विद्यार्थी राजनीतिले अंगाल्नुपर्ने बाटो

रविकिरण हमाल
विद्यार्थी कुनै पनि समाजको चेतनशील, सिर्जनशील र परिवर्तनको संवाहक हो । विद्यार्थी वर्गले नै नागरिक र राजनीतिक अधिकार तथा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको वकालत तथा त्यसको समृद्धिकरणका लागि संघर्ष गर्दै अगाडि बढ्न सक्नुपर्छ, नेपाली इतिहासका विभिन्न कालखण्डमा ‘जयतु संस्कृतम्’ आन्दोलन, अखिल भारत विद्यार्थी युनियन, अखिल, अखिल क्रान्तिकारी हुँदै थुप्रै विद्यार्थी संघठनहरूले राजनीतिक परिवर्तनको लागि महŒवपूर्ण योगदान गरिसकेका छन् ।
नेपाल एउटा नयाँ युगमा प्रवेश गरिसकेको छ, हामीले संविधानसभाबाट संविधान प्राप्त गरे सँगै राजनीतिक अधिकारको आन्दोलन भन्दा आर्थिक विकास र समृद्धिको अभियानलाई जोड गर्ने लक्ष्य लिएर अगाडि बढिसकेका छौं, यसैबीचमा त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्ने तयारी थालेको छ । के पुरानै ढाँचामा गरिने स्ववियु निर्वाचनले हामीले संविधानमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई उन्नत बनाउन सक्ला ? साँच्चै नयाँ युगको नेतृत्व गर्ने नेताहरू उत्पादन गर्न सक्ला ?
विद्यार्थी राजनीतिभित्र धेरै विकृति पनि बढेको छ । अहिले विद्यार्थी राजनीति भनेको स्ववियुमा हुने भ्रष्टाचार, गुण्डागर्दी र धाँधली कसरी गर्न सकिन्छ भनेर सिक्ने पाठशाला बनेको देखिन्छ । विद्यार्थी राजनीतिको नाममा आफ्नो जीवनको ऊर्जाशील र सिर्जनशील समय भ्रष्ट र विगठित चरित्र निर्माण गर्ने पथमा लामबद्व साथीहरूबाट देशले धेरै आशा राख्नु हुँदैन । यद्यपि नेपालमा लोकतान्त्रिक मूल्य र मान्यताहरू स्थापित गर्न वास्तविकतामा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको निकै महŒव हुन्छ । केही सुधार गर्नुपर्ने विषयहरू उल्लेख गर्नपर्छ ।
शैलीमा परिवर्तन
उच्च शिक्षा हासिल गर्न विभिन्न ठाउँबाट आएका साथीहरू पहिलो दिनबाट नै भर्ना फाराम भरिदिने मानिसहरूबाट प्रभावित भएर विद्यार्थी युनियनको समर्थनमा उत्रिन्छन् । अझ कतिपय विद्यार्थीहरू पहिल्यै त्यो मानसिकता बनाएर भर्ना गरिरहेको पाइन्छ । यसबाट प्रष्ट के बुझ्न सकिन्छ भने विद्यार्थी राजनीति एउटा विचार, आदर्श र अध्यनबाट मार्गनिर्देश छैन । विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरू साँच्चिकै अर्थमा भन्ने हो भने देश, समाज र राजनीतिक विचार र व्यवस्थाप्रति न्यूनतम ज्ञान भएको हुनुपर्छ, त्यसो नभएकोमा कम्तीमा मैले कुन विचारधारा बोकेको संगठनलाई समर्थन गर्दैछु र किन गर्दैछु भनेर उत्तर दिनसक्नुपर्छ । अथवा सबै विद्यार्थीहरू राजनीतिक विचारधाराबाट प्रभावित नहुन सक्छन् तर उनीहरूको समय भनेको समाजमा विद्यमान समस्याहरूको हल खोज्ने किसिमको बहस गर्ने खालको हो ।
कयौ साथीहरू बिहानदेखि बेलुकासम्म विद्यार्थी युनियनका माथिल्लो पदका पात्रहरूको आदेशमा क्याम्पसमा परिसरमा आफ्नो अमूल्य समय बर्बाद गरिरहेका छन् । उनीहरूलाई के भन्निन्छ भने हामी यसै गरेर यहाँसम्म आइपुगेका हौं तिमीहरू पनि त्यही गर नत्र नेता बनिदैन । अबको विद्यार्थी राजनीति त्यसरी अगाडि बढाउन सकिदैन । हामीले २१ औं शताब्दीमा आएर ज्ञान, विज्ञान र विचारको समृद्धीकरण गर्दै अगाडि जाने विद्यार्थी राजनीति गर्नुपर्छ । क्याम्पसहरूमा विद्यार्थी संघठनहरूले पारदर्शीता र विधिको शासन स्थापित गर्न सदैव अग्रसर हुनुपर्छ नकि क्याम्पसमा हुने गतिविधिहरूमा कमिशनको लागि लुछाचुँडी गर्ने । नेपाल जस्तो गरिबी, बेरोजगारी, भ्रष्टाचार र परनिर्भरता जस्ता समस्याहरूबाट ग्रसित देशलाई कसरी सुशासनमार्फत् विकास र समृद्धिको मार्गमा लैजान सकिन्छ, अहिलेको परिप्रेक्षमा कस्तो राजनीतिक प्रणाली र विचारबाट त्यो लक्ष्य हासिल हुनसक्छ भन्ने किसिमका छलफल र अन्तरक्रिया हुनुपर्छ ।
निर्वाचन आयोगमार्फत् स्ववियु
विश्वविद्यालयका धेरैजसो पदाधिकारीहरू राजनैतिक दलका बफादार कार्यकर्ताहरू छन् । राजनीतिक भागवण्डाले विश्वविद्यालय जस्तो शैक्षिक मन्दिर नराम्ररी फसेको छ । अहिले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव तिनै राजनीतिक भागवण्डाका आधारमा नियुक्त गरेकाहरूबाट हुने हो भने त्यसको निस्पक्षता माथि प्रश्न गर्ने ठाउँ रहन्छ ।
समाजलाई रूपान्तरण गर्नसक्ने शक्ति विद्यार्थीहरू सफा राजनीतिक क्रियाकलाप गर्न सकिरहेका छैनन्, आफ्नो पकड कमजोर भएको ठाउँमा ताला लगाएर स्ववियु रोक्ने र जित्ने ठाउँमा ताला फोडेर पनि चुनाव गराउने हर्कतहरू लोकतन्त्रका लागि घातक छन् । हाम्रो देशमा लोकतान्त्रिक मूल्य र मान्यताहरू विस्तारै स्थापित हुँदै गइरहेका छन्, अझ यसलाई मजबुत बनाउन आवधिक निर्वाचनले महŒवपूर्ण भूमिका निर्वाह गर्छ । निर्वाचन आयोगले देशका सरकारी मात्र होइन सम्पूर्ण निजी कलेजहरूमा स्ववियुको निर्वाचन गर्नुपर्छ । सर्वसाधारण विद्यार्थीहरू चुनाव नलड्न सक्ने अवस्था छ, स्ववियुमा लाखौं खर्च गरेर भोट किन्न थालियो भने भोलिका दिनमा संसदीय निर्वाचन स्वतन्त्र, निस्पक्ष र सफा होला भनेर कसरी आशा गर्न सकिन्छ ? निर्वाचन आयोगले उम्मेदवारहरूका एजेण्डालाई विद्यार्थी माझ लैजान सहयोग गरेमा मात्र सबै विद्यार्थीहरू प्रतिस्पर्धा गर्न सक्छन्, जो लोकतन्त्रका लागि सुखद् हुन जान्छ ।
सयुक्त मञ्चको व्यवस्था
स्ववियुको चुनावमा पार्टीका अध्यक्षहरू, पूर्वप्रधामन्त्री लागायत राज्यका उच्च पदस्त व्यक्तिहरूलाई क्याम्पसमा बोलाएर भोट माग्ने प्रचलन खराब देखिन्छ । यसरी विद्यार्थी संघठनहरू माउ पार्टीका हनुमानको रूपमा प्रस्तुत हुने कुरा असल होइन । हामीले स्ववियु निर्वाचनको बेलामा धेरै समय चुनाव प्रचार–प्रचारमा बिताउँदा थुप्रै विद्यार्थीहरूको पठन–पाठन ठप्प हुन्छ । हामीले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा हुने ‘प्रिसेन्डेन्टल डिबेट’ गराउन सकेमा निर्वाचनमा उम्मेदवारहरूले विचारको प्रतिस्पर्धा गर्ने वातावरण बन्छ । कम्तीमा ३÷४ पटकसम्म सभापतिका उम्मेदवारहरूलाई सबै विद्यार्थीहरूको माझमा सयुक्त रूपमा धारामा राख्ने र प्रश्नोत्तर गर्नसक्ने अवस्था सिर्जना गर्न सकियो भने निर्वाचन सफा, पारदर्शी र सदाचारयुक्त हुन्छ ।
स्ववियुमा निषेध वा सिन्डिकेटको राजनीतिक प्रतिस्पर्धालाई रोक्न सकिएन भने राजनीति झनै खराब हँुदै जाने सम्भावना देखिन्छ । कम्तीमा साझा मञ्चको व्यवस्थापनले त्यसलाई निरुत्साहित गर्न सकिन्छ ।
इनोभेटिम राजनीति
कला, स्वतन्त्रता र सिर्जनशीलताले राजनीति भन्दा छिटो समाज परिवर्तन गर्न सकिन्छ । दुवैलाई अगाडि बढाउन सके गति अवश्य बढ्छ । विद्यार्थी राजनीति भनेको कला र सिर्जनशीलताका माध्यमबाट समयलाई रूपान्तरण गर्नसक्ने अवस्थामा पनि हो । अहिले विश्वमा नयाँ खोज अनुसन्धानहरू भइरहेका छन् । जसमा विद्यार्थीहरूको अथक मिहेनत र लगाव देखिन्छ । हामीले नारा जुलुस गर्ने, बन्द हड्ताल गर्ने, गुण्डागर्दी गर्ने जस्ता खराब राजनीतिक आचारको अन्त्य गर्न इनोभेटिभ राजनीति गर्नुपर्ने आवश्यकता देखिन्छ । औद्योगिक क्रान्तिका बेला थुप्रै मेसिनहरू आविष्कार भएका थिए जसका कारण आज तिनी देशहरू तीव्र विकासको गतिमा अगाडि बढिरहेका छन् । थुप्रै दार्शनिकहरूले नयाँ–नयाँ राजनीतिक सिद्धान्तको प्रतिपादन गरेर विश्व समाजलाई नै एउटा ऐतिहासिक रूपान्तरणको बाटोमा मार्गनिर्देशन गर्न सफल भए । हामीले पनि विद्यार्थी राजनीति खोज र अनुसन्धानमूलक बनाउनुपर्छ । नयाँ विचारको खोज अनुसन्धानका लागी सदैव खुला मस्तिष्क बोकेर हिँड्न जरुरी छ । एउटा युगमा एउटा कुरा प्राधान हुन्छ, युग सापेक्ष नयाँ विचार र प्रणालीको आवश्यकता पर्छ । नेपाली समाजको विविधतालाई सम्वोधन गर्दै शान्ति र समृद्धि हासिल गर्न कस्तो विचार र व्यवस्था चाहिएला ? राष्ट्रलाई एकताबद्ध बनाउन कस्तो खाले विचार अंगाल्नु पर्छ ? अहिले भू–राजनीतिक जटिलतालाई कसरी हल गरेर सबै देशहरूसँग पारदर्शी र मर्यादित सम्बन्ध कायम गर्न सकिन्छ ? यस्तै प्रश्नहरूको हल खोज्ने खालको राजनीति गरौं ।
स्ववियुमा उम्मेदवार हुनकै लागि वर्षौवर्ष क्याम्पस ढुक्ने प्रवृत्तिलाई सबैले निरुत्साहित गर्नुपर्छ, वास्तविक स्ववियु नियमित विद्यार्थीहरूको बन्नुपर्छ । विद्यार्थी राजनीति भनेको राजनीतिक प्रक्रियाहरू सिक्ने अवसर हो, राजनीतिलाई सामाजिकीकरण गर्न अपरिहार्य छ । यसको मतलव भनेको आफूले गर्ने राजनीतिको वाद, शास्त्र, तर्क, सिद्धान्तको साथै आफ्ना प्रतिस्पर्धीका वाद, शास्त्र, तर्क र सिद्धान्तको अध्ययन गर्ने र बौद्धिक क्षमता बढाउने, संगठन गर्ने, कार्यकर्ता र समर्थकको आधार फराकिलो बनाउने आदि सीप सिक्ने हो । हामीले हाम्रै जीवनकालमा समृद्ध नेपाल निर्माणको सपनालाई साकार पार्न सुशासन र सदाचारयुक्त राजनीतिलाई स्थापित गर्नैपर्छ, जसको सुरुवात स्ववियुदेखि नै गरौं ।

(लेखक नयाँ शक्ति विद्यार्थी युनियन कर्णाली प्रदेशका संयोजक हुन् ।)

प्रकाशित मितिः   २९ पुष २०७५, आईतवार १४:४६