बजार पाउँदै कर्णालीका स्याउ

                           जुम्लाकाे स्याउ

सुर्खेत : कर्णालीमा उत्पादित स्याउ यतिबेला मुलुकका प्रमुख सहरहरूमा छ्याप्छ्याप्ती भएका छन् । सुर्खेतको वीरेन्द्रनगर, बाँकेको नेपालगन्ज, बुटवल, काठमाडौं लगायतका सहरमा कर्णालीको स्याउले बजार पाएको छ ।

वीरेन्द्रनगरका चौकहरूमा राखिएका फलफूल व्यापारदेखि मण्डीहरूमा समेत कर्णालीको स्याउ भरीभराउ छन् । यतिबेला स्याउको सिजन भएकाले पनि कर्णालीबाट ल्याएका स्याउको मूल्य सस्तो छ । जसले गर्दा कारोबारमा पनि वृद्धि भएको व्यवसायीहरू बताउँछन् ।

यस्तै नेपालगन्ज बजारमा पनि कर्णाली प्रदेशका रसिलो स्याउको भरमार नै छ । एक किलोको एक सय देखि एक सय २० सम्म निकै सस्तो मूल्यको ताजा कर्णालीका स्याउले अन्य क्षेत्रका स्याउलाई नेपालगन्ज बजारबाट पाखा लगाइसकेको छ । नेपालगन्जमा अहिले कर्णालीबाहेक अन्यत्रका स्याउ आउनै छाडेको व्यवसायी मोहम्मद नसिम खाँले बताए । नेपालमा कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्ला, हुम्ला, कालिकोट, डोल्पा र मुगुको स्याउको खुबै नाम छ ।

जैविक मानिने भएकाले यो क्षेत्रको स्याउ प्रख्यात छ । नेपालगन्जका फलफूल व्यापारीहरू अहिले कर्णाली जिल्लाका स्याउ बिक्रीमा व्यस्त छन् । जुम्ला लगायतका जिल्लामा मोटरबाटो पुगेकाले अहिले सडक मार्गबाटै स्याउ आउँदा सस्तो पर्ने गरेको छ । नेपालगन्जमा दैनिक चार–पाँच ट्रक स्याउ आउने गरेको स्याउ व्यापारीहरू बताउँछन् । स्याउका खुद्रा व्यापारी असलम अन्सारीले कर्णालीको स्याउ रसिलो हुने भएकाले यहाँबाट उपभोक्ताले काठमाडौंमा पनि लैजाने गरेको
बताए । कर्णालीको स्याउले नेपालगन्जमा राम्रो बजार लिएपछि त्यहाँका किसानलाई पनि राम्रो फाइदा पुगेको छ । नेपाल फलफूल सागसब्जी व्यवसायी संघ नेपालगन्जका सदस्य मेराइलाल साहु भन्छन्, ‘कर्णालीबाट अहिले एकै जातको स्याउलाई दुई वर्गमा विभाजित गरी नेपालगन्ज पठाउने गरिएको छ ।’ नेपालगन्ज ल्याइएका कर्णालीको स्याउ यहाँबाट बर्दिया र कैलालीमा पनि पठाउने गरिएको व्यवसायी साहुले बताए ।

प्रकाशित मितिः   २४ भाद्र २०७६, मंगलवार १२:०५