पौरखीका पाइला
नवौं वार्षिकोत्सव विशेषाङ्क
पौरख गर्नेहरू असफल हुँदैनन् । चाहे ती सडक किनारमा बसेर मकै पोलिरहेका हुन् वा गोठभरी गाइ पालेर दुध बेचिरहेका । अथवा सजिलै प्राप्त हुने जागिर छोडेर तरकारी खेती गरिरहेका युवा हुन् या त मसला उद्योग सञ्चालन गरेर आत्मनिर्भर बनेका महिला नै किन नहुन् । निरन्तरको पौरख र परिश्रमले उनीहरूलाई सफलताको स्वाद चखाएकै हुन्छ । हाम्रै समाजमा यस्ता कयौं उदाहरणीय पात्रहरू भेटिन्छन् ।
पौरख गर्नेहरू आफ्नै माटोमा सुन फलाइरहेका छन् भने वहाना खोज्नेहरू अरुलाई दोष देखाएर बसिरहेका छन् । उच्च शिक्षा हाँसिल गरेर पनि रोजगारी पाइएन भन्दै भौंतारिनेहरूको संख्या अहिले पनि यत्रतत्र सर्वत्र छ । रोजगारीकै खोजीमा दैनिक विदेश उड्ने युवाहरूको संख्या पनि कम छैन । तर आफ्नै देशमा परिश्रम गरिरहेका यस्ता थुप्रै पौरखीहरू पनि छन् जसले आफू आत्मनिर्भर मात्र भएका छैनन् अरुलाई पनि रोजगारी दिँदै आफ्नै भूमिमा केही गर्नुपर्छ भन्ने सन्देश बाँडिरहेका छन् । निराशाकाबीच आशाको सञ्चार गराइरहेका छन् । अँध्यारो चिरेर उज्यालोतर्फ लम्किरहेका छन् । पौरखीहरूका पाइला सफलताउन्मुख हिँडिरहेका भेटिन्छन् ।
अरुलाई दोष दिएर बस्ने कि आफ्नो जाँगर चलाएर स्वरोजगार बन्ने त्यो व्यक्तिको विवेकमा निर्भर हुन्छ । पौरख गर्नेहरू सडकमै पसिना बगाउँछन्, बारीमा तरकारी फलाउँछन्, तरकारी बेचेर पैसा कमाउँछन् । उद्योग गर्ने र उद्यममै रमाउनेहरू स्वाभिमानका साथ बाँचिरहेका हुन्छन् । यस्तै पौरखी र उदाहरणीय उद्यमीहरूको कथा नै यस विशेषांकको विशेषता हो । केही उदाहरणीय पात्रहरूलााई यसमा समेटिएको छ ।
…
कृषि कर्म अधिकांश युवाको रोजाइमै पर्दैन । त्यसैले त आफ्नै जमिन बाँझो छोडेर रोजगारीको खोजीमा भौतारिने र विदेशिनेहरूको संख्या ठूलो छ । पढेलेखेका युवाहरू त प्रायः कृषिदेखि परै बस्न खोज्छन् । तर काम गर्ने जाँगर भएका केही पौरखी युवा भने स्वदेशमै कृषि व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । उनीहरूको कृषि कर्म लोभलाग्दो छ ।
यस्ता केही उदाहरणहरूमध्ये एक हुन् वीरेन्द्रनगर–११ सुर्खेतका इमानसिंह बस्नेत । ‘लाहुरे बाबुका छोरा पनि लाहुने बन्नुपर्छ’ भने मनोविज्ञानले प्रेरित परिवार र समाजमा जन्मिएर हुर्किएका इमानसिंहले भने त्यसलाई लत्याउँदै कृषिकर्म रोजे । आफ्नै आँगनमा तरकारी खेती गरेर सुरु भएको उनको कृषि कर्म अहिले अरुका लागि समेत उदाहरणीय बनेको छ ।
…
पढ्नु भनेको ज्ञान आर्जन गर्नु हो । तर पढेपछि जागिर नै गर्नुपर्छ भन्ने सोचले हाम्रो समाज ग्रसित छ । यद्यपि यही समाजमा यस्ता उदाहरणीय पात्रहरू पनि छन् जसले पढेर पाएको ज्ञान आफैले लागू गरिरहेका छन् । जागिरको खोजी गर्नतर्फ नलागी खेतबारी खन्नतर्फ लागेका छन् । त्यस्ता उदाहरणमध्येका एक वीरेन्द्रनगर–९ सुर्खेतका दिपेन्द्र कार्की र उनकी श्रीमती निता कार्कीको कथा पनि रोचक र अनुकरणीय छ ।
बेरोजगार भएँ भन्दै मेनपावर कम्पनीका एजेन्टहरूलाई लाखौं पैसा खुवाएर खाडीमा पसिना बगाइरहेका युवाहरूका लागि दिपेन्द्र र नीताजस्ता आफ्नै ठाउँमा केही गर्नुपर्छ भनेर गाइपाइलन सँगसँगै तरकारी खेतीमा लागेकाहरू उत्प्रेरणा बन्नेछन् ।
…
पौरख र परिश्रम गर्न चाहनेहरूका लागि विकल्प अनेक छन् । जस्तो कि पदमकुमारी थापाले सडक छेउको खाली ठाउँलाई उपयोग गरेरै जीविकोपार्जन गरिरहेकी छिन् ।
वीरेन्द्रनगर–६ को घण्टाघर नजिकै सडक किनारमै व्यवसाय गरेर उनले दैनिक जीविकोपार्जन मात्र गरिरहेकी छैनन्, भविष्यका लागि धेरथोर बचत गर्नसमेत सफल भएकी छिन् । वैशाख–जेठको चर्को गर्मीमा पनि आगोछेउ बसेर मकै पोल्दै गरेकी पदमकुमारी पुस–माघको चिसोमा बदाम र सुन्तला बेचिरहेकी हुन्छिन् । पौरख गर्न चाहने हो भने ठूलो लगानी नै पनि चाहिँदैन, सानै पूँजी र परिश्रमले आफूलाई पुग्ने आम्दानी गर्न सकिन्छ, पदमकुमारीको कथाले यही भन्छ ।
…
इमानसिंह, दिपेन्द्र–नीता र पदमकुमारी मात्रै होइनन् दैलेखकी गीताकुमारी खत्रीदेखि जुम्लाका विर्ष सार्कीसम्मका पौरखका कथा हामीले यो विशेषांकमा समेटेका छौं । जो अरुमा निर्भर भएर बसेनन्, उद्यम गरे । आफै आत्मनिर्भर बने । अनेक चुनौती झेल्दै सफलताको खोजीमा लागे ।
…
उल्लेखित पात्रहरू त उदाहरण मात्रै हुन् । कर्णाली प्रदेशका केही प्रतिनिधिमूलक पात्रहरूलाई यस विशेषांकमा समेटिएको छ । तथापि यहाँ यस्ता धेरै व्यक्तिहरू छन् जो समेटिनुपथ्र्यो । उनीहरू पनि हाम्रा आगामी अंकहरूमा समेटिने नै छन् । जसरी पौरख गर्नेहरूलाई सफलताले पच्छ्याउँछ, त्यसैगरी हामी सफलतामा पुगेकाहरूलाई पच्छ्याउनेछौं, जसका संघर्ष र परिश्रमका कथाले अरुलाई पनि उत्प्रेरित गर्न सकोस् । आशा छ, पौरख गरिरहेकाहरूलाई प्रोत्साहन गर्दै अरुलाई पनि उत्प्रेरित गर्न यी कथाहरूले पक्कै भूमिका खेल्नेछन् ।
उद्यम गर्नु भनेको आत्मनिर्भर हुनु हो । आत्मनिर्भर हुनु आत्मसन्तुष्टी र आत्मसम्मानको कुरा हो । उद्यम गरेर व्यक्ति आफू मात्र आत्मनिर्भर बन्दैन, सँगसँगै अरुलाई पनि रोजगारी दिइरहेको हुन्छ । यसको प्रत्यक्ष सम्बन्ध व्यक्तिको जीवनस्तरसँग त जोडिएको हुन्छ नै त्योभन्दा बढी मुलुककै अर्थतन्त्र र समृद्धिसँग पनि जोडिएको हुन्छ ।
कर्णाली प्रदेश सबैभन्दा गरीब प्रदेशको रूपमा परिचित छ । तथ्यांकहरूले पनि त्यसै देखाउँछन् । यहाँका करिब ५२ प्रतिशत नागरिक गरिबीको रेखामुनी छन् । व्यक्ति आत्मनिर्भर हुन नसक्दा गरिबी बढ्छ । गरिबी बढ्नु भनेको प्रदेश वा मुलुक कमजोर हुनु हो । त्यसैले गरिबी अन्त्य गर्न सरकारले जुन उद्देश्य राखेको छ त्यसलाई हरेक व्यक्ति आत्मनिर्भर हुनुले सघाउ पु¥याउँछ । व्यक्तिको आर्थिक र सामाजिक जीवनमा पनि परिवर्तन ल्याउँछ । नागरिकले आफ्नो व्यक्तिगत र पारिवारिक जीवनका लागि मात्रै भनेर गरेको उद्यम र व्यवसायले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा राज्यलाई पनि फाइदा पु¥याइरहेको हुन्छ ।
त्यसैले हरेक नागरिकलाई आत्मनिर्भर बनाउने राज्यको उद्देश्य पूरा गर्न पनि विभिन्न उद्यम गरिरहेका व्यक्तिहरूको महŒवपूर्ण भूमिका रहँदै आएको छ । अर्थात् उद्यम गर्ने हरेक व्यक्तिले राज्यलाई पनि केही न केही योगदान गरिरहेका छन्, गरिरहेका हुन्छन् । यस्ता व्यक्तिहरूलाई राज्यले पनि आफ्नो नीति तथा कार्यक्रममार्फत प्रोत्साहन गर्न सक्नुपर्दछ ।
प्रकाशित मितिः २९ असार २०७६, आईतवार १३:३५
विनोद शाही ।