट २४ जना छोरी बेचिन बाध्य भएका हुन् ।

सुर्खेत जिल्ला मानव बेचविखनको दृष्टिले सबैभन्दा बढी जोखिममा रहेको प्रहरीको भनाइ छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीएसपी लोकनाथ तिमिल्सिनाका अनुसार चार वर्षमा सुर्खेत जिल्लाबाट मात्रै १० जना छोरी बेचिन बाध्य भएका छन् । आर्थिक वर्ष २०७२÷०७३ मा चार जना बेचिएका थिए भने ०७३÷०७४ मा दुई जना, ०७४÷०७५ मा तीन जना र ०७५÷०७६ सालमा एक जना गरी जम्मा १० जना सुर्खेत जिल्लाबाट बेचिएको उनले जानकारी दिए ।

त्यस्तै दैलेख जिल्लाबाट आर्थिक वर्ष २०७५÷०७६ सालमा दुई जना छोरी बेचिएका छन्  । सल्यान जिल्लामा भने दुई आर्थिक वर्षमा गरी पाँच जना बेचिन बाध्य भएका हुन् । आ.व. ०७२ ÷०७३ मा सल्यानबाट चार जना बेचिएका छन् भने ०७४÷०७५ मा एक जना बेचिएको डीएसपी तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार रुकुम जिल्लामा आ.व. ०७२÷०७३ मा तीन जना बेचिएका थिए । जुम्ला जिल्लाबाट तीन वर्षमा चारजना छोरी बेचिन बाध्य भएको प्रहरीले जनाएको छ । आ.व. ०७२ ÷०७३ र ०७३÷०७४ मा एक÷एक जना तथा आ.व. ०७४÷०७५ मा दुई जना बेचिएका छन् ।

तिमिल्सिनाका अनुसार कर्णालीको गरिबी र अशिक्षालाई कारण बनाउँदै मानव बेचविखनमा सक्रिय गिरोहले उनीहरूलाई बेच्ने गरेका छन् । विभेदमा परेका कर्णालीका छोरीहरू सानो प्रलोभनमा परेर घर छोड्न तयार हुने उनको तर्क छ । केही घटनाहरू आफन्तहरूबाट समेत भएको पाइएको तिमिल्सिनाले बताए । ‘कर्णालीको गरिबीलाई मानव बेचविखनको गिरोहले माध्यम बनाएको छ’ उनले थपे ‘यहाँका अधिकांश ग्रामीण क्षेत्रबाट सहरमा रोजगारीमा लगाइदिने वा विवाह गरी सुखसँग राख्ने बहाना बनाई आफन्तबाटै उनीहरू बेचिन बाध्य भएका छन् ।’ महिला अधिकारका क्षेत्रमा क्रियाशील आवाज संस्था सुर्खेतकी सिनियर काउन्सलर निशा पौडेलले समेत कर्णालीमा छोरा र छोरीमाथि गरिने विभेद मानव बेचविखनको प्रमुख कारण भएको बताइन् । ‘कर्णालीमा पुख्र्यौली सम्पत्ति छोराको लागि मात्रै दिने प्रचलन छ’ उनले भनिन् ‘शिक्षा, स्वास्थ्य र रोजगारमा समेत छोरी माथि विभेद हुने भएकोले उनीहरू स्वतन्त्रताको लागि दलालको फन्दामा पर्ने गरेका छन् ।’ कर्णालीको गरिबी र चेतनाको कमीका कारण समेत मानव बेचविखन बढी हुने गरेको उनको भनाइ छ । विशेष गरी १८ वर्षमुनीका किशोरीहरू बेचबिखनको जोखिममा परेको पौडेलले बताइन् । ‘चिनेजानेकै मान्छेहरू माध्यम बन्छन्’ उनले थपिन् ‘घरेलु हिंसा र विभेदबाट किशोरीहरू पैसा कमाउने वा जागिर खाने प्रलोभनमा परी बेचिन बाध्य भएका छन् ।’ यसलाई नियन्त्रण गर्नको लागि कर्णाली प्रदेश सरकार तथा स्थानीय तहहरूले विशेष खालको नीति निर्माण गर्नुपर्ने उनको भनाइ रहेको छ ।

यस्तै कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय महिला तथा बालबालिका शाखाका महिला अधिकृत अनिता ज्ञवालीले मानव बेचविखन न्यूनीकरणका लागि विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएको बताइन् । उनले कर्णाली प्रदेशमा विशेषगरी घरेलु हिंसाका कारण मानव बेचविखन बढेकोले १० वटै जिल्लाहरूमा सेफहाउस निर्माणको क्रममा रहेको पनि जानकारी दिइन् । प्रदेशका सुर्खेत, सल्यान, रुकुम पश्चिम, कालीकोट, जुम्ला, दैलेखमा सेफ हाउस निर्माण गरिसकेको बताउँदै अन्य चार जिल्लामा भने निर्माण गर्ने योजनामा रहेको ज्ञवालीको भनाइ छ । यो लगायत विभिन्न नाकाहरूमा चेतनामूलक पोष्टर तथा पम्प्लेटहरू टाँस्ने कार्यक्रम रहेको उनले जानकारी दिइन् ।

प्रकाशित मितिः   १० आश्विन २०७६, शुक्रबार १२:१५