‘पढाइ खर्च जुटाउन भात गएँ’

सिम्ता गाउँपालिका–३ झ्यामाका गगनसिंह ठकुरी बुबा बमबहादुर सिंह र आमा कस्तुरा मैयाको कोखबाट वि.सं. २०४६ साल असोज ७ गते जन्मिएका हुन् । चार भाइमध्ये घरका साइला छोरा गगन सानैदेखि पढाइमा अत्याधिक रुचि राख्दथे । तर घरको आर्थिक अभावका कारण कक्षा ९ पढ्दा–पढ्दै पढाइबीचमै छोड्नुपर्ने भएपछि गगन भारत पसे । भारतमा करिब दुई वर्ष काम गरेर उनी फेरि नेपालमा आइ पढ्न थाले । वि.सं. २०६३ सालमा भानु माध्यमिक विद्यालय बजेडीचौरबाट उनले प्रथम श्रेणीमा प्रवेशिका उत्र्तीण गरे । जीवनमा त्यो भन्दा ठूलो खुशी आजसम्म नभएको बताउने गगन विद्यार्थी राजनीतिमा पनि सक्रिय छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मध्यपश्चिमाञ्चल विश्वविद्यालय राष्ट्रिय कमिटीका अध्यक्षसमेत रहेका उनले साझा बिसौनी सहकर्मी सीता वलीसँग आफ्नो कलेज लाईफको कथा यसरी सुनाएः


बुबा–आमा गाउँमा व्यापार गर्नुहुन्छ । घरको आर्थिक अवस्था सामान्य नै थियो । म सानैदेखि पढाइमा अत्याधिक रुचि राख्ने मान्छे । नेपाल राष्ट्रिय प्राथमिक विद्यालय झ्यामाबाट मैले प्राथमिक तहको शिक्षा आर्जन गरें । त्यसपछि निम्न माध्यमिक तहको शिक्षा आर्जन गर्नको लागि सूर्यज्योति निम्न माध्यमिक विद्यालय सुन्तोला घोरेटामा पढें । तर माध्यमिक तह पढ्नको लागि बजेडीचौर जानुपर्ने भयो । त्यसपछि घरको आर्थिक अवस्था कमजोर भएको कारण बुबा–आमाले पढाउन नसक्ने कुरा गर्नुभयो ।
म सानैदेखि पढाइ भनेपछि हुरुक्क हुने मान्छे । पढाइ रोक्नुपरेपछि भारत गएँ । करिब दुई वर्ष भारतमा बसेपछि नेपाल आएँ । आफूलाई माध्यमिक तहसम्म पढ्नको लागि पैसा कमाउन म भारत पसेको थिएँ । त्यसपछि मैले भानु माध्यमिक विद्यालय बजेडीचौरमा कक्षा ९ मा भर्ना भएर पढें र वि.सं. २०६३ सालमा एसएलसी उत्तीर्ण भएँ ।
करिब दुई वर्ष काम गरेर पनि प्रथम श्रेणीमा एसएलसी पास हुंँदा मेरो खुशीको सीमा रहेन । सायद त्यो भन्दा ठूलो खुशी आजसम्म मैले पाएको छैन । प्रविणता प्रमाणपत्र तह अध्ययन जनउच्च माध्यमिक विद्यालय वीरेन्द्रनगरबाट गरेको हुँ । हाल मध्यपश्चिामामञ्चल विश्वविद्यालय सुर्खेतबाट स्नातक तहमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विषय (आईआर) सकेर बसेको छु ।
जब एसएलसी पास भएँ, पढ्नको लागि वीरेन्द्रनगर आइपुगें । जन माध्यमिक विद्यालयमा गणित विषय लिएर पढें । मलाई पढन् त विज्ञानमा रुचि थियो तर म कक्षा ९ देखि नै विद्यार्थी संगठनमा आबद्ध भएकोले पढाइ बिग्रने डरले गणित विषय लिएर पढेको हुँ ।
पहिला त बुबा–आमाले नपढाउने नै भन्नु भएको थियो तर मेरो पढाइप्रतिको लगाव देखेर बुबा–आमाले धेरै पढोस भन्ने चाहाना राख्नुभएको थियो । प्रायः गाउँघरतिर शिक्षकको मान्यता बढी हुने भएकोले सायद मेरो बुबा–आमाले पनि छोरोलाई शिक्षक बनाउँछु भन्ने सोच बनाउनु भएको थियो ।
कलेजको पहिलो दिन गाउँबाट आएको विद्यार्थी भएकाले होला अप्ठ्यारो महसुस भयो । दुई÷चार सय विद्यार्थीको माझबाट पढेर आएको, हजारौं विद्यार्थीको भीडमा आफूलाई कमजोर महसुस गर्ने भइयो । नयाँ साथी पहिलो दिन खासै बनाइएन । कलेजबाट फर्कदा पनि रमाइलो नै भयो । एसएलसी पास प्रथम श्रेणीमा भएको थिएँ, यहाँ यति धेरै विद्यार्थीको बीचमा असफल भइन्छ की भन्ने डर पनि कताकता मनमा लागिरह्यो ।
कलेजको पढाइ र विद्यालयको पढाइबीचमा धेरै भिन्नता पाइयो । विद्यालयमा शिक्षक तथा आमा–बुबाको निर्देशन र निगरानी हुन्छ । तर कलेजमा त्यस्तो हुँदैन । कलेजमा विद्यार्थी आफै संवेदनशील भएर लाग्नुपर्दछ ।
कलेज पढ्दा क्लास बंक भने कहिल्यै गरिएन । पढाइ बाहेक फिल्ममा मलाइ एकदमै रुचि हुने कुनै नयाँ फिल्म लागेको छ भने साथीहरूसँग गइहाल्ने बानी थियो । तर फिल्म पनि सन्देशमूलक भएको खण्डमा बढी रुचि हुन्छ । घुम्न पनि मलाई एकदमै मनपर्छ । सबैभन्दा बढी रुचि राजनीति र समाज सेवामा हुन्छ । म विद्यालय तहदेखि नै राजनीतिमा सक्रिय थिएँ । विभिन्न सामाजिक संघ–संस्थाहरूमा पनि आवद्ध छु ।
प्रेम अन्तरह्दयमा लुकेका कुराहरूलाई बाहिर ल्याउने माध्यम हो । मैले गाउँकै एक जनासँग प्रेम गरेर विवाह नै गरिसकें । अहिले दुईवटा बच्चा छन् । मेरो जीवनको सुखको क्षण त एसएलसीको प्रथम श्रेणी अंक नै हो । जीवनमा दुःखको क्षण कक्षा ९ पढ्दा–पढ्दै घरको आर्थिक अभावका कारण भारत पसेर होटेलमा भाँडा माझ्दाको क्षण हो जुन आज पनि याद आउँछ । म भारतमा हुँदा पनि विद्यालय जाने समयमा बाटोमा विद्यार्थी र विद्यालयका गाडी हेरेर बस्थें र सोच्थे म पनि यसरी विद्यालय जाने दिन कहिले आउला ?
भविष्यमा मलाई राजनीतिबाटै केही गर्ने रहर छ । त्यसैले हाल राजनीतिमा नै सक्रिय भएर लागेको छु । अनेरास्ववियु मध्यपश्चिमाञ्चल विश्वविद्यालय राष्ट्रिय कमिटी अध्यक्ष भएर काम गरिरहेको छु ।

प्रकाशित मितिः   २८ पुष २०७५, शनिबार १४:३८