छोराको दृष्टि फर्काउन आमाबुबाको दौडधुप
सुर्खेत, ९ साउन ।
चौकुने गाउँपालिका–४ विजौराका ३२ वर्षीय शेरबहादुर विक र उनकी श्रीमती महेश्वरी विक दुवै जना दृष्टिविहीन छन् । आँखाले बाहिरी संसार ठम्याउन सक्दैनन् । अरुकै साहारामा हिँड्नुपर्छ । जुन उनीहरूका लागि सजिलो छैन । तर त्योभन्दा ठूलो बज्रपात उनीहरूको जीवनमा तब आइप¥यो जब आफ्नो पहिलो सन्तान महेश विक पनि आँखाको ज्योति नल्याएरै जन्मिए ।
आफै दृष्टिविहीन जीवन बाँचिरहेका विक दम्पत्तिलाई राम्रैसँग थाहा छ, आँखा नदेख्नुका कठिनाइ कति छन् । कत्ति पटक लड्नुपर्छ । कत्ति ठक्कर खानुपर्छ र कत्ति चुनौती झेल्दै जिउनुपर्छ । आफूले भोगेको र बाँचेको जस्तै छोराको जीवन चाहँदैनन् उनीहरू । त्यसैले यतिबेला छोराको आँखाको ज्योती फर्काउने दृढ आशासहित शेरबहादुर र महेश्वरी दौडधुव गरिरहेका छन् ।
दृष्टिविहिन हुनुको कष्ट एकातर्फ छँदैछ । अर्कोतर्फ अभावसँग पनि जुधिरहेका छन् । शेरबहादुरकी वृद्ध आमा छिन् । उनैले उनीहरूको रेखदेख गर्छिन् । आमाकै साहारामा बसेका छन् । खान र लाउनकै समस्या छ । स्थायी घरबाससमेत छैन । दुई छाक टार्नै मुस्किल पर्छ । विजौरामा सानो ऐलानी जग्गा चर्चेर टहरो बनाएका छन् । चार जनाको परिवार त्यसैमा बस्छन् । आर्थिक अभावले छानामाथिबाटै च्याप्छ तर त्योभन्दा बढी पीर दृष्टिविहीन छोराको लाग्छ । छोराकै पीरले उनीहरू चैनसँग निदाउनसमेत पाउँदैनन् ।
आफू र श्रीमतीे दृष्टिविहीन भए पनि जन्मने बच्चाले संसार देख्छ भन्ने शेरबहादुरलाई लागेको थियो । तर उनले सोचे जस्तो भइ दिएन । छोरा पनि दृष्टिविहीन जमिए । उनीहरूले जीवनमा झन ठूलो बज्रपातको महसुस गरे । ‘हामी दुई जना त आँखा देख्दैनथ्यौं’ शेरबहादुरले भने, ‘जन्मने बच्चा दृष्टिविहीन जन्मन्छ भन्ने कल्पनासम्म पनि गरेको थिएनौं ।’ उनीहरूले कल्पना नगरे पनि भइदियो त्यस्तै । तर आर्थिक अभावकै कारण छोरालाई दृष्टिविहीन भइरहन नदिने संकल्प शेरबहादुरले गरेका छन् । आफूले आँखा नदेखे पनि छोरालाई संसार देखाउने शेरबहादुरको सपना छ । त्यसैले उनी छोराको उपचारको लागि रातदिन नभनी दौडिरहेका छन् ।
छोराको आँखाको उपचारका लागि उनले धेरै ठाउँमा धाए । चिकित्सकहरूले महेशको ज्योति फर्काउन सकिने बताएका छन् । त्यसैले पनि उनको आशा जीवित छ । ‘छोराको एउटा आँखा सुकेको छ’ उनले भने ‘डाक्टरको भनाइ अनुसार अर्को आँखाको ज्योति १२ प्रतिशत मात्र छ रे । त्यसैले उसको उपचार सम्भव छ ।’ छोराको उपचारकै लागि उनी यतिबेला सहयोग जुटाउन हिँडेका छन् । ‘रातदिन नभनी १८ महिने छोराको उपचारको लागि हारगुहार गर्दै हिँडेको छु’ विकले भने ।
छोरा जन्मिएको पहिलो महिनादेखि नै उनले धेरै ठाउँमा उपचारको लागि धाए । सुरुमा प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा डाक्टरलाई देखाएका शेरबहादुरलाई डाक्टरहरूले नेपालगन्जको फुलटेक्रा आँखा अस्पताल लैजान सुझाव दिए । त्यहाँ पनि उनको छोरा महेशको उपचार हुन नसक्ने भएपछि सुदूरपश्चिमको गेटा आँखा अस्पतालमा उनी छोराको उपचारको लागि पुगे । तर त्यहाँबाट पनि तिलगंगा आँखा अस्पताल काठमाडौंमा ‘रेफर’ गरियो । अन्ततः चिकित्सकहरूले भारतको जे–जे आँखा अस्पतालमा उपचार सम्भव हुनसक्ने संकेत दिएका छन् । तर पेट भर्नकै लागि मुस्किल भएको बेला कसरी छोराको उपचार गर्ने भन्ने चिन्ताले शेरबहादुरको निन्द्रा हराएको छ । उनले छोराको उपचारको लागि सबैले थोरै थोरै भए पनि रकम जुटाइ सहयोग गरिदिन आग्रहसमेत गरेका छन् । सबैको सहयोग पाए छोराले संसार देख्नसक्ने उको विश्वास छ । ‘सबै मनकारीहरूले सहयोग गरिदिनुभयो भने हाम्रो छोराको आँखाको ज्योति फर्काउन सकिन्छ’ सहयोगको अपिल गर्दै उनी भन्छन्, ‘त्यसैले सहयोग संकलन गर्दै हिँडेका छौं ।’
महेशको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न वीरेन्द्रनगरका एक युवाले सघाएका छन् । वीरेन्द्रनगर–४ का अभिनन्दन बस्नेतले महेशको उपचारको लागि सहयोग रकम जुटाउँदै आएका छन् । उनले वीरेन्द्रनगरका विभिन्न विद्यालयमै पुगेरसमेत सहयोग संकलन गरेका छन् । महेशको उपचारका लागि सहयोग गर्न चाहनेहरूले बस्नेतको मोबाइल नं. ९८४०३७३२४९ र ९८०८५३००५८ मा सम्पर्क गर्नसक्ने उनले बताए ।
यस्तै लक्ष्मी बैंक सुर्खेतमा छोरा महेश विकको नाममा भएको खाता नं. ०९६४३००००६४ मा सहयोग रकम जम्मा गरी छोराको आँखाको ज्योती जीवनदान गर्न शेरबहादुरले सबैलाई आग्रह गरेका हुन् । छोराको उपचारको लागि अहिलेसम्म उनले ५० हजार खर्च गरिसकेका छन् । अब कति खर्च लाग्छ भन्ने एकिन छैन ।
प्रकाशित मितिः १० श्रावण २०७६, शुक्रबार १३:०७
साझा बिसौनी संवाददाता ।