भारतमा जन्मिएँ, नेपालमा पढें
जरमाया बाठा नवज्योति केन्द्र सुर्खेतकी फिल्ड संयोजक हुन् । वि.सं. २०३७ भदौ १८ गते बुबा मनबहादुर थापा र आमा हरिसरा थापाको कोखबाट भारतको राजपुरमा जन्मिएकी हुन् । नवज्योति केन्द्रमार्फत् सामाजिक काममा सक्रिय जरमायाले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी साटिन्ः
बुबा भारतीय सेना हुनुहुन्थ्यो । बुबाले आमालाई भारतमै लैजानु भएको थियो । म भारतमा जन्मिएँ, उतै हुर्किएँ । १३ वर्षको हुनेबेलासम्म भारतमा बसें ।
सेनाका परिवार बस्ने छुट्टै क्वाटर थियो । हामी त्यही बस्ने गथ्र्यौं । म बाल्यकालमा चुलबुले स्वभावको थिएँ । साथीहरुसँग मिल्ने, छिट्टै घुलमिल हुने गर्थें । हरेन्द्र फाउण्डेशन स्कुल राजपुर चुंग्री आग्रामा पढें । त्यहाँ रहँदा हामी दुई बहिनी र एक भाइ जन्मिएका थियौं । मेरो दिदी हुनुहुन्थ्यो । भाइ सात वर्षको उमेरमा निधन भयो । त्यसपछि आमाले निकै मानसिक तनाव झेल्नुभयो । आमा त्यहाँ बस्नसक्ने अवस्था नभएपछि हामी नेपाल आयौं । जन्मिएर हुर्केको अनिसँगै पढेको, खेलेको साथीहरुसँग एक्कासी छुटिएर आउँदा रुँदै आएको सम्झना अझै पनि छ । तीन÷चार घण्टासम्म रोएको थिएँ । ट्रेनमा रुदै आएँ । पछि नेपाल आइसकेपछि पत्र पठाउने गर्थें । अहिलेको जस्तो फोनको र फेसबुकको जमाना थिएन । केही समयसम्म पत्र आदान–प्रदान भयो । पछि विस्तारै पत्र आदान–प्रदान हुन छोड्यो ।
मलाई साथीहरु बनाउन धेरै रुचि थियो । भारतमा हुँदा मेरा साथीहरु धेरै थिए । महाराष्ट्रका साथीहरु धेरै थिए । त्यहाँ बस्दा धेरै भाषा बोल्न आउँथ्यो । मदरसा, हिन्दी लगायतका भाषाहरु बोल्न आउँथ्यो । धेरै भाषा बोल्ने साथीहरु हुन्थे । मलाई अरुको क्यारिकेचर गर्न मनपर्ने, सँगै गीत गाउन र नाच्न धेरै मनपथ्र्यो । इन्डियामा मलाई सबैले माया गर्नुहुन्थ्यो । नाँच्न–गाउन जान्ने भएकाले शिक्षकहरुले माया गर्नुहुन्थ्यो । हामी नेपाल आउने बेलामा पनि नजाउँ नेपाल गएपछि सबै खत्तम हुन्छ भनेर भनेका थिए ।
दैलेखको भित्री खोलामा मामाको घर थियो । हामी त्यही बस्यौं । सुरुमा नेपाल आउँदा नेपाली बोल्न नआउने । हामीलाई यहाँ साथीहरुले देसी भन्थे । १०÷१५ दिनसम्म त धेरै नै गाह्रो भयो । इन्डियामा हामी ठाउँ अनुसार सुखमा नै थियौं । काम गर्नुपर्दैनथ्यो । यहाँ सुरुमा आउँदा भाषाको समस्या भयो । त्यसपछि खानामा पनि समस्या भयो । नेपाली बोल्न नजानेर मेरो पढाइको स्तर पनि सुरुमा खस्कियो । कक्षा पाँचदेखि फेरि दैलेखमा पढें । तर फेल भएँ । त्यसबेलामा धेरै नरमाइलो लागेको थियो । गाउँमा रोटी, आँटो, ढेडो खानुपर्ने । मिठो नै लाग्दैनथ्यो । भात मात्र खाइरहेको यहाँ सुरुमा खान मन लाग्दैन्थ्यो । एक वर्ष दैलेखमा बसेपछि हामी सुर्खेतको वीरेन्द्रनगरमा आयौं । बुबा जागीरमा हुुनुहुन्थ्यो । आमाले हाम्रो हेरचाह गर्नुभयो ।
वीरेन्द्रनगर बसाइँ सरेर आइसकेपछि मैले जनमाविमा पढें । यहाँ आएर कक्षा ६ देखि पढें । अहिले त बालअधिकार भनेर पिट्ने हुँदैन । म अलि चुलबुले र चकचके भएको कारणले पनि पिटाइ खान्थें । विद्यालयका शिक्षकको कुटाइ खानुभन्दा घरमै काम गर्नु ठीक भन्ने पनि लाग्थ्यो । इन्डिया हुँदा खेल्ने, रमाउने, गीत गाउने, नाँच्ने हुन्थ्यो । यहाँ त्यस्तो वातावरण नै थिएन । अझ छोरीहरुलाई पढाउनुहुन्न भन्ने समाज थियो । यहाँ इन्डियाको जसरी खुलेर नाँच्न गाउन रमाउन पाइएन । बुबा छुट्टिमा घर आएको समयमा त कतै घरबाट बाहिर जान पाइदैन्थ्यो । विवाह, पूजामा नाँच्ने, गाउँने गथ्र्यौं । अनि विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा सहभागी हुन्थें ।
पढाइसँगै घरको काम पनि गर्नुपथ्र्यो । घाँसदाउरा काट्ने, गोठालो जाने, खेत रोपाइँ गर्न जानुपथ्र्यो । आर्थिक अभाव नभए पनि कामको दुःख नै हुन्थ्यो । विद्यालय आउन धेरै टाढा थियोे । वीरेन्द्रनगरको ढोडेखालीबाट बजार आउन टाढा थियो । बाटोमा खोर्के खोला थियो । म पानीदेखि कहिले पनि नडराउने । एक दिन खोलामा गइहालें । किताब बगाइहाल्यो । पछि म पनि बगें । एक जना दाईले बचाउनुभयो ।
इन्डियामा रहँदा एक पटक म हराएँ । हामी बस्ने ठाउँबाट अलि टाढा विद्यालय थियो । हामी गाडीमा नै आउने जाने गथ्र्यौं । एक दिन म विद्यालयबाट आउने बेलामा एक्लै हिँडेर आएँ । करिब पन्ध्र दिनसम्म हराएँ । एक जना मुस्लिम परिवारका व्यक्तिले भेटाएर आफ्नो घरमा लिए । तिनी व्यक्ति हाम्रो क्वाटरमा दुध लिएर आउने रहेछन् । मलाई उनले घर कहाँ हो भन्दा आर्मी मात्र भन्थें । उहाँले क्वाटरमा गएर एक जना बालिकालाई मैले पालेको छु भेटाएर भन्नुभएछ पछि बुबाले गएर घर लिएर आउनुभयो । आमा तीन दिनदेखि बेहोस भएर अस्पतालमा हुनुहुँदो रहेछ ।
म सानै भए पनि सबैसँग मेरो कुराहरु मिल्थें । बुढापाकादेखि केटाकेटीसम्म । म अलि सामाजिक स्वभावको पनि थिएँ । दिन दुखी देखेपछि सहयोग गर्न मन हुन्थ्यो । सहयोग गर्न अघि सरिहाल्थें । आमाले दिन दुखीलाई दिनु भएको छ भने पनि म लुकेर दिन्थें । सामाजिक भावले नै होला अहिले पनि यसै क्षेत्रमा छु । बाल्यकाल केही समय रमाइलो अनि केही समय संघर्ष, पीडादायी भयो ।
साझा बिसौनी ।