गुरूपूर्णिमाको इतिहास र महत्व
हिन्दु सनातन धर्म परम्परा अनुसार आषाण शुल्क पूर्णिमाको दिनलाई गुरु पूर्णिमा या व्यास पूर्णिमाको रूपमा मनाइन्छ । कुनै पनि धर्म, संस्कार र सस्कृति पछाडि समुदायको इतिहास, परम्परा र गहिरो सामाजिक विज्ञान जोडिएको हुन्छ । त्यसैगरी यो दिनको पनि निकै पुरानो इतिहास र महत्व हिन्दु सनातन धर्म संस्कृतिमा छ । प्रसिद्ध हिन्दुशास्त्र बेदहरूको संकलन, सम्वर्धन र महाभारतको रचना गरेका महान महर्षी श्री कृष्णद्वेपायन अर्थात वेद व्यास जीको जन्म दिवस हो, उनले हिन्दु सनातन धर्म अन्तर्गत छरिएर रहेका शास्त्रहरूलाई आफ्नो ध्यान, साधना र तपोबलले एकत्रित र रचना गरी शिष्यहरूलाइ बाँडेका थिए ।
उनले गरेको यो योगदानका कारण नै ती विभिन्न शास्त्रको माध्यामबाट गुरु–शिष्य परम्परा हुँदै आम जनमानसमा ज्ञानको ज्योति फैलिएको विश्वास छ । शास्त्रमा भनिएको झैं गुरु विना यो संसार अन्धकार छ, अर्थहीन छ त्यसैले मानव जीवनमा गुरुको महत्व निकै छ र मानव जीवनलाई ज्ञानद्वारा प्रज्वलित बनाउने समस्त गुरुजनहरूप्रति समर्पित गर्दै गुरुलाई भेटेर पुजन आदिसहित गुरु दक्षिणा अर्पण गरेर यो दिन मनाइने प्रचलन छ ।
शास्त्र अनुसार गुरु भन्नाले (गुः अन्धकार, रुः मेटाउने काम) ज्ञानको माध्यमबाट अज्ञानताको अन्धकारलाई मेटाउने तत्वलाई गुरु भनिन्छ, र पूर्णिमा भन्नाले पूर्ण चन्द्र अर्थात् कुनै पनि कर्मको पूर्णताको अवस्था भनेर बुझिन्छ । त्यसैले गुरूपूर्णिमा मानव प्राणिमा भएको अन्धकारको अन्त्य भइ ज्ञान प्राप्त गर्ने कामको पूर्णता भएको दिनको उत्सवको रूपमा पनि यसलाई मनाउने गरिन्छ । हिन्दु सनातन धर्म शास्त्र अनुसार मानव जगतमा गुरुलाई सर्वश्रेष्ठ र पूज्य स्थानमा राखिएको छ, यसको चर्चा विष्णुपुराण, रामायण, स्कन्दपुराण, भागवत, उप–निषद्हरू सबैतिर उल्लेख छ र गुरुगितामा उल्लेखित तलका पंतिहरूले यसलाई पुष्टी गर्दछन् ।
गुरु ब्रम्हा गुरु विष्णु गुरुदेवो महेश्वर !
गुरु शाक्षात परव्रह्मातस्मै श्री गुरवे नम !!
अर्थात् यो सृष्टीका रचनाकार (ब्रम्हा) पनि गुरु, सञ्चालानकर्ता (विष्णु) पनि गुरु, संहारकर्ता (महेश्वर) पनि गुरु नै हुन्, गुरु नै त्यो परमतत्व हुन् जसबाट यो चराचर जगत सञ्चालित छ त्यस्ता सद्गुरुदेवलाई मेरो सादर प्रणाम छ । यसरी मानवलाई यो सृष्टिको अस्तित्व, सञ्चालन प्रक्रिया र जीवनको सार्थकताबारे ज्ञान प्रदान गर्ने गुरुनै परब्रम्हको रूपमा मानिएको छ ।
संसारमा आज मानवले सर्वोत्कृष्ट काम, आविस्कारहरू र अन्वेषणहरू गरी अपत्यारिला नतिजाहरू हात पारिरहेको छ तर त्यो आफै स्वभाविक रूपले पक्कै भएको हैन, हाम्रो इतिहासलाई फर्केर हे¥यौं या अझै जो ज्ञानबाट वञ्चित छन् उनीहरूलाई हे¥यौं भने शिक्षा र ज्ञानको महत्व बुझ्न सक्दछौं र त्यो ज्ञान गुरुको कृपा विना सम्भव थिएन र छैन पनि त्यसैले पनि गुरुको महिमा उच्च रहेको छ ।
आदि व्यासको रूपमा स्वयम् शिवले नै सुरु गरेको यो गुरूपरम्परा मनु, उसना, वृहस्पति, सविता, त्रिविसा, भारद्वाज, धर्म, सचक्षस, त्रैयासति, धनन्जय, ऋतुन्जय, भरद्वाज, गौतम, उत्तम, वचश्रवसवेण, त्रिनाविन्द, वाल्मिकी, शक्ति, परासर, श्रीकृष्णद्धपायन (बेदव्यास) गरी विभिन्न महर्षीहरूद्वारा ज्ञानको प्रक्रियालाई शिष्यहरूमा प्रवाहित गरी मानवप्राणीलाई आफूभित्रको तत्वको अस्तित्वलाई साक्षात्कार गरी प्रयोजन गर्न योग्य बनाउने कुराको महान कृपा भएको शास्त्रहरूमा उल्लेख छ ।
२८ औं व्यासका रूपमा आजभन्दा करिब ५,००० वर्ष पूर्व (ई.पु. ३०००) महर्षी वेद व्यासले चार बेदको दिव्य ज्ञानलाई संग्रहित गरी प्रवाहित नगरेको भए, महाभारतको सिर्जना नगरेको भए आज मानव जातिको यति धेरै सभ्यताको विकास सम्भव थिएन । जुन गुरु–शिष्य परम्परा हुँदै पुस्ता हस्तान्तरण भइ हालसम्म पनि रही आएको छ । यही गुरु परम्परा समयानुकूल परिमार्जित हुँदै विद्यालय, क्याम्पस, विश्वविद्यालयको माध्यमबाट अनिवार्य शिक्षाको रूपमा विकसित भएको देखिन्छ ।
विज्ञान र प्रविधिको विकासका कारण शिक्षाले अकल्पनीय फड्को मारेता पनि पहिले जस्तो गुरु र शिष्य बीचको निष्ठा, शिक्षा र ज्ञान प्रतिको आदर र विश्वास अनि सम्मानको संस्कार भने हराएर गुरु र ज्ञानकोसमेत आदर कम हुँदै गइरहेको आजको समयमा यो दिनले उक्त सस्कार पुनस्र्थापन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिन्छ । श्री श्री १००८ श्री रविशंकर गुरुजीले यो दिन आफूमा भएको आत्मज्ञान, उपलब्धि र सफलताको स्वमूल्यांकन गरी उक्त उपलब्धि र सफलताको श्रेय गुरुदेवलाई अर्पित गर्दै मनाउने दिनका रूपमा पनि गुरु पूर्णिमा रहेको कुरा व्यक्त गर्दछन् । यसरि हेर्दा यस दिनले आफूमा भएका महान सर्वश्रेष्ठ गुणहरू र सफलताहरूको पछाडिको श्रेय अरुलाई प्रदान गरी मानवीय चरित्रलाई संवद्र्धन गरेको पाइन्छ ।
साथै आषाढ शुक्ल पूर्णिमाले पृथ्वी र सूर्यको स्थान परिवर्तनको पनि संकेत गर्दछ, यो दिनदेखि पृथ्वीमा दक्षिणायन अर्थात सूर्य दक्षिणतर्फ हुँदै परिक्रमा गर्नेछन् । र आजकै दिनदेखि चतुर्मास अर्थात् भगवान विष्णु चार महिना सम्मका लागि साधनमा लिन हुने समयको सुरुवातीका रूपमा पनि यो दिनलाई लिइन्छ त्यसैले यो दिनदेखि चार महिनासम्म ध्यान, साधना, धर्म, कर्म, पूजन, जप, तप अर्थात् धार्मिक कार्यका लागि उत्तम समय पनि मानिन्छ ।
यो वर्ष गुरूपूर्णिमा भोलि असार ३१ गरे रहेको र यसै दिन खग्रास चन्द्रग्रहणसमेत रहेकाले यस वर्षको गुरूपूर्णिलाई विशेष रूपमा लिइएको छ । यो अवधिमा गरेको साधना, ध्यान, जप, तप आदिको फल अन्य सामान्य अवस्थामा भन्दा तीन गुणा धेरै प्राप्त हुने कुरा ज्योतिषहरू बताउँछन् । उनीहरूका अनुसार ग्रहण लागेको समयमा भने सामान्य दैनिक जीवनमा गर्ने कुराहरू खाने, सुत्ने तथा अन्य कर्महरू भने सकभर ज्योतिषको सल्लाहमा मात्रै गर्दा उचित हुनेछ ।
प्रकाशित मितिः ३१ असार २०७६, मंगलवार ०८:०५
हरि उपाध्याय ।