जडिबुटीले बदलेको जीवन
गाउँमा विद्यालय नभएका होइनन्, तर गोठीचौर–५, जुम्लाका विर्ष सार्कीको पहुँचमा भने थिएनन् । उनले अक्षर चिन्नसम्म पनि पाएनन् । नपढेको व्यक्तिलाई जागिर कसले दिने ? नोकरीको सम्भावना नै सकियो । ज्याला मजदुरी बाहेक अरु उपाय उनकासामू थिएन । एउटा मात्र विकल्प बचेको जिन्दगीलाई अगाडि बढाउने संकल्प गर्नु थियो, उनले त्यही गरे । संकल्प सफलताको सुरुवात जो, हो ।
०००
बाको अनुहारमा निचोरेको कपडा जस्तो गरी मुजा परेपछि । दुधमुखे भाइ हुँदै आमाले परान छाडेपछि । जिम्मेवारीको भारी उसै–उसै बढेर पहाड बनेको थियो । त्यसमाथि थपिएकी थिइन् श्रीमती । बढेका थिए लालाबाला । आफैलाई च्याप्लाजस्तो जिम्मेवारीको पहाड । त्यही पहाड छिचोलेर निस्कनु थियो, विर्षलाई । तर निस्कने कसरी ? उनी चिन्तत हुन्थे ।
आम्दानीको अरु उपाय थिएन । मजदुरी भए पनि गर्नु नै पर्ने । एक युवा अवस्थाको अदक्ष कामदार । काम सिक्नैपर्ने चुनौती भएकाले अग्रजको साहारा लिनुपर्ने र सँगै उनीहरूले भनेको मान्नु पनि पर्ने भयो । जसले जस्तो काम अह्राए पनि गर्न थाले । गाह्रोसारो सबै काम प्रिय । परेपछि जिन्दगीले कामलाई नै प्रेम गर्न सिकाउँदो रहेछ । विर्षले पनि त्यही सिके ।
०००
मजदुरी गरेर जिविकोपार्जन गरिरहेका विर्षको जीवनमा उनैले नचिताएको जागिरको अवसर मिल्यो । त्यसबेला सरकारी कार्यलयका सबैभन्दा तल्लो दर्जाको कर्मचारी ‘पिएन’ हुन्थ्यो । त्यही पद गैरसरकारी संस्थामा ‘कार्यालय सहायक’ ले चिनिने । विर्ष बने कार्यालय सहायक । उक्त कार्यालयका हाकिम थिए, करण नेपाली । जिल्लामा भएका थोरै एनजीओ सञ्चालकमा एक । नामी व्यक्ति । जडिबुटीमा खुब रुचि भएका । उनी जडिबुटी संकलन गर्न कार्यालय सहायकलाई पनि लगाउँथे ।
हाकिमले भने अनुसार सहायक हिँड्नुपर्ने । विर्ष पनि हाकिमले भने अनुसार नै कयौं पटक पाटनमा पुगे । जंगलहरू डुले । अनकौं महŒवका जडिबुटी देखे । तिनलाई दैनिक जीवनमा उपयोगी हुने उपयोगिता सिक्दै गए ।
बढ्दै गएको चेतना । बन्दै गरेको धारणा । संसद भङ्ग भएपछिको माननीय जस्तो एनजीओको सहायक पदको जागिर भएपछि विर्षको जिन्दगीले लय समातेको थियो । तर त्यतिले मात्र पुगेको थिएन ।
मनले हरेक दिन समीक्षा गथ्र्यो । अबको विकल्प के ? ज्याला मजदुरी या अरु केही ? निश्कर्ष थियो ‘गरीबहरूको ठूलो समस्या नुन तुल हो । नुनतेल नै नभएपछि अरु सोच्न भ्याइदैन ।’ खुल्यो एउटा खुद्रा पसल । अब नुन तेलको टन्टा साफ । जीवनले अर्को मोड लियो ।
०००
एनजीओको सहायक भएर जंगल डुल्दा–डुल्दा उनलाई थाहा भइसकेको थियो, जंगल त जडिबुटीको भण्डार पो रहेछ । अब यही उपयोग गर्नुपर्छ । उनले निश्चय गरिसकेका थिए । भुल्ते, कुटकी, सुगन्धवाल, पदमचाल, विषम लगायत जडिबुटी किन्न व्यापारी गाउँ आउन थालेका थिए । सिजनमा मौका छोपे राम्रै कमाइ हुने । ‘जंगलबाट कोरेर व्यापार गर्ने जति सबै जडिबुटी खेती गरेर व्यापार गर्यो भने फस्टाउन सकिन्छ । सधैं जंगलका जडिबुटीमा भर परे एकदिन यी सबै जडिबुटी लोप हुनेछन् । प्रतिबन्धित अवस्थामै पाँच औंले लगभग लोप भइसक्यो । अरु जडिबुटी हिजोको तुलनामा निकै घटिसकेका छन् । अब जसरी हुन्छ खेती गर्नुपर्छ ।’ यो थियो २०५३ सालको चेतना । स्मृतिको गहिराइमा डुबेर बोलिरहेका थिए, विर्ष सार्की ।
अब जडिबुटी खेती गर्नु थियो । तर कसरी गर्ने भन्ने कुनै ज्ञान विना नै जंगलबाट भुल्ते, कुटकी, सुमयोका जरा ल्याएर लगाए । भएन ! यो जडिबुटी हो भनेर थाहा पाउने बित्तिकै त्यसलाई ल्याएर पाखो बारी र खेत दुवैमा रोपे । भएन ! जडिबुटी खेतीबारे कुनै किताब थिएन । भए पनि उनलाई पढ्न नआउने ।
एकदिन एकाएक उनलाई नयाँ ‘आइडिया’ फु¥यो, अब नजोतेको खेतमा बीऊ छर्नुपर्छ । छरे । भएन ! अर्काे आइडिया फु¥यो, ती जडिबुटी भएका ठाउँनेरको माटो ल्याएर त्यसैको बेर्ना बनाए, त्यो विस्तारै बीऊ उम्रन थाल्यो । कुनै जडिबुटी कम मेहेनतमा भए । केहीलाई हुर्काउन निकै कष्ट गर्नु प¥यो ।
समयको अन्तरालमा जडिबुटी उत्पादनले विस्तारै गति लिँदै थियो । ज्ञानको अनुभव बढ्दै थियो । सम्बन्ध विस्तार हुँदै थियो । त्यही समयमा स्याऊका बुटा कलमी गर्न पनि सिके । नर्सरीमा उत्पादन भएका स्याऊका बोटले ग्राहक पाउन थालिसकेका थिए । नर्सरी राम्रो हुँदै थियो ।
घोडमच्चो, तुलसी, वन कचुर, गुन्नाइनो, बायजडी, पदम चाल लगायत आठ वटा जडिबुटी मिलाएर पछि स्वादिलो ‘हिमाली अर्गानिक जडिबुटी चिया’ नामको हर्बल चिया बनाए । सुरुमा यसका ग्राहक थिएनन् । बनाउन समय लाग्यो । विस्तारै बढ्दै गए । थोर–बहुत ग्राहक पाइए । पछि बजार भयो । ग्राहक बढे ।
कसैले उनलाई सुझायो, ‘कानुनी रूपमा उद्योग दर्ता गरी अघि बढ्नुपर्छ ।’ अनि सरकारले प्रतिवर्ष राजस्व पाउने गरी दर्ता भए एकै पटक दुई वटा उद्योग । जसको नाम रह्यो ‘दिलक फलफूल तथा नर्सरी उद्योग’ र ‘शान्ति हिमाली अर्गानिक चिया मसला उद्योग’ । यिनै दुई उद्योगका मालिक हुन् विर्ष ।
तर यसरी उद्यम गर्न सहज भने थिएन । अनेक चुनौतीहरू पनि सिंगौरी खेल्न आइपुग्थे । जसलाई परास्त गर्दै विर्ष अघि बढे । केही समय उनी जस्ता उत्पादकहरूबाट उत्पादित स्याऊका बुटा खरिद गरेर कृषि विकास कार्यालयले अनुदानमा कृषकलाई वितरण गर्ने कार्यक्रम गर्दा यसले कमाइ राम्रै भयो । तर सरकारी अनुदानको कार्यक्रम बीचमै रोकियो । बुटा बिक्री हुन छोडे । विर्ष भन्छन् ‘बुटाले धोका दिए । एउटा बुटा दुई रूपैयाँमा पनि बिकेन । राजस्व तिर्न नसकिने स्थिति आयो । मेहेनत त्यसै खेर गयो हजुर ।’ धोका बुटाले दिएका हुन वा सरकारले ? तुलनात्मक समीक्षा भइरहेको थिएन ।
उनले फलफूल तथा नर्सरी उद्योगको राजस्व तिर्नलाई भए पनि बुटा कलमी गर्न छोडेनन् । हरेक वर्ष अलि–अलि भए पनि बुटा बिक्री गर्ने प्रयास गरिरहे । सरकारलाई राजस्व तिरिरहे । भलै सरकारकै कारण नर्सरी व्यवसाय धरापमै परेको किन नहोस् ।
जडिबुटी भने राम्रो भइरहेको थियो । प्रयोग गरेको १३ औं वर्ष हुन थालिसकेको थियो । अनुभव भनौं वा अनुसन्धान, विर्ष सार्कीले पसिनाको फल चाख्न थालिसकेका थिए । त्यही अवस्थामा जिल्ला घरेलुु तथा साना उद्योग विकास समितिले एउटा सुनौलो अवसर दियो । कृषि जन्य उत्पादन फलफूल तथा जडिबुटी उत्पादनमा सबैभन्दा राम्रो भएपछि विर्ष सार्की एक हप्ताको लागि विकसित देश थाइल्याण्ड उडे । यो थियो २०६६ सालको कुरा ।
थाइल्याण्डबाट फर्किदा उनमा फरक खालको जोस थियो । नयाँ काम गर्ने, नयाँ खोज गर्ने । मन उसै–उसै फुलेर आउने । त्यहाँको उद्यमशीलताको बारेका उनी सात दिनसम्म बयान गर्न सक्छन् । उनले त्यहाँ सिकेको महŒवपूर्ण पक्ष पेटेन्ट राइट (अग्राधिकार) को कुरा हो । उनलाई पनि आफ्नो उद्योगबाट सबैभन्दा बढी बिक्री हुने ‘चिया’ को पेटेन्ट राइट लिनुपर्छ भन्ने लाग्यो । त्यसका लागि उनले सबै प्रक्रिया पूरा गरिसकेका छन् । वनस्पति विभागबाट प्रयोगशालाको रिपोर्ट चिया गुणस्तरीय भनेर आइसकेको छ ।
०००
अनेकन चुनौती चिर्दै विर्षले अहिले आफूलाई सहज र सुरक्षित मार्गमा उभ्याइसकेका छन् । सुरुका वर्षमा सय प्याकेट चिया बेच्ने उनी अहिले वार्षिक पन्ध्र हजार प्याकेट बेच्छन् । यो वर्ष बीस हजार बेच्ने लक्ष्य लिएका छन् । अब बजार विस्तार भइरहेको छ । पहिला स–परिवार बेकामे हुन्थे । अहिले सबै आफ्नै उद्योगमा कार्यरत छन् ।
जडिबुटी झन् राम्रो हुँदै गइरहेको छ । सुमयो १५ देखि २० किलो उत्पादन हुन्छ । अत्तिस डेढ कुइन्टेलसम्म उत्पादन भइरहेको छ । नौ सयदेखि हजार रूपैयाँ किलोमा बिक्री हुन्छ । विर्षको मुहारमा हर्षले बास गरेको छ । सबै राम्रो चलिरहेको छ । तर उनलाई एउटा पिरले भने छोडेको छैन । लाग्न थालेको छ, जंगलबाट अव्यवस्थित जडिबुटी संकलनले बीउ मासिने पो हो की ? देशमै औषधि उत्पादन गर्ने उद्योग नहुँदा सुन भन्दा महंगो जडिबुटी कौडीको मोलमा इन्डियालाई बिक्री गर्नुपरेको छ । हाम्रै जडिबुटीबाट बनेको औषधि सुनभन्दा महंगो मोलमा हामीले नै किन्नुपरेको छ । जसरी पनि गरीब बन्ने मेसो चलिरहेको छ । त्यसैले उनी भन्छन् ‘औषधि उद्योग र जडिबुटी प्रशोधन केन्द्र नेपालमै नभइ भएन ।’
अहिले उनी जडिबुटी बजारमा सबैभन्दा बढी माग भएको वन लसुन र ह्याड्या (सेतो चिनी) को बीऊ उत्पादन गर्ने तयारी गरिरहेका छन् । भन्छन् ‘सफल भयो भने ठुलै काम हुनेछ ।’ उनले जिल्लामा पाइने एक सय १० वटा जडिबुटीको सूची बनाएका छन् । यत्तिको खोजी त जिल्ला वनस्पति कार्यालयले पनि गरेको छैन ।
केही संस्थाहरू जडिबुटीको भण्डारबाट बीऊ मास्ने गरी लागेका छन् । उनीहरू जति सकिन्छ जडिबुटी संकलन गर पैसा कमाउ भन्दैछन् । रामदेवहरू पाटन कब्जा जमाउन सरकारलाई समेत प्रभाव पार्दैछन् । ‘मियाके जुत्ते मियाके शिरपर’ हुँदैछ । यो काम रोक्न विर्ष सार्कीको प्रयासले हुँदैन । सरोकारवाला र सरकारले सोच्ने हो । प्रयास गर्ने हो ।
एक पटक इन्डियन बहुराष्ट्रिय कम्पनी डाबरले विर्ष सार्कीलाई जंगलबाट अत्तीसका चार हजार बिरुवा ल्याउने भनेको थियो । उनले बीऊ मासिने खतरा देखेपछि उसँग काम गरेनन् । बरु बीऊ संकलन गरेर आफूले खेती गरे । उनी एक जना त सचेत भए । सरकार कहिले सचेत हुने ? यतिबेला उनलाई सबैभन्दा बढी चिन्ता जडिबुटीकै छ । नहोस् पनि किन, जडिबुटीले नै उनको जीवन बदलिएको छ ।
गाउँघरमा आयुर्वेदिक पद्दतिबाट उपचार गर्ने परम्परागत सीप भएका थुप्रै मान्छेहरू छन् । कति त्यस्ता सिपालु मान्छे मरेसँगै उनीहरूको सीप र उपचार पद्दति पनि मरेका छन् । विर्ष सार्कीले भने उक्त सीप सिकेका छन् । गाउँघरमा कसैलाई सानोतिनो बिमार लाग्यो भने उनी वैद्यको काम गर्छन् । ग्यास्ट्रिक, दम, सुगर लगायत रोग निदानको औषधि बनाउँछन् । गाउँलेको सेवाको लागि । विर्ष सार्कीको जीवन अहिले बदलिएको छ । कुनै समय मजदुरी गरेर जीविकोपार्जन गर्ने उनी अहिले दुई वटा उद्योगको मालिक भएका छन् । उद्यमी बनेका छन् । जुन उनको आफ्नै मेहेनत र पौरखले आर्जन गरेका हुन् ।
प्रकाशित मितिः २९ असार २०७६, आईतवार १३:०६
महेश नेपाली ।