पढाइसँगै जागिर
सिम्ता गाउँपालिका–४ सुर्खेतका लोकेश महतारा बुबा गंगबहादुर महतारा र आमा निर्मला महताराको कोखबाट जन्मिएका हुन् । घरको जेठो छोराको रुपमा जन्मिएका लोकेशको कलेज लाईफ जागिरसँगै बित्यो । सानैदेखि जुनसुकै विषयमा भए पनि प्राविधिक विषय पढ्ने उनको सपना थियो । उनका बुबा–आमाको पनि रहर छोरोलाई प्राविधिक विषय पढाउने थियो । वि.सं. २०६९ सालमा एसएलसी पास गरेका लोकेशले कक्षा १२ पढ्दा–पढ्दै प्राविधिक लाईनतर्फ लघुउद्यम सहजकर्ता पढ्न थाले । त्यसपछि उनको जागिरे जीवन सुरु भयो । छोटो समयमा धेरै प्रगति गर्नको लागि प्राविधिकलाइन पढेको बताउने लोकेश महताराले आफ्नो कलेज लाईफको कथा हाम्रा सहकर्मी सीता वलीसँग यसरी साटेः
पढ्दै जागीर पनि गरें
म वि.सं. २०५२ पुस १९ गते सिम्ता गाउँपालिका–४, सुर्खेतमा जन्मिएको हुँ । घरको छोरा मध्येको जेठो हुँ तर म भन्दा अगाडि मेरो दिदी हुनुहुन्छ । बुबा आमा कृषि गर्नुहुन्छ । मलाई सानैदेखि प्राविधिकलाईन पढ्न एकदमै रहर थियो । तर एसएलसी उत्तीर्ण गरे लगत्तै मैले चाहेर पनि प्राविधिक विषय पढ्न पाइनँ । घरको आर्थिक अभावका कारण त्यो सपना पूरा हुन सकेन ।
वि.सं. २०६९ सालमा मैले भानु माध्यमिक विद्यालय बजेडीचौरबाट एसएलसी पास गरें । र, प्लस टू पनि शिक्षा विषय लिएर त्यहीं पढें । कक्षा १२ मा पढ्दै गर्दा मलाई प्राविधिकलाईन पढन् मन लाग्यो । मध्य नेपाल प्राविधिक शिक्षालय सुर्खेतमा मैले लघु उद्यम सहजकर्ता पढें । त्यहींबाट जागीरको पनि अवसर प्राप्त गरें । जागीरकै शिलशिलामा मैले १५ वटा जति जिल्ला घुमेको छु । जागीर खाँदै पढ्दै त्यो पनि रमाइलो हुँदो रै’छ । कहिले कार्यक्षेत्रमा कहिले कलेजमा । जसले गर्दा धेरै संघर्ष गर्न पनि सिकियो । हाल म महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा बीएड प्रथम वर्षमा अध्ययन गर्दैछु ।
मेरो कलेजको पहिलो दिन
मेरो कलेजको पहिलो दिन एकदमै रमाइलो भयो । गाउँमा एसएलसी पास हुँदा पनि छुट्टै शान हुने । त्यसमा पनि कलेजमा एउटा कापी पकेटमा हालेर जान पाइने । विद्यालयमा जस्तो ठूलो झोला पनि बोक्नु नपर्ने र शिक्षकहरूले पनि सम्मान गर्ने वातावरणको हुन्छ भन्ने सुनेको । साँच्चिकै त्यस्तै हुँदो रै’छ ।
कलेजबाट फर्कंदा पनि रमाइलो नै भयो । मैले कक्षा ११ मा त रामै पढें । करिब दिनमा ४ घण्टा जति घरमा पढिन्थ्यो तर कक्षा १२ देखि मैले प्राविधिक विषय पढ्न थालें । दुवैतिर समय दिन पर्ने भएकोले समय बाँडिन्थ्यो । मैले १५ महिने लघु उद्यम सहजकर्ता पढेर जागीर खाने अवसर पनि प्राप्त गरें । त्यसैले घरमा पढ्ने समय त्यति निकाल्न सकिएन । विद्यालय र कलेजको पढाइमा आकाश पातालको फरक मैले पाएँ । कलेजमा कुनै नियम नै छैन । प्रशासन पनि एकदमै फितलो छ । तर विद्यालयमा त्यस्तो वातावरण हुँदैन । अभिभावकको साथ र सहयोग पनि पाइन्छ । शिक्षकहरूको पनि विशेष निगरानी हुन्छ ।
कलेजमा हुने राजनीतिले पनि विद्यार्थीहरूको पढाइ बिगार्छ । मैले कलेज लाईफमा क्लास बंक पनि गरेको छु । म आफै त त्यस्तो होइन तर साथीहरूले भलिबल खेल्नको लागि कर गर्थे र क्लास छोडेर भागिन्थ्यो । कति दिन त शिक्षकहरूको गाली मात्रै होइन कुटाइ पनि खाएको अुनभव छ । कलेजको राम्रो पक्ष बुद्धिजीविहरूबाट नयाँ कुरा सिक्न पाइन्छ । नराम्रो पक्ष त शिक्षकहरूबाट त्यति निगरानी हुँदैन । मलाई पढाइबाहेक साहित्यमा एकदमै रुचि छ । गजल, कविता जस्ता साहित्य विधामा मेरो रुचि छ । प्रेम दुई मुटुको मिलन हो । तर मैले कसैसँग प्रेम गरेको छैन । प्रेम बुबा–आमा, भाइबहिनी र ईष्टमित्रलाई गरेको छु र गर्छु पनि ।
भविष्यमा राम्रो उद्यमी बन्छु
ज्ञान लिनको लागि पनि पढाइलाई निरन्तर अगाडि बढाउने हो । तर मेरो सपना भनेको राम्रो र नमुना उद्यमी बन्ने छ । आफू मात्रै रोजगार भएर पुग्दैन । आफू जस्तै धेरै युवाहरूलाई उद्यमकै माध्यमबाट रोजगार दिन सकियो भने त्यो पनि एउटा सेवा नै हो । उद्यमी बन्नैका लागि मैले कलेज पढ्दा–पढ्दै लघु उद्यम सहजकर्ता पढें । रोजगारी पनि गरें । अब अरुलाई रोजगारी दिनको लागि उद्यम गर्ने हो ।
राम्रो उद्यमी बन्नलाई सरकारले पनि युवा उद्यमीहरूलाई लक्षीत गरी राम्रा कार्यक्रमहरू ल्याउनु जरुरी छ । हामी जस्ता युवाहरू विदेशमा बरालिनु भन्दा स्वदेशमै केही उद्यम गर्दा देशलाई नै हित हुन्छ ।
साझा बिसौनी ।