बगायो सपना सबै बाढीले

कति राम्रो संसार थियो । जे भने पनि पु¥याउने श्रीमान् । उहाँ हुँदा कहिल्यै दुःखको महसुस गर्न दिनुभएन । गाउँको दुःखमा रमाइरहेको हाम्रो परिवार डुङ्गेश्वर गाउँपालिकाको पराजुल भन्ने ठाउँबाट अझै धेरै सुखभोग गर्नको लागि सुर्खेत झरेको थियो । आजभन्दा करिब १० वर्ष पहिले हामी सुर्खेत झरेका हौं । गाउँमा भन्दा यहाँ झनै रमाइलोसँग हाम्रा दिनहरू बितिरहेका थिए ।

सुर्खेत झरेको केही वर्षमै हामीहरूले वीरेन्द्रनगर–७ मा एउटा घर समेत किन्यौं । छोराछोरीलाई समेत पढाएकै थियौं । खान लगाउन केही कुराको कमी थिएन । १० लाख हालेर किनेको घरमा मेरो श्रीमान् एक महिना पनि बस्न पाउनुभएन । उहाँ बिरामी पर्नुभयो र मृत्यु भयो । त्यसपछि पनि उहाँले कमाएर छोडेको घरमा हाम्रो सात जनाको परिवार सुख दुःख काट्दै थियो । सामान्य मजदुरी गरेर भए पनि आफ्नो छानोमुनी बसेर खान पाएका थियौं । चाडपर्व आउँदा श्रीमान्को सम्झनामा म एक्लै रुन्थें । तर पनि छोराछोरीको खुशीको लागि मन सम्हालेर दिनचर्या अगाडि बढाएकै थिएँ । एक दिन हाम्रो जीवनमा अर्को बज्रपात आइलाग्यो ।

२०७१ साल साउन २८ गतेको कुरा हो । मेरो श्रीमान्को मृत्युदर्ता बनाउनको लागि म दैलेख गएकी थिएँ । पानी त त्यो दिन पनि धेरै नै परेको थियो । तर यसरी मेरो घरै उजाडिन्छ भन्ने मैले कल्पना सम्म पनि गरेकी थिईन । एकल महिला भत्ता पाउने आशमा श्रीमान्को मृत्यु भएको करिब ५ वर्षमा म मृत्यृदर्ता गराउन दैलेख गएँ । त्यसको भोलीपल्ट विहानै मोबाइलको घण्टी बज्यो । त्यो फोन अरु कसैको नभएर मेरो भाइको थियो ।

‘हिजो रातीको बाढीले घर सबै बगायो । धन्न भान्जाभान्जी जिउँदै छन्’ भाईले त्यतिसम्म बोलेको याद छ । त्यसपछि म बेहोस् भएछु । ब्यूँझिँदा रुनमात्रै आउने । घरमा कमाउने कोही छैन । बल्लबल्ल श्रीमान्ले किनेको घर पनि बाढीले बगाएपछि ६ भाइबहिनी छोराछोरीको ओत कसरी लगाउने मलाई त्यो चिन्ताले रातभरी निन्द्रा लागेन ।

भोलिपल्टै मैले सुर्खेत झर्ने निधो गरें । त्यो बेलामा ठाउँ–ठाउँमा पहिरो गएका कारण गाडी पनि चलेको थिएनन् । पैदल यात्रा गरेर घोडाबासमा बास बसियो । दुई दिन लगाएर सुर्खेत आउँदा छोराछोरी श्रीकृष्ण संस्कृत माध्यमिक विद्यालयमा बसेका थिए । वरपरका छिमेकीहरूले त केही सामानहरू जोगाएछन् । पकाउने र ओढ्ने–ओछ्याउनेसम्म जोगाएकाहरू खाना पकाएर खाँदै थिए । मेरा छोराछोरीहरू राहतका चाउचाउका पोका समाएर बसेको थिए । धन्न छोराछोरी पनि बाढीले बगाएनछ !

मलाई देख्ने बित्तिकै छोराछोरी रुन र कराउन थाले, ‘आमा हामी मात्रै बाँच्यौं तर घरसहित घरमा भएको सबै चिज बाढीले बगायो ।’ उनीहरूलाई सान्त्वना दिन पनि मेरो मनले सकेन । केही दिन त्यही विद्यालयमा आश्रय लिएपछि हामी विगत पाँच वर्षदेखि वीरेन्द्रनगर–८ को महिला प्रशिक्षणकेन्द्रस्थित अस्थायी शिविरमा बस्दै आएका छौं ।

सुरुमा त केही संघ–संस्थाहरू पनि आएर सहयोग गर्ने गर्थे । तर आजभोलि कोही आउँदैनन् । सरकारले पहिलो पटक दिएका ५० हजार रूपैयाँ ६ महिनामै सकियो । सात जनाको परिवार सानो पालमुनी कोच्चिएर बसेका छौं । जब साँझ पर्छ सर्पको डर लाग्छ । हावा हुरी चल्योकी यही पाल पनि उडाए फेरि कसरी ओत लाग्ने होला भन्ने चिन्ताले सताउँछ । बिहान खाए बेलुका के खाऊँ भन्ने पिर छ । ओछ्यानमा रातभरी छट्पटी मात्रै लाग्छ । दशैं–तिहार आउँदा आँशु मात्रै आउँछ ।

छोराहरूले बिहे गरेका छन् । नातीनातिनासमेत भइसके । श्रीमान्को मृत्युपछि छोराछोरीलाई पढाउन पनि सकिएन । छोराहरूले मजदूरी गरेर ल्याएको पैसाले बिहान–बेलुका खानसमेत पुग्दैन । अब त सरकारले राहत देला भन्ने आशपनि मरीसकेको छ । पूर्ण क्षतिमा मैले फर्म भरेकी हुँ । तर अहिलेसम्म पनि कुनै खालको पहल भएको छैन । सरकारले बाढी पीडितहरूलाई पुनर्बासको व्यवस्था गर्न सकेको भए बल्ल सरकार भएको महसुस हुनेथियो ।
(वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा बस्दै आएकी बाढी पीडित लक्षिमा दमाइसँग सहकर्मी सीता वलीले गरेको कुराकानीमा आधारित ।)

 

पाँच वर्षदेखि त्रिपालमै
‘पीडा जसलाई हुन्छ, उसलाई मात्रै थाहा हुन्छ । उमेरले साठी पुग्ने बेला हुनथाल्यो । तर मजदूरी नगरी खान पुग्दैन । पटक–पटक आएर पीडा बल्झाउँछन् तर राहत बोकेर न निजी क्षेत्र आउँछन् न सरकार आउँछ । वर्षाको समयमा पाल चुहिन्छ, ओछ्यानमै सर्प आउँछन् । तर राहत आउने कहिले ? पुनर्बासको आश गर्दा गर्दै मरिने भइयो’ मंगलवार वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा पुग्दा बाढी पीडित रामकुमारी खत्रीले मनको पीडा पोखिन् ।

वीरेन्द्रनगर–१२ मा घरभएकी खत्रीको २०७१ सालमा आएको बाढीले दुई वटा घर बगायो । बस्ने बास सबै बाढीमा परेपछि खत्रीको तीन जनाको परिवार महिला प्रशिक्षण केन्द्रमा रहेको अस्थायी शिविरमा बस्दै आएको छ । विगत पाँच वर्षदेखि घरवारविहीन भइ अस्थायी शिविरमा बस्दै आए पनि सरकारले पुनस्र्थापनामा आफूहरूलाई ठगेको उनी बताउँछिन् । ‘हामीलाई सरकारले घाँटीमा पासो लगाए पनि हुन्थ्यो’ उनले भनिन् ‘बाढी गयो हाम्रो विजोग भयो । हाम्रा नाममा नेताले थुपै्र कमाए तर हाम्रो जीवन पालमुनी नै जानेभयो ।’

त्यस्तै वीरेन्द्रनगर–७, का ३८ वर्षीय तुलबहादुर सुनारसमेत विगत पाँच वर्षदेखि पालमुनी बस्दै आएका छन् । सुरुमा सबैलाई सरकारले दिएको पचास हजार बाहेकको अन्य राहत नपाएको समेत उनले बताए । आफ्नो घर पूर्णक्षति हुँदासमेत अहिलेसम्म पनि पुनर्बास हुन नसकेको सुनारले गुनासो गरे । ‘हामीलाई अन्य राहत भन्दा पनि पुनर्बासको व्यवस्था सरकारले गरिदिनुपर्दछ’ उनले भने ।

राजकुमारी र तुलबहादुर मात्रै होइनन्, २०७१ सालको साउन २८ र २९ गतेको बाढीमा परेर सुर्खेतका एक हजार ४५ घर अझै विस्थापित जीवन बिताइरहेका छन् । सरकारले पटक–पटक तत्काल पुनस्र्थापना गर्ने आश्वासन दिए पनि उक्त आश्वासन पूरा हुन सकेको छैन । कर्णाली प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको संयोजकत्वमा गठन गरेको उच्चस्तरीय समितिले पनि हालसम्म बाढी पीडितको तथ्यांक मात्रै संकलन गरेको छ ।

प्रकाशित मितिः   ३० श्रावण २०७६, बिहीबार १४:१७