भ्रष्टाचार विरुद्ध सहकार्य
दिपेन्द्रकुमार बि.सी.
भ्रष्टाचार गैरकानुनी कार्य हो । तर नेपालमा भ्रष्टाचारको बिगबिगी जुनसुकै तह तथा स्थानमा, जोसुकै व्यक्तिहरूबाट भइरहेको छ । जसका कारण नेपाल आजसम्म विकसित हुन सकेको छैन । चाहे व्यक्ति किसान होस्, चाहे कुनै अधिकृत, इन्जिनियर, शिक्षक, नेता, मन्त्री, डाक्टर, पत्रकार, उद्योगी, व्यपारी जो जति आफ्नो स्वार्थको निम्ती पदको दुरूपयोग गर्दछन्, चाहे घुस लिने होस् चाहे घुस दिने दुवैले भ्रष्टाचार गरेका हुन्छन् । नेपालमा भ्रष्टाचार विभिन्न क्षेत्रमा भइरहेका छन्, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कतिपयलाई रङ्गेहात पक्राउ गरेको छ त भइरहेका कतिपय भ्रष्टाचार कसैलाई थाहा नै छैन । अनि कतिपय ठूलो भ्रष्टाचार हुँदा पनि नियन्त्रण गर्ने तथा पक्राउ गर्ने निकाय मौन छन् । भ्रष्टाचार नियन्त्रण गर्ने निकायमा नै भ्रष्टाचार भएको छ ।
जब भ्रष्टाचारको नियन्त्रण हुन्छ तब मात्र सुशासन कायम गर्न सकिन्छ । सुशासन भनेको स्वस्थ, निश्पक्ष पारदर्शी रूपमा, आफ्नो जिम्मेवारीमा निहित रही, निश्वार्थका साथ, पारदर्शी रूपमा, नियम र कानुनको पालना गरी जनस्तरमा समान रूपले गरिने असल शासन व्यवस्था हो । सुशासन कायम गर्नु आजको आवश्यकता हो । सुशासन राज्य व्यवस्था कायम गर्न तपाईं हामी सम्पूर्ण एकताको साथ लाग्नुपर्छ । देशको समृद्धिको लागि देशको मुहार फेर्न तपाईं हामी लाग्नुपर्छ । देशको गन्तव्य भनेको सुशासन कायम गर्नु हो र सम्पूर्णले हातेमालो गर्नुपर्छ ।
सुशासन कायम गर्न नेपालमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग जस्ता निकायहरूलाई आफ्नो तवरबाट साथ दिनुपर्छ । नेपालको संविधान २०१९ को दोस्रो संशोधन २०३२ ले अख्तियार दुरूपयोग निवारण आयोग गठन गर्ने प्रवधान राखी स्थापित आयोगलाई २०४७ सालमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग बनाइएको थियो । नेपालको संविधान २०७२ को भाग १२ अन्तर्गत २३८ धारामा आयोगकोबारे उल्लेख गरेको छ । अख्तियारका भ्रष्टाचार निवारण अभियानमा हामी सम्पूर्ण व्यक्ति, समूह, समुदायले साथ दिनु जरुरी छ तब मात्र सुशासन सहितको समृद्ध मुलुक निर्माण गर्न सक्छौं ।
राज्यको असल नागरिक सेवा सुविधा लिनु हाम्रो दायित्व हो । हामीले कहिँकतै भ्रष्टाचार भएमा खबरदारी गर्नुपर्छ । हामीले कतिपय क्षेत्रमा हुने, भ्रष्टाचारहरू थाहा हुँदा पनि खबरदारी गरेका छैनौं जुन हाम्रो ठूलो गल्ती हो, हाम्रो सानो कमी कमजोरीले देशको समृद्धिमा ठूलो चुनौती आइपरेको छ । जनस्तरमा नै भ्रष्टाचार भइरहेको छ । स्थानीय वार्डदेखि, गाउँपलिका र नगरपालिका, प्रदेश तथा केन्द्रीयस्तरका विभिन्न विकास योजनाका कार्य, सरकारी कार्यलय, गैरसरकारी संघ–संस्थामा भ्रष्टाचार हुने गरेको छ । गाउँ–गाउँमा सिंहदरवार आयो भन्दा पनि भ्रष्टाचार गर्ने दरबार आए जस्तो देखिन्छ ।
विश्वमा जतिसुकै विकसित राष्ट्रका रूपमा चिनियाँका मुलुक छन् ती राष्ट्रमा भ्रष्टाचार न्यून छ, भ्रष्टाचार विरुद्ध कडा कानुन छ । सुशासन कायम भएको मुलुक स्वतह विकसित हुन्छ । विश्व सर्वेक्षण अनुसार डेनमार्क, चीन, जापान , नर्वे जस्ता विकसित राष्ट्र«हरू एकदम न्यून भ्रष्टाचार हुने मुलुकका रूपमा चिनिन्छन् । ट्रान्सपरेन्सी इन्टरनेशनलले गरेको सर्वेक्षण अनुसार नेपाल सबैभन्दा बढी भ्रष्टाचार हुने एसियाकै तेर्सो राष्ट्र हो भने एक सय ८० राष्ट्र मध्य एक सय २४ औं स्थानमा छ । सुशासन नै विकसित मुलुकको मुख्य विशेषता हो । राष्ट्रलाई समृद्धिका साथ वैज्ञानिक तथा प्राविधिक रूपमा आधुनिक युगमा सञ्चालन गर्न भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गरिएको हुनुपर्छ । सुशासनका हरेक अवस्थाहहरूको कार्यान्वयन भएमा देश समृद्धिको बाटोमा लम्किन्छ ।
विशेष गरी शिक्षा क्षेत्रमा भ्रष्टाचार हुने गरेको छ । शिक्षक नियुक्ति, विद्यालयका शैक्षिक, भौतिक व्यवस्थापनको आर्थिक कारोबार र स्रोतको प्रयोगमा, प्रशासन क्षेत्रमा नागरिकता, जन्मदर्ता, नामसारी जस्ता प्रमाण–पत्र बनाउँदा, जग्गा पास तथा किनबेचमा मालपोत कार्यलयमा, कर कर्जाको क्षेत्रमा, निजामती कर्मचारी परीक्षा नियुक्ति, बढुवा–सरुवामा, इन्जिनियर क्षेत्रका भौतिकतर्फ बृहत योजना, बिद्युत, खानेपानी, यातायात, सडक जस्ता योजनामा, कानुनी क्षेत्रमा न्यायिक क्षेत्रमा नि भ्रष्टाचार व्यापक हुन्छ, न्याय तथा सजाय दिने कुरामा, सुरक्षाकर्मी, सेना, प्रहरी, न्यायाधीश, वकिलको नियुक्ति इत्यादि थुप्रै क्षेत्रमा भ्रष्टाचार भइरहेको छ ।
भ्रष्टाचार निवारण गर्न सरकारसँग आबद्धले सरकारकोतर्फबाट, अख्तियारसँग आवद्ध भएकाहरूले अख्तियारको तर्फबाट, विभिन्न संघ–संस्थासँग आबद्धले संस्थाको तर्फबाट, कर्मचारीहरूले कर्मचारीको तर्फबाट, सेवाग्राही जनताले सेवाग्राहीको तर्फबाट, जो जति जुन–जुन पद र स्थानमा छन् त्यही पद र स्थानमा जिम्मेवारीका साथ आफ्नो जिम्मेवारी निर्वाह गरी सरकारका विभिन्न काम कार्यप्रति जबाफदेही भइ असल स्वभिमानी नेपाली बनी भ्रष्टाचार निवारण गर्न एकजुट भएर लाग्नुपर्छ ।
सर्वप्रथम सरकारभित्र र संवैधानिक क्षेत्र भित्रै हुने भ्रष्टाचारको अन्त्य हुनुपर्छ । जुन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख लोकमानसिंह कार्कीको विषय, हालै संसदीय उप–समितिको प्रतिवेदन अनुसार वाइडबडी खरिद प्रकरणमा भएको भ्रष्टाचार, न्यायाधीशहरूको नियुक्ति र बढुवा लगायतमा हुने गरेको आर्थिक लेनदेन लगायत थुप्र्रै क्षेत्रमा भ्रष्टाचार भइरहेको छर्लङ्ग देख्न सकिन्छ । यस्ता भ्रष्टाचारविरुद्धको अभियानमा सहकार्य गर्नुपर्छ । जसरी थोपा–थोपा मिलेर समुन्द्र बन्छ, त्यसरी नै सम्पूर्ण नागरिकहरू आफ्नो जिम्मेवारीप्रति इमान्दारितापूर्वक लागेमा र आफ्नोस्तरबाट भ्रष्टाचारविरुद्ध सहकार्य गरेमा भ्रष्टाचारविहीन प्रशासन तथा सुशासनयुक्त समृद्ध मुलुक बनाउन सकिन्छ ।
सरकारको मुख्य लक्ष्य ‘सुखी नेपाली समृद्ध नेपाल’ सफल बनाउन सर्वप्रथम भ्रष्टाचारलाई जरैदेखि निर्मूल पार्नुपर्छ । भ्रष्टाचारको अन्त्य गर्न सरकारले जनचेतनामूलक तथा रचनात्मक कार्य गर्नुपर्छ । साथै सरकारले भ्रष्टाचार विरुद्ध कडा भन्दा कडा किसिमको कानुन बनाइ निश्पक्ष वैज्ञानिक खोज अनुसन्धानलाई जोड दिइएर लागू गर्नुपर्छ । कारबाही जरिवानामा नभइ फाँसीसम्मको व्यवस्था हुनुपर्छ भने भ्रष्टाचार विरुद्धका लागि लागेका अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई स्थानीयस्तरसम्म विस्तार गर्नु जरुरी छ साथै यस्तै भ्रष्टाचार विरुद्ध लागेका संघ–संस्था, अभियन्तालाई साथ र सहयोग गर्नुपर्छ । अहिलेको समयमा भ्रष्टाचारविरुद्ध हुने कामकार्यको खोज अनुसन्धानमा थुप्रै त्रुटी गरिरहेका छ । भ्रष्टाचार विरुद्धको खोज अनुसन्धानलाई निश्पक्ष, स्वतन्त्ररूपमा निरन्तर अगाडि बढाउनुपर्छ ।
हरेक क्षेत्रमा कमजोर व्यक्तिहरू रहँदा उनीहरूको ठूलो गल्तीले समृद्ध मुलुक निर्माणमा धक्का लागेको छ । राजनीतिक दलका कार्यकर्ताले आफ्ना नेताले गरेका जे सुकै कार्य राम्रो नै ठान्नु गलत गर्दा पनि सम्मान गर्ने प्रवृत्तिले भ्रष्टाचारलाई हौसला दिन्छ । त्यसकारण कार्यकर्ता देशप्रति चिन्तित हुनुपर्छ । सीमित राजनीतिक दलमा मात्र होइन, गलतको प्रदाफास गर्नुपर्छ । हामी सबै जुनसुकै स्थानबाट भ्रष्टाचार विरुद्ध लाग्नुपर्छ । एकतामा नै बल छ । सहकार्यले जुनसुकै कार्य पनि सम्भव छ त्यसैले सहकार्यका साथ भ्रष्टाचारको विरुद्ध लाग्नुपर्छ र सुशासन कायम गरी हामीले देखेको समृद्धिको गन्तव्यमा पुग्न सफल हुनेछौं ।
हामी नागरिकमा राष्ट्रप्रेम जागृत हुनुजरुरी छ । सार्वजनिक र सरकारी योजना हाम्रा लागी हुन, हामीले मूल्यांकन गर्नुपर्छ भन्ने धाराणाका साथ जुट्नुपर्छ । राष्ट्रको विकासको लागि, शान्ति सु–व्यवस्था कायम गर्न, समृद्ध मुलुकको पहिचान दिन, समाजवादी राज्य व्यवस्था कायम गर्न, लोकतान्त्रिक शासन पद्धतिको उदाहरण दिन सुशान कायम हुनुपर्छ । सुशासन भएमा सम्पूर्ण नागरिकहरूले समान हक र अधिकार पाउँछन्, सहजै सेवा सुविधा उपभोग गर्न पाउँछन्, शान्ति सु–व्यवस्था कायम हुन्छ, विभेदकारी प्रवृत्तिको अन्त्य भइ समान अवसरहरू प्रदान गर्छन् । सम्पूर्ण नागरिकको माग नै सुशासन हो । सुशासन कायम गर्नु आजको आवश्यकता हो त्यसैले सुशासन कायमको लागि, व्यक्ति, समुदाय, राष्ट्रसँग सम्बन्धित सम्पूर्ण क्षेत्र, निकाय, संघ–संस्था, सरकारले एक अर्कासँग सहकार्य गर्नु जरुरी छ । साथै सम्पूर्ण जनताहरूले अख्तियार दुरूपयोग अनुसन्धान आयोग जस्तो भ्रष्टाचार निवारणको लागि काम गर्ने संवैधानिक निकायहरूलाई साथ र सहयोग दिनुपर्छ । एकाअर्कासँग सहकार्य गरेमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नसक्छौं ।
साझा बिसौनी संवाददाता ।