संगीतमै समर्पित
वीरेन्द्रनगर–८ सुर्खेतका गंगा केसी वि.सं. २०१० साल कार्तिक १४ गते बुबा हिरालाल खड्का र आमा टीकादेवी खड्काको कोखबाट जन्मिएका हुन् । १० भाइबहिनीमध्ये घरका जेठा छोरा उनी सानैदेखि संगीत तथा खेलकुदमा अत्याधिक रुची राख्दथे । पढाइमा मध्यम भए पनि संगीतमै रमाउन चाहने गंगा केसीले वि.सं. २०३३ सालदेखि जन माविमा शिक्षण गर्न थाले । करिब २४ वर्षसम्म विद्यालयमा शिक्षण गरेका उनी पुनः सुर्खेत क्याम्पस शिक्षामा उप–प्राध्यापकको रूपमा काम गरे । करिब १५ वर्षको उप–प्राध्यापकको अनुभव समेत बटुलेका केसी गीतकार पनि हुन् । लोकगीत, स्वदेशगान जस्ता गीतहरूमा आफ्नो स्वर, संगीत तथा शब्द भरेका केसीले आफ्नो पेसागत जीवनका कथा हाम्रा सहकर्मी सीता वलीसँग यसरी साटेः
म सुर्खेतको जर्बुटामा जन्मिएको हुँ । हाल वीरेन्द्रनगर–८ मा मेरो बसोबास रहेको छ । हामी १० जना भाइबहिनी, ६ बहिनी र चार भाइ । म घरको जेठो छोरा हुँ म भन्दा अगाडि एक जना दिदी हुनुहुन्थ्यो । बुबा आमा खेती किसान गर्ने । भविष्यमा छोरालाई के बनाउने भन्ने विषयमा उहाँहरुले केही सोच्नुभएको थिएन । मैले भने सानैदेखि संगीतमा अत्याधिक रुचि राख्दथें । वि.सं. २०२८ सालमा जन माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरें । विद्यालय पढ्दादेखि नै विभिन्न संगीतिक क्षेत्रमा म सहभागी हुन्थें । अहिलेको कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनाल पनि त्यो बेलामा जन माविको शिक्षक हुनुहुन्थ्यो । त्यो बेलामा उहाँले नाटकको नेतृत्व गर्नुहुन्थ्यो भने मैले संगीतको पाटो हेर्थे ।
मैले शिक्षण पेसा र संगीतलाई सँगसँगै अगाडि बढाएको हुँ । मेरो पहिलो लोकगीत ‘घर कहाँ हो परदेशी, जिल्ला सुर्खेत हो गाउँ जर्बुटा’ बोलको गीत वि.सं. २०२६ सालमा लेखेको हुँ । रेकर्ड भने २०३० सालमा भएको हो । रेडियो नेपालमा त्यसमा स्वर पूर्णसिंह पाल्पाली र तारा थापाले दिनुभएको छ भने मेरो शब्द, संगीत हो । त्यस्तै २०४६ सालमा स्वदेशगान म र साथीहरुको स्वरमा झुक्दैन कहिल्यै नेपाली बोलको गीत छ । सबै गरेर चार÷पाँच वटा जति गीतहरुमा मैले, स्वर, संगीत र शब्द दिएको छु । त्यस्तै लोकगीत रेलको झ्याल झ्यालैमा डम्बर आचार्य र मञ्जु मेदासीको स्वरमा मेरो शब्द संकलन हो । कमल विके निर्मोहीको रन्काईदेउ गाइने दाइ मनै छिचेल्ने चरिबुट्टे सारङ्गीको पनि शब्द÷संगीत मेरै हो ।
मैले संगीतको क्षेत्रमा सस्तो लोकप्रियता भन्दा पनि अनुशासित भइरहें । जसले गर्दा पछिल्ला चर्चित कलाकारहरुले पनि सम्मान र प्रेरणाको स्रोतको रुपमा लिन्छन् । त्यो बेलामा खुशी लाग्छ । म बागीना समूहको अध्यक्ष भएर पनि काम गरें २०६२ सालतिर हाल सल्लाहकार सदस्यको रुपमा काम गर्दै आएको छु । त्यस्तै राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सुर्खेतको समेत सल्लाहकार सदस्यको रुपमा काम गरेको छु । मेरो शिक्षण पेसाको सुरुवातको कुरा गर्दा वि.सं. २०३३ सालमा जन मावि जहाँ म अध्ययन गरेको विद्यालय हो त्यहाँबाट सुरु गरेको हुँ । वि.सं. २०३५ सालमा स्थायी भएँ र वि.सं. २०५७ सालसम्म मैले त्यहाँ सेवा गरें । त्यहाँबाट निवृत्तिभरणमा आइसकेपछि २०५८ सालदेखि सुर्खेत क्याम्पस शिक्षामा काम गरें २०७३ सालसम्म । जन माविमा रहँदा पनि १३ वर्ष सहायक प्रधानाध्यापकको रुपमा काम गरें । त्यस्तै सुर्खेत क्याम्पस शिक्षामा उप–प्रध्यापकको रुपमा काम गर्दा स्नातकोत्तर नेपाली विभागको विभागीय प्रमुख तथा अभ्यास शिक्षण विभागको प्रमुख समेत भएर काम गर्ने अवसर प्राप्त गरें । अहिले शिक्षण अवकाश पश्चात संगीत क्षेत्रमा नै लागिरहेको छु ।
म शिक्षक भएको नाताले पनि कुनै सांहित्यीक तथा सांगीतिक प्रतियोगीताहरुमा निर्णाकको भूमिकामा थुप्रै विद्यालयहरुले निम्त्याउनुहुन्छ । अन्य समयमा भने सांगीतिक कार्यक्रमहरुमा सहभागी हुने तथा भजन कृतनमा सहभागी हुने गरेको छु । म राधाकृष्ण मन्दिर कालुञ्चौकको भजन संयोजकको रुपमा काम गर्दै आएको छु । हरेक एकादशीमा त्यहाँ जान्छु र प्रायः प्रत्येक शनिबार प्रशान्ति बृद्धाआश्रममा जानेगरेको छु । त्यसरी नै आजभोलिका दिनहरु बिताइरहेको छु । मेरो रहर संगीतमा भए पनि म शिक्षक भएर जीवनका धेरै वर्षहरु बिताएँ । त्यसमा जीवनलाई सहजता दिनको लागि पनि जागीर जोडिएको हो । मैले जीवनमा गर्न चाहेको र पूरा हुन नसकेको भनेको संगीत विद्यालयको स्थापना गर्ने धोको पूरा भएको छैन । त्यसमा दुःख लाग्छ । मेरो बाँकी जीवनको लक्ष्य भनेको प्रदेश तहमा संगीत शिक्षालाई विस्तार गर्ने हो पूरा हुन्छ हुँदैन ।
संगीतमा मेरो घरपरिवार र समाजको पनि उत्तिकै साथ र सहयोग थियो । पछिल्लो समयमा सुर्खेतका विशेष गरी महिला कलाकारहरु गायिका टीका पुन र नृत्य निर्देशक, मोडल तथा खेलाडी नन्दा बस्याल, त्यसैगरी कुलमान नेपाली, गणेशभक्त गौतम जस्ता कलाकारहरुले राम्रो छवी बनाएका छन् । त्यसमा खुशी लाग्छ । अब कर्णाली प्रदेशमा नयाँ प्रतिभाहरुको खोजी, यहाँको कलाको संरक्षण होस् भन्ने चाहन्छु । मेरो शिक्षण र संगीत पेसामा आबद्धता हुँदा यी पेसाहरुमा हुनुपर्ने अनुशासन र लगनशीलता भइरहे जसले गर्दा धेरैले सम्मान र प्रेरणाको स्रोतको रुपमा लिनुहुन्छ । त्यसमा खुशी लाग्छ । मेरो दुवै पेसा गौरवका पेसा भए । यो पेसा राम्रो र यो पेसा नराम्रो भन्ने मलाई लागेन । तर विशेष रुचि संगीत भएकोले अलि बढी संगीतलाई माया गर्छु ।
साझा बिसौनी ।