‘हिरो बन्छु भनेर घरबाट भागें’

शिरिष श्रेष्ठ व्यवसायी हुन् । साथै उनी कलाकारितामा पनि सक्रिय छन् । वि.सं. २०४२ चैत १५ गते बुवा दन्दनारायण श्रेष्ठ र आमा पातल श्रेष्ठको सन्तानका रूपमा धादिङको निलकण्ठ नगरपालिकाको मुरलीभन्ज्याङमा जन्मिएका हुन् । चन्द्रागिरी इन्टरप्राइजेजका सञ्चालक समेत रहेका उनले ११ वटा म्यूजिक भिडियो, केही डकुमेन्ट्री र फिल्ममा समेत अभिनय गरिसकेका छन् । व्यवसायी र कलाकारितालाई सँगसँगै अगाडि बढाएका श्रेष्ठले आफ्नो बाल्यकालको कथा हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेः

बाल्यकाल रमाइलोसँग बित्यो । समान्य परिवारमा जन्मिएको हुँ । हामी सात भाइबहिनी छौं । म कान्छो छोरा हुँ । मैले प्राथमिक तहको शिक्षा गाउँकै विद्यालयमा पढें । पढाइ राम्रो थियो । कक्षा ६ देखि देउराली निम्न माध्यमिक विद्यालयमा पढें । घरबाट जान झण्डै आधा घण्टा हिँड्नुपथ्र्यो । टाढा विद्यालय भएपछि पढाइ अलि कमजोर बन्दै गयो ।

बदमासी एक पटक गरेको सम्झना छ । विद्यालयमा दिउँसोको खाजा खाने समयमा एक पटक नजिकैको बारीबाट काँक्रा चोरेर खायौं । काँक्रा चोरेको थाहा पाइहाले । त्यसपछि नपढेर नै भागेर घर गयौं । दुई दिनसम्म त बारीमा मालिक आएनन् । केही समयपछि विद्यालयमै आइपुगे । आठ–दश जना साथीहरु थियाँै । शिक्षकले सबै जनालाई उठाएर सजाए दिनुभयो । ५० पटकसम्म उठबस गरेको अहिले पनि सम्झना आउँछ ।

म सानैदेखि कलाकारितामा रुचि राख्थें । मेरो लक्ष्य पनि कलाकार नै बन्छु भन्ने थियो । विद्यालयबाट, क्लबहरुबाट हामी सडक नाटक खेल्ने, सांस्कृतिक कार्यक्रम गर्ने गथ्र्यौं । विद्यालयमा हुने यस्ता कार्यक्रममा म सहभागी हुन्थें । बाहिर कार्यक्रममा पठाउनुपर्ने भएपछि मलाई नै विद्यालयबाट पठाउनुहुन्थ्यो । बाल्यकालमा पढ्न मन भन्दा पनि खेल्न र रमाउन नै बढी मन लाग्ने रहेछ । मलाई कलाकारितामै रमाउन मन लाग्थ्यो । खासमा भन्नुपर्दा म हिरो बन्छु भनेर घरमा थाहा नै नदिइ भागेर काठमाडौँ गएको थिएँ ।

काठमाडौंमा मेरो दाइ बस्नुहुन्थ्यो । मसहित तीन जना साथी गएका थियौं । कालिमाटीमा गएर दुई÷ढाई सयको तरकारी किन्यौँ । अनि गाउँबाट ल्याएर आएको भनेर लगेका थियौं । त्यसले गर्दा हामी भागेर आएका हौं भनेर दाइले थाहा पाउनुभएन । गाउँबाट हामी तीन जना साथीहरु भागेर गएका थियौं । बर्खे बिदामा गएकाले दाइले पनि घुम्न आएका होलान् भन्ने सोच्नुभएछ । तर मलाई हिरो कसरी बन्ने भनेर सिक्ने अवसरको खोजीमा थिएँ । केही दिनसम्म काठमाडौंमा घुमेर समय बित्यो । विद्यालय सुरु हुने समय भयो । दाइले कपडा र जुत्ता किनिदिनु भयो । घर जाने समयपछि म दाइबाट पनि भागेर साथीकोमा गएँ । बल्ल घरबाट भागेर आएको दाइले थाहा पाउनुभयो ।

दाइबाट भागेर गएपछि विशाल बजारको एउटा फेन्सी पसलमा काम गर्न थालेँ । काम गर्दै अभिनय सिक्ने र आफूलाई काठमाडौंमा बस्न पनि सकिने भएपछि कामको खोजी गरेँ । झण्डै एक महिना काम गरेपछि दशंै पनि आयो । घर आएँ । दशैं मनाएर काठमाडौँ फर्किने सोच बनाएँ । पहिलेको ठाउँमा थोरै तलब दिए । नौ सय मात्र पाएँ । न्यूरोडको एउटा फेन्सी पसलमा काममा लागेँ । त्यहाँ साहुले चिनेका डान्स सेन्टरका मान्छे रहेछन् । त्यसपछि म दिउँसोको समयमा काम गर्ने र बिहान साँझ मारुनी कला केन्द्रमा अभिनय सिक्न थालँे । दश बजेदेखि साँझ ७ बजेसम्म फेन्सी पसलमा काम गर्थें । दाइ पछि नेपालगन्जमा बसेर पसल गर्नुहुन्थ्यो । उहाँले मलाई नेपालगन्ज बोलाउनुभयो । फेन्सी पसल गर्नुभएको थियो । नेपालगन्ज केही समयसम्म गरेपछि सुर्खेत आइपुग्यौँ । अहिले पछिल्लो चार/पाँच वर्ष मैले एक्लै फेन्सी पसल गर्दै आइरहेको छु । व्यवसाय सँग–सँगै मैले कलाकारितालाई पनि अघि बढाएको थिएँ ।

सुरुमा स्वरुपराज आचार्यको ‘चटक्कै माया मारेर छोडी नजानु…’ गीतमा अभियन गरें । अहिले ११ वटा भिडियोमा अभिनय गरेको छु । कर्णालीमा जातीय छुवाछुत सम्बन्धीको अधुरो फिल्ममा खेल्ने अवसर पाएको छु । मेरो लागि व्यावसायिक र कलाकारितासँगै अघि बढेको छ । दुवैबाट सन्तुष्टी छु ।

बाल्यकालमा चाडपर्व भनेपछि रमाइलो लाग्थ्यो । नयाँ कपडा लगाउन चाडपर्व नै कुर्नुपर्ने हुन्थ्यो । दशैंमा बुवा–आमाले नयाँ कपडा किनिदिनु हुन्थ्यो । कपडा पूरानो भयो भनेर भन्दा अब बुवा–आमाले दशंै आउन लागेको छ भन्नुहुन्थ्यो । दशंैमा टिका लगाएर पैसा पाउने भएकाले पनि रमाइलो लाग्थ्यो । कागजका पैसा भन्दा पनि डरल पैसा पाइन्थ्यो । थोरै दिने पैसा, धेरै दिएको भए पनि हुन्थ्यो भन्ने लाग्थ्यो ।

बाल्यकालमा म चञ्चले स्वभावको थिएँ । अरुलाई सडक नाटक खेलेर हँसाउने, रुवाउने पनि गर्थें । हामी सामाजिक विकृतिविरुद्ध जनचेतनामूलक कार्यक्रम र बालअधिकार सम्बन्धी पनि सडक नाटक खेल्ने गथ्र्यौं । अहिले सुर्खेतमै घर बनाएर दाइ र म बसेका छौँ । बुवा–आमा धादिङमै हुनुहुन्छ । चाडपर्वको समयमा घर जाने गर्छौं । मैले आगामी दिनमा पनि व्यवसायसँगै कलाकारितालाई अघि बढाउने सोच बनाएको छु । यहाँ कर्णाली कलाकेन्द्रमा आवद्ध भएको छु । म केन्द्रको आजीवन सदस्य छु ।

प्रकाशित मितिः   ६ आश्विन २०७६, सोमबार १२:२७