सडकमै संघर्ष

मध्य असारमा पनि पर्याप्त पानी परिरहेको छैन । छिनमै बादल लाग्छ, छिनमै हराउँछ । चर्को गर्मी छ । मानिसहरू गर्मिले आजित छन् । बाटो हिँड्नेहरू घाम छल्न छाताको साहारा लिइरहेका छन् ।

तर ३५–३६ डिग्री तापक्रमलाई चुनौती दिँदै आगोसँग खेलिरहेकी छिन्, पदमकुमारी थापा । घामले उनलाई पोल्छ, उनी आगोमा मकै पोल्छिन् ।

यो उनको दैनिकी हो । दैनिकीभन्दा ठूलो रोजगारी हो । यसैबाट उनको घरको चुल्हो बलेको छ, जीवन चलेको छ ।

उसो त हिजोआज मात्रै होइन उनले वैशाख÷जेठको पुग–नपुग ४० डिग्री तापक्रमलाई पनि यसैगरी चुनौती दिएरै आएकी हुन् । बाटो हिँड्नेहरू घाम छल्न छाता ओढेर हिँडिरहँदा त्यही सडकदेउ पदमकुमारी भने आगोमा मकै पोलेर बेचिरहेकी हुन्छिन् ।

वीरेन्द्रनगर बजारमा रहेको घण्टाघर पार्क मुन्तिर अलिकति खाली भू–भाग छ । सानो हाटबजार जस्तो ।

नजिकै अटोरिक्सा भरिएका छन् । मानिसहरूको पनि भिडभाड सधैं हुन्छ । अटोरिक्सावालाहरू ‘नेवारे..चनौटे…’ भन्दै बाटोमा हिँडिरहेका मान्छेहरू बोलाइरहेका हुन्छन् । बेलाबेला हावा चलिरहन्छ । त्यही हावासँग कुस्ती खेल्दै धुलो चारैतिर फैलिन्छ, आफ्नै सुरमा आफ्नै तालमा ।
धुलो मात्र होइन यहाँ मानिसहरू पनि आफ्नै सुरतालमा हिँडिरहेका छन् । यही खाली ठाउँको छेउछाउमा बसेर सानासाना व्यवसाय गर्नेहरूको पनि आ–आफ्नै सुरताल छ । त्यही सुरतालमा वर्षौदेखि रमाइरहेकी छन्, पदमकुमारी ।

यो मकैको सिजन हो । मकै पोलेर बेच्नु पदमकुमारीको पेशा । तर उनको व्यवसाय मकैमा मात्र सीमिति भने छैन । घण्टाघर नजिकै बसेर उनले सिजन अनुसारका व्यवसाय गर्छिन् । कहिले मकै बेच्छिन् त कहिले काफल । सुन्तलादेखि बदामसम्म पनि उनले बेच्दै आएकी छिन् । तर विगत तीन महिनादेखि भने घण्टाघर नजिकै मकै पोल्ने व्यवसायमा रमाइरहेकी छन् ।

बाटो हिँडिरहेका मानिसहरू मकै खान उनको नजिक आइपुग्छन् । केही ग्राहकहरू मकै किनेर पैसा तिर्दै निस्कन्छन् त केही ग्राहकहरू मकै खाँदै उनीसँग भलाकुसारी गर्छन् । ग्राहकसँगको भलाकुसारीका क्रममा पदमकुमारीको आत्मियता पनि झल्किन्छ । यहाँ उनले मकैको व्यापार मात्रै गरेकी छैनन्, पोलेका मकैसँग मिठो आत्मियता पनि बाँडेकी छिन् । उनी भन्छिन्, ‘सुखी त जो कोही पनि हुन सक्छन्, तर खुशी भएर बाँच्ने मानिस कम हुन्छन् । त्यही खुसी भएर बाच्ने मध्यको म एक हुँ ।’

माइतमा छँदा खान–लाउन समस्या थिएन । उनको माइती परिवार गाउँकै खान्दानी परिवारका रूपमा परिचित थियो । खानकै लागि मरिमेटी गरेर काम गर्नु पनि पर्दैनथ्यो । तर उनी आठ वर्षको हुँदा उनले आफ्ना बुबालाई गुमाउनुप¥यो ।
परिवारका चार छोराछारीमध्ये उनी जेठी छोरी थिइन् ।

बुबाको मृत्युपछि परिवारको जेठी छोरी भएकाले उनको काँधमा थुप्रै जिम्मेवारीहरू थपिए । बुबाको मृत्युले उनको जीवनलाई संघर्षको बाटोतर्फ डो¥यायो । डो¥याएन मात्रै संघर्षको त्यो बाटोमा हिँड्न पाठ पनि सिकाइदियो ।

छोराछोरीलाई पढ्न–लेख्न पठाउनुपर्छ भन्ने चेतनाको विकास भइसके पनि उनी पारिवारिक जिम्मेवारीले पढाइमा भन्दा बढी पारिवारिक व्यवहारमै व्यस्त हुन थालिन् । त्यही बेलादेखि नै पदमकुमारीले विभिन्न तरकारी, फलफूल लगायतका साम्रगीको बिक्री गर्ने काम सुरु गरेकी थिइन् ।

वि.सं. २०२८ सालमा दैलेखमा जन्मिएकी पदमकुमारी सानै उमेरदेखि व्यवसायमा संलग्न भइन् । गाउँबाट तरकारी खरिद गर्ने र बजार पु¥याएर बेच्ने उनको व्यवसाय बन्यो ।

परिवारको पहिलो सन्तानका रूपमा जन्म भएकाले पदमकुमारीले आमालाई घरका काममा सघाउँथिन् । तीन जना भाइबहिनीलाई उनीहरूले चाहे जति पढ्नमा उनले निकै सहयोग गरिन् । घरका काम आफैं गर्थिन् ।

अहिले उनको परिवार वीरेन्द्रनगर–७ मा बस्छ । खेतबारी छ । अन्न उब्जाउ हुन्छ, तर पनि उनी घण्टाघर नजिकै मकै पोलेर बेच्छिन् । उनी भन्छिन्,

‘काम भनेको सानो–ठूलो हुँदैन । लगानी र मेहेनत गर्ने हो भने सडकबाट व्यापार सुरु गर्नेहरू पनि भोलि ठूला व्यवसायी बन्न सक्छन् ।’
आफ्नो कामबाट सन्तुष्टीसँगै उनी उत्तिकै खुशी पनि छन् ।

अहिले विकासोन्मुख सहरहरूमा सिजन अनुसारका व्यापार व्यवसाय फैलिदैं गएका छन् । खासगरी सानो लगानी गरेर पनि राम्रो आम्दानी गर्न सकिने यस्ता व्यसायमा हात हाल्नेहरू पछिल्लो समयमा बढ्दै गएका छन् । हुन त साना लगानीका व्यवसायमा हात हाल्नुका पछाडि केही मानिसहरूका आफ्नै बाध्यता पनि हुन्छन् । तिनै बाध्यतासँग जुध्दै वीरेन्द्रनगर–७ कि पदमकुमारी पनि सडककै व्यवसायमा संलग्न हुन पुगेकी हुन् ।

पदमकुमारीले सडक छेउमै सञ्चालन गरेको व्यवसायले उनलाई मात्र होइन उनको परिवारलाई पनि खुशी दिएको छ ।
उनी बिहान ५ बजे उठेर दिनभरीका लागि चाहिने मकै खोज्न थाल्छिन् । वीरेन्द्रनगरका घुस्रा, मनिकापुरलगायत भेरी नजिकको गाउँबाट मकै संकलन गर्ने उनी बिहान उठेबाट साँझ घर नफर्कुन्जेल व्यस्त हुन्छिन् । उनलाई मकै लगायत आवश्यक सामग्री खोज्न श्रीमान् र छोराहरूले पनि सहयोग गर्छन् ।

बिहानभर मकै खोज्ने अनि बिहान खाना खाइसकेपछि बोरा भरी मकै बोकेर घण्टाघर पुग्छिन्, पदमकुमारी । त्यहाँसम्म आवश्यक सामग्री पु¥याउन उनका श्रीमान् काममा सहयोग गर्छन् । दुई छोराहरूले काममा सघाउने गरेका छन् । साना दुई छोराछोरी पढ्न जान्छन् ।
‘साना छोराछारीलाई पढाउन खर्च चाहिन्छ,’ उनले भनिन् ‘घर खर्च चलेकै छ । छोराछोरी पढाउन व्यापारबाट आएको रकमले मद्दत पुगेको छ । ठूला छोराहरू आफै काम गरेर आत्मनिर्भर भएका छन् ।’

मकैबारीमै गएर मकै ल्याउँदा साना कोसा मकैको १० रूपैयाँ र ठूला कोसाको १६ रूपैयाँसम्म पर्ने गरेको छ भने ग्राहकले पोलेको मकै १५ देखि २० रूपैयाँमा किन्छन् ।

सामान्यतया दैनिक एक सय भन्दा बढी मकैका कोसा बेच्ने उनले कहिले दिनमा एक सय ५० कोसासम्म बेच्ने गरेकी छन् । यसरी उनको दैनिक आम्दानी आठ सय बाट सुरु भएर एक हजार दुई सयसम्म पुग्छ ।

दुःख त कसले पो गर्नु पर्दैन र ? काम गर्दा दुःख मानेर गर्नु हुँदैन भन्छिन् पदमकुमारी । काम गर्नुछ भने खुशीसाथ गर्नुपर्छ भन्ने उनको मान्यता छ ।

हँसिलो अनुहार र उत्तिकै मिठो बोली वचन अनि उत्तिकै सन्तुष्ट पनि । उनलाई आफ्नो जीवनप्रति कुनै गुनासो छैन । तर सडकको व्यापार, कतिबेला नगरपालिकाको गाडी आउँछ सामान लैजान्छ भन्ने चिन्ताले सताइ रहन्छ । काम गरेर खाने वर्गलाई नगरपालिकाले गरेको व्यवहारप्रति पनि उनको चित्त बुझेको छैन । उनले भनिन्, ‘सडकमा बस्न हामीलाई पनि रहर छैन । हाम्रा पनि केही बाध्यताहरू छन्, यी बाध्यताको अघि हामी सरकारले नबस भनेर लखेटेको ठाउँमा पनि फर्की–फर्की आएर बस्नु परेको छ ।’

‘सबै मानिसको एउटै स्तर हुँदैन,’ उनले थपिन्, ‘हामी काम गरेर खान्छौं भन्नेहरूलाई निश्चित ठाउँमा व्यापार गरेर खाने वातावरण दिनुपर्छ ।’
काम ठूलो र सानो हुनेभन्दा पनि मेहेनत गर्नेहरूले सफलता पाउँछन् भन्ने मान्यता राख्छिन् उनी । उनका आफ्नै नियमित ग्राहकहरू छन् भने, केही नयाँ ग्राहकहरू छन् । तर कतिपय व्यवहारको सोच र व्यवहार भने उनलाई मनै पर्दैन । भन्छिन्, ‘राम्रो जागीर भएकाहरू पनि सडकका मान्छे त हुन भन्दै हामीलाई तल्लो व्यवहार प्रदर्शन गर्छन्, तर उनीहरूको यस्तो व्यवहारले उनरीहरूको आफ्नै परिचय दिन्छ ।’

उनले थपिन्, ‘हाम्लाई पनि सडकमा बसेर काम गर्न त रहर होइन तर आफ्नो क्षमता र योग्यताले भ्याएसम्मको काम गरेर खानेहरू पनि ईज्जतले बाचेका हुन्छन् ।’

प्रकाशित मितिः   २९ असार २०७६, आईतवार १३:३२