कित्ताकाट फुकुवा अनिश्चित

नयाँ गुरुयोजना बनाइदैं, गुरुयोजना बनेपछि फुकुवा हुने

सीता वली
सुर्खेत, २७ जेठ ।
वीरेन्द्रनगर उपत्यकाभित्र पर्ने खेतीयोग्य जमिनमा कित्ताकाट र घरको नक्सापासमा लगाइएको रोक तत्काल नखुल्ने भएको छ । अव्यवस्थित रूपमा जमिनको खण्डीकरण बढेको भन्दै वीरेन्द्रनगर नगरपालिकाले कित्ताकाट र नक्सापासमा रोक लगाएको छ ।
नगरपालिकाले गतवर्षको माघ तेस्रो सातादेखि जग्गाको कित्ताकाट बन्द गरेको थियो । पछिल्लो समय वीरेन्द्रनगरभित्र जग्गाको कारोबारमा अत्याधिक वृद्धि हुनुका साथै जथाभावी रूपमा कित्ताकाट र घर निर्माण हुन थालेपछि नगरपालिकाले उक्त कार्यमा रोक लगाएको हो । जग्गाको खण्डीकरणलाई रोक्नको लागि कित्ताकाट बन्द गर्नुपरेको वीरेन्द्रनगर नगरपालिकाकी उप–प्रमुख मोहनमाया भण्डारीले बताइन् । उनले गुरुयोजना विपरित संरचना निर्माण हुन थालेकाले समस्या देखिएको जनाइन् । ‘वीरेन्द्रनगर नगरपालिकाको यसअघि नै गुरुयोजना बनिसकेको थियो’ उप–प्रमुख भण्डारीले भनिन्, ‘तर पछिल्लो समयमा गुरुयोजना विपरित बस्ती, सडक तथा कुलोहरू निर्माण हुन थालेपछि नगरपालिकाले कित्ताकाट रोक्का गरेको हो ।’
यसअघि संघीय सरकारको भूमि व्यवस्था मन्त्रालयले नै लामो समयदेखि कित्ताकाटमा रोक लगाएको थियो । संघीय सरकारले कित्ताकाटमा लगाएको रोक खुलाए पनि वीरेन्द्रनगर नगरपालिकाले भने नगरलाई थप व्यवस्थित गराउनुपर्ने भन्दै रोकेको छ । वीरेन्द्रनगरको व्यवस्थित विकासका लागि अब नयाँ गुरुयोजना बनाएर कार्यान्वयन गरिने नगरपालिकाले जनाएको छ । यसका लागि तयारी पनि सुरु भइसकेको उप–प्रमुख भण्डारीले बताइन् । ‘वीरेन्द्रनगर नगरपालिकाले नयाँ गुरुयोजना निर्माण गर्दैछ’ उनले भनिन्, ‘मापदण्डसहितको बाटो र व्यवस्थित रूपमा सहरीकरणको विकास गर्नका लागि हामीले यो कदम चालेका छौं ।’
पहिलेको गुरुयोजनामा थप सुधार र विस्तार गरेर नयाँ बनाउन लागिएको हो । वीरेन्द्रनगर नगरपालिका विस्तार भएसँगै पुनः नयाँ गुरुयोजना बनाउन लागिएको छ । ‘पहिले बनेको गुरुयोजना अनुरूप अबको योजना हुँदैन । केही गाउँ विकास समितिहरूलाई समेत नगरपालिकामा मिलान गरेपछि अब नयाँ गुरुयोजना बन्नुपर्छ ।’
वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानीसमेत भएकाले यहाँ बनाइने सबै संरचना गुरुयोजना अनुसारका हुनुपर्ने नगरपालिकाले जनाएको छ । त्यसकै लागि आवश्यक गृहकार्य भइरहेको उनले बताइन् । ‘उपत्यका कृषियोग्य क्षेत्र मात्र नभएर व्यवस्थित सहरीकरणको रूपमा रूपान्तरण पनि हुनसक्छ । यसको लागि आवश्यक गृहकार्य भइरहेको छ’ भण्डारीले भनिन् ।
नगरपालिकाले नयाँ गुरुयोजना बनाएपछि अहिले रोकिएको जमिनको कित्ताकाट पनि खुला हुने बताइएको छ । उप–प्रमुख भण्डारीका अनुसार वीरेन्द्रनगर नगरपालिकाको नयाँ गुरुयोजना निर्माण हुने बित्तिकै कित्ताकाट खुल्नेछ । तर गुरुयोजना कहिलेसम्म तयार हुन्छ भन्ने टुङ्गो छैन । भण्डारीका अनुसार अबको केही महिनाभित्रैमा नगरपालिकाले गुरुयोजना निर्माण गरेर सोही अनुसार कित्ताकाट खोल्नेछ । मापदण्डसहितको बाटो, बस्ती, नाली लगायतका कुराहरूलाई व्यवस्थित गरी नयाँ गुरुयोजना निर्माणका लागि नगरपालिका लागेको उनले जनाइन् ।
यसअघि नै बनाइएको गुरुयोजना समेत कार्यान्वयन नहुँदा वीरेन्द्रनगर अव्यवस्थित रूपमा विकास भइरहेको छ । वि.सं. २०२९ सालमा सहरी योजनाविद् माधवभक्त माथेमाद्वारा वीरेन्द्रनगरको गुरुयोजना तयार पारेका थिए । जसमा राजमार्गदेखि उत्तरतर्फको क्षेत्रलाई आवास क्षेत्र र दक्षिणतर्फ कृषि क्षेत्र तोकिएको थियो । तर पछिल्लो समय कृषियोग्य क्षेत्रको रूपमा लिइएको दक्षिणी भागमा धमाधम प्लटिङ गरी घर बनेका
छन् । जसले गदा भविष्यमा समस्या निम्तिन सक्ने भन्दै नगरपालिकाले नयाँ जग्गाको कित्ताकाटमा रोक लगाएको हो । खेतीयोग्य जमिनको बढ्दो प्लटिङ र गुरुयोजना विपरित बन्दै गएका संरचना निर्माण रोक्न नगरपालिकाले यस्तो निर्णय लिएको हो ।
वीरेन्द्रनगर कतिसम्म अव्यवस्थित बनेको छ भने साँघुरा बाटा र अव्यवस्थित घरहरू यहाँको पहिचान नै बनेको छ । जग्गा प्लटिङका नाममा जथाभावी बनाइएका साँघुरा सडकले विकास निर्माणका क्रियाकलाप सञ्चालन गर्नसमेत धौ–धौ परेको छ । सरकारी मापदण्ड विपरितका नाली नभएका बाटाहरू, लगतकट्टा नगरिएको तथा ढल निकासको समेत राम्रो प्रबन्ध नभएको वीरेन्द्रनगरमा आगामी गुरुयोजनाले यी सबै समस्या समाधान गर्ने जनाइएको छ ।

प्रकाशित मितिः   २८ जेष्ठ २०७६, मंगलवार १८:१०