‘बिरामी हुँदा एम्बुलेन्स पुग्दैन’

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ वैशाख ।
वि.सं. २०२८ साल पहिले वीरेन्द्रनगर उपत्यकामा औलो लाग्थ्यो । गोठीकाँडा र सत्यकाँडा बस्ती थियो । उपत्यकामा खेती मात्रै हुन्थ्यो । औलो उन्मूलनपछि वीरेन्द्रनगर उपत्यकामा बस्ती बस्न थाल्यो । पञ्चायती व्यवस्था हुँदा नै नगरपालिका घोषणा भयो । संघीयता कार्यान्वयनमा आएसँगै वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भएको छ ।


राजनीतिक र सामाजिक रूपान्तरणसँगै अन्य क्षेत्रको विकास भए । तर, सत्यकाँडाका बासिन्दाको अवस्था फेरिएन । ‘हाम्रा समस्या ज्यूँका त्यूँ छन्, व्यवस्था फेरियो तर, अवस्था उही छ । बस्तीमा न खानेपानी, न विद्युत’ वीरेन्द्रनगर–९ सत्यकाँडाकी रत्नलक्ष्मी सलामीले भनिन्, ‘प्रदेश राजधानी भयो भन्ने सुनिन्छ तर, हामीले महसुस गर्न पाएका छैनौं ।’
उच्च शिक्षाका लागि करिब एक घण्टा हिँडेर अलायचौर पुग्नुपर्ने बाध्यता कायम छ । विकास निर्माणको आश्वासन दिन राजनीतिक दलबाट निर्वाचनमा घरदैलोमा पुग्ने नेताहरूको घोषणा–पत्रमा बस्तीको विकास लक्षित हुन्छ । तर, चुनाव जितेपछि राजनीतिक दलका प्रतिनिधिसमेत बस्तीमा नपुग्ने गरेको उनले बताइन् । उपत्यकाको विकट पर्छ, सत्यकाँडा । ‘बस्तीमा कोही बिरामी पर्दा स्टेचरमा बोक्नुपर्छ’ उनले भनिन्, ‘एमबुलेन्स हिँड्ने सडक छैन, सडक नहुँदा एम्बुलेन्स बस्तीमा पुग्दैन । समयमा उपचार पाउनसक्ने अवस्था छैन ।’
पहिलो पटक ट्रयाक खुलेसँगै उनले वडा र नगरबाट सडकको स्तोरोन्नत्ति तथा थप निर्माणका लागि पहल गर्न अनुरोध गरिन् । ‘गाउँसम्म ट्रयाक खुलेसँगै सडकको रेखांकन गरिएको छ’ उनले भनिन्,‘अब विरामी भएका बेला एम्वुलेन्स सञ्चालन हुने सडक निर्माण गर्न स्थानीय र प्रदेश सरकार सहयोग हुने आशा छ ।’
गाडी पुग्दा भोज
कर्णाली प्रदेश राजधानीको वीरेन्दनगर नगरपालिका–९ सत्यकाँडामा पहिलो पटक गाडी पुगेको छ । अलायचौर–सत्यकाँडा–बुलबुले सडक खण्डको ट्याक खुलेसँगै गाडी पुगेको हो । वीरेन्द्रनगर नगरपालिकाको पाँच लाख र वडापालिकाको एक लाख गरी ६ लाख रूपैयाँमा उपभोक्ता समितिमार्फत् वीरेन्द्रनगरको अलायचौरबाट सत्यकाडासम्म सडक निर्माण गरिएको हो । चैत ८ गतेबाट सुरु गरिएको सडकको ट्रयाक निर्माण कार्य शनिवार सकिएको छ ।
पूर्वमन्त्री एवम् प्रदेश सभा सदस्य यामलाल कँडेल, वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले आइतवार सडकको उद्घाटनसँगै प्रत्यक्ष निरीक्षणसमेत गरेका छन् । पहिलो पटक बस्तीमा गाडी पुगेपछि स्थानीयले भोज गरेरै खुशी साटेका हुन् । सडक पुगेसँगै पहिलो पटक बस्तीमा पुगेका पूर्वमन्त्री कँडेल, उप–प्रमुख भण्डारीसहितको टोलीलाई स्थानीयले फूलमालाले स्वागत गरेका थिए । प्रदेश राजधानीकै नगरभित्र पर्ने सत्यकाडाबासीले सडक सञ्जाल नजोडिएकाले माध्यमिक तह अध्ययनका लागि घण्टौं हिँड्नुपर्ने बाध्यता थियो । ‘बिरामी हुँदा स्टेचर बोक्नसमेत कठिन हुने गरेको थियो’ समाजसेवी ऋषि गिरीले भने, ‘यहाँका बासिन्दाले बिरामी हुँदा उपचार पाउन नसक्ने अवस्था छ, वीरेन्द्रनगरलाई प्रदेश राजधानी तोके पनि सडक सञ्जालबाट उपेक्षामा परेको थियो । ट्रयाक खुल्नु नै यस गाउँका लागि ठूलो उपलब्धि हो ।’
सुर्खेत उपत्यकामध्ये पुरानो बस्ती सत्यकाँडामा पनि हो । द्वन्द्वकालमा प्रभावित बन्यो । सत्यकाडाबाट उपत्यकाको दृष्य देखिने भएकाले पनि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उनले बताए । स्थानीय उत्पादनले बजारीकरण नपाउने, उपचारदेखि खाद्यान्नसमेत ढुवानीमा यस क्षेत्रका बासिन्दाले विगतमा भोग्दै आएको समस्या समाधान हुने विश्वास लिएको बताए । विद्युत, सडक, खानेपानी लगायतका समस्याले सत्यकाडा र बुलबुले गाउँ विगतदेखि नै तंग्रीन नसकेको पूर्व गाविस अध्यक्ष अमृत बिसीले बताए । ‘प्रदेश राजधानीकै वडामा अँध्यारोमा बस्नुपर्ने र खानेपानी नपाउने समस्या छ । अब यस क्षेत्रको मुहार फेरिदैंछ । विगतमा जनप्रतिनिधिको भूमिकामा रहँदा गरेको प्रयास नै असफल हुनपुग्यो’ उनले भने । सडक सञ्जाल पुगेसँगै गाउँको उत्पादनले बजार पाउने, स्वास्थ्य, शिक्षामा समेत पहुँच पुग्ने भन्दै स्थानीयबासीहरू हर्षित भएका छन् ।
अन्तर वडा जोड्ने सडक
अलायचौर–सत्यकाडा– बुलबुले सडक भेरीगंगा नगरपालिका–१ लेखपराजुसँग जोडिने भएको छ । लेखपराजुलबाट वीरेन्द्रनगर पुग्ने सडक नहुँदा पैदल हिँडेर सत्तरी पुग्नुपर्ने बाध्यता छ । सडकको पूर्ण निर्माण भएसँगै सत्यकाँडा–बुलबुले हुँदै भेरी नदीसम्म सडक पुगे भेरीगंगा नगरपालिका–१ लेखपराजुल जोडिने छ । अन्तरनगर र वडा जोड्ने सडकका रूपमा लिइएको छ । भेरीमा झोलुङ्गे पुल निर्माणका लागि पहल भइरहेको छ । लेखपराजुलका स्थानीयलाई वीरेन्द्रनगर आउन करिब आधा घण्टा लाग्नेछ । भेरी नदीमा पुल नभएकाले जोखिम मोलेर डुङ्गा र टायरमा चढेर यात्रा गर्न बाध्यसमेत हट्ने विश्वास लिइएको छ । पुल नभएका कारण भेरीमा बगेर वर्षेनी मृत्यु हुने गरेको छ ।

प्रकाशित मितिः   १६ बैशाख २०७६, सोमबार ११:४३