स्वास्थ्य बीमाः ‘कर्णालीलाई हर्ष न विस्मात’

साझा बिसौनी संवाददाता
सुर्खेत, १४ फागुन ।
सांसद गजेन्द्र महतले स्वास्थ्य बीमा कार्यक्रमले कर्णालीलाई प्रभाव पार्न नसकेको बताएका छन् । मंगलवार संघीय संसदमा स्वास्थ्य बीमा प्रभावकारी बनाउने सम्बन्धी जरुरी सार्वजनिक महŒवको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद महतले स्वास्थ्य बीमा कार्यक्रम राम्रो भए पनि कर्णालीलाई यसले नछोएको बताएका हुन् ।
‘कार्यक्रमहरू राम्रै आउँछ, तर कर्णालीका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात छ’ उनले भने ‘कार्यक्रम यहाँ आउँछ, कर्णाली पुग्ने बेलासम्म या त फेजआउट हुन्छ या त रूप अर्कै लिइसकेको हुन्छ ।’ कर्णालीमा राम्रो डाक्टर, राम्रो स्वास्थ्य उपकरण र औषधी नभएको भन्दै स्वास्थ्य बीमाको कुनै अर्थ नभएको सांसद महतले बताए । ‘मौलिक हकमा शिक्षा, स्वास्थ्य प्रष्ट लेखिएको छ । तर कर्णालीका जनताले मौलिक हक कसरी पायौं भन्ने ?’ उनले प्रश्न गरे ‘अस्पताल छ । अस्पताल भएर के गर्नु उपकरण छैन, डाक्टर छैन, औषधि छैन ।’
डाक्टरको सरुवा र उपकरण खरिदमा भ्रष्टाचार हुने र औषधि खरिदमा कमिशनको चलखेल हुने भएकाले दुर्गम ठाउँमा ती सामग्री नपुग्ने सांसद महतले बताए । कर्णालीका मान्छेले अहिले पनि घर खेत बेचेर काठमाडौं आएर उपचार गर्नुपर्ने बाध्यता रहेको उनले गुनासो गरे । ‘हामी कर्णालीका मान्छे वीर अस्पताल, पाटन अस्पताल, टिचिङ अस्पताल पुग्न घरखेत बिक्री गर्नुपर्छ’ उनले भने ‘काठमाडौंका बासिन्दाले ५० रूपैयाँ तिरेपछि पुग्छ, हाम्रो घरखेत बिक्री गर्नुपर्छ ।’ सांसद महतले थपे ‘मेरो काका बीमाको कागज लिएर वीर पुग्नुभएछ । त्यहाँ उहाँलाई दोस्रो दर्जाको ब्यवहार गरियो ।’ अहिले एक निजी अस्पतालमा उपचार गराउनुपरेको सांसद महतले बताए ।

प्रकाशित मितिः   १५ फाल्गुन २०७५, बुधबार १६:४७