ट्राफिक नियम उल्लंघनका घटना बढ्दै
सुर्खेतमा वर्षेनी ट्राफिक नियम उल्लंघनका घटनाहरू बढ्दै गएको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा नियम उल्लंघन गर्ने २७ हजार ९३ सवारी साधान कारबाहीमा परेका छन् । यो संख्या अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को भन्दा झण्डै दोब्बर हो । आर्थिक वर्ष २०७४/०७५ मा १४ हजार नौ सय ९४ सवारी साधन कारबाहीमा परेका थिए ।
कर्णाली प्रदेशको राजधानी बनेसँगै वीरेन्द्रनगरमा सवारी साधनको चाप बढ्दै गएको छ । सवारी साधनका चाप बढेसँग नियम उल्लंघनका घटना पनि बढ्ने गरेको पाइएको छ । एकातर्फ नियम उल्लघंन बढिरहँदा अर्कोतर्फ ट्राफिक प्रहरीको सक्रियता बढेसँगै सवारी साधन माथिको कारबाही पनि बढेको हो ।
मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको, लाइसेन्स तथा ब्लूबुक नभएका, क्षमता भन्दा बढी सामग्री तथा यात्रु बोक्ने लगायतका सवारी साधनलाई कारबाही गर्ने गरिएको ट्राफिक प्रमुख हरिबहादुर बिसीले जानकारी दिनुभएको । ‘हामीले जनशक्ति थप गरेर आफ्ना क्रियाकलाप बढाएकाले पनि ट्राफिक नियम उल्लंघन गर्नेहरूमाथिको कारबाहीको संख्या बढेको देखिएको हो’ उनले भने, ‘वीरेन्द्रनगर प्रदेशको राजधानी भएकाले पनि ट्राफिक नियम उल्लघनका घटना बढेका हुन् ।’ उनका अनुसार हाल सुर्खेतमा मोटरसाइकल, बस, ट्रक, टिप्पर, ट्याक्टर, कार, जीप लगातय गरेर २० हजार एक सय ५१ सवारी साधन छन् ।
राजश्व संकलनमा वृद्धि
ट्राफिक प्रहरीले पछिल्लो एक बर्षमा डेढ करोडभन्दा बढी राजश्व संकलन गरेको छ । प्रमुख बिसीका अनुुसार गएको आर्थिक वर्षमा ट्राफिक नियम उल्लंघन गरेका सावारी साधनलाई कारबाही गर्दा एक करोड ६४ लाख ५८ हजार पाँच सय रूपैयाँ राजश्व उठाएको हो । आर्थिक वर्ष २०७४÷०७५ मा ८७ लाख ९८ हजार राजश्व संकलन गरेको थियो ।
उनले ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको जानकारी दिए । ट्राफिक प्रमुख बिसीका अनुसार ट्राफिक प्रहरीले सुर्खेतमा ६ सय ३१ वटा ट्राफिक नियम सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमबाट ३० हजार ७ सय ४८ जना लाभान्वित भएका छन् ।
बैंकमार्फत् जरिवाना लिन सुरु
यसैबिच जिल्ला ट्राफिक कार्यालयले बुधवारदेखि सुर्खेतमा सवारी साधनलाई जरिवाना गर्दा बैँक मार्फत लिने व्यवस्था सुरु गरेको छ । ट्राफिक प्रहरीले सवारी सधानलाई चेकजाँच गर्दा अब जरिवाना गर्नुपरे बंैक भौचरमार्फत् लिइने प्रमुख बिसीले जानकारी दिए ।
जरिवानाका नाममा हुने अनियमितता रोक्न र आर्थिक पारदर्शीता कायम गर्न बैंमार्फत जरिवाना तिराउने व्यवस्थान गरिएको हो । ‘जुन ठाउँमा ट्राफिक नियमको उल्लघंन हुन्छ त्यही जरिवाना नलिएर रसिद मात्र दिइ कागजपत्र जफत गर्छौं र तोकिएको रकम सवारी चालकले बैंकमा जम्मा गर्छ’ प्रमुख बिसीले भन्नुभयो, ‘सवारी चालकले जरिवाना रकम बैंकमा जम्मा गरेर भौचर देखाएपछि मात्र कागजपत्र फिर्ता दिने व्यवस्था हुन्छ । तीनदिन भित्र सवारी धनिले बैंकमा रकम जम्मा गरेको भौचर बुझाएर आफ्नो कागज पत्र लैजानुपर्ने उनको भनाइ छ । प्रदेश प्रहरी कार्यालयले बैंकबाट नै जरिवाना लिन कर्णालीका सबै जिल्लालाई निर्देशन दिएको छ ।
प्रकाशित मितिः २ श्रावण २०७६, बिहीबार ०८:२२
साझा बिसौनी संवाददाता ।