सँगै कमाउँदै, सँगै रमाउँदै

कृषि कर्ममा रमाएको जोडी

बुबाआमा चाहन्थे, छोरा जागिरे होस् । तर वीरेन्द्रनगर–९ सुर्खेतका दिपेन्द्र कार्की बुबाआमाको चाहना विपरित उभिए । कृषि जेटीए पढेका उनी आफै कृषि पेसा गर्न चाहन्थे । त्यसैले परिवारको असहमति हुँदाहुँदै पनि जागिरतर्फ सोच्दै नसोची कृषि कर्ममा लागे ।

उनको श्रीमती नीताले पनि कृषि जेटीए नै पढेकी थिइन् । चाहेको भए दुवै जना परिवारले भने अनुसार कुनै न कुनै जागिरमा जान सक्थे । नीता पनि सुरुवातमा श्रीमान्ले जागिर गरिदिएको भए हुन्थ्यो भन्ने नै चाहन्थिन् । तर दिपेन्द्रले नीतालाई मनाए । ‘सुरुमा म पनि उहाँले जागिर नै गर्नुपर्छ भन्ने सोचमा थिएँ । उहाँले यो व्यवसाय सुरु गरौं भनेपछि नाइ भन्न सकिनँ । उहाँलाई नै सहयोग गर्ने निर्णय लिएँ’ नीता सम्झिन्छिन् । अहिले यही पेसा उनीहरूका लागि गर्वको पेसा बनेको छ । बुबाआमा पनि खुशी छन् ।

कृषि जेटीए पढ्न दिपेन्द्र बर्दिया पुगेका थिए । नीता पनि त्यही कलेजमा पढ्थिन् । दिपेन्द्र सिनियर ब्याजका थिए । पढ्ने क्रममा नै दिपेन्द्र र नीताको चिनजान भएको थियो । त्यही उनीहरूबीच प्रेम बस्यो ।

कृषि जेटीएको पढाइ सकेपछि दिपेन्द्र सिभिल इन्जिनिय पढ्न चितवन गए । नीता भने निम्न माध्यमिक तहमा राहत कोटामा शिक्षक भइन् ।
चितवनमा पढ्ने क्रममा दिपेन्द्रले त्यहाँको कृषि क्रान्तिलाई राम्रोसँग नियाल्ने अवसर पाएका थिए । आफूले पनि सुर्खेत आएपछि गाईपालन गर्ने योजना परिवारलाई सुनाए । तर उनको योजना परिवारले अस्वीकार ग¥यो । जहाँ ईच्छा त्यहाँ उपाय भने झैं उनले आफ्नो ईच्छालाई जसरी पनि पूरा गर्ने अठोट लिए । उनले सहकारीबाट ऋण लिएर सुरुमा तीन वटा गाई किने । अनि सुरु गरे आफ्नो व्यवसाय ।

करिब ६ लाखको लगानीमा व्यवसायिक रूपमा गाईपालन सुरु भयो । दिपेन्द्र र नीता दुवै त्यसैमा लागे । उनीहरू २०६६ सालदेखि निरन्तर व्यवसायिक रूपमा गाइपालनमा छन् ।

सुरु–सुरुमा दिपेन्द्र दुध बेच्न आफै वीरेन्द्रनगरको बजार पुग्थे । ‘सूरुमा बीस÷पच्चीस लिटर दुध बेच्न आफै जान्थें । यति धेरै पढेको मान्छे किन जागिर नखाएर दुखारी काम गर्न थाल्यो भनेर कुरा काट्थे । यसको बुद्धि सकियो भनेर पनि भन्थे’ आफ्ना संघर्षका दिन सुनाउँदै कार्कीले भने,
‘पहिले कुरा काट्नेहरूले नै अहिले उदारणीय काम गरेको भन्दै प्रशंसा गर्छन् ।’ गाइपालन सुरु गर्दा अस्वीकार गरेको घरपरिवारबाट समेत राम्रो सहयोग मिल्दै गएको छ । दिपेन्द्रका बुबा अहिले छोराबुहारीसँगै गाइ फार्ममा भेटिन्छन् । दिपेन्द्र भन्छन्, ‘मैले कृषि पेसाबाट पैसासँगै नाम पनि कमाएको छु । साथै घरपरिवारको साथ पनि पाएको छु । यसबाट मेरो परिवार खुुशी छ ।’

कार्की दम्पत्तिको गाइ फार्ममा अहिले १४ वटा गाई छन् । नौ वटा बाच्छा छन् । दैनिक एक सय लिटर दुध बिक्री हुन्छ । हिउँदको समयमा एक सय ५० लिटरसम्म दुध उत्पादन हुन्छ । एक लिटरलाई ५५ रूपैयाँले बिक्री हुन्छ । पहिले जसरी दुध बिक्री गर्न समस्या छैन । स्थानीय डेरीमै दुध दिन्छन् । ‘पहिले होटल–होटलमा दुध बिक्री गर्न जानुपथ्र्यो’ उनले भने, ‘अहिले उत्पादन बढेपछि डेरीमा दिन्छौं । आम्दानी राम्रो भइरहेको छ ।’

सुर्खेत अझै पनि दुध उत्पादनमा परनिर्भर नै छ । दुधमा सुर्खेतलाई केही हदसम्म भए पनि आत्मनिर्भर बनाउनमा आफूहरूले थोरै भए पनि योगदान गरेको नीता र दिपेन्द्र बताउँछन् । उनीहरू भन्छन्, ‘एक–दुई वटा गाइभैंसी पाल्नु भन्दा व्यवसायिक रूपमा गर्न थालियो भने आत्मनिर्भर गराउन सकिन्छ ।’

उनीहरूलाई गाइपालनका लागि खासै समस्या छैन । आफैले घाँस खेती गर्छन् । जसले खर्च व्यवस्थापनलाई कम गराइदिएको छ । एक विगाहमा घाँस खेती गरिएको छ । घाँसबाट समेत आम्दानी हुन्छ ।

गाइपालनबाट कार्की दम्पत्तिले दोहोर फाइदा लिनसमेत सफल भएका छन् । गाइको मलबाट मात्र वार्षिक साढे तीन लाख आम्दानी हुन्छ । गाइको मलबाट उनीहरूले गडेउली मल उत्पादन गर्छन् । जुन मल प्रति किलो १५ रूपैयाँका दरले बिक्री हुन्छ । ‘मलको माग धेरै नै छ । मैले माग अनुसार पु¥याउन सकेको छैन’ उनले भने ।

यही अवधिमा दिपेन्द्र सानाकिसान सहकारीमार्फत् इजरायल जाने अवसर पाए । उनी २०१५ मा इजरायल गएर एक वर्ष बसे । कृषि क्रान्तिले फड्को मारेको देशका बारेमा बुझ्ने अवसर पाए । त्यहाँ कृषि फर्म अवलोकन गरे । उनी भन्छन्, ‘हामीले गोठ राम्रोसँग व्यवस्थापन मात्र गर्न सक्यौं भने पनि धेरै राम्रो हुन्छ । मैले इजरायलबाट पनि धेरै नयाँ कुरा सिक्ने अवसर पाएँ ।’

अहिले उनको गाइफर्म कार्की दम्पत्तिका लागि आम्दानीको स्रोत मात्र बनेको छैन, नयाँ व्यवसाय सुरु गर्नेका लागि प्रेरणाको स्रोत पनि बनेको छ । उनीहरूले पाएको सफलता हेर्न जानेहरू थुप्रै छन् । भैंसी तथा गाइपालनका लागि हेर्न जान्छन् । उनीहरूले गाइपालनका लागि आफूले सक्दो सहयोग पनि गर्ने गरेका छन् ।

कार्कीले अर्का साथी छवि खड्कासँगको सहकार्यमा अर्गानिक तरकारी खेती सुरु गरेका छन् । तरकारी कोपिला भ्याली समाज सुर्खेतले लैजाने सम्झौता छ

Loading...