कार्यान्वयन भएन हर्न निषेध योजना

सीता वली
सुर्खेत, ११ जेठ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत वैशाख २५ गते वीरेन्द्रनगरलाई हर्न निषेधित क्षेत्र बनाउने घोषणा ग¥यो । १० दिनभित्रमा कार्यान्वयनमा ल्याउने लक्ष्यसहित सार्वजनिक गरिएको उक्त योजना कार्यान्वयन हुन भने सकेको छैन ।
बजार क्षेत्रमा सवारी साधनहरूको हर्न निषेध गर्ने ट्राफिकको योजना यतिबेला अलपत्र परेको छ । वीरेन्द्रनगर बजार क्षेत्रलाई १० दिनभित्रमा हर्न निषेध गरिसक्ने गरी कार्य योजनामा बनाइए पनि उक्त योजना सार्वजनिक गरेको आधा महिना बितिसक्दा समेत यो लागू हुन सकेको छैन । वीरेन्द्रनगर बजार क्षेत्रको संवेदनशिल भनिएको मंगलगढीचौकदेखि उत्तरतर्फ वीरेन्द्रचौक हुँदै गणेशचौक र वीरेन्द्रचौकदेखी दक्षिणपश्चिमतर्फ ऐरीचौक सडकमा हर्न बजाउन निषेध गरिएको छ । तर पनि नियमको उल्लंघन गर्दै सवारी चालकहरूले तीव्रगतीमा हर्न बजाउँदै सवारी हुइक्याएको देख्न सकिन्छ ।
साँघुरो सडकमा यसरी हर्न बजाउँदै तीव्र गतीमा सवारी साधन कुदाउँदा दुर्घटनाको जोखिम त छँदै छ त्यसमा पनि ध्वनी प्रदुषणसमेत हुने गरेको छ । सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्नुका साथै ध्वनी प्रदुषण नियन्त्रण गर्ने उद्देश्यसहित ट्राफिकले हर्न निषेध योजना अघि सारेको हो । तर सवारी साधन चालकहरूले अटेर गर्दा उक्त योजना कार्यान्वयनमा आउन सकेको छैन ।
सुरुवाती चरणमा भएकाले ट्राफिक प्रहरीले पनि उक्त नियम कार्यान्वयनमा कडाइ गरेको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख हरि बिसीले हरेक नियम विस्तारै लागू हुने बताए । ‘हामीले १० दिनभित्रैमा वीरेन्द्रनगर बजार क्षेत्र हर्न निषेध गराउने भनेको थियौं’ उनले भने, ‘धेरैलाई यो विषयका बारेमा जानकारीसमेत छैन ।’ हर्न बजाउनेहरूलाई ट्राफिकले सचेत भने गराइरहेको छ । ‘कसैले त्यो क्षेत्रमा हर्न बजाइ हाले पनि हामीले पहिलो चरणमा सम्झाइ–बुझाइ गरेर पठाउने गरेका छौं’ प्रमुख बिसीले भने ।
तत्कालका लागि नागरिकलाई हर्न निषेधको नियमबारे जानकारी गराउने योजना ट्राफिकले बनाएको छ । प्रमुख बिसीले वीरेन्द्रनगर बजार क्षेत्रका १२ वटा स्थानमा हर्न निषेधित क्षेत्रका बोर्डहरू राखेको समेत बताए । ‘धेरैलाई हर्न निषेधको संकेतसमेत थाहा हुँदैन’ उनले थपे, ‘तर पछिल्ला दिनहरूमा वीरेन्द्रनगरको बजार क्षेत्रमा हर्न बजाउन केही हदसम्म कम भएको छ ।’
जथाभावी हर्न बजाउनाले व्यवसायी तथा पैदल यात्रुहरूलाई अप्ठ्यारो पर्ने तथा हर्न निषेध भयो भने सवारी साधनहरूको तीव्र गतिमा पनि नियन्त्रण हुने भएकाले यो योजना आवश्यक रहेको जनाइएको छ । बजार क्षेत्रमा पूर्णरूपमा हर्न निषेध हुनका लागि कार्यान्वयन गराउने निकाय, सवारी चालक, पैदल यात्री सबैले यसबारे सचेत हुनु जरुरी भएको समेत बिसी बताउँछन् । १० दिनभित्रै वीरेन्द्रनगरको केही प्रमुख क्षेत्रहरूमा हर्न निषेध गर्ने भनिए पनि करिब आधा महिनासम्म हुन नसकेको स्वीकार्दै ट्राफिक प्रहरी प्रमुख बिसीले यसलाई विस्तारै कार्यान्वयन गर्दै लैजाने बताए ।
हर्न निषेध सँगसँगै ट्राफिकले अन्य योजनाहरू पनि अघि सारेको छ । चालक र सह–चालकहरूले फ्लोरेन्स ज्याकेट अनिवार्य लगाउनुपर्ने, मोटरसाइकलको पछाडि सवार गर्नेले समेत हेल्मेट प्रयोग गर्नुपर्ने, लामो दूरीमा सञ्चालन हुने सवारी साधनमा दुई जना चालक अनिवार्य राख्नुपर्ने र ट्राफिक कम्युनिकेशन एप्सको प्रयोग गर्ने लगायतका कार्ययोजना घोषणा भएका थिए । तर यी मध्ये कुनै पनि कार्ययोजना हालसम्म लागू गर्ने कुरामा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत सफल भएको छैन । तत्काल लागू गर्नेदेखि आगामी ६ महिनासम्म लागू गरिसक्ने गरी कार्ययोजना तयार गरिएको हो । प्रहरीले हर्न निषेध गर्ने योजना ल्याएपनि त्यसअघि वीरेन्द्रनगर बजार व्यवस्थित गर्न जरुरी रहेको स्थानीय नागरिकहरूले बताउँदै आएका छन् । साँघुरा र अव्यवस्थित सडक, ट्राफिक चिन्ह र सडक बत्ती नहुनु जस्ता कारणले गर्दा हर्न निषेध योजना तत्काल कार्यान्वयन गर्न नसकिने उनीहरूको भनाइ छ ।

प्रकाशित मितिः   १२ जेष्ठ २०७६, आईतवार १७:१६