समृद्धि प्राप्तीका ६ शर्तहरू

कविराज खत्री
समृद्धि भनेको संक्षेपमा अरु केही होइन हाम्रो श्रमलाई प्रकृतिमा मिसाउनु हो । अर्थात् श्रमलाई भूमिमा मिसाएर परिणाममूखी कर्म गर्नु नै समृद्धि हो । हरेक मानिसले श्रम गर्नु नै समृद्धि हो । तर नेपालमा सय जनामा १० जनाले श्रम गर्ने र बाँकी ९० जना गफ गरेर खाने प्रचलन छ । यसको अन्त्य भयो भने नेपाल समृद्ध हुन्छ । समृद्ध नेपाल बनाउनका लागि कानुन, नीति, ऐन, नियम सरल, मजदुर पक्षीय हुनु पर्दछ । यो पहिलो सर्त हो । यसको अलवा समृद्ध नेपाल बनाउका लागि केही आवश्यक शर्तहरू पूरा हुनु पर्दछ । ती आधारभूत शर्तहरूको बारेमा यहाँ चर्चा गरिएको छः
(क) ऊर्जाः
समृद्धिका लागि पहिलो शर्त ऊर्जा हो । ऊर्जा विना समृद्धिको कुनै कल्पना समेत गर्न सकिन्न । अहिलेको आधुनिक र प्रविधियुक्त युगमा पनि देशका जनता अन्धकारमुनी बस्न बाध्यछन् । देशका नदीनालाहरू विद्युत उत्पादनका लागि भन्दै विदेशीलाई विशेष गरेर भारतलाई बेच्ने काम भएको छ । तर यति सानो नेपाल सम्भावना हुँदाहुँदै पनि अँध्यारोमा बस्न बाध्य पारिएको छ । कुरा समृद्ध नेपालका गर्ने तर जनतालाई अहिले पनि अँध्यारोमा बाँच्न विवश बनाउने । ऊर्जा नभए कसरी प्रविधि सञ्चालन गर्ने, कसरी उद्योग स्थापना गर्ने, कसरी गुणस्तरीय वस्तुहरू प्रशोधन गरेर बजारीकरण गर्ने ? त्यसकारण समृद्धिको पहिलो आधारभूत आवश्यकता ऊर्जा हो । ऊर्जा विना समृद्धिको कुरा मिथ्या हो । यसतर्फ राज्यको अहिले पनि ध्यान जान सकेको छैन ।
(ख) उद्यमशीलताः
समृद्धिको दोस्रो शर्त उद्यमशीलताको विकास हो । मुलुक कुन तहमा छ भनेर हेर्ने हो भने हाम्रो मुलुक कहाँ र कुन तहमा छ ? कसैलाई थाहा छैन । मानिस बेरोजगार भयौं भनेर सडकमा कराउने गर्दछन । दिनभर भट्टी पसलमा मदिरा पिउने गर्दछन् । प्रायः जुवाको खालमा भेटिन्छन् । कृषकहरू चार बियाँ बीऊ रोपेर कृषिबाट आम्दानी छैन भन्ने गर्दछन् । युवाहरू धर्तीलाई धिक्कार्दै पासपोर्ट बनाएर खाडी मुलुकमा भौंतारिन आतुर देखिन्छन् । पढेका शिक्षित वर्गहरू पढ्नुको अर्थ जागिर खानु हो । जागिर खान पाएको भए तलबभन्दा पनि कमिशस खान पायिन्थ्यो । अकूत कमाउन पाइन्थ्यो भन्ने मानसिकता बोकर बरालिएका भेटिन्छन् । यस्तो प्रकारको रामलिला जनशक्ति छ हाम्रो देश नेपालमा ।
पढेकोले कठिन काम गर्न नमिल्ने, नपढेकाले काम नजान्ने ? यही आधारभूत समस्याको पेरिफेरिमा नेपाल छ । तसर्थ हरेक नेपाली जबसम्म उद्यमशील हुन्नन तबसम्म समृद्धि असम्भव छ । पढेकाहरू जागिरे मोहमा होइन, बाँझा बनेका खेतवारीमा श्रम गर्न तयार हुनुपर्दछ । यो वातावरण राज्यले बनाउनुपर्दछ । परम्परागत कृषि प्रणालीको तत्काल अन्त्य गर्नुपर्दछ । हरेक वडाहरूमा अनिवार्य ‘आइएलो’ मापदण्ड अनुसारको उद्यमशीलता तालिमहरू सञ्चालन गर्नुपर्दछ । तालिम मात्र होइन, तालिम सकेकै दिन श्रमलाई उद्यमशीलतामा रूपान्तरण गर्नुपर्दछ । कसैले पनि जमिन बाँझो राख्न नपाइने, कोही पनि काम नगरी खान नपाइने र गाउँ–गाउँमा एकघर एक लघु उद्यम अनिवार्य स्थापना गर्नुपर्ने शर्त नै लगाउनु पर्दछ । प्रत्येक नेपाली उद्यमशीलत भए भने तब पो समृद्धिको आधार तयार हुन्छ । राज्यले यस विषयमा गम्भीरतापूर्वक सोच्नु पर्दछ ।
(ग) उद्योगः
कुरा समृद्धिका गर्ने एक जिल्लामा एउटा पनि ठूलो उद्योग स्थापना नहुने हो भने गफले मात्र समाज समुन्नत हुन सक्दैन । त्यसैले एक पालिकामा एक ठूलो उद्योग, तीन मझौला उद्योग, पाँचवटा साना उद्योग र प्रत्येक घरमा लघु उद्योगहरू सञ्चालन गर्ने वातावरण सिर्जना गर्नु पर्दछ । स्थानीय तहमा जहाँ जुन स्रोत छ, त्यही स्रोतमा आधारित उद्योगहरू स्थापना गर्ने हो भने समृद्ध नेपाल बनाउन दुईदेखि तीन वर्ष पनि लाग्दैन । राज्यसित यहि कुराको आँट छैन । किनकी यी कार्यहरू गर्ने हो भने जनता सचेत हुन्छन्, मजदूरीकरण हुन्छन्, आत्मनिर्भर हुन्छन । फलतः पुरानो मानसिकता बोकेका राजनीतिक दलका नेताहरू खारेज भइ नयाँ विचार, आँट, साहास बोकेका नेताहरूको जन्म हुन्छ ।
सत्ताको रसस्वादन गर्न पाइदैन भनि शब्दमा मात्र मिठासपन दिने र काममा जनता ठग्ने प्रवृत्ति अहिले पनि सत्ताधारी पुराना सोचका नेताहरूको कायम छ । यस कारण जनतालाई उद्यमशील बनाउन पनि चाहन्नन् र उद्योगको स्थापना पनि गर्न दिँदैनन् र भन्छन् ‘समृद्ध नेपाल बनाऔं ।’
(घ) संरचनाः
समृद्धिको अर्को आधरभूत शर्त हो संरचना निर्माण । संरचनाको कुरा गर्दा नेपालमा एउटा आतंक छ, त्यो हो, डोजर आतंक । वर्षेनी अरबौं रकम बराबरको सडक निर्माण गरिन्छ तर सडक बाह्रै महिना चल्दैनन् । भन्नुको मतलब कमिशनका लागि विकास हुने गर्दछ । तसर्थ समृद्ध नेपाल बनाउनका लागि गुणस्तरीय सडक, गुणस्तरीय विद्युतीकरण, गुणस्तरीय प्रशोधन, संकलन केन्द्र, हाटबजारहरू निर्माण, बहुउपयोगी कोल्डस्टोरहरू निर्माण गर्नु पर्दछ । किसानका लागि सिँचाइ, उद्यमीहरूका लागि प्रविधि, उद्योगीहरूका लागि विद्युत, व्यापारीहरूका लागि सडक सञ्जाल प्रमुख शर्त हुन् । यसका साथै आधुनिक प्रकारका रङ्गशाला, खेलकुद मैदान, ठूल्ठूला पार्कहरू, पुरातात्वीक, धार्मिक, ऐतिहासिक सम्पदाको प्रवद्र्धन आदि संरचनाहरू निर्माण गर्नुपर्दछ । यी संरचनाहरू गुणस्तरीय हुनुपर्दछ । जसका कारणले मानिसहरूको चाप बढ्छ, अन्तर्राष्ट्रिय बजारका लागि विश्वका मानिसहरू नेपाल आउँछन् । सम्बन्ध विस्तार हुन्छ । के राज्यले यसतर्फ अब ध्यान देला त ?
(ङ) बजारीकरणः
हामी नेपालीहरूको बानी आफुले उत्पादन गरको चाम बेच्न लाज मान्छौं । अर्थात उत्पादन भएर मात्र हुँदैन, त्यसको उचित प्रकारले बजारीकरण गर्न सकिएन भने उत्पादित वस्तुको कुनै काम छैन । हुन त बजारीकरणका लागि सडक प्रधान पक्ष हो । त्यो भन्दा पनि गुणस्तरीय उत्पादन, लेवलिङ्ग, प्योकेजिङ्ग र प्रचार–प्रसार मुख्य पक्ष हो । एउटा उद्यमीले उत्पादन गरेको वस्तुको आकर्षक रूप दिन खोज्दछ तर उसको हुति पुग्दैन । किनभने उसलाई सरल ब्याजमा ऋण पाउँदैन, लेवलिङ्ग, प्योकेजिङ्ग, दर्ता प्रकृया, कर नीतिले उसलाई थकाउँछ । मन भएर, उद्यमशीलता भएर, उद्यमी भएर पनि यी समस्याले गर्दा उत्पादित वस्तुको बजारीकरण हुन सकेको छैन ।
तसर्थ राज्यले लघु, घरेलु तथा साना उद्यमीहरूका लागि प्रविधि, लेवलिङ्ग, प्योकेजिङ्ग, विज्ञापन, राजश्वमा न्यूनतम पाँच वर्षका लागि ५० प्रतिशत छुटको व्यवस्था गर्नुपर्दछ । सुलभ ब्याजमा परियोजनाका आधारमा ऋण दिने व्यवस्थाको पूर्ण ग्यारेण्टी गर्नुपर्दछ । जुन ठाउँमा जुन वस्तुहरू उत्पादन हुने गर्दछन्, ती वस्तुहरू अनिवार्य प्रयोग गर्नुपर्ने र ती वस्तुहरू उत्पादन भएको ठाउँमा अर्को ठाउँबाट ती वस्तुहरू भिœयाउन प्रतिबन्ध लगाउनु पर्दछ ।
(च) लगानीः
उद्योगका निमित्त लगानी पहिलो शर्त हो । यस विषयमा राज्यले तत्काल पहाडी जिल्लामा मmभौला तथा ठूला उद्योग स्थापना गर्ने उद्यमीहरूलाई परियोजनाका आधारमा ५० प्रतिशत अनुदान (संरचना निर्माण र प्रविधि खरिद) दिनु पर्दछ । ब्याजदर सस्तोमा परियोजनाका आधारमा ऋणको व्यवस्था गर्नुपर्दछ । यो स्किम राज्यले पाँच वर्षका लागि लागू गरेको खण्डमा नेपालको समृद्धि हामीले सोचेभन्दा धेरै हुनेछ । यसका साथै प्रविधि भित्राउँदा भन्सार महसुल सुलभ, कर नीति उद्यममैत्री बनाउनु पर्दछ ।
निश्कर्षः
समृद्ध नेपाल बनाउनका लागि यी छ वटा आधारभूत शर्त हुन् । यदि जीवित र जनपक्षीय राज्य छ भने राज्यका तिनै तहका जिम्मेवार जनप्रतिनिधिहरूले हामी जस्ता उद्यमीहरूका यी कुरा सुन्नु पर्दछ । कुरा सुन्ने मात्र होइन, यी विषयमा रहेर ठोस काम गर्नुपर्दछ । नारामा समृद्धिका कुरा गर्ने र व्यवहारमा काला कर्तुतहरू प्रस्तुत गर्ने हो भने समृद्धिको आधार तयार हुन सक्दैन । जसले जुन कुरा गरे पनि समृद्धिको आधारः उद्यमशीलता नै हो ।
हरेक नेपाली उद्यमशील नभए समुन्नत, समृद्ध, आत्मनिर्भर समाज बन्न कक्दैन । व्यापारले नाफा कमाउनका लागि गरिने कार्य हो भने उद्यम समुन्नत, स्वरोजगार, समृद्ध र आत्मनिर्भर समाज बनाउन गरिने कार्य हो । यही कुराको मनन् हामी सबैले गर्न आवश्यक छ ।
कर्णाली प्रदेश दुर्गमा छ, हरेक दृष्टिकोणले अभावमा छ, पिछडिएको छ, यहाँ केही हुन्न ? काम गर्न सकिदैंन भन्ने प्रचलन र थेगो हामी सबैको पहिलेकै चलन हो । म यसका ठीक विपरित दिशामा उभिएको छु । संसारमा नभएको चीज, क्षमता, आर्थिक, सम्पदा आदि सबै कर्णाली प्रदेशमा नै छ । मुलुकका सात वटा प्रदेशमध्ये प्राकृतिक स्रोत–साधन, सम्पदा र सभ्यतामा कर्णाली प्रदेशलाई कसैले भेटाउन सक्दैन । मात्रै समस्या यहाँको साधन स्रोतको समुचित व्यवस्थापन गर्न नसकेका मात्र हौं ।
कसरी कर्णाली दुःखमा छ ? कसरी हामी केही नभएका वेसाहारा हौं ? हामीले हाम्रो मानसिकता बदल्यौं अर्थात् उद्यमशील बन्यौं भने कर्णाली प्रदेशका हामी जनता नेपालका धनी र सुखी जनता बन्दछौं । यसका लागि निर्यात बढाउने र आयात घटाउने जोड घटाउमा लाग्न आवश्यक छ । कर्णाली प्रदेश सरकारले जनताको सरकार बनेर योजनाहरू सूचीकृत गर्ने, प्रथमिकीरण गर्ने, मेगा प्रोजेक्टहरू निर्माण गर्ने र गुणस्तरी कार्य गर्नका लागि उचित ‘मेकानिजम’ बनाउनु पर्दछ । जनता र सरकारको एकत्व भयो भने हाम्रै पालामा समृद्ध कर्णालीको कलिलो र सुन्दर मुहार निर्माण गर्न सक्दछौं ।

(लेखक नेपाल राष्ट्रिय लघु उद्यमी महासंघ कर्णाली प्रदेशका अध्यक्ष हुन्)

प्रकाशित मितिः   ८ माघ २०७५, मंगलवार १५:५६