अवैध रुपमा कोरिया प७ाइएका युवा अलपत्र

कोरिया : क्षेत्राधिकारभन्दा बाहिर गएर सुर्खेतको पञ्चपुरी नगरपालिकाले अवैध बाटोबाट दक्षिण कोरिया कामदार पठाउँदा ५ युवा अलपत्र परेका छन् । मौसमी कामदारको रूपमा कोरिया प्रवेश गर्न लागेका ५ नेपाली युवा १८ दिनदेखि यहाँको इन्छन विमानस्थलमा अलपत्र परेका हुन् ।

पञ्चपुरी नगरपालिकाले कोरियाको ख्यङगीदो प्रान्तको पोछन नगरपालिकासँग ३ महिनाका लागि मौसमी नेपाली कामदार पठाउने सम्झौता गरे पनि नगरपालिकाले गैरजिम्मेवारीपूर्वक दलाललाई जिम्मा लगाएको पाइएको छ । स्थानीय तहलाई कामका लागि युवा विदेश पठाउने क्षेत्राधिकार नभए पनि युवाहरूलाई कोरिया पठाइएको हो ।

दुवै देशका नगरपालिकाहरूबीच आपसमा सम्झौता गरेर तोकिएको समयमै नेपाली कामदार कोरिया पठाउनुपर्नेमा पञ्चपुरी नगरपालिकाले दलाललाई जिम्मा दिएर प्रक्रिया लम्ब्याएको पाइएको छ । विमानस्थलमा कामदार अलपत्र परेको समाचार कोरियाका स्थानीय पत्रिकाले प्रकाशित गरेका छन् । साथै, दुई नगरपालिकाबीच कामदार आपूर्ति गर्ने सम्झौता भएको पनि समाचारमा उल्लेख छ । समयावधि सकिएर कोरिया पुगेका कामदारलाई विमानस्थलले रोकेको हो ।

कोरिया सरकारले नेपाली कामदारसँग गत अप्रिल २० भित्रै कोरिया प्रवेश गर्नुपर्नेगरी सी–फोर भिसामा सम्झौता गराएको भए पनि नगरपालिकाको लापरवाहीका कारण ती युवा तीन महिना ढिलो अगस्ट १३ मा मात्र कोरियास्थित इन्छन विमानस्थल उत्रिएको कोरियास्थित अध्यागमन कार्यालयले जनाएको छ । यसअघि अप्रिल २० भित्रै कोरिया प्रवेश गराउन नगरपालिकाले प्रयास गरेको थियो । पञ्चपुरी नगरपालिकाले स्थानीय युवाका साथै बाहिरी जिल्लाका युवालाई पनि सिफारिस गरेको थियो । उनीहरूलाई समयमै पठाउन प्रयास गरिए पनि नेपालस्थित अध्यागमनले त्रिभुवन विमानस्थलले रोकेको थियो । गलत कागजपत्र पाइएपछि ती २८ जनालाई विमानस्थलले गत महिना रोकेको थियो ।

नेपालबाट सम्भव नभएपछि दलालले नै सेटिङ मिलाएर १३ जना नेपालीलाई तोकिएको समयभन्दा ढिलो गरी भारतमार्फत कोरिया पठाएका थिए । अगस्ट १२ मा भारतको कलकत्ता विमानस्थलबाट उडाएर अर्को दिन अर्थात् अगस्ट १३ मा मात्रै उनीहरू कोरिया
उत्रिएका थिए । तर, कोरियास्थित इन्छन अन्तर्राष्ट्रिय विमानस्थलले निजहरूको भिसा यसअघि नै रद्द भइसकेको भन्दै प्रवेश गर्न नदिएपछि उनीहरू अलपत्र परेका हुन् ।

विमानस्थलमा अलपत्र परेको १८ दिन बितिसक्दा पनि कतैबाट उनीहरूले सहयोग पाउन सकेका छैनन् । अंग्रेजी भाषा पनि कमजोर रहेका आठ नेपाली आफ्नै खर्चमा नेपाल फर्किसकेका छन् भने पाँच जना विमानस्थलमै रहेको बताइएको छ । दलालमार्फत आएका उनीहरूका विषयमा आफूहरूले केही गर्न सक्ने अवस्था नरहेको सोलस्थित नेपाली दूतावासको तर्क छ । नगरपालिकाले आफ्नै तरिकाले सम्झौता गरेर पठाएकाले उनीहरूको विषयमा दूतावास जिम्मेवार नरहने दूतावासको भनाइ छ ।

अलपत्र परेका पाँच जनामध्येका एक रामबहादुर थापाले भिसाको अवधिबारे पूर्व जानकारी नपाउँदा कोरियामा अलपत्र परेको जनाएका छन् । पीडित थापालाई उद्धृत गर्दै दूतावासले जनाए अनुसार उनीहरूले यसको दोष पोछन नगरपालिकालाई लगाएका छन् । भिसा रद्द गरिदिएको सूचना समयमा नदिएका कारण आफूहरू अलपत्र परेको पीडित युवाको भनाइ छ ।

पोछन नगरपालिकाले भने तोकिएको समयमा कामदार उपलब्ध नगराएपछि उनीहरूको भिसा रद्द गरिएको जनाएको छ । यस विषयमा नगरपालिकाले नेपाल सरकारलाई पत्र लेख्दै यस्तो हुनुको कारण माग गरे पनि अहिलेसम्म जवाफ नआएको जनाएको छ । भिसा रद्द भइसकेका उनीहरूलाई पुनः भिसा लगाउन नसकिने भएकाले सकेसम्म छिटो नेपाल फर्किन यहाँको अध्यागमनले आग्रह गरेको छ ।

रोजगार व्यवस्थापन शाखाका प्रमुख तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगानाले नेपाली कामदारहरूलाई नगरपालिका तथा गाउँपालिका लगायत स्थानीय तहहरूले आफूखुशी सम्झौता गरेर नेपाली कामदार पठाउन नमिल्ने बताए । ‘कोरिया रोजगारीमा नेपाली कामदार पठाउन सरकारले इपिएस शाखा खडा गरेको छ, सोही शाखाले कोरियाली सरकारको माग अनुसार नेपाली कामदारको आपूर्ति गर्न सहजीकरण गर्दै आइरहेको छ,’ सहसचिव ढुंगानाले भने ।

यता पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले नेपाल लाइभसँगको कुराकानीमा आफ्नो बचाउ गरे । क्षेत्राधिकारभन्दा बाहिर गएर कामदार पठाइएकोबारे उनले भने, ‘संघ र प्रदेश सरकारसँग बुझ्दा नमिल्ने जानकारी पाएँ । नगरपालिकामार्फत पठाइएको छैन ।’ कोरियाबाट पोछन नगरपालिकाले कामदार पठाउन पत्र पठाएको भने उनले जानकारी गराए ।
(नेपाल लाइभबाट)

प्रकाशित मितिः   १५ भाद्र २०७६, आईतवार १२:३१