बारीभरी तरकारी, स्वदेशमै रोजगारी

साझा बिसौनी संवाददाता
सुर्खेत, २९ माघ ।
गुर्भाकोट–२ मालारानीका रामबहादुर वली बिहानै बारीमा पस्छन् । तरकारी गोडमेल र स्याहार सुसारमै उनको दैनिकी बित्छ । वर्षले ६० नाघेका उनका लागि आम्दानीको स्रोत नै आफ्नै बारी हो । व्यवसायिक तरकारी खेतीमा दैनिक श्रम गर्ने उनलाई आफ्नै खेतबारीमै विदेशमा पाइनेभन्दा उत्तम रोजगारी मिलेको अनुभूति हुन्छ ।


विगतमा उनी निर्वाहमुखी खेती गर्थे । तर पछिल्लो समयमा आफूसँग भएको एक रोपनी जग्गामा व्यवसायिक तरकारी खेती गरेका छन् । बुढेशकालमा उनका लागि आम्दानीको प्रमुख स्रोत र रोजगारी भनेकै तरकारी खेती हो । रोजगारीको खोजीमा युवा जनशक्ति विदेश पलायन बढ्दो छ । स्वदेशमा रोजगारीको सम्भावना नभएको भन्दै विदेश पस्ने युवाहरूका लागि उनी भने प्रेरणाका स्रोत बनेका छन् । भन्छन्, ‘मेहेनत गर्न सक्ने इच्छा शक्ति हुने हो भने पैसा कमाउन विदेश नै जानुपर्दैन । यहाँ पनि सम्भावना छन् । मेहेनत गर्न सके बाँझो रहेको जग्गाबाटै करोडौं आम्दानी गर्न सकिन्छ ।’
धनआर्जनका लागि सरकारी जागीर खानैपर्छ वा विदेश पुग्नुपर्छ भन्ने सोचसँग उनी सहमत छैनन् । बरु आफ्नै बारीमा तरकारी रोपेर स्वरोजगार बन्नुपर्नेमा उनको जोड छ । एक रोपनी जग्गामा तरकारी खेती गरेका उनले वार्षिक रूपमा एक लाखसम्म बचत गर्छन् । घर खर्च र दैनिकी धान्ने माध्यम पनि यही हो । विगतका वर्षमा गहुँ, मकै लगाउने जग्गामा उनले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्ने गरेका छन् । घरमा ६ जनाको परिवार छ । परिवारका लागि मुख्य आयस्रोत भनेकै तरकारी खेती हो । उनी भन्छन्, ‘विदेश बसेर भन्दा घरमा बसेर तरकारी खेती गर्दा आनन्द छ । परिवारसँग बस्न पाइएको छ । खान पाइएको छ । युवाहरूले सम्भावना नै देखेका छैनन्, देखे पनि दुःख गर्न चाहदैनन् ।’ मेहेनत गरे घरमै बसेर तरकारी खेतीबाट पनि राम्रो आम्दानी गर्न सकिने उनले बताए । ‘विदेशमा पसिना बगाएर कमाएको पैसा घरखर्च मै सकिने हुन्छ’ उनले थपे, ‘तरकारी खेती गरेर वर्षमा लाख रूपैयाँ बचत हुँदा किन विदेश गएर पैसा कमाउने सपना देख्ने ? विदेशमा पनि रुखमा पैसा फल्ने होइन, जहाँ गरेनि दुःख गर्नैपर्ने हो ।’
रोजगारीका लागि विदेश नै पुग्नुपर्छ भन्ने मानसिकता युवा पुस्ताले हटाउनुपर्ने अर्का कृषक सीता भण्डारी बताउँछिन् । ‘अर्काको मुलुकमा गएर हड्डी खियाउनु भन्दा तरकारी खेती गरे नै मालामाल भइन्छ’ उनले भनिन्,‘विदेशको पैसा एकै पटक पठाउने भएकाले धेरै देखिने मात्रै हो । पाँच वर्ष खाडी बसेकाले पाँच मिटरको जग्गा किन्न पुग्दैन ।’ तीन रोपनी जग्गामा तरकारी खेती गरेकी छन्, उनले । बाह्रैमास उनको बारी हराभरा हुन्छ । मौसमी र बेमौसमी तरकारी खेती गर्ने उनको दैनिकी पनि निकै व्यस्त बित्छ । परिवार सबैले सघाउँछन् । ‘परिवारसँगै हाँसीखेली काम गर्न पाइएको छ’ उनले भनिन्, ‘परिवारमा दुःख पर्दा सहयोग हुन्छ । कोही बिरामी पर्दा विदेशबाट भनेकै बेला सहयोग गर्न घर आउँछु भन्न पाइँदैन, सबै परिवार घरमा हुँदा एकअर्काका लागि पनि निकै सहयोग पुगेको छ ।’
कृषि खेतीबाट पनि मनग्य आम्दानी गर्न सकिएला भन्ने सोचेकी थिइनन्, विमला कँडेलले । विगतमा खानाका लागि नपुग्ने जग्गाबाट उनले हाल राम्रो आम्दानी गर्न थालेकी छन् । पाँच रोपनी जग्गाबाट उनले हाल एक लाख ५० हजार रूपैयाँ वार्षिक रूपमा खुद नाफा कमाउने गरेकी छन् । ‘युवाहरू मेहनत गर्नै चाहदैनन्, जसले गर्दा रोजगारीका लागि विदेश जानु नै पहिलो विकल्प बनेको छ’ रोजगारीको मुख्य केन्द्र नै विदेश हो भन्ने युवाहरूलाई सन्देश दिँदै उनले भनिन्, ‘सरकारले दिएको अनुदान खेर जान्छ, युवाहरू विदेश जानुपर्ने बाध्यता छ । अब सरकारले दिएको सुविधा मात्रै भए पनि उपयोग गरे आफ्नै बारीमा रोजगारी पाइन्छ ।’
सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित अनुकूलन परियोजनाले तरकारी खेतीका लागि कृषकलाई सहयोग गरेपछि मालारानीका अधिकांश कृषकहरूले व्यवसायिक तरकारी खेती थालेका छन् । गाउँमा तरकारी उत्पादन
बढेपछि बिक्रीका लागि मिलीजुली तरकारी बजार व्यवस्थापन समिति नै गठन गरिएको छ । समितिमार्फत् नै किसानले उत्पादन गरेको तरकारी बिक्री हुन्छ । तरकारी उत्पादन बढेपछि किसानको सहजताका लागि सुन्दर नेपाल संस्थाले अनुकूलन परियोजना अन्तर्गत गाउँमै संकलन केन्द्र स्थापना गरिदिएको छ । अहिले संकलन केन्द्रले नै किसानबाट तरकारी खरिद गरिदिन थालेको संस्थाका कार्यकारी निर्देशक भुपेन्द्र कँडेलले बताए । उनका अनुसार साताको सोमवार र बुधवार किसानबाट तरकारी खरिद गर्ने गरिन्छ । यो संकलन केन्द्रमा तीन सय ६० जना व्यवसायिक तरकारी खेती गर्दै आएका किसानहरू आवद्ध छन् । यहाँबाट उत्पादन हुने तरकारी बोटेचौर, मेहेलकुना र छिन्चुसम्म पुग्ने गरेको छ ।

प्रकाशित मितिः   १ फाल्गुन २०७५, बुधबार १६:१८