रामायणका परिचायक भानुभक्त

भानुभक्तको परिचय
नेपाली साहित्य लेखनमा विभिन्न व्यक्तित्वहरू विभिन्न नामहरूले परिचित छन् । लक्ष्मीप्रसाद देवकोटा महाकवि बने । गोपालप्रसाद रिमाल आधुनिक कवि बने । सिद्धिचरण श्रेष्ठ युगकवि बने । शम्भुप्रसाद ढुङ्गेल आयामाली कवि बने । आदिकवीको नामले परिचित भानुभक्तका पनि आफ्नै परिचय रहेको छ ।
वि.सं १८७१ साल असार २९ गते नेपालको तनहुँ जिल्लाको रम्घा भन्ने गाउँमा माता धर्मावतीदेवी र पीता धनञ्जय आचार्यको पुत्रको रूपमा जन्मिएका नेपाली वाङ्मयका ज्योती भानुभक्त आचार्यको २०६ औं जन्मजयन्तीको अवसर पारेर देशका विभिन्न ठाउँहरूमा विभिन्न कार्यक्रम गरी धुमधामका साथ मनाइरहेको सन्दर्भ छ । मोतीराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । कवि भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृतिहरू लेखेका छन् । उनका बहुमूल्य साहित्यिक पाण्डुलिपीहरूलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकको आकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका हुन् । उनलाई नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि मानिन्छ ।
हुन त रामायणको लेखन ऋषि वाल्मिकीले गरेका थिए । यो धार्मिक विषयमा एक हिन्दु महाकाव्य हो । यसमा २४ हजार श्लोकहरू रहेका छन् । यो संस्कृत भाषामा लेखिएको थियो । यो अनुपमग्रन्थ पनि हो । त्यसो त संस्कृतमा लेखिएको रामायणलाई काव्यमा ढाली नेपालीपनलाई नेपाली मनभित्र पु¥याउने सुकार्यले गर्दा वास्तवमा रामायण भानुभक्तको परिचायक बन्यो । राणाकालीन अस्थिर, बन्द र गुपचुप वातावरणभित्र पनि रामको आदर्श श्रृष्टी गर्ने एक साहित्यिक साहसिक मार्गदर्शक भानुभक्त बने । रामायणलाई नेपाली साहित्यको लोकप्रिय स्तम्भ मानिन्छ । यो स्तम्भलाई भानुभक्तले नेपाली भाषामा आकार दिए । पलास्टर गरे । रंगीन बनाए र सबै झुम्ने बनाए ।

भानुभक्तबाट सिक्नुपर्ने कुराहरू
भानुभक्त कुनै दरबारिया सुख सयलबाट हुर्के बढेका थिएनन् । न त विश्वविद्यालयको दीक्षान्त समारोहबाट दीक्षित नै भएका थिए । ग्रामीण परिवेशको सामान्य परिवारमा जन्मेर पनि संस्कृत शिक्षाको राम्रो दखल हासिल गरेका थिए । तर पछि साहसिक आँट गरी सबै नेपालीको मनमुटुमा पुगेर समग्र नेपाली भाषीलाई फूलका थुंगाहरूलाई एउटै धागोमा उने झैं नेपाली भाषामा रामायणको अनुवाद गरि एकताका सुत्रमा उन्न सफल भए । यो भानुभक्तको विशिष्ट योगदान हो ।
नेपाली भाषाका प्रथम कवि पनि भानुभक्तलाई मानिन्छ । संस्कृतमा भएको रामायण सर्वसाधारण नेपाली भाषीहरूले सजिलै बुझ्न सक्ने कुरै थिएन । तर यसलाई भानुभक्तले सजिलै बुझ्न सकिने बनाएका छन् । रामायणले पाठकलाई सामाजिक, नैतिक, सामाजिक र चारित्रिक शिक्षा पनि प्रदान गरेको छ । उनको रामायणको लय कालजयी छ । भानुभक्तको रामायणको लयलाई अहिले पनि साहित्यकारहरूले छाती फुलाएर पछ्याइरहेका छन् । आजका श्रष्टाहरूले भानुभक्तको ग्रामीण सरलता र गहनताई अनुशरण गर्नुको विकल्प रहेको छैन ।
नेपाली भाषाको दायरालाई फराकिलो र चिल्लो बनाउँदै नेपालीपन झल्किने गरी गरेको समर्पण र योगदान आजको दिनमा पनि उत्तिकै मूल्यवान र सह्रानीय छ । रसको सन्दर्भमा पनि रामायणमा प्राय सबै रसको प्रयोग भएको नेपाली साहित्यका जानकारहरू बताउँछन् । नेपाली जगतमा भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृमोह, भातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जस्ता समग्र विषयको उठान, समन्वय एवम् समष्टि भाव प्रदान गरेर भानुभक्तले आदिकवि तथा नेपालको राष्ट्रिय विभुति जस्ता सम्मान पाएका हुन् । यो उनले नेपाली भाषालाई र नेपालीपनलाई लगाएको गुनको भाराको आंशिक दक्षिणा मात्र हो ।

रामायणको सार
रामायणको रचना त्रेता युगमा भएको मानिन्छ । पवित्र धार्मिक ग्रन्थको रूपमा रहेको रामायणका पात्रहरू बालमिकी, दशरथ, जनक, राम, सीता, रावण, भरत, सत्रुधन, लक्ष्मण, हनुमान, बाली, सुग्रीभ, जटायु रहेका छन् । रामायणको रचना त्रेता युगमा भएको मानिन्छ । यसमा रहेका घटनाहरूलाई सात वटा खण्डको रूपमा विभाजन गरिएको छ । जसलाई रामायणका सात काण्ड पनि भनिन्छ । ती सातवटा खण्डहरूमा बालकाण्ड, अयोध्या काण्ड, अरण्य काण्ड, किष्किन्धा काण्ड, सुन्दर काण्ड, युद्ध काण्ड र उत्तर काण्ड रहेका छन् ।
बालकाण्डमा हालको भारतको अयोध्यामा राजा भएका दशरथका तीन वटी रानीहरू कौशल्या, कैकेयी र सुमित्रा भएर पनि लामो समयसम्म निसन्तान भएको कुरा रहेको छ । पछि पुत्रकामेष्टी नामक यज्ञ गरेपछि कौशिलाबाट राम, कैकेयीबाट भरत र सुमित्राबाट लक्ष्मण र सत्रुधन जन्मिएको प्रसंग रहेको छ । मिथिलाका राजा जनकले जोतेको ठाउँबाट बालिका सीता भेटाएर ल्याएको र उनको पालन पोषण तथा हुर्काइ बढाइ गरेको प्रसंग रोचक रूपमा उल्लेख गरिएको छ । पछि शिवधनु उचाल्न सक्नेसँग सीताको विवाह गर्ने भनिएको र त्यो शिवधनु रामले उचालेको कारण उनको विवाह रामसँग भएको प्रसंग रामायणमा पद्यात्मक वा लयात्मक रूपमा रहेको छ ।
अयोध्या काण्डमा कैकेयीले आफ्नो छोरा भरतलाई राजा बनाउन र रामलाई १४ वर्षसम्म वनवास पठाउन दशरथ राजालाई गरेको अनुरोध र सोही अनुरूपका घटनाहरूको बारेमा उल्लेख गरिएको छ । रामले सीतालाई आफू वनबास रहने वेलासम्म अयोध्या नै बस्न गरेको आग्रहलाई सीताले ‘जुन वनमा हजुर बस्नुहुन्छ त्यो नै मेरा लागि अयोध्या हो र हजुर विनाको अयोध्या त मेरो लागि उजाड नर्क मात्र हो’ भन्ने भनाइ अत्यन्तै मार्मिक, कारुणिक, पतिव्रता र मर्मस्पर्सी रहेको छ । प्यारो जेठो छोरा रामको वनबासपछि दशरथले पनि प्राण त्याग गरेको सन्दर्भ रहेको छ । त्यतिखेर भरत मामाघर गएका थिए । पछि उनी फर्केर रामको खोजीमा जंगल गए तर रामलाई फर्काउन नसकी उनका खराउ लिएर आए । सीता र रामलाई लक्ष्मणले साथ दिए ।
अरण्य काण्डमा पनि रोचक र वियोगान्त कुराहरू राखिएका छन् । राम, सीता र लक्ष्मण वनबासबाट फर्केर नेपालको ललितपुरको गोदावरीमा कुटी बनाइ बसेको कुरा छ । लक्ष्मणले रावणकी बहिनी सुपर्णखाको नाका र कान काटेको कुरा पनि छ । रावणले मरिचा सुनको हरिणको माध्यमबाट सीतालाई हरण गर्ने योजना बनाएर हरण गरेको कुरा रहेको छ ।
किष्किन्धा काण्डमा राम र लक्ष्मणको हनुमानसँग भेट भएको सन्दर्भ छ । रामले अग्नि साक्षी राखी सुग्रीवसँग मीत लगाएका थिए । बाली र सुग्रीवको गदा युद्ध पनि यसै काण्डमा भएको घटना उल्लेख छ । रामबाट बालीमा वाण प्रहार र शुग्रिव राजा घोषित भएको कुरा पनि रहेको छ । योगिनी स्वयम्प्रभाका गुफामा वानरहरू प्रवेश गरेको घटना बढो रोचक छ । वानरहरूले जटायु गिद्धलाई पनि भेटेका छन् । सुन्दर काण्डमा हनुमानको लंका यात्रा र सीतासँगको भेटको प्रसंग उल्लेख गरिएको छ । हनुमानजी समुन्द्रमा सुरसाको फेला परेको र सुरसाले आफ्नु रूप धारी इन्द्रको सन्देश हनुमानलाई सुनाएको प्रसंग पनि उल्लेख रहेको छ । यसै काण्डमा हनुमानले रावणको दरबार पनि चाहारेका छन् । इन्द्रजीतले हनुमानलाई बाँधेर रावणका सामु ल्याएका छन् । राक्षसहरूले हनुमानको पुच्छरलाई कपडा बेरेर आगो लगाइदिए पछि हनुमानले लंकाका अटालीहरूमा आगो लगाइ नगरै जलाइ दिएको रोचक कुरा रहेको छ । पछि हनुमान वारी आएर लंकामा रहेकी सीताको समाचार सुनाएका थिए ।
युद्धकाण्डमा वानर र लंका सेनाको युद्धको वर्णन गरिएको छ । रावणले विभिषणलाई राक्षस सभामा धिक्कारेको कुरा यस काण्डमा रहेको छ । पछि विभिषण रामका शरणमा परे । भरतले झुक्किएर द्रोणाचल लिएर उड्दै अयोध्यामाथि आइपुगेका हनुमानलाई देखि तर्सेर वाण छोड्न आँटेको कथा पनि रहेको छ । तर पछि हनुमानले द्रोणाचल पर्वत ल्याएपछि राम प्रशन्न भएको घटना पनि छ । र राम लक्ष्मणको पराक्रमको बारेमा छ । उत्तरकाण्डमा रामराज्यको वर्णन, सीताको वनवास, रामको यज्ञमा लवकुशको गाना, सीताजीको पृथ्वीप्रवेश र रामले मातालाई उपदेश गरेको कुरा पनि छ । साथै सीताको अग्नि परीक्षा र रामको मृत्युवरणको कुरा रहेको छ ।

पात्र वर्णन
वास्तविक नाम दशानन् भएको दशवटा टाउको भएको रावण विश्रवा नामका ऋषी र दैत्य कैकसी राजकुमारीको छोरा थिए । उसले महादेव र पार्वतीलाई कैलाश पर्वतसँगै लंका लैजान खोज्दा पर्वतले किचेर उसको रोदनको आवाजको आधारमा महादेवले रावण नाम राखिदिएको रमाइलो कथा रहेको छ । राम र रावणलाई दुईपल्ट परास्त गर्ने मेघनाथ रावणको छोरा थियो । कुम्भकर्ण रावणको भाइ थियो । जम्बावन जो भालुहरूका राजा थिए उनले सीताको खोजीको लागि रामलाई सहयोग गरेका थिए । जटायुले गरुडको रूप धारण गरी रावणले सीतालाई हरण गरेर लगेका ठाउँ पत्ता लगाउन सहयोग गरे । विभषण रावणको कान्छो भाइ भएपनि सीताको हरणको विरुद्धमा थियो । उसको ज्ञान लंका जित्न महŒवपूर्ण मानिन्छ । पछि उसलाई लंकाको राजा पनि बनाइयो ।
हनुमानले सीताको खोजी गर्न र लंकाको युद्ध जित्न ठूलो भूमिका खेलेका थिए । सुग्रिव रामायणमा उल्लेख गरिएको बानर राज्य किस्किन्धा नगरको राजा बालीका भाइ थिए । उनले रामचन्द्रसँग मित्रता गाँसी बालीको बध पश्चात किस्किन्धाको राज्य हासिल गरे ।

रामायणको मुख्य सन्देश
रामायणका मुख्य पात्र राम हुन् । उनी विष्णुको अवतार मानिन्छन् । उनलाई रघुवंशको राजा मानिन्छ । रामायणका सबै पात्रहरू आफ्ना धर्मको पालना गर्दछन् । रामलाई एक आदर्श, त्यागी, उदार र आज्ञाकारी पुत्र मानिन्छन् । पिताको आज्ञाको सहजै पालना गर्नु उनको स्वभावजन्य सरलता पनि हो । त्यत्रो राजखानदानको व्यक्ति भएर पनि उनी वनबास जान सके । जीवनमा एकमात्र विवाह सीतालाई मात्र गरे । उनी वीरवान, धैर्य व्यक्ति पनि हुन् । सीता पतिव्रत हुन् । लक्ष्मण र भरत पनि दाजु रामप्रति प्रेमभाव व्यक्त गर्छन् । लक्ष्मणसँगै जान्छन् भने भरतले रामका खराउ लिएर राजकाज गर्छन् । कौशल्यालाई पनि एक आदर्श नारी मानिन्छ किन भने उनले रामका अतिरिक्त सबै पुत्रहरूलाई समान व्यवहार गर्छिन् । हनुमान उदाहरणीय पात्र हुन् । रामणबाट अहंकार विनासको कारक बन्छ भन्ने ज्ञान प्राप्त हुन्छ । त्यसैले यसको मुख्य सार भनेको धैर्यता, शान्ती, सहनशीलता, सहयोगी, आज्ञाकारिता, आदरार्थी, त्यागी, उदार, आदर्श, स्नेही व्यक्तित्वको पहिचान नै जीवनको सार हो भन्ने सन्देश दिएको जस्तो लाग्छ ।

लेखक आदर्श माध्यमिक विद्यालय लेखफर्सामा कार्यरत शिक्षक हुन् ।

प्रकाशित मितिः   २९ असार २०७६, आईतवार १२:५७