‘राज्यले श्रमशोषण गरेको छ’
वीरेन्द्रनगर–१२ नेवारेकी निर्मला सुवेदी (ढकाल) बुबा देवीनारायण सुवेदी र आमा देवीसरा सुवेदीको कोखबाट जन्मिएकी हुन् । वि.सं. २०३८ साल भदौ १४ गते लेकवेशी–७ को कल्याणमा जन्मिएकी निर्मला सानैदेखि विद्रोही स्वभावकी थिइन् । कसैलाई अन्याय पनि नगर्ने र अरुले अन्याय गरेको पनि सहदैंन थिइन् । आज पनि उनको स्वभाव उस्तै छ ।
हस्तवीर प्राथमिक विद्यालयको बालविकास शिक्षकको रूपमा कार्यरत निर्मला प्रारम्भिक बालविकास सुधार समिति जिल्ला सञ्जालको अध्यक्षसमेत हुन् । भविष्यमा शिक्षक बन्ने रहर बोकेकी निर्मलाले बालविकासका बालबालिकाहरूसँग घुलमिल भएरै आफ्नो रहर पूरा गरेको बताउँछिन् । भविष्यमा बालबालिकाहरूकै हकहितका लागि लड्ने अठोट बोकेकी उनले आफ्नो पेसागत जीवनको कथा हाम्रा सहकर्मी सीता वलीसँग यसरी साटिन्ः
म घरकी जेठी छोरीको रुपमा जन्मिएकी हुँ । हामी घरमा ६ भाइबहिनी हौं । म भन्दा अगाडि एक जना दाई हुनुहन्छ ।
म सानैदेखि विद्रोही स्वभावकी थिएँ । आज पनि मेरो त्यो स्वभाव गएको छैन । लेकवेशी–७, कल्याण जन्मथलो भएकोले मैले कक्षा ४ सम्म कल्याणमै अध्ययन गरें । त्यसपछि बुबा–आमाहरु बसाइँ सरेर वीरेन्द्रनगर आएपछि मेरो अध्ययन पनि यतै सुरु भयो । अमरज्योति नमुना माध्यमिक विद्यालयमा पढ्न थालें । अमरज्योतिबाटै प्रविणता प्रमाण–पत्र तहसम्म पढें ।
मेरो बुबा शिक्षक भएको कारण मलाई पनि भविष्यमा शिक्षक नै बन्छु भन्ने लागेको थियो । घरको वातावरणले पनि प्रभाव पार्दो रहेछ । तर त्यो ईच्छा त पूरा हुन सकेको छैन । र पनि बालविकासमा बालबालिकासँग घुलमिल हुन पाउँदा खुशी लाग्छ ।
वि.सं. २०५५ सालमा मेरो विवाह भयो । हाल म वीरेन्द्रनगर–१२ नेवारेमा बस्दै आएकी छु । बुबाले एसएलसी फेल भइ भनेर विवाह गरिदिनुभएको हो । विवाहपछिका मेरा दिन धेरै संघर्षमा बिते ।
वि.सं. २०५८ सालमा जेठो छोरा जन्मेपछि मैले एसएलसी पास गरेकी हुँ । सुत्केरी नै थिएँ, एसएलसीको परीक्षा दिने बेलामा । स्नातक तहको परीक्षा दिँदा समेत सानो छोरा नौ दिनको थियो, त्यसरी दुःख गरेर डिग्री पास गरियो । दुःखका दिन सम्झँदा त कति मन दुख्छ–दुख्छ । म सानौ छँदा घरमा होटेल थियो । स्कुलबाट आएर जेरी चोरेर गोठमा गएर जेरीको घर बनाएर खेल्दा बुबाले पिटेको आज पनि याद छ । खुशीको क्षण मेरो जीवनमा खासै आएको छैन ।
मैले नेपाली विषयमा डिग्री पास गरेकी छुु । मैले अवसर नपाएको होइन तर घर सम्हालेर जागीर खानुपर्ने मेरो बाध्यता थियो । त्यसैले बालविकास मै अल्झिएँ । राज्यले बालविकास केन्द्र आवश्यक हो भन्छ तर बालविकासको दरबन्दी छुट्याएको छैन । देशभरका ३७ हजार बालविकास कि खारेज गरेको भए हुने कि बालविकासलाई दरबन्दि दिए हुने । न्युनतम मापदण्ड अनुसार शैक्षिक सामग्री दिने र भवन निर्माण गरेको भए हुन्थ्यो ।
वि.सं. २०५८ सालदेखि महिनाको पाँच सय रुपैयाँ पारिश्रमिक लिएर बालविकासमा शिक्षण गर्न थालेकी हँु । आजसम्म आउँदा जम्मा महिनाको ६ हजार रुपैयाँ भएको छ । त्यसमा पनि सन्तुष्टि छैन । तर के गर्नु राज्यले बालविकासलाई अपहेलना गरेको छ । म प्रारम्भिक बालविकास सुधार समिति जिल्ला सञ्जालको अध्यक्ष भएर काम गरिरहेकी छु । मेरो यो दोस्रो कार्यकाल हो । यो भन्दा पहिला अहिलेकी प्रदेश सभा सांसद पद्मा खड्का हुनुहुथ्यो । सञ्जाल गठन भएको २०६५ सालबाट हो । म भने २०७० सालदेखि अध्यक्ष भएर काम गरिरहेकी छु ।
राज्यले बालविकासका शिक्षकहरुकाको श्रम शोषण गरिरहेको छ । यसमा अब प्रदेश र स्थानीय सरकारले केही गर्छ कि भन्ने आशा छ । यो बाहेक म समाजका विभिन्न क्रियाकलापहरुमा सहभागी हुँदै आएकी छु । रेडक्रस सोसाइटीको आजीवन सदस्य, पतञ्जली योग गुरु पनि हुँ । अब मलाई समाज सेवानै गरेर बाँकी जीवन बिताउन मन छ । म मेरो पेशालाई गर्व गर्छु । तर राज्यले श्रम शोषण गरेको देख्दा दुःख लाग्छ ।
साझा बिसौनी ।