बाल्यकालको पढ्ने रहर युवा अवस्थामा पूरा गरें

देवेन्द्र बिसी सुर्खेतमा कम्युनिष्ट स्थापनाका एक अगुवा हुन् । पञ्चायती व्यवस्थाकाविरुद्ध लड्दा उनी पनि पटक–पटक जेल परे । २०२३ सालमा पुष्पलाल समूहको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध भएर राजनीति सुरु गरेका बिसीले तत्कालीन नेकपा माले सुर्खेतका सचिव समेत भए । पछि, तत्कालीन एनेकपा माओवादीमा प्रवेश गरेपछि उनी केन्द्रीय सल्लाहकार समेत बने । वि.सं. १९९५ असोज ५ गते शिवशंकर बुढाक्षेत्री र आमा नन्दकला बुढाक्षेत्रीको सन्तानका रूपमा सिम्ता गाउँपालिका खानीखोलाको चोल्पामा जन्मिएका बिसी लेखक पनि हुन् । २७ वर्ष लामो शिक्षण पेसाको अनुभवसमेत रहेका बिसीले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी साटेः


मेरो जन्म खानीखोलाको चोल्पामा भयो । त्यसबेलामा गाउँमा विद्यालय थिएनन् । हामीले विद्यालय कस्तो हुन्छ भनेर देख्न पनि पाएनौं । गाउँमा पण्डित हुन्थे । जोगीहरू घुम्दै आउँथे । उनीहरूबाट अक्षर चिन्न सिकेका हौं । गाउँघरका केटोकेटी जम्मा भए घरको आँगन र दलानमा पढ्थ्यौं । सुरुमा त दुर्गा, चण्डी, धर्म र संस्कृत नै पढाइ हुन्थ्यो । उनीहरूसँग पढेवापत पढेको शुल्क भनेर नै दिनुपर्दैनथ्यो । सिदा, दानदक्षिणा दिने चलन हुन्थ्यो । अझै पनि दलान र आगनमा पढेको सम्झना आउँछ । जोगीहरू कुटीमा बस्ने गर्थे ।
पढाइमा मेरो रुचि निकै थियो । घरमा पनि बुबाआमाले पढ्नुपर्छ भनेर भन्नुहुन्थ्यो । हाम्रो परिवार जिम्मावल हो । बाजे गाउँको जम्दार हुनुहुन्थ्यो । पढ्नुपर्छ भन्ने वातावरण थियो ।
बाल्यकालमा त्यति ठूलो बदमासी त गरेको छैन । तर काँक्रा भने चोर्ने गथ्र्यौं । त्यस बेलामा बदमासी भन्दा पनि रमाइलोको लागि काँक्रा चोर्ने गरिन्थ्यो । फेरि रमाइलो पनि हुुने । त्यो काम बदमासी हो भन्ने पनि लागेन । साथीहरू भएर छिमेकीको काँक्रा चो¥यो । पछि ती छिमेकीले थाहा पाइहाले । मलाई चिने । घरमा भन्दिछु भने । त्यसपछि मात्र हामीले बदमासी नै गरेका रहेछौं भन्ने लाग्यो । डर धेरै लाग्यो । गएर शिक्षकलाई भनें । उहाँले ती छिमेकीलाई भेटेर घरमा नभनिदिनु भनेर भन्नुभएछ । धेरै समयपछि मात्र बुबाले थाहा पाउनुभयो । घरमा सबै थोक छ । किन अरुको चोर्न जाने भनेर झपार्नु भयो । बाल्यकालमा शान्त स्वभावको थिएँ ।
पछि बुबाले नै मलाई पढ्नका लागि देलैख पठाउनुभयो । त्यहाँ भाषा पाठशाला थियो । बुबाले नै त्यहाँ गएर एक कक्षामा नाम लेखाइदिनुभयो । त्यहाँ पृथ्वीप्रसाद रेग्मी र भवानीप्रसाद रेग्मी शिक्षक हुनुहुन्थ्यो । पाठ्यपुस्तक नेपालीमा हुँदैनथ्यो । हिन्दीमा हुन्थे । कापीकलम लेख्नका लागि हुन्थेन । कटुसको पातको मसी बनाएर निगालाले सिलौटमा लेख्थ्यौं । मैले त्यहाँ कक्षा २ सम्म पढें । त्यपछि नेपालगन्ज पढ्न गएँ । त्यहाँ सुरुमा नारायण हाइस्कुलमा पढें ।
दैलेखमा म धेरै समय बसिनँ । घर फर्किएँ । विवाह भयो । विवाह पनि बाल्यकालमै भयो । त्यसबेलामा सानै उमेरमा विवाह गरिदिने चलन थियो । मेरी श्रीमती १२ वर्षकी मात्र थिइन् । म १६ वर्षको थिएँ । विवाहपछि एक÷दुई वर्ष पढाइ रोकियो । तर पढ्ने इच्छा थियो । घर नजिक विद्यालय थिएन । त्यसपछि दिल्ली गएँ । म १८ वर्षको थिएँ । दिल्ली गएर एउटा फ्याक्टीमा काम गर्थें । पत्रपत्रिका म प्रायः पढ्थें । फ्याक्टिमो रात्रीकालीन स्कुल थिए । मैले त्यही पढ्ने मौका पाएँ । मैले मुख्य गरेर गणित, अंग्रेजी र हिन्दी विषयमा जोड दिन्थें । हामी एउटै फ्राक्ट्रीमा काम गर्ने चार÷पाँच जना नै पढ्थ्यौं ।
सात कक्षा पढेपछि म घर फर्किएँ । यहाँ विद्यालयहरू खुल्न थालेका थिए । जिल्लाभर १५÷१६ जति स्कुल खुलेका थिए होला । यही आएर मैले कक्षा ८ उत्तीर्ण गरें । चोल्पामा पनि प्राथमिक विद्यालय खुलेको थियो । नेपाल राष्ट्रिय कालिका प्राथमिकमै मैले शिक्षण पेसा सुरु गरें । त्यही शिक्षक भएर लामो समयसम्म काम गरें । मैले २७ वर्ष शिक्षण पेसा गरें ।
शिक्षण पेशा गर्ने क्रममा नै २०२३ सालमा राजनीतिमा आवद्ध भएको हुँ । शिक्षक संगठनमा आवद्ध थिएँ । बाल्यकालमा पढ्ने रहरलाई मैले युवा अवस्थामा नै पुरा गरेको हँु । २०२३ सालमा एसएलसी उत्तीर्ण गरें । सुर्खेतबाट एसएलसी दिने दोस्रो ब्याच हो हामी । गोठीकाँडामा स्कुल थियो । शिक्षकहरू पाउन पनि समस्या हुन्थ्यो । बाल्यकालमा अहिलेको जसरी खेल्ने स्रोत साधनहरू हुन्थेन । अलि–अलि भलिबलहरू खेल्थ्यौं । बाल्यकाल रमाइलो गरेर नै बित्यो । अहिले पनि बाल्यकालका सम्झना ताजा नै छन् ।

प्रकाशित मितिः   १६ पुष २०७५, सोमबार १३:४६