राजनीतिमा युवाहरूले चाल्नुपर्ने कदम

रविकिरण हमाल
नेपालको राजनीतिमा युवाहरूको आकर्षण घट्दो छ । आधारभूत समस्यामै अल्झिएको युवा पुस्ता राजनीतिमा लगाव नराख्नु स्वभाविक पनि छ । राजनीति फोहोरी खेल भएको आम बुझाइलाई राजनीतिक नेतृत्वमा बसेकाहरूले पुष्टी गरिदिएका छन् । राजनीति फोहोरी खेल होइन तर यसका खेलाडीहरू गन्हाउन थालेपछि राजनीतिप्रति मानिसको घृणा फैलिएको छ ।
राजनीति गर्ने मानिसहरू अगुवा हुन्, उनीहरू सामान्य मानिस भन्दा धेरै इमान्दार, क्षमतावान र दूरदर्शी खालका हुन्छन् । तर विडम्बना चोर, फटाह, भ्रष्टाचारी, गलत नियत बोकेका मानिसहरू राजनीतिक दलहरूमा हावी हुँदा देशमा निराशाको कालो बादल छाएको छ । नेपालको राजनीति गलत बाटोमा छ । लामो समय संघर्ष गरेर आएका नेताहरू सत्ता र शक्तिका लागि आदर्श, मूल्य र मान्यताको राजनीतिबाट विमुख भइराखेका छन् । यो अवस्थामा युवाहरू सुझबुझ ढङ्गले राजनीतिक मैदानमा आउन नसके देश अझै बिग्रदै जाने निश्चित छ । समकालीन राजनीतिमा नेपाली युवाहरूले चाल्नुपर्ने कदमहरूबारे चर्चा गरौं ।
वैचारिक प्रष्टता
हामी अब नेतृत्व सम्हाल्न तयार भएर बस्नैपर्छ । राजनीतिक नेतृत्वको लागि प्रमुख तत्व वैचारिक स्पष्टता नै हो । हामीले सदैव युगसापेक्ष प्रगतिशील विचार अंगालेर जान सक्नुपर्छ । लोकतान्त्रिक मूल्य र मान्यताहरूलाई अझै धेरै उन्नत बनाउनु आजको आवश्यकता हो । व्यक्तिको स्वतन्त्रता र सामूहिक हितलाई प्रबद्र्धन गर्ने राजनैतिक, सामाजिक तथा आर्थिक मूल्य मान्यताहरू स्थापित गर्न सामाजिक लोकतन्त्रको जग बासाल्नुपर्छ ।
सामाजिक लोकतान्त्रिक नेपालको परिपे्रक्षमा सबैभन्दा उत्तम दर्शन हो । जनताले प्रत्यक्ष सहभागी भएर आफ्ना प्रतिनिधि चुन्न पाउने अधिकारको सुनिश्चितता भएमा मात्र लोकतन्त्र बलियो बनाउन सकिन्छ । हामी शन्तिपूर्वक पूँजीवादी समाजलाई समाजवदमा रूपान्तरण गर्न सामाजिक लोकतान्त्रिक राजनीतिक विचारधाराको पक्षमा उभिनुपर्छ । उदारवादी लोकतन्त्र, सामाजिक न्याय र मिश्रित आर्थ व्यवस्थाको ढाँचाभित्र रहेर विकास र समृद्विको जग बसाल्न सकेमा नेपाल सजिलै समाजवादको लक्ष्य प्राप्त गर्नसक्छ ।
सम्बन्ध विच्छेद
क्यानसर लाग्यो भन्ने थाहा पाएपछि ओखति खाने वा शल्यक्रिया गरेर घाउ काटेर फाल्ने दुईवटा समधान हुन्छ । घाउ लुकाएर राखियो भने फैलिएर सबै अङ्ग सखाप पार्ने प्रवल सम्भावना रहन्छ । नेपालको राजनीतिक दलका मुख्य नेतृत्वमा क्यान्सर संक्रमण भैसकेको छ, उहाँहरूले सत्तामा पुग्न मार्न र मर्न लगाउनेदेखि विदेशी शक्तिसँग लम्पसार परेको दुनियाँलाई जग जाहेर छ ।
राजनैतिक मूल्य र मान्यताबाट एक पटक होइन पटक पटक विमुख भइसक्दा पनि निरही भएर युवाहरू नेतृत्वको भजन कृतन गर्न छाडेका छैनौं, हामी आँखा चिम्लेर हाम्रा नेताहरूले गरेका कदमहरू स्वीकार गर्दै आगाडि बढ्ने राजनैतिक परम्पराले बिग्रिदै गएको राजनीतिलाई मलजल पु¥याएको छ । गलत अभ्यासबाट सही गन्तव्य कुनै हालतमा पुगिदैन, हामीले निर्धक्क भएर सकभर पूर्णरूपमा पुराना राजनैतिक दल नभए फोहोरी राजनीतिमा अभ्यस्त नेतृत्व सँग सम्बन्धविच्छेद गर्न अब ढिला गर्नु हुँदैन ।
खुला राजनीतिक संवाद
राजनीतिदेखि विमुख हुँदै गएको युवा पुस्तालाई आशा र भरोसाको सञ्चार गर्न युवाबाट नै सम्भव हुन्छ । हरेक मानिसमा आफ्नो दौतेरीबाट बढी प्रभाव पर्छ र त्यो स्वभाविक हुन्छ । एउटै उमेर समूहका मानिसहरूका भावना र दृष्टीकोणहरू समान प्रकारको हुने भएकाले एकले अर्कोलाई रूपान्तरण सहज हुन्छ ।
हामीले राजनीतिक संवादमा मुख्य कुरा विचार, मूल्य र मान्यताहरूबारे गहन छलफल गर्नुपर्छ । सात दशकको लामो त्याग, बलिदान र संघर्षबाट प्राप्त नेपालको संविधानको रक्षा गर्न सक्नुपर्छ । संविधनमा उल्लेखित लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता आधारभूततŒवहरूलाई संस्थागत गर्न हाम्रो पुस्ताले सकेन भने हाम्रा आँखा अगाडि देश र जनताको स्वाधिनता र स्वतन्त्रता लागि हाँसी–हाँसी मृत्युवरण गर्ने महान सपुतहरू माथि अन्याय हुनेछ । यतिमात्र होइन हामीले इतिहासको सम्मान गर्न चुक्यौं भने हाम्रो इतिहास रहनेछैन ।
अहिले पनि एउटा तप्का राम्रो विकल्पको अभावमा पुरानै व्यवस्थामा फर्कन चाहिरहेको छ, प्रतिगमनको हावा चल्नुको प्रमुख कारण परिवर्तनलाई संस्थागत गर्न नसक्नु हो । लोकतान्त्रिक व्यवस्था ल्याउन मेरै पुस्ताका कयौं दाजुभाइ दिदीबहिनीहरू टुहुरा भएको कुरा सबैले एक पटक स्मरण गरौं, यो व्यवस्थालाई बलियो बनाउनु भनेकै हामी बलियो बन्नु हो । स्कुलदेखि विश्वविद्यालय सम्म हाम्रो इतिहास, वर्तमान र भविष्यका बारेमा गम्भिर छलफल गर्नु अपरिहार्य छ ।
सुशासनका लागि संघर्ष
नेल्सन मण्डेलाले भनेका छन्, ‘सबैभन्दा कठिन काम समाजलाई परिवर्तन गर्नु होइन, आफैलाई परिवर्तन गर्नु हो ।’ सुशासन र सदाचारयुक्त समाज निर्माणका लागि व्यक्ति स्वयम् जिम्मेवार बन्नुपर्छ । हामीले भ्रष्टचार, अन्याय र विभेदका विरुद्ध शून्य सहनशीलता अपनाउनुपर्छ । हाम्रो घर, टोल छिमेक वरपरकै मानिसहरू गलत कार्यमा संलग्न छन् भने पनि निर्धक्कका साथ विरोध गरांै । अब प्रत्यक युवाहरूले आफ्ना आमा–बुबा आफन्तमाथि आम्दानी र खर्चबारे निगरानी राख्न सक्नुपर्छ । स्थानीय तहदेखि संघीय सरकारको नेतृत्व गरिरहेका मानिसहरू भ्रष्टचार र कमिशनमा लिप्त हुँदा देशको अवस्था दिनदिनै बिग्रदै गएको छ । युवा पुस्ताले सचेतता पूर्वक जस्तो सुकै खालका भ्रष्टचार विरुद्ध डटेर सामान गर्न संयुक्त पहल गरौं । भ्रष्टचारीलाई सामाजिक बहिस्कार गर्ने मात्र होइन विधिको शासनामा हिँड्ने मानिसहरूलाई समर्थन गर्ने आभ्यासको विकास गर्नुपर्छ ।
उद्यमशीलता
हाम्रो संविधानले समाजवाद उन्मूख अर्थ व्यवस्थाको परिकल्पना गरेको छ । समाजवादका लागि राज्यको आर्थिक अवस्था मजबुत हुनुपर्छ । तीव्र औद्योगीकरणमार्फत् राष्ट्रिय पूँजीको विकास गर्न सकेनौं भने मुलुक समाजवादको बाटोमा जान सक्दैन् । युवाहरूले उद्यमशीलताको क्षेत्रलाई विकास तथा प्रवद्र्धन गर्न नसकेको खण्डमा देशमा आमूल परिवर्तन असम्भव छ । स्वदेशमै उद्यमी बनेर रोजगारीका अवसर सिर्जना गर्नका लागि सरकार र निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने युवाहरूले समाजवादको लक्ष्य पूरा गर्नसक्छन् ।
राज्यको अर्थतन्त्रमा युवाहरूले हस्तछेप गरेर त्यसलाई गुणात्मक रूपान्तरण गर्न सकेमा आर्थिक विकास हासिल हुन्छ । युवाहरूले स्वदेशमै उध्यमशीलतामार्फत् केही गर्न सकिन्छ भनेर प्रमाणित गर्नसकेमा मात्र लाखौंको संख्यामा विदेशिएका युवाहरू नेपाल फर्कन लालाहित हुनेछन् । हामी वैदेशिक रोजगारीका कारण सामाजिक विभाजनको अत्यन्तै नाराम्रो खाडलमा फस्दैछौं ।
नेपालमा वैकल्पिक राजनैतिक शक्तिको खोजी–खोजी भइरहेको छ । हाम्रो पुस्ताको लागि एउटा स्वर्णीम इतिहास रच्ने अवसर आएको छ । समाज नेतृत्वविहीन अवस्थामा पनि चलिरहेकै हुन्छ, यस्तै अवस्थामा साहसी, कुशल र क्षमतावान युवाहरूले जोखिम मोल्न सकेमा समाजले कोल्टे फेर्नेछ, नेपाली जनता त्यस्तै एउटा उथल–पुथलको पर्खाइमा छन् । अन्तमा भविष्यप्रति हाम्रो दृष्टी जति स्पष्ट, जति व्यापक र जति गहिरो हुन्छ त्यति नै हामी हाम्रो समाज र देशलाइ उन्नति र प्रगतिको बाटोमा लैजान सक्नेछौं ।

प्रकाशित मितिः   २६ जेष्ठ २०७६, आईतवार १५:४१