सुर्खेतमा ‘डान्स’ आतङ्क, प्रथम हुने लोभले ऋणको भारी

IMG_20160705_122544साझा बिसौनी दैनिक
सुर्खेत, २१ असार ।
कला र संस्कृतिको संरक्षण तथा नयाँ प्रतिभाको खोजी गर्ने बहानामा सुर्खेतमा ‘डान्स’ आतङ्क मच्चाइएको छ । ‘डान्स सुर्खेत डान्स’ को नाममा अहिले सञ्चालन भइरहेको नृत्य प्रतियोगिताले धेरै परिवारमा बेचैनी बढेको छ । प्रतियोगितामा उत्कृष्ट अवार्ड हात पार्ने सपना देखेका अधिकांश प्रतिस्पर्धी र तिनका परिवार यतिबेला उल्टै ऋणमा डुबेका छन् ।
प्रतियोगिताको अन्तिम चरण अन्तर्गत आउँदो शनिवार वीरेन्द्रनगरमा फाइनल प्रतिस्पर्धा हुँदैछ । गत वैशाखबाट सुरु भएको प्रतियोगितामा ८० जनाले भाग लिएका थिए । तर विभिन्न चरण पार गर्दै अब ६ जनाबीच मात्र प्रथम स्थानका लागि प्रतिस्पर्धा हुनेछ । त्यसका लागि आयोजकले सबै प्रतिस्पर्धीलाई एकसय रूपैयाँ मूल्य निर्धारण गरिएको टिकटका ठेली थमाएका छन् । नृत्यमार्फत् प्रतियोगितामा उत्कृष्ट छनौट हुनुपर्ने हो, तर अब जसले धेरै टिकट बिक्री गर्नेछ, उसैले अवार्ड हात पार्नेछ । कारण आयोजकले बिक्री भएको एउटा टिकट बराबर एउटा भोट मानेका छन् । टिकटलाई नै भोटको मान्यता दिइएपछि यतिबेला प्रतिस्पर्धी र तिनका परिवारलाई टिकट बेच्न भ्याइनभ्याइ छ ।
प्रतियोगितामा अरुलाई उछिन्दै अहिले दिपेश दर्लामी, सुशीला शाही, दीपा थापा, पूर्णिमा गिरी, सपना अधिकारी र आरती शाही उत्कृष्ट ६ मा परेका छन् । उनीहरू आयोजकले पहिलो चरणमा थमाएका २५ रूपैयाँ मूल्यका टिकट सबैभन्दा बढी बिक्री गरेर फाइनलमा प्रवेश गरेका हुन् । स्रोतका अनुसार नृत्यमा उत्कृष्ट हुँदाहुँदै टिकट बिक्री गरेर आयोजकले तोकेको रकम बुझाउन नसकेकै कारण धेरैजना प्रतिस्पर्धाबाट बाहिरिएका छन् । वीरेन्द्रनगर निवासी एक किशोरीले अघिल्लो चरणमा टिकट बिक्री नभएपछि परिवारसँग रोइकराइ गर्दै २५ हजार मागेर आयोजकलाई बुझाइन् । छोरीको अवार्ड जित्ने सपना पूरा गर्न भन्दै परिवारले सहकारीबाट उक्त रकम ऋण निकालेका थिए । तर उनी फाइनलमा पुग्न सकिनन् । कारण उनले थप टिकट बिक्री गर्न सकिनन्, परिवारले पनि रकम दिन सकेन । उनको अवार्ड हात पार्ने सपना बीचमै तुहियो ।
उत्कृष्ट ६ भित्र पर्न सफल सपना अधिकारी मंगलवार आफ्नी आमासँगै वीरेन्द्रनगरमा टिकट बेच्न हिँडेकी थिइन् । तर कसैले पनि उनको टिकट किनेनन् । घरको आर्थिक अवस्था कमजोर छ । राम्रो नृत्य गर्ने सीप र कला दुवै उनीसँग छ, तर प्रतियोगिताको अवार्ड हात पार्ने उनको आश मरिसक्यो । ‘पहिला १५ हजार दिएँ, अहिले १० हजारको टिकट हातमा छ’ सपनाकी आमा निर्मला अधिकारीले भनिन्, ‘नृत्य प्रतियोगिता भन्छन्, हामीलाई यो टिकट बेच्न दिएका छन् । टिकट बिक्री हुँदैन, घरबाट दिउँ भने पैसा पनि छैन ।’ टिकट बिक्रीको आधारमा छोरीले भोट पाउने भएकाले अब आफूहरूले अवार्ड जित्ने आश मारिसकेको उनको भनाइ छ । अर्की प्रतिस्पर्धी पूर्णिमा गिरीको परिवार पनि तनावमा छ । कारण उनको परिवारले छोरीले अवार्ड जित्ने आशमा हालसम्म करिब ८० हजार खर्च गरिसकेको छ । पूर्णिमाकी आमा सरिता गिरीले भनिन्, ‘यो राम्रो नाच देखाउने प्रतिस्पर्धा हो कि टिकट बिक्री गर्ने ? टिकट बिक्री नहुँदा छोरीको इच्छा पूरा गर्न घरबाटै पैसा दिएका छौं ।’ उनले आफूसँग अहिले आयोजकले दिएको ५० हजारको टिकट बाँकी नै रहेको बताइन् । टिकट बिक्री नभएपछि अधिकांशले टिकट घरमै फालेर त्यसको मूल्य बराबरको रकम आफन्तसँग ऋण मागेर आयोजकलाई बुझाएको पाइएको छ ।
प्रतियोगितामा अवार्ड हात पार्ने अठोट गरेका दिपेश दर्लामी अहिले नाच्ने अभ्यास छोडेर टिकट बेच्दै हिँडेका छन् । उनी आफूलाई जिताउन आग्रह गर्दै चोकचोकमा टिकट किन्न हारगुहार गरिरहेका छन् । सोचेजति टिकट बिक्री नभएपछि उनलाई पनि अवार्ड फुत्किने चिन्ताले पिरोलेको छ । स्रोतका अनुसार उनले घरमा रहेको खसी बिक्री गरेर भए पनि आयोजकलाई पैसा बुझाउने तयारी गरेका छन् । अवार्ड जित्ने आशमा सुशीला शाहीले आफन्तलाई टिकट बेच्न नेपालगन्ज पठाएकी छन् । उनले भनिन्, ‘आजसम्म २५ हजार बुझाएकी छु, अहिले ६५ हजारको टिकट हातमा छ । यो बिक्री नभए पनि घरबाट मागेर दिनुपर्ने भयो, पहिला पनि रोएर मागेपछि घरबाट पैसा दिनुभयो ।’ उनले टिकट बिक्रीको आधारमा उत्कृष्ट छनौट गर्ने भनिएकाले पनि टिकट बेच्दै हिँड्नु परेको दुखेसो पोखिन् । ‘नाच्ने सीप र प्रतिभाको कदर भएन, पैसाको पो प्रतिस्पर्धा भो’ उनले थपिन्, ‘यो तरिका राम्रो लागेन, नाच मन पराएको आधारमा सबैले एसएमएसबाट भोट गर्ने व्यवस्था हुनुपर्छ । यसमा त जसले धेरै पैसा बुझायो उही उत्कृष्ट हुने भयो, पैसा नहुनेहरू क्षमता हुँदाहुँदै हार्नुपर्ने भो ।’
अभिभावकहरूले प्रतियोगिताको नाममा आयोजकले कमाउ धन्दा सुरु गरेको गुनासो गरेका छन् । उनीहरूका अनुसार आयोजकले उत्कृष्ट २७ बाट प्रतिस्पर्धीलाई टिकट बेच्न लगाएका थिए । आयोजकले हालसम्म टिकट वापतको करिब १५ लाख रूपैयाँ लगिसकेको स्रोतको दाबी छ । डान्स प्रतियोगिताको नाममा पैसाको प्रतिस्पर्धा गराएर आफूहरूलाई ऋणको भारी बोकाइएको अभिभावकको दुखेसो छ । साथै उनीहरूले तत्काल टिकट बिक्रीको साटो एसएमएस भोटिङको व्यवस्था गर्न माग गरेका छन् । अहिलेकै अवस्थामा प्रतिभा र सीपले भन्दा धेरै पैसा बुझाउनेले अवार्ड हात पार्ने उनीहरूको आशंका छ । यता प्रतियोगिताको आयोजक श्रीनाथ फिल्मस् एण्ड प्रोडक्सन हाउस प्रालिले भने प्रतिस्पर्धी र उनीहरूका अभिभावकले आफै टिकट लगेको जिकिर गरेको छ ।
प्रालिका अध्यक्ष मुकुन्दनाथ योगीले भने, ‘हामीले कसैलाई पनि जबरजस्ती टिकट थमाएका छैनौं, उनीहरूले आफै सहयोग गर्छौं भन्दै लगेका हुन् । भोटिङमा १० प्रतिशत मात्र नम्बर दिइनेछ, बाँकी प्रतिभाको मूल्याङ्कन हुनेछ ।’ उनले घुमाउरो भाषामा कार्यक्रमको व्यवस्थापन खर्च जुटाउनका लागि टिकट बिक्री गरिएको स्वीकार्दै टिकट बिक्रीको आधारमा उत्कृष्ट छनौट नहुने जिकिर गरे । प्रतियोगितामा प्रथमलाई अवार्डसहित नगद ६० हजार, दोस्रोलाई २० र तेस्रो स्थान प्राप्त गर्नेलाई १० हजार रूपैयाँ पुरस्कार प्रदान गरिने बताइएको छ ।

प्रकाशित मितिः   २२ असार २०७३, बुधबार ०६:३६