मिलनसार सुरेश

सुरेश मानन्धर वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर ९ का वडा अध्यक्ष हुन् । वि.सं. २०३७ असार १९ गते आमा भगवती मानन्धर र बुबा गशेणमान मानन्धरको सन्तानका रूपमा उनी सुर्खेतको वीरेन्द्रनगर–९ लाटीकोइलमा जन्मिएका हुन् । नेपाली कांग्रेसको भ्रातृ संगठन हुँदै राजनीतिमा प्रवेश गरेका मानन्धर स्थानीय तहको निर्वाचनबाट वडाअध्यक्ष बने । राजनीति सँगसँगै सामाजिक अभियानमा पनि सक्रिय मानन्धरले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटे :

म बाल्यकालदेखि नै मिलनसार स्वभावको थिएँ । त्यसैले साथीभाइ पनि धेरै थिए । नयाँ साथी बनाइहाल्थें । सबैलाई सकेको सहयोग गर्थें ।
बाल्यकालमा साथीभाइहरुसँग खेल्नुका साथै पढाइमा नै धेरै समय बित्यो । साथी भनेपछि म हुरुक्कै हुन्थें । उनीहरुकै घरमा गएर दुई-तीन दिनसम्म बस्थें । कहिलेकाहीँ त बुबाआमा बोलाउन जानुहुन्थ्यो । साथीहरु पनि मेरो घरमा आएर बस्थे । साथीहरुसँग खेल्ने, रमाउने मन धेरै हुन्थ्यो । घर नजिकै विद्यालय भएकाले पढ्न समस्या भएन । सामुदायिक विद्यालयमा नै पढेको हुँ ।

मेरो परिवार पहिलेदेखि नै पढेलेखेको थियो । बाजेदेखि नै सबैले पढ्दै आउनु भएको थियो । सुर्खेतमा सरकारी कार्यालय ल्याउनुमा मेरो बाजेको पनि भूमिका छ । उहाँ तत्कालीन मालपोत अड्डाको हाकिम हुनुहुन्थ्यो । बुबा पनि शिक्षा शाखाको प्रमुख हुनुहुन्थ्यो । आमा शिक्षक हुनुुहुन्थ्यो । त्यसैले पनि पढ्नुपर्छ भन्ने वातावरण घरमा थियो । घर नजिकै विद्यालय भएको हुँदा दिउँसो छुट्टीको बेलामा खाजा खान घरमै आउँथ्यौँ । बाटोमा मकै बारी लगाएका बोडी चोरेर पनि आधा अघाइसकेका हुन्थ्यौं । बाटोमा हिँड्दै मकै बारीमा बोडी चोरेर खाँदा रमाइलो लाग्थ्यो । विद्यालय नजिकै शिव मन्दिर भएकाले त्यहाँभित्र गएर फलफूल धेरै नै चोरेर खाइयो । मन्दिर परिसरमा फलफूलका बोटहरु थिए । एक जना गुरुआमा हुनुहुन्थ्यो । उहाँबाट लुकेर फलफूल चोरेर खान्थ्यौं । कहिलेकाहीँ उहाँले थाहा पाएर स्कुलमै गाली गर्न आउनुहुन्थ्यो । तर पनि उहाँलाई छलेर फलफूल चोर्न पुगिहाल्थ्यौं ।

विद्यालयमा पढ्दा शब्दार्थ विषय थियो । यो विषय पढ्न धेरै गाह्रो लाग्थ्यो । एक पटकमा सरले एक सय वटा शब्द पढ्न दिनुहुन्थ्यो । एउटा मात्र बिग्रियो भने एकसय पटक नै पिटाइ खानुपथ्र्यो । सरले पिट्नुहुन्छ भनेर पनि कण्ठ गरिन्थ्यो । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा भाग लिन्थेँ । प्रायः कार्यक्रम गर्नुपर्दा मैले नै अगुवाई गर्ने गर्थे । साथीहरुलाई जम्मा गर्नेदेखि केही कार्यक्रम गर्न अघि सर्थें । हामी सामाजिक कामहरुमा पनि सहभागी हुन्थ्यौँ । कसैलाई अप्ठेरो परेको छ भने मैले केही गर्नुपर्छ भन्ने भावना थियो ।

लाटीकोइलीक्षेत्र धार्मिकक्षेत्र भएको ठाउँ । काँक्रेविहार, शिव मन्दिर भएकाले पनि यो ठाउँ महत्वपूर्ण छ । त्यसैले पनि धार्मिक तथा सांस्कृतिक मेलाहरुमा सहभागी भइन्थ्यो । लाखे जात्रा, गाइजात्रा र रोपाई जात्रामा अझ विशेष रमाइलो हुन्थ्यो । आफूभन्दा ठूलोसँगै जात्रामा रमाउने गथ्र्यौं ।
चाडपर्व धेरै रमाइला लाग्थे । विशेष गरेर देउसी भैलो खेल्न रमाइलो लाग्थ्यो । देउसी भैलो खेल्न इत्राम, नयाँ गाउँसम्म पुग्थ्याँै । हामी पैसा धेरै पाइन्छ भनेर जिम्दार, सरकारी कार्यालयका हाकिमका घरघरमा पुग्थ्यौं । त्यस बेलामा दश, बिस रुपैयाँ दिए भने धेरै दिएको जस्तो लाग्थ्यो ।
पहिले काँक्रेविहार जंगल अहिलेको भन्दा घना थियो । बाघ, भालु, जरायो जस्ता जनावर देख्न पाइन्थ्यो । जरायोहरु घरकै आँगनमा आउँथे । जनावर देख्दा रमाइलो लाग्थ्यो । अहिले त्यहाँ काँक्रेविहार निर्माण भइसकेको छ । पहिले भत्किएको ठाउँ मात्र थियो । त्यहाँ जान डर लाग्थ्यो । कहिलेकाहीँ सरकारी निकायका प्रतिनिधि र सुरक्षाकर्मी जाँदा हामी उनीहरुसँगै जान्थ्यौँ ।

लाटीकोइलीमा त्यति विकास भएको थिएन । सडक, बत्ती, पानीको सुविधा थिएन । टाढा कुवामा पानी लिन जानुपथ्र्यों । हाम्रो घरमा पढाइ बाहेक पानी बोक्ने काम हुन्थ्यो । प्रायः पानी लिन जान्थ्यौं । विद्यालयमा पूर्व व्यावसायिक शिक्षा पढ्नुपथ्र्यो । केही न केही काम गर्नुपर्ने हुन्थ्यो । हामीले माटाका भाँडा बनाउन सिकेका थियौं ।

बाल्यकालमा सामाजिक कार्यमा बढी रुचि भए पनि पढेर केही गर्नुपर्छ भन्ने थियो । बुबा–बाजे जागिरे भएकाले पनि सोच त्यतातिर जान्थ्यों । तर समाजिक कार्यमा सहभागी हुँदाहुँदै राजनीतिमा जोडिएँ । एसएलसीपछि पढ्न नेपालगन्ज गएँ । त्यहाँबाट फर्किएपछि नेपाली कांग्रेसको तरुण दलमा आवद्ध भएर राजनीतिमा प्रवेश गरेको हुँ । अहिले यही ठाउँमा जनप्रतिनिधि भएको छु । जनताको अपेक्षा धेरै छन् । एकै पटक पूरा नभए पनि विस्तारै सहज हुँदै जान्छ भन्ने अपेक्षा छ ।

प्रकाशित मितिः   १६ भाद्र २०७६, सोमबार १२:२१