पढ्नकै लागि ठूलो संघर्ष

मीनासिंह रखाल कर्णाली प्रदेश सभा सदस्य हुन् । तत्कालीन नेकपा एमालेबाट समानुपातिक कोटामा प्रदेश सांसद बनेकी उनी पूर्व शिक्षक पनि हुन् । दैलेखको तत्कालीन नारायण गाउँ विकास समिति (हाल नारायण नगरपालिका वडा नम्बर १) मा वि.सं. २०१९ फागुन १२ गते बुबा कृष्णविर सिंह र आमा ढाकाकुमारी सिंहको सन्तानका रुपमा जन्मिएकी उनले नागरिकसँग नजिक भएरै काम गरिन् । पहिले शिक्षण पेसामा रहँदा बालबालिकाहरुलाई शिक्षा प्रदान गरी असल नागरिक बनाउन भूमिका खेलेकी उनी अहिले राजनीतिमार्फत् नागरिककै हितमा काम गरिरहेकी छिन् । राजनीतिमार्फत् नै नागरिकको जीवनस्तरमा सुधार ल्याउन लागिपर्ने बताउने रखालले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटिन्ः

बाल्यकाल दैलेखमा बित्यो । केही समय नेपालगन्ज पनि बसें । बाल्यकालमा मेरो स्वभाव मिलनसार थियो । सबै साथीहरूसँग मिल्थें । त्यसबेलामा गोट्टा खेल्ने, डन्डियोबियो खेल्ने गथ्र्यौं । गाइगोठाला जान्थौं । घरमा गाइबाख्रा धेरै थिए । साथीहरूसँग रमाइलो हुन्थ्यो । मेरो बुबा राणा शासनकालमै शिक्षक हुनुहुन्थ्यो । गाउँमा हामी सम्पन्न परिवार जस्तै थियौं । बाल्यकालमा दुःख त्यति भोग्नु परेन । बाल्यकालमा एक पटक काँक्रा चोरेर खाइयो । साथीहरू मिलेर गाउँमा काँक्रा चोरेर खान जाँदा बुबाले गाली गर्नुभयो । काँक्रा चोर्न साथीहरू गए । चोरेर ल्याएको काँक्रा खाइयो । साँझ बुबाले सम्झाउनु पनि भयो गाली पनि गर्नुभयो ।
पढ्नका लागि संघर्ष
म सानैमा इन्डिया गएको बेलामा त्यहाँ छोरीहरूले पढेको देखेको थिएँ । नेपालमै पनि कता कता पढ्छन् भन्ने सुनेको थिएँ । त्यसपछि मलाई पढ्ने ईच्छा लाग्यो । म घरको कान्छी छोरी । दाई र दिदी बुबा–आमाले असाध्यै माया गर्नुहुन्थ्यो । पहिले छोरीलाई पढाउनुहुन्न भन्ने चलन थियो । समाजमा छोरीलाई बाहिर जान दिनुहुन्न, सानै उमेरमा कन्यादान दिनुपर्छ भन्ने मान्यता थियो । तर मैले पढ्ने ईच्छा परिवारमा राखें । बुबा–आमाले पनि कान्छी छोरी हो पढाऔं भन्नुभयो । सुरुमा पाठशालामा पढें । पाठशालाा पढ्दा शुल्क लाग्थेन । पछि विद्यालयमा पढें । मैले नारायण प्रावि (हाल निमावि भएको छ) मा पढें । विद्यालयमा भने वार्षिक ६ रूपैयाँ तिरेको सम्झना छ । यसै विद्यालयमा पढेको हुँ । दाईहरू विद्यालय जानुहुन्थ्यो । पढ्ने रुचि धेरै थियो । म विद्यालय जानका लागि एउटा शर्त थियो । केटाहरूसँग बस्न पाइदैनन् भन्ने । पहिले केटाकेटी अहिलेको जस्तो एउटै वेञ्चमा बस्दैन्थे । बस्यो भने नराम्रो नजरले हेर्ने गर्थे । तर एक पटक ठाउँ नपुगेका कारण म केटा साथीहरूको वेञ्चमा बस्नुप¥यो । साँझ घरमा आएपछि दाईले ‘आज त नानी केटाहरूको वेञ्च बसी’ भनेर भन्नुभयो । बरु भुइँमा बसे पनि हुन्थ्यो भनेर भन्नुभयो । त्यसपछि बुबाले पिट्नुभयो । केटा साथीको वेञ्चमा बसेकै कारणले मैले गाली खानुप¥यो ।
कक्षा पाँच पढेपछि विद्यालय पढ्न जान पाइनँ । त्यसपछि दैनिक गाठोलो जानुपर्ने बाध्यता भयो । अब विवाह गर्ने उमेर भयो भनेर घरमा भन्न थाल्नुभयो । तर पढ्ने ईच्छा मरेको थिएन । आफूसँगै पढ्ने साथीहरू स्कुलको डे«स लगाएर पढ्न जान्थे । म गाइगोठालो जान्थें । त्यो देखेर मन कटक्क खान्थ्यो । बुबाले सानै उमेरमा विवाह गरिदिन्छु भन्ने एउटा कारण थियो । म अघिका दिदीहरूको विवाह भइसकेको थियो । बुबाको ईच्छा कन्यादान दिने थियो तर दिदीहरू सबै आफूखुशी भागेर नै विवाह गर्नुभयो । अब एउटी कान्छी छोरीलाई आफैले कन्यादान दिएर विवाह गरिदिने बुबाको सपना थियो । त्यसैले मेरो विवाह जतिसक्दो चाँडो गरिदिन चाहानुहुन्थ्यो । तर म विद्यालय जान नपाउँदा दिनरात रोएर नै बस्थें । वनमा गोठालो जाँदा साथीहरूसँग आफूले पहिले विद्यालयमा पढेका कुरा भन्थें । कहिले काहीं आफै शिक्षक बनेर उनीहरूलाई पढाउँथे । पढ्दै गरेका साथीहरूसँग के पढ्यो भनेर सोध्ने गर्थें । साँझ दाईहरूले पढ्ने बेला पनि उहाँहरूसँगै पढ्न बस्थें । मेरो दाई एकदमै सोझो हुनुहुन्थ्यो । उहाँले आफूले दिनभरी पढेका कुरा मलाई साँझ भन्नुहुन्थ्यो । पढ्न भनेर भन्नुहुन्थ्यो ।
२०३४ सालतिरको कुरा हो । एक पटक जिल्लामा पछाडी परेका समुदायको एक जना छात्राका लागि निःशुल्क पढाउने कोटा आयो । पढ्नका लागि नेपालगन्ज जानुपथ्र्यो । युनिसेफले पढाउँथ्यो । त्यसका लागि पहिले निवेदन लिनुपथ्र्यो । परीक्षा दिएपछि नाम निकालेर बल्ल पढ्न पाइन्थ्यो । मैले घरमा कसैलाई थाहा नै नदिइ निवेदन दिएँ । अन्तर्वार्ता पनि दिएँ । अन्तर्वार्ता दिन जाने बेलामा गाईबाख्रा साथीहरूलाई हेर्न पठाउँथे । एक जना मिल्ने साथी थिए । हाम्रो पसल थियो । मैले पसलबाट भट्ट चोरेर साथीहरूलाई दिन्थें । त्यस वापतले मेरो गाईबाख्रा हेरिदिन्थे । अन्तर्वार्ता दिएँ तर नाम निस्किएन । एक जना दिदीको नाम निस्कियो । त्यस दिन म रातभरी रोएँ । आमाले के भयो भनेर सोध्नुभयो । मैले पढ्न ईच्छा आमालाई फेरि पनि देखाएँ । नाम दिएको निस्किएन भनें । आमाले छोरी विवाह गरेर जानुपर्छ, धेरै गरगहना लगाउन पाइहालिन्छ । सुख भइहाल्छ किन पढ्ने ? छोड्दिउ भन्नुभयो । आमाले सम्झाएँ पनि मेरो पढ्ने ईच्छा मरेको थिएन । मेरो भाग्य नै भन्नुपर्छ । जसको पढ्ने कोटामा नाम निस्किएको थियो । उहाँको विवाह भयो । मेरो नाम त्यसभन्दा अघि वैकिल्पकमा निस्किएको थियो । उहाँको विवाह भएपछि मैले पढ्न पाएँ । उहाँको विवाह भइसकेपछि मलाई बोलाउन पठाएछन् । त्यसबेलामा जिल्ला शिक्षा अधिकारी पनि अर्को व्यक्ति आइसकेका थिए । पढ्न पाउने भनेपछि सबैभन्दा बढी खुशी भएकै क्षण त्यही हो । तर घरबाट कसरी नेपालगन्ज जाने ? बुबा–आमाले जान दिने अवस्था थिएन । पहिले घरमा जान्छु भनेर भनें । तर बुबाले मान्नुभएन । त्यसछि जान नदिएपछि मरिदिने घुर्की लगाएँ । त्यसपछि बुबाले पढ्न जान दिन राजी हुनुभयो । जाने बेलामा दाइ पु¥याउन जानुभएको थियो । हिँड्ने बेलामा आमा त रुनु भएन् बुबा धेरै नै रुनुभयो । म भने पढ्न जान पाउने खुशीले कसैप्रति ध्यान थिएन ।
सायद आमाले छोरीको ईच्छा पूरा हुने भयो भनेर रुनु भएन होला । नेपालगन्ज जान तीन दिन लाग्थ्यो । दैलेखबाट सुर्खेत आउँदै गर्दा सासलीको उकालो छ । त्यसैको डाँडामा आएपछि बल्ल मलाई घर छोड्नुको पीडा लाग्यो । बुबाले माया मानेर नै रुनुभयो होला भन्ने लाग्यो । त्यसपछि त्यही डाँडामा बसेर धेरै रोएँ । नेपालगन्ज पुगेपछि दाईले पनि होस्टेलको प्रमुखसँग राम्रोसँग हेरविचार गरिदिनुहोला, यसको विवाह गरिदिन लागेका थियौं । पढ्छु भनेर यहाँ आइ भनेर भन्नुभयो । नेपालगन्जमा छात्राबासमा बसाइँ भयो । मैले त्यहाँ फुलटेक्रा माविमा पढें ।
पढेर मास्टर बन्ने सपना
सानैदेखि पढेर मास्टर नै बन्छु भन्थें । त्यसबेलामा पढेर प्रायः शिक्षण पेसा हुन्थे । म गोठाला जाँदा पनि साथीहरू र आफ्ना साथीहरूलाई पढाउँथे । नेतृत्व गर्न रुचाउँथे । साथीहरुलाई वरिपरि राखेर पढाउँने गर्थें । पढेर शिक्षक बनेर देखाउँछु भनेर धेरै मेहेनत गरेर पढें । नेपालगन्जमा हामी होस्टेलमा बस्थ्यौं । पढ्न विद्यालयमा जानुपथ्र्यो । बुबा धार्मिक सोचको व्यक्ति हुनुन्थ्यो । छोरीले सबै संस्कार सिक्नुपर्छ भन्नुहुन्थ्यो । कन्यादान दिएर पठाउने भन्नुहुन्थ्यो । तर म शिक्षक बनेर देखाउँछु भन्थें । पढेर म शिक्षक त भएँ । २०३८ सालमा म शिक्षक भएर गाउँ फर्किएँ । त्यसबेलामा १० कक्षा पास गरेपछि पढाउन पाइन्थ्यो । आफ्नो गाउँकै विद्यालयमा पढाउन पनि गएँ । तर म शिक्षक भएको बुबाले देख्न पाउनुभएन । कक्षा ७ को अन्तिम परीक्षा दिएपछि बुबाको निधन भयो । त्यस बेलामा म नेपालगन्ज नै थिएँ । नेपालगन्जबाट दैलेख हिँडेर नै जानुपथ्र्यो । बुबाको मृत्युको खबर सुनेपछि म घर गएँ । तीन दिनपछि घर पुगें । बुबाको अनुहार समेत हेर्न पाइन । बुबाले मर्नुको अघिल्लो दिन सबैलाई मलाई पढ्न चाहे जति पढाउनु भन्नुभएको रहेछ । उसलाई अब पढ्न स्वतन्त्रता छ भन्नुभएको रहेछ । यी सबै कुरा भाउजुले भन्नुभयो । आमाले भने म शिक्षक भएको देख्न पाउनुभयो । उहाँलाई नै मैले रेखदेख गरें । छोरीले पढेपछि गर्ने रहेछन् भन्नुहुन्थ्यो आमाले ।
खेलकुद र कलासहित्यमा रुचि
पढाइ बाहेक मेरो रुचि खेलकुद, गित गाउने, कविता लेख्नेमा पनि थियो । म पहिले पढन नपाउँदाको पीडा कविता र गीतमार्फत् व्यक्त गर्र्थें । गोठालो गएको बेलामा गीत लेख्ने, गाउँने, कविता लेख्ने गर्थें । दैलेखमा छँदा म सांगीतिक कार्यक्रममा प्रायः सहभागी हुन्थें । मलाई पढ्नका लागि प्रेरणा र सहयोग गर्ने मेरो गुुरु मिन उपाध्याय, उहाँले मलाई कलाकार बनाउँने हो भन्नहुन्थ्यो । विद्यालयमा हुने प्रायः कार्यक्रममा सहभागी हुन्थें । नेपालगन्ज पढ्न गइसकेपछि खेलकुदतर्फ पनि रुचि बढ्यो । त्यहाँ मैले राष्ट्रिय सेवा दल (एनसीसी) मा आवद्ध भएर खेलहरू खेलें । राष्ट्रिय सेवा दलमा रहेर मैले पछि एक वर्ष काम पनि गरें । बाल्यकालमा केही रमाइलो भए पनि मैले धेरै संघर्षमय नै बित्यो । त्यसबेलामा मैले नपढेको भए यो स्थानसम्म आइपुग्ने नै थिइनँ । बाल्यकालमा अन्यायको विरुद्धमा बोल्नुपर्छ, संघर्ष गर्नुपर्छ भन्ने सोच नआएको भए मैले पढ्न पाउँदिन थिएँ । शिक्षण पेसामा धेरै समय नबिताए पनि राजनीतिबाट अघि बढ्ने मौका पाएँ । नेपालगन्ज पढ्दै गर्दा २०३६ सालमा भएको जनमत संग्रहमा निर्दल र बहुदल मध्ये बहुदलको पक्षमा उभिएको सम्झना छ । त्यस बेलादेखि नै मैले कम्युनिष्ट पार्टीमा आवद्ध भएर राजनीतिमा प्रवेश गरें । २०४६ सालमा पूर्णकालीन सदस्य भएँ । २०५४ सालदेखि सक्रिय भएर राजनीतिमा लागें । स्थानीय निकायको निर्वाचनमा वडा सदस्य भएँ । अहिले प्रदेश सभा सदस्य छु । अखिल नेपाल महिला संघ, पार्टीका विभिन्न तहमा रहेर राजनीतिमा सक्रिय भएँ ।

प्रकाशित मितिः   १६ बैशाख २०७६, सोमबार ११:४२