चेक बाउन्समा कडाई

काठमाडौं : चेक बाउन्समा राष्ट्र बैंकले कडा नीति लिएको छ । निर्देशन तथा परिपत्रमा संशोधनको व्यवस्था गर्दै राष्ट्र बैंकले बैंकहरूलाई नयाँ व्यवस्था लागू गर्न भनेको हो ।

नयाँ व्यवस्था अनुसार एक पटक भुक्तानी नभइकन फिर्ता भएको चेकको हकमा, चेक धारक (चेकको रकम पाउनुपर्ने व्यक्ति)ले कम्तीमा दुई कार्यदिनको समय दिई सम्बन्धित बैंक वा वित्तीय संस्थामा पुनः चेक पेश गर्न सक्नेछ । दुई दिनपछि पनि रकम भुक्तानी नभएको खण्डमा चेकको रकम पाउनेले भुक्तानी गर्नुपर्ने बैंक वा वित्तीय संस्थामा लिखित रूपमा जानकारी दिन सक्नेछ । यस्तो निवेदन चेक जारी भएको मितिले ६ महिना भित्र दिइसक्नु पर्नेछ । चेकको हस्ताक्षर नमिलेको खण्डमा, बैंकले चेकको हस्ताक्षर नमिलेको व्यहोरा चेक धारकलाई लिखित रूपमा जानकारी गराउनु पर्नेछ ।
चेक धारकले चेकको हस्ताक्षर नमिलेको व्यहोरा चेक दिने व्यक्ति वा संस्थालाई बैंक÷वित्तीय संस्थामार्फत जानकारी गराउनु पर्नेछ । चेक दिनेले चेकमा सही हस्ताक्षर नगरेमा वा चेक परिवर्तन नगरेमा धारक (चेकको रकम पाउनुपर्ने व्यक्ति)ले पहिलो पटक चेक पेश गरेको २ कार्यदिन पश्चात चेकको रकम भुक्तानी गर्नुपर्ने बैंक वा वित्तीय संस्थामा लिखित रूपमा जानकारी दिन सक्नेछ । जानकारी प्राप्त भएपछि सम्बन्धित बैंक वा वित्तीय संस्थाले चेक दिनेलाई चेकको रकम भुक्तानी गर्न सार्वजनिक बिदा बाहेक सात दिनको सूचना दिनुपर्नेछ । सो मितिभित्र पनि रकम भुक्तानी हुन नसकेमा चेक दिनेलाई बैंक वा वित्तीय संस्थाले अनिवार्य रूपमा कालोसूचीमा सूचीकृत गर्न कर्जा सूचना केन्द्रमा लेखी पठाउनु पर्नेछ । त्यस अनुसार नगरेमा बैंक तथा वित्तीय संस्थालाई नै कारबाही हुनेछ ।

प्रकाशित मितिः   २४ भाद्र २०७६, मंगलवार १२:००