ज्येष्ठ नागरिकको सेवामा समर्पित
उनी बिहानैदेखि हतारमा हुन्छिन् । घरायसी काम काज सक्नुपर्छ । श्रीमान् कार्यालयतिर लाग्छन् । छोराछोरीलाई विद्यालय पठाएपछि बल्ल उनी घरबाट निस्किन्छिन् । जागिरका लागि होइन सेवाका लागि । वीरेन्द्रनगर–८, आवासक्षेत्र सुर्खेतकी बालकुमारी कार्की ज्येष्ठ नागरिकहरूको सेवामा समर्पित छिन् । ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा सेवकको रुपमा काम गर्छिन् । विगत १३ वर्षदेखि उनले सेवा केन्द्रमार्फत् ज्येष्ठ नागरिकहरूको सेवा गर्दै आएकी छन् । वि.सं. २०२६ साल असोज २५ गते बुवा झुपलाल ढकाल र आमा सरस्वती ढकालको कोखबाट घरकी माइली छोरीको रुपमा जन्मिएकी बालकुमारी सानैदेखि सेवा गर्न रुचाउँथिन् । वि.सं. २०६३ सालमा स्थापना भएको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र वीरेन्द्रनगर–८ आवासक्षेत्रमा उनले निःशुल्क सेवा गर्दै आएकी छन् । वृद्ध सेवा नै धर्म भएको बताउने कार्कीले आफ्नो सेवाकर्मको कथा हाम्रा सहकर्मी सीता वलीसँग यसरी साटिन्ः
त्यो बेलामा छोरीलाई पढाउने चलन थिएन म घरकी माइली छोरी । म भन्दा अगाडि दुईजना दाइ र एक जना दिदी हुनुहुन्छ । बुवा–आमा कृषि गर्ने । हामी सात भाइ–बहिनी थियौं । त्यो बेलामा छोरीलाई पढाउने भन्ने हुँदैनथ्यो । आमाले एकदमै कर गरेर पढाउन खोजे पनि बुवाले छोरीलाई पढाएर के गर्ने हो र ? भन्नुहुन्थ्यो ।
आमाको दबावले गर्दा मैले कक्षा आठसम्म मात्रै पढ्न पाएँ । पढ्दा पढ्दै विवाह गरेँ । त्यो बेलामा मेरो उमेर जम्मा पन्ध्र वर्षको थियो । विवाहपछि पढ्न पाइएन् ।
म सानैदेखि सामान्य स्वभावको थिएँ । आमाले घरमा धान कुटेर ल्याउनु भयो भने त्यो चोरेर दुःख पाएका वृद्धवृद्धाहरूलाई दिन्थें । धेरैलाई पकाएर खान दिने, औषधि खुवाइदिने गर्थें । अरुलाई सहयोग गर्दा औधी खुशी लाग्थ्यो । वचपनदेखि नै मेरो सामाजिक सेवामा रुचि थियो ।
भाइ–बहिनी धेरै भएर पनि होला धेरै दुःख गर्नुप¥र्यो । पढ्न पाएको भए राम्रो जागिर खाने रहर थियो । त्यो भने पूरा हुन पाएन । किनभने छोरीलाई पढाउनु हुँदैन भन्ने समयको समाजमा हामी जन्मियौं । अहिलेको जस्तो छोरीहरूका लागि सजिलो समय थिएन त्यो । सेवा नै जीवनको अन्तिम लक्ष्य मैले ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा सेवा गर्न थालेको १३ वर्ष भयो । वि.सं. २०६३ सालमा स्थापना भएको सेवा केन्द्रमा स्थापनाकालदेखिनै मैले सेवा गर्दै आएकी छु ।
श्रीमान् वीरेन्द्रनगर नगरपालिकाको सेक्युरिटी गार्डमा जागिर गर्नुहुन्छ । चार जनाको परिवार छ । छोराछोरीलाई विद्यालय पठाएपछि हरेक दिन म पनि सेवा केन्द्रतिर जान्छु । बिहान १० बजेदेखि करिब चारबजेसम्म मेरो दिन दिवा सेवा केन्द्रमा नै बित्छ ।
वृद्ध सेवा केन्द्रमा आउने ७०÷८० जनालाई पानी, नास्ता र सरसफाइ गर्दैमा दिन बित्छ । उहाँहरू त्यहाँ आएपछि सुख–दुःखका कुरा गर्ने, भजनकृतन गर्ने गर्नुहुन्छ । त्यसमा म पनि सरिक हुन्छु । मलाई त्यसमा आनन्द लाग्छ । सानैदेखि अरुको सेवामा मेरो मन जाने भएर होला मलाई ज्येष्ठ नागरिकहरूको सेवा गर्न पाउँदा एकदमै खुशी लाग्छ ।
तलबविना नै काम गर्नुपरेको छ भन्ने मेरो मनमा कहिल्यै आएन । बरु मलाई पनि भोलि यस्तै दिन आउँछ, आज मैले गरेको सेवाले पूण्य कमाउँछु जस्तै लाग्छ । जसले सेवा गर्छ उसैलाई पूण्य मिल्छ । मनदेखि नै सेवा गर्नुपर्छ भन्ने भावना जागृत भएर आउँछ ।यो सेवामा मेरो श्रीमान्को समेत देन छ । कहिलेकाहीँ म बिरामी पर्दा मेरो श्रीमान्ले समेत यहाँ आएर सेवा गर्नुहुन्छ ।
पढाइ धेरै छैन, केही जागिर गरौँ भने पनि पाइदैंन । दिनभरी वल्लो घर र पल्लो घर जानु भन्दा वृद्ध बा–आमाहरूलाई सेवा गर्नु नै उचित लागेर मैले यसो गरेकी हुँ । त्यसको अलवा खाली समयमा सर्वोत्तम पिठो समेत उत्पादन गर्दै आएका छौं । रिङ्गरोड स्वास्थ्य आमा समूहमा रहेर हाम्रै टोलका १९ जना दिदी–बहिनी मिलेर हप्ताको दुईदिन उक्त काम गर्दै आएका छौं । त्यसबाट भने केही सानो रकम आम्दानी हुन्छ । घरको आर्थिक अवस्था सामान्य भए पनि मेरो लागि यही सेवा नै जीवनको अन्तिम लक्ष्य बनेको छ । हाम्रो समाजमा पैसाको लागि धेरैले गलत काम गर्दै आएका छन् । सेवा गरे पनि निःशुल्क सेवा गर्ने कमै मात्रामा भेटिन्छन् । तर मलाई यही सेवामा रमाइलो छ । आगामी जीवन पनि यही सेवामा नै बिताउने योजना बनाएकी छु । सेवा नै धर्म हो ।
प्रकाशित मितिः ११ भाद्र २०७६, बुधबार १३:१७
सीता वली ।