रोजेरै निजामती कर्मचारी

आठ भाइबहिनीमध्ये घरकी कान्छी छोरी । चञ्चल स्वभाव भए पनि नचिनेका मानिसहरूसँग भने धेरै घुलमिल नहुने । पढाइमा राम्रै र दयालु स्वभावकी थिइन् अनिता ज्ञवाली । वि.सं. २०४३ साल असोज १८ गते वीरेन्द्रनगर–८, आवासक्षेत्र सुर्खेतमा जन्मिएकी अनिता कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको महिला तथा बालबालिका महाशाखामा कार्यरत छिन्, उनी अधिकृत हुन् ।
बुबा मोतीप्रसाद ज्ञवाली र आमा कलावती ज्ञवालीको कोखबाट जन्मिएकी उनी वि.सं. २०६९ सालमा निजामती सेवामा प्रवेश गरेकी हुन् । अनिताको सानैदेखि सामाजिक सेवामा नै रुचि भएकोले महिला विकासबाटै सेवामा प्रवेश गरेकी हुन् । बुबा–आमाले पनि उनलाई सरकारी जागिर खाओस् भन्ने चाहन्थे । विवाह पछाडि मात्रै सरकारी सेवामा प्रवेश गरेकी अनिता संघर्ष र निरन्तरता नै सफलताको राज भएको बताउँछिन् । सानैदेखि महिला तथा बालबालिकामा हुने विभेदका विरुद्ध लड्ने स्वभाव भएकोले उनी रोजेरै यो क्षेत्रमा प्रवेश गरेकी हुन् । महिला माथिका सामाजिक विभेद तथा छोरा–छोरीमा हुने विभेदलाई जरैदेखि उखलेर कसरी फाल्न सकिन्छ भन्ने उद्देश्य राखेर काम गरेको बताउने अनिता ज्ञवालीले आफ्नो पेसागत जीवनका कथा हाम्रा सहकर्मी सीता वलीसँग यसरी साटिन्ः


जागिरे जीवनमा होस् वा मेरो निजी जीवन मलाई अरु केही चाहिँदैन । बस अरुलाई खुशी बनाउन सकुँ । सकेसम्म पिछडिएको क्षेत्र वा समुदायलाई खुशी बनाउन सकुँ ।
सानैदेखि महिला तथा बालबालिकाको क्षेत्रमा मेरो बढी चासो हुने गर्दथ्यो । त्यसैले पनि मैले महिला विकास अधिकृतको तयारी गरी निजामती सेवामा प्रवेश गरकी हुँ । समाजमा महिलामाथिको सामाजिक विभेद, छोरा र छोरीमा विभेद भएको देख्दा आफैलाई अचम्म लाग्थ्यो । हुन त मेरो जीवनमा त्यस्तो भोगाइ कहिल्यै भएन । तर पनि समाजमा त्यस्ता थुप्रै घटनाहरु देखिन्छन् । पढेलेखेकै व्यक्तिहश्रले नै पाँचौं पटक भु्रण हत्या गरेर छोरा जन्माएको पनि देखेको छु । यस्तै विभेदलाई चिर्नको लागि म यो सेवामा प्रवेश गरेकी हुँ ।
मेरो मनमा बारम्बार एउटै प्रश्न उठिरहन्छ कि, छोरा र छोरीमा हुने विभेद कहिले हट्छ होला ? छोरा र छोरीलाई दिने शिक्षा, गरिने व्यवहार र कामको समेत विभाजन देख्दा मलाई अचम्म लाग्छ । मलाई त्यस्तो कहिल्यै भएन कि यो काम छोराको हो र यो काम छोरीको हो भनेर । तर काम गर्दै जाँदा समाजमा थुप्रै विभेद छ । यही विभेदलाई मेरो क्षमताले भ्याएसम्म मैले चिर्न चाहान्छु र जरैदेखि उखलेर फाल्न चाहान्छु ।
जागिर खानु मेरो लागि ठूलो कुरा थिएन । वि.सं. २०६१ सालमा मेरो मागि विवाह भयो वीरेन्द्रनगर–१२ का मनिराम सुवेदीसँग । उहाँ पनि सब ईन्जिनियर सरकारी जागिरे नै हो । विवाह भएपछि पनि मलाई घरपरिवारबाट असाध्यै ठूलो सहयोग भयो । उहाँ पनि सरकारी सेवामा नै भएकोले मलाई झन् हौसला प्रदान भयो । तर सेवामा प्रवेश गरेपछि जागिरे जीवन भने संघर्षपूर्ण तरिकाले बित्यो । मैले जागिर खाएपछि पहिलो पोष्टिङ्ग मुगुमा भएको थियो । कर्मचारीको अभाव, कार्यालय व्यवस्थापनमा समस्याको बाबजुद पनि सकेसम्म कार्यक्षेत्रमा राम्रो कसरी गर्ने भन्नेतर्फ नै ध्यान जान्थ्यो ।
मान्छे जीवनमा खुशी त्यतिबेला हुन्छ जतिबेला उसको कामको प्रतिफल प्राप्त हुन्छ । मेरो सानैदेखिको सपना सरकारी जागिर त पूरा भएको थियो । त्यो बेला पनि खुशी नै भएँ । त्यो भन्दा पनि बढी खुशी मैले जसलाई लैङ्गिक विभेद र समानताको तालिम दिएकी थिएँ उहाँकी श्रीमतीले धन्यवाद दिँदै तपाईंले तालिम दिएर मैले जागिर खान पाएँ भनिन् । मलाई गर्व लाग्थ्यो । कतिपय अवस्थामा पुरुषहरुले यो या त्यो बाहानामा श्रीमतीलाई जागिर नखाओस् भन्ने चाहाना राख्छन् । सायद उहाँहरुले पनि बुझेपछि श्रीमतीलाई स्वतन्त्रता दिएको हुनपर्छ ।
दुःखको क्षण खासै छैन । तर मुगुमा रहँदा एक जना सानी पाँच वर्षकी बालिकाले तीन वर्षीय बहिनीको हेरचाह गर्दै ओखलमा धान कुटेको दृश्य अझै पनि मेरो मनबाट हटेको छैन । अर्को कुरा त्यति बेला मेरो क्षेत्र मुगु शौचालय त्यति थिएनन् । विद्यालयमा त पक्कै हुन्छ होला भन्दै विद्यालय गएर शिक्षकलाई शौचालय सोधे उनले जंगल देखाउनुभयो । त्यो दिन आज पनि मलाई सम्झनामा छ । शिक्षक भएर पनि सम्मान गर्न नसक्ने कस्तो शिक्षक ? यो पनि प्रश्न बनेरै बसेको छ । महिलालाई सामाजिक क्षेत्रमा काम गर्न अप्ठ्यारो पनि छ । तर म फेरि भन्छु संघर्ष मा नै सफलता लुकेको हुन्छ । सपनाको पेसा भएर होला मलाई मेरो पेसामा गर्व छ । आर्थिक हिसाबले पनि सन्तुष्टी नै मिलेको छ । कुनै पनि राजनीति नहुने र आफ्नो वास्तविक क्षमता देखाउन सकिने क्षेत्र निजामती सेवा भएकोले पनि धेरैको रोजाइ निजामती बनेको छ । जागिरमा हुँदासम्म त मैले गर्ने सेवा छँदैछ । अवकाशपछि पनि मैले समाजिक क्षेत्रमा नै योगदान दिने सोच बनाएकी छु ।

प्रकाशित मितिः   २२ जेष्ठ २०७६, बुधबार १३:१२