लेखक थरी–थरीका

दिनेश गौतम-
वास्तवमै लेख्नेहरूमा एउटा रोग हुन्छ, नलेख्ने रोग । शब्दले अर्थ फरक पारेको हुन पनि सक्छ वा बुझ्न थोरै अप्ठ्यारो भयो कि ? जे होस्, सबैभन्दा धेरै लेख्नेहरू वा सबैभन्दा धेरै विषयमा लेख्नेहरू वा सबैभन्दा धेरै समय लेख्नेहरूमा पनि एउटा भयानक रोग हुन्छ, नलेख्ने रोग । लेख्नेहरू भावनाहरूलाई अक्षरमा, अक्षरहरूलाई लयमा, लयहरूलाई विधामा, विधालाई पानामा उतार्दै बेच्नेहरूले वा नबेच्नेहरूले पनि नलेख्ने रोगको शिकार भएका छन् वा हुन्छन्, जानेरै होस् वा नजानेरै । यहाँ लेख्नेको पनि अर्थ छ, लेख्ने पनि कारण छन्, यहाँ नलेख्नेको पनि अर्थ छ, यहाँ नलेख्ने पनि कारण छन् । उल्लेख गर्न खोजेको विषय के हो भने यहाँ जति लेखक छन्, जतिले लेख्छन्, जति लेखिन खोज्छन् वा जति लेखकीय दृष्टिकोण पैदा गर्न तम्सिन्छन्, उनीहरूको केही न केही वा कहीँ न कहीँ एउटा सीमा छ । यसका पनि अपवादहरू होलान्, जसले त्यस्ता सीमाहरूलाई तोडे वा तोड्ने प्रयास गरे, त्यसबाहेकका त सबै उस्तै–उस्तै । उही तपाईं जस्तै, ऊ जस्तै, म जस्तै, हामी जस्तै । आफू अनुकूलको विचार, पक्ष, समूह , दल , झुण्ड वा आफ्नो लागि जायज हुने सबै पक्षको पक्षमा लेख्दा तिनको विपक्षमा नलेख्ने, के यो रोग होइन ? यो रोग हो, नलेखिने रोग । अक्षरहरूमा लागेको रोग । अक्षर सिर्जना गरेको कलमहरूमा लागेको खिया । अक्षरहरू सिर्जना गर्ने मसीहरूमा गरिएको मिसावट पनि यही एउटा रोग हो । र अक्षरहरू दौडाइरहने औंलाहरूमा लेखिएको क्यान्सर पनि यही हो, एकदम भयानक रोग । सबै व्यक्ति हुन नसक्दा रहेछन् तस्लिमा नसरिन वा देवकोटा जसले आफू वा आफ्नो पक्ष विरुद्धमा पनि लेखे । 
हामीलाई थाहा छ तस्लिमा नसरिनले बाबरी मज्जिदको घटनापछि बंगलादेशमा रहेका बहुसंख्यक मुस्लिम समुदायबाट अल्पसंख्यक हिन्दु सम्प्रदायका मानिसहरूलाई गरिएको अत्याचारलाई ‘लज्जा’ नामको उपन्यासमार्फत् सारा संसारलाई देखाएको, सुनाएको, पढ्न लगाएको । हामीलाई यो पनि थाहा छ, काव्यिक चेतनाका महान् हस्ती हाम्रै नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘जरुर साथी म पागल’ भन्दै हिँड्नुपरेको । यी आफैं विरुद्धका अक्षरहरू थिए, जो उनीहरू आफैले सिर्जना गरे । तस्लीमा त मुस्लिम समुदायकै मान्छे हुन् तर पनि उनले अन्यायलाई लेखिन । देवकोटा त महान् विद्वान थिए, तर पनि यही समाजले उनलाई पागल भन्यो, उनले स्वयम् भन्दिए, ‘जरुर साथी म पागल’ । यी त मात्रै अपवादहरू हुन् । यी जस्ता अरु केही अपवादहरू पनि छन् र त्यसबाहेकका सबै के  ? ती सबै हुन् नलेख्ने रोगले संक्रमित लेखक । 
व्यक्तिगत रूपमा पनि नेपालका केही स्वघोषित वरिष्ठ पत्रकार तथा चर्चित दैनिकका पूर्व सम्पादकहरू लेखकको रूपमा उदाउन खोज्छन्, खोजिरहेछन् । उनीहरूलाई आफ्नो पक्षको गुणगान गर्न बाहेक थप केही चाहिएको छैन । उनीहरूले लेख्ने कलमलाई भर्ने मसी किन्न पैसा त्यहींबाट आउँछ जसको लागि उनीहरू लेख्छन् । आम मानिसका कथा व्यथा पनि लेख्छन् उनीहरू कहिले काहीं तर त्यसमा पनि प्रायोजन खोज्छन् । अहो ! कस्तो दुःखको कुरा, समवेदनालाई अक्षरमा बटुल्न पनि प्रायोजन चाहिने  र प्रायोजन नभए त्यो समवेदना नै नहुने, केही पनि नहुने । एकदम रित्तो दुःखमात्र हुने । यो पनि त कम्ताको दुःखको विषय होइन । 
थरी–थरीका लेखक छन् । कोही पैसा कमाउन लेख्छन्, कोही पैसा बचाउन लेख्छन् । कोही नाम कमाउन लेख्छन्, कोही नाम जोगाउन लेख्छन् । कोही पैसामा अक्षर खोज्छन्, कोही अक्षरमा पैसा खोज्छन् । कोही लेखेर पेट पाल्न खोजेको कुरा गर्छन्, कोही रहर मेट्न लेखेको कुरा गर्छन् । लेख्न त लेखेकै छन् उनीहरू पनि जसले पैसाको अगाडि आत्मसमर्पण गरेको छ वा भनौं उनीहरूलाई पैसा चाहिएको छ, पैसालाई अक्षर चाहिएको छ । त्यस्ता लेखक पनि छन् जसले आफूले अङ्गालेको वा आफूलाई सिञ्चित गरिरहेको राजनैतिक पार्टी वा विचारधाराको कुनै पनि ‘इभेन्ट’ किन नहोस्, कुनै पनि ‘एक्सन’ किन नहोस्, त्यसलाई सही प्रमाणित गर्न दिनरात नभनेर लाग्छन् । उनीहरू लेखक भन्दा बढी पार्टीको प्रतिवेदन तयार गर्न तत्पर देखिन्छन् । उनीहरूलाई पनि साहित्यिक वा पत्रकारितासंँग सम्बन्धित सरकारी निकायमा नियुक्ति लिनुछ । उनीहरूलाई पनि कुनै आयोगको सदस्य हुनुछ । उनीहरूलाई पनि राजदुत भएर जाने रहर छ । उनीहरू लेख्छन्, लेखेरै अरु बन्न चाहन्छन् तर लेखक बन्न चाहँदैनन् । र हामी  पाठक, हामी साँच्चै उनीहरूको सच्चा पाठक भइदिन्छौं । कलममा पैसा भरेर पैसाकै कागजमा लेखिएका अक्षरहरूलाई हामी जीवनको प्रेरणाको स्रोतको रूपमा लिन्छौं । 
थरी–थरीका लेखक छन् हामीसँग । कोही छन् जो हरेक लेखहरूमा गाली मात्र गर्न जान्दछन् । जसलाई अरुको कुरा सुन्नु हुँदैन । जसले अरुले गरेको काम त्यो राम्रो वा जनपक्षीय नै किन नहोस्, त्यसलाई कहिल्यै राम्रो लेख्दैनन् । किनभने उनीहरूलाई जसरी पनि गाली गर्नुछ । उनीहरूलाई अक्षर सिर्जनाका कारण बन्न सक्छन् केही सकारात्मक प्रयासहरू पनि । तर अक्षर बनेर हामीसम्म आइपुग्दा ती गाली गर्न सिपालु लेखकहरूका अक्षरले गर्दा पूरै नकारात्मक बनेर पढ्नुपर्छ हामीले । अनि हामीले उनीहरूप्रति के धारणा बनाउने ? अर्काेथरीका लेखकहरू पनि छन् जसले कसैको भक्तिगान बाहेक केही गर्दैनन् । यति सकारात्मक भएर लेखिदिन्छन् कि जसको बारेमा लेखिँदैछ त्यसलाई भन्दा बढी उसको बारेमा लेख्ने मान्छेलाई थाहा हुन्छ । कसरी थाहा पाउँछन् सब कुरा ? सायद भक्तिले काम गरेको हुनुपर्छ । अर्काथरी लेखक छन् जो साँच्चै लेखक भन्न उपयुक्त छन् । जो समाजसँगकै सम्बन्धमा सीमित छन् । जसलाई समाजको बारेमा लेख्न बाहेक अरु आउँदैन । जसले विभेद, अत्याचार, अन्याय, शोषण सबै भोगेका छन्, देखेका छन् र लेखेका पनि छन् । त्यस्ता लेखकहरू अत्यन्त कम छन्, भएका भए पनि छिट्टै हराएका छन् । स्वयम् नहराएको भए पनि हराउन विवश छन्, अरुहरूद्वारा हराइएका छन् । उनीहरूको परिचय सायदै छ हामीसँग । हामी चिन्नसम्म चिन्दैनौ उनीहरूलाई  । विपन्नता र विकटताको कुराहरू लेख्दालेख्दै उनीहरू आफै विपन्न हुन्छन्, उनीहरू आफै विकट हुन्छन् । 
साँच्चै यहाँ लेखक थरी–थरीका छन् । धेरै समयसम्म बुझ्न जटिल, बुझे पनि लेख्न जटिल, लेखे पनि 
पढ्न जटिल । वास्तवमा उनीहरूलाई नलेख्ने रोग लागेको छ ।
प्रकाशित मितिः   २२ चैत्र २०७२, सोमबार ०६:४८