हाईटेक नर्सरी योजना असफल

सीता वली
सुर्खेत : कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ मा उच्च प्राथमिकताका साथ ल्याएको ‘एक निर्वाचन क्षेत्र, एक हाईटेक नर्सरी’ योजना पहिलो वर्ष नै असफल भएको छ । प्रविधियुक्त हाइटेक नर्सरी स्थापना गर्ने योजनासहित विनियोजन गरिएको बजेट नै खर्च हुन सकेन ।
सरकारले हाईटेक नर्सरी प्रवद्र्धन कार्यक्रमको लागि १८ करोड बजेट विनियोजन गरेको थियो । त्यसमध्ये १५ करोड ८६ लाख ६४ हजार बजेट फ्रिज भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दश जिल्लाका २० स्थानीय तहलाई हाईटेक नर्सरी निर्माणको लागि बजेट अख्तियारी दिएको थियो । जसमध्ये चारवटा जिल्लामा नर्सरी निर्माण भएका छन् । तर ती पनि नाम मात्रका भएको पाइएको छ ।
कालिकोट जिल्लाको रास्कोट र खाँडाचक्र नगरपालिकाको लागि मन्त्रालयले अख्तियारी दिएको एक करोड ५० लाखमध्ये केही रकम खर्च भए पनि काम सम्पन्न नभएका कारण भुक्तानी रोक्का गरिएको छ । कृषि विकास कार्यालय कालिकोटका निमित्त प्रमुख भरत बस्नेतले दुई वटा नर्सरी मात्रै निर्माणको क्रममा रहेको बताए ।
डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका र जगदूल्ला गाउँपालिकामा सरकारले दिएको एक करोड ५० लाखमध्ये कृषि विकास कार्यालय डोल्पाले एक करोड १४ लाख खर्च भएको जनाएको छ । दुईवटा स्थानीय तहमा एक÷एक वटा नर्सरी निर्माण गर्नुपर्ने भए पनि ६ वटा नर्सरी निर्माण गरिएको कृषि विकास कार्यालय डोल्पाका सूचना अधिकारी सम्पत्ति बुढाले जानकारी दिए । उनले ६ वटा नर्सरी निर्माणमा एक करोड १४ लाख रूपैयाँ खर्च भएको जानकारी दिए ।
त्यस्तै सुर्खेतको पञ्चपुरी, गुर्भाकोट र वीरेन्द्रनगर नगरपालिकामा नर्सरी निर्माणको लागि चार करोडको अख्तियारी गए पनि ६९ लाख मात्रै खर्च भएको कृषि विकास निर्देशनालय सुर्खेतका निमित्त प्रमुख भक्तिराम शर्माले जानकारी दिए । उनले पञ्चपुरीमा कार्यविध अनुसारको हाईटके नभइ नाममात्रको निर्माण गरिएको समेत जनाए । कार्यविधिमा स्थानीय स्तरमा आवश्यकतालाई हेरेर निर्माणको काम गर्ने गरी व्यवस्था भएकोले उक्त नर्सरी निर्माण गरिएको बताए ।
त्यस्तै सल्यानको लागि मन्त्रालयले अख्तियारी दिएको एक करोड ५० लाख बजेटमध्ये जम्मा ३० लाख ३६ हजार रूपैयाँ खर्च भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा मात्रै नर्सरी निर्माण गरिएको छ । दैलेखको डुङ्गेश्वर, दुल्लू, महाबु र ठाटीकाँधमा समेत हाईटेक नर्सरी कार्यक्रम असफल भएको छ । मन्त्रालयका अनुसार जाजरकोटको भेरी नगरपालिका र छेडागाड नगरपालिकामा समेत हाईटेक नर्सरीको कार्यक्रम पूर्ण रूपमा असफल भएको छ ।
त्यस्तै रुकुम पश्चिमलाई मन्त्रालयले दिएको एक करोड ५० लाख रकम समेत खर्च हुन सकेन । हुम्लाको खार्पुनाथ र अदानचुली, जुम्लाको गुठीचौर र कनकासुन्दरी, मुगुको छायाँनाथ र शोरु गाउँपालिकामा समेत नर्सनीको काम नै सुरु नभइ रकम फिर्ता भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव हरिप्रसाद पण्डितले जानकारी दिए । उनले नर्सरीको लागि लगानीकर्ताले खर्चिनुपर्ने रकमका कारण यो कार्यक्रम सफल हुन नसकेको बताए । ‘मन्त्रालयले निर्माण गरेको कार्यविधि अनुसार सहकारी, समूह र फर्मले नर्सरी निर्माणको लागि सम्झौता गर्न सक्ने व्यवस्था छ’ उनले भने ‘तर सहकारीले ३० प्रतिशत, समूहले ४० प्रतिशत र फर्मले ५० प्रतिशत लगानी गर्नुपर्ने भएकोले उनीहरूले उक्त लगानी गर्न नसकेको कारण यो कार्यक्रम असफल भएको हो ।’ हाईटेक नर्सरी निर्माणमा सरकारले मात्रै सबै खर्च गर्ने भएको भए कार्यक्रम सफल हुने उनको बुझाइ छ । केही किसानहरूले कार्यविधि नै परिवर्तन गरी सबै लगानी सरकारले नै गर्नुपर्ने माग राखेको पण्डितले जनाए ।
सरकारले बजेट बनाउँदा हाईटेक नर्सरी कार्यक्रमको लागि २४ करोड छुट्याए पनि घाटा बजेटका कारण उक्त कार्यक्रमबाट ६ लाख बजेट घटाई १८ लाखको अख्तियारी दिएको थियो । तर उक्त बजेट पनि खर्च हुन नसकेको हो ।
प्रकाशित मितिः ८ आश्विन २०७६, बुधबार १२:३७
सीता वली ।