सानैदेखि सामाजिक कार्यमा सक्रिय
उदय थापा वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख हुन् । उनी वि.सं. २०३४ साल साउन २४ गते बुबा तिलबहादुर थापा र आमा लालमति थापाको सन्तानका रूपमा वीरेन्द्रनगर–१ मा जन्मिए । झण्डै दुई दशकदेखि स्वास्थ्य क्षेत्रमा काम गरेका सिनियर अहेब थापाले आफ्नो बालापनको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेः
चञ्चले स्वभाव अनि सहयोगी भावना । बाल्यकाल रमाइलो, केही अभाव र केही खुशीका साथ बित्यो । बुबा कृषि पेसासँगै समाजिक कार्य र राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । बुबाले त्यसबेलामा पहिला चार कक्षासम्म पढ्नु भएको थियो । उहाँ वि.सं. २०४९ सालको निर्वाचनबाट वडा अध्यक्ष हुनु भएको हो । उहाँले त्यसबेलामा चार कक्षा पढे पनि त्यो समयमा पढेलेखेको रूपमा हुनुन्थ्यो ।
आमा साक्षरसम्म हुनुहुन्थ्यो । प्रायः घरव्यवहारको काम आमाले गर्ने गर्नुहुन्थ्यो । घरको काममा हामीले पनि सघाउने गथ्र्यौं । बाल्यकालमा धेरै समय पढाइमा नै बित्यो । बुबा–आमाले हाम्रो पढाइमा धेरै ध्यान दिनुहुन्थ्यो । मैले कक्षा १ देखि पाँचसम्म त्रिपुरेश्वर माध्यमिक विद्यालयमा ढोडेखालीमा पढें । पछि कक्षा ६ देखि भैरव माविमा पढें । पढाइमा मध्यमखालको विद्यार्थी थिएँ । अंग्रेजीमा अलि कमजोर थिएँ । म्याथमा भने राम्रै थिएँ । तर म्याथ विषयको पढाइमा अलि पिटाइ खान्थें । कारण मैले सबैभन्दा छिटो हिसाब सकेर सरलाई देखाइसक्थे । अनि साथीहरूसँग गफ गर्न सुरु गर्थें । त्यसैले सरको पिटाइ खान्थें ।
बाल्यकालमा कहिले काहीं बदमासी पनि गरियो । छिमेकीको काँक्रा, केरा, आँप बढी चोरियो । साथीहरूको ठूलो ग्रुप हुन्थ्यो । साथीहरू मिलेर आफ्नो घरको र साथीहरूको घरको पनि चोर्ने गथ्र्यौं ।
त्यतिबेला खाल्डो खनेर केरा पकाउने गर्थें । हामीले खोजी–खोजी केरा निकालेर खान्थ्यौं । एक पटक धेरै चोरेछौं । एक बोरा केरा चोरेर खाएछौं । गाली पनि खाएका छौं ।
विद्यालयबाट भागेर पनि फिल्म हेर्न गइयो । फिल्म हेर्न धेरै मन लाग्ने । कतिसम्म भने फिल्म हेर्नकै लागि घरको चामल चोरेरसमेत बेचेको छु । अहिले पनि ती दिनहरूको सम्झना आउँछ । त्यसबेलामा चार रूपैयाँ टिकटको थियो । १० रूपैयाँ किलो चामल बिक्री हुुन्थ्यो । आधा किलो चामल चोरेर एक दिनका लागि फिल्म हेर्न पुग्थ्यो । विद्यालयमा पहिलो घण्टी पढेर हामी कहिले काहीं यसैगरी फिल्म हेर्न जान्थ्यौं । एक पटक घरमा बुबा–आमाले थाहा पाइहाल्नुभयो । चामल निकाल्दै थिएँ देखिहाल्नुभयो । त्यसपछि चामल चोरेर बेच्न छोडें ।
गाइगोठालो जाने, खेल्ने, रमाउने हुन्थ्यो । मलाई फुटबल र भलिबलमा बढी रुचि थियो । विद्यालयमा हुने गतिविधि मध्य फुटबलमा सहभागी हुन्थें । गोल गर्न सक्यो भने सबैभन्दा खुशी लाग्थ्यो । प्रतियोगितामा प्रायः मेरो टिम प्रथम हुन्थ्यो । प्रायः डण्डीवियो खेल्ने, गुच्छा, खोपी खेल्ने पनि गरिन्थ्यो । कहिले काहीं पौडी खेल्ने रहरले भेरी नदीमा जान्थौं । हरिहरपुरमा आफन्तको घर थियो । विद्यालय बिदाको समयमा त्यहाँ जान्थें ।
मेरो परिवार कृषि पेसा गर्ने भएका कारणले घरको काममा पनि सघाउनुपर्ने हुन्थ्यो । तरकारी खेती गथ्र्यौं । हामी प्रायः बिहानको समयमा तरकारी बेच्नका लागि आउँथ्यौं । सिजनमा बिहान पाँच बजे उठेर डोकोमा तरकारी बेच्न आउने गर्थें । ठूलो हुुँदै गएपछि घरको जिम्मेवारी पनि बहन गर्नुपर्छ भनेर लाग्थ्यो । विद्यालयमा अहिले टिफिनमा खाजा लैजाने हुन्छ । हामीले रोटी खाजा लैजान्थ्यो, किताबको बीच भागमा राखेर । ती दिनहरू सम्झदा अहिले रमाइलो लाग्छ ।
म सानैदेखि समाजिक कार्यहरूमा पनि सहभागि हुन्थें । गाउँ–घरमा हुने सामाजिक कामहरूमा सक्रिय हुन्थें । बुुबा सामाजिक कामहरूमा सक्रिय भएर पनि मलाई प्ररेणा मिलेको हो । गाउँघरमा हुने झै–झगडा, विकृति विसंगतिको विरुद्धमा अघि सर्थें । हाम्रो घरमा टेलिफोन थियो । गाउँघरको केही समस्या भयो भने प्रहरीलाई फोन गरिदिन्थे । जाँडरक्सी नियन्त्रण गर्नेलगायतका कामहरू पनि हामी साथीहरू मिलेर सक्रिय हुन्थ्यौं ।
भविष्यमा गएर यो बन्छु वा त्यो बन्छु भन्ने कुनै सपना थिएन । तर बुबाआमाले सानैदेखि डाक्टर बन्ने हो भन्नुहुन्थ्यो । पढेर ठूलो मान्छे बन्नुपर्छ । डाक्टर बनेर बिरामीको सेवा गर्नुपर्छ भनेर उहाँले सधैं मलाई पढाइमा केन्द्रित गर्नुहुन्थ्यो । २०५० सालमा एसएलसी सकेपछि नेपालगन्जमा गएर पढें ।
साझा बिसौनी ।