हिन्दु परम्परामा शिवरात्री
यामलाल घिमिरे
पूर्वीय हिन्दु परम्परामा शिव भगवानप्रति भक्तहरूको अत्यन्त श्रद्धा रहिआएको छ । लोकका श्रृष्टिकर्ता ब्रम्हा, पालनकर्ता विष्णु र अमङ्गल नाशक वा शंहारकर्ता शिव हुन् भन्ने विश्वास गरिन्छ । शिवले लोकको मनमा उत्पन्न ताप, पाप, राप, हरण गर्नसक्छन् भन्ने जनविश्वास छ । शिव कल्याण बोधक शब्द हो । यसले पवित्रता, कल्याणदायक भाव व्यक्त गर्दछ । यिनै कल्याण बोधी सत्ताको उपासना गर्ने पर्व हो शिवरात्री हो ।
श्रीलिङ्ग पुराणको उमामहेश्वर संवाद खण्डमा एक व्याधाको सिकार प्रशङ्ग आउँछ । उक्त प्रशङ्गमा मार्न लागेका मृगहरूलाई नमारी छोडिदिनाले ऊ ज्यूँदै स्वर्ग गएको कथा आउँछ । कथा अनुसार एउटा व्याधा आफू र जहान बच्चाको भोक मेट्नका लागि शिकार गर्न जंगलतिर जान लागेको हुन्छ । त्यसैबेला व्याधाको साहुले उसलाई पकड्छ । साहुलाई पूजा गर्न शिव मन्दिरमा जानुपर्ने भएकाले व्याधालाई पनि सँगै लिएर जान्छ । व्याधाले दिनभर खान पनि पाउँदैन र त्यहाँ उपस्थित अन्य भक्तजनले उसलाई शिव–शिव भनि रहन लगाउँछन् । दिनभर भोकै शिव मन्दिरको परिसरमा रहनुपरेको र उसलाई साँझपख साहुले छिट्टै ऋण तिर्ने वाचा गराउँदै छोडिदिन्छ । उसले शिकार नलिइ कसरी घर जाने भन्ने सोच्दै जंगलतिर लाग्छ । अबेर साँझसम्म पनि उसले शिकार पाउँदैन । उसले शिकार नलिएर घर फर्कनुभन्दा रातभर जंगलमा नै बस्ने निधो गर्दछ । व्याधाले वनमा एक सानो तलाउ भेट्छ । मृगहरू यही तलाउमा पानी खान आउलान् भन्दै तलाउ नजिकको झाडीमा लुकेर बस्छ । त्यो झाडी बेलका हाँगाबिगा र हरिया पात सहितको हुन्छ । संयोगले त्यसको दक्षिणतिर शिवलिङ्ग रहेको हुन्छ । मृग आउँदा सहजै हेर्न नमिलेर व्याधाले आँखा छेल्न आउने बेलका पातहरू पटक–पटक टिप्दै दक्षिणतर्पm फाल्दै गर्दा शिवलिङ्गमा पर्थे र अनजानमै विभिन्न प्रहरको पूजा हुन्थ्यो । तलाउमा पानी खान मृगहरू आउँथे र तिनीहरू मानिस जस्तै संवाद गर्थे । उसले उनीहरूका विवसता बुझस् नमारीकान उसैको घरमा भोलिपल्ट आउने वाचा बन्धन गराउँदै छोडेको हुन्छ । भोलिपल्ट मृगहरू तिनको वचन अनुसार व्याधाको घरमा पुग्छन् । अघिल्लो दिन परिस्थितिले भोकै हुनुपरेको र रातका विभिन्न प्रहरमा शिवलिङ्गमा बेलपत्र चढाउनाले व्याधाको मनमा शिवत्व भाव (कल्याण भाव) उत्पन्न हुन्छ र ऊ सात्विक बन्दछ । उसले सबै मृग मृगिणीलाई उनको घर जान आग्रह गर्दछ ।
व्याधाको मनमा उत्पन्न करुणभाव देखेर स्वर्गमा देवताहरू हर्षित हुन्छन् । स्वर्गबाट देवदुत आइ मृगसहित व्याधालाई सशरीर विमानमा राखी लिएर जान्छन् । तिनै मृगका बगाल तिनतारे हुन् र मृगशिरा नक्षत्र तिनैको नामबाट रहेको हो भन्ने वर्णन शास्त्रमा पाइन्छ । व्याधाले भोकभोकै रहेरको र रातभर नसुती सिकारको ध्यानमा एक चित्तले पटक–पटक बेलपत्र शिव लिङ्गमा चढाएको तिथि फाल्गुण कृष्णचतुर्दशी भएकाले त्यसपछि प्रत्येक वर्ष सोही तिथिमा शिवरात्री मनाउने प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।
फाल्गुण कृष्ण चतुर्दशीमा विश्वभरिका शिव शत्तिपिठहरूमा त्रयोदशीमा दिनभर मेला लाग्ने पूजा आराधना हुने र रात्रीमा शिवको भजन कृतन गरी शिवरात्री पर्व मनाउने गरिन्छ । यस पर्वमा विशेष गरी शिवको पूजाका लागि दुधमा भाङ, गाँजा मिसाउने प्रचलन छ । सामानयतया नेपालका शिव शक्तिपीठहरूमा शिवलाई आँक, गाँजाको पात, धतुरो र बेलपत्र जस्ता वस्तुहरू चढाउने गरिन्छ । यस पर्वमा गाँजा र भाङ शिवलाई चढाउने र भक्तहरूले प्रसादका रूपमा ग्रहण गर्ने पनि गरिन्छ ।
आजभोलि शिवरात्रीमा युवाहरू जाँगा, भाङ जस्ता नशालु पदार्थ खाने गर्ने गरेको पाइन्छ । पर्वका नाममा गरिने यस्ता व्यसनले हाम्रा किशोर तथा युवाहरू बर्बाद हुँदै छन् । हाम्रा अभिभावकले आफ्ना छोराछोरीलाई उनीहरूको व्यवहारमा चनाखो बनेर ध्यान दिन जरुरी देखिन्छ । ‘पर्व त हो नि अलिअलि खान हुन्छ नि’ भन्ने जस्तो लचिलो आसयले भोलि किशोरहरूको भविष्य बर्बाद हुने सम्भावना हुन्छ । हामी केवल शिवले भाङ जस्ता नसापान गरेको उदाहरण दिँदै यही नक्कल गर्ने तर लोक कल्याणको कुनै काम गरेनौं भने हामीले हाम्रो संस्कृतिप्रतिको अनादर मात्र होइन बेइमानी गरेको हुनेछ ।
शिवले समुद्र मन्थनबाट निस्केको विष पान गरेर देव र दानवको जीवन रक्षा गरी महान् कल्याण गरेका थिए । उनले हलाहल विषलाई कण्ठमा धारण गरेर नीलकण्ठ, विष धारण गरेर विषधर भनिए तर त्यो सामथ्र्य हामीसँग छैन । उनले पान गरेका गाँजा, भाङ जस्ता वस्तुमा केही औषधिय गुण अवश्य हुन्छ तिनको उचित समयमा, उचित मात्रामा गरिने प्रयोगले कतिपय स्वास्थ्य समस्या समाधान गर्न सकिन्छ भन्ने संकेतका रूपमा मात्र बुझ्नुपर्दछ तर अमल बसाली गरिने सेवनबाट जीवन बर्बाद हुन्छ भन्ने हेक्का राख्नुपर्छ ।
शिवरात्री पर्वलाई कल्याणकारी धार्मिक उपक्रमका रूपमा बुझ्नुपर्दछ । हाम्रा पूर्वजहरूले पनि शिवरात्री पर्व मनाउँदा लोककल्याण धार्मिक उपदेश, नैतिक आचरण शिक्षण, दुखीहरूको पीडा निवारण जस्ता कल्याणकारी कार्य गर्ने गर्दथे । जसरी शिवले विष पान गरी देव दानवको कल्याण गरेका थिए, त्यसैगरी हामीले पनि समाजमा व्यप्त विषरूपी तŒवहरूको पहिचान गरी तिनकोे उचित व्यवस्थापन गरेर समाजलाई स्वस्थ र शान्त अवस्थामा राख्न पर्यत्न गर्नु नै साँचो अर्थमा शिवरात्री पर्वको उपासना हुने छ । ॐ नमः शिवाय !
(वीरेन्द्रनगर–८ आवाश क्षेत्र, सुर्खेत)
प्रकाशित मितिः २० फाल्गुन २०७५, सोमबार १२:३४
साझा बिसौनी संवाददाता ।