कुलपतिलाई चिठ्ठी

रविकिरण हमाल
सम्माननीय प्रधानमन्त्री तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कुलपति केपी शर्मा वली ज्यू कर्णाली प्रदेशबाट न्यानो अभिवादन !
व्यक्ति, समाज र देश विकासको आधार शिक्षाको जगबाट मात्र सम्भव हुन्छ । एक्काइसौं शताब्दीको उच्च शिक्षा रोजगारमूलक र विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने क्षमतावान विद्यार्थीहरू उत्पादन हुने खालको हुनुपर्छ ।
सरकारले समृद्ध नेपाल र सुखी जनताको नारा अगाडि सारिरहँदा नेपालका विश्वविद्यालयहरूको गुणस्तर कायम गर्न गम्भीर बन्नुपर्छ कि पर्दैन ? विश्वविद्यालयहरू समृद्ध नेपाल निर्माणको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने प्रमुख थलो हुन्, कर्णाली प्रदेशको मुहार बदल्ने अभिलाषाका साथ मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापना भएको थियो । पटक–पटक विश्वविद्यालयको भौतिक सम्पत्ति ध्वस्त बनाउने, तालाबन्दी, तोडफोड गर्ने, पठन–पाठन ठप्प बनाउने जस्ता अराजक र गैरजिम्मेवार हर्कतहरूले कतै विश्वविद्यालयमा अध्ययनरत हजारौं विद्यार्थी र उनीहरूले देखेको समृद्ध नेपाल निर्माणको सपना तुहिने त होइन भन्ने गम्भीर आंसका पैदा भएको छ ।
कुलपति ज्यू,
तपाईंले देखेको समृद्ध नेपालको सपना तुहिन खोज्दा अलिकति पनि चित्त दुख्दैन ? कि तपाईंले गरेका कुरा ‘सम्धीको गफ’ भने जस्तै हो ?
शिशु अवस्थामामै यो विश्वविद्यालय राजनीतिक भागवण्डा र फोहोरी राजनीतिको चपेटामा परे पनि पछिल्लो समय केही गति लिने आशा सञ्चार पैदा भएको थियो । विश्वविद्यालयलाई आफ्ना कार्यकर्ता भर्ति गर्ने केन्द्रको रूपमा लिने मनोवैज्ञानिक चिन्तनले प्राज्ञिक संस्थाको गरिमा र जिम्मेवारी दुवैलाई हानी पु¥याएको छ । अहिले केन्द्रीय क्याम्पसमा ताला लागेको दुई महिना भन्दा बढी भइसकेको छ तर समस्या समाधानको लागि उल्लेखनीय पहल नहुनु जिम्मेवार व्यक्तिहरू कति लाचार छन् भन्ने प्रष्ट देखिन्छ । सदस्य सचीव रजिस्ट्रारको अनुपस्थितिमा २०७५ असोज ७ गते कार्यकारी परिषद्को बैठकमा उपकुलपतिले आफू अनुकूल व्यक्तिहरू नियुक्ति गरेपछि बढेको तनाव अहिलेसम्म कायम हुनु निकै दुखद् छ । सोही विषय लम्बिदै रजिस्ट्रारको निलम्बन पुग्नु अर्को विडम्वना हो । राजनीतिक आस्थाका आधारमा पदाधिकारीहरू नियुक्ति हुँदा विज्ञ र सक्षम व्यक्तिलाई पनि राजनीतिक ट्याग लगाइ अवरोध सिर्जना गर्ने परिपाटी बढेको हुँदा विश्वविद्यालय प्रशासन कमजोर बन्दै गएको छ ।
विश्वविद्यालयलाई राजनीतिक दलका कार्यकर्ताहरू भर्ति गर्ने केन्द्र बनाउने जिम्मेवार पात्रहरूलाई सरकारले कडाइ पूर्वक नियमन गर्न नसक्नु कमजोरी हो । विश्वविद्यालय जस्तो पवित्र शैक्षिक मन्दिरमा विकृत राजनीति हावी हुनुमा प्राध्यापक तथा विद्यार्थी संघ–संगठनहरू पनि जिम्मेवार छन् । विधि र पद्धति भन्दा व्यक्तिहरूका निहित स्वार्थ पूरा गर्न सक्रिय जिम्मेवार पात्रहरू विश्वविद्यालयलाई तहसनहस पार्न उद्धत छन् । कर्णालीबासी गरीब सर्वसाधारण जनताका छोराछोरी पढ्ने विश्वविद्यालयलाई बिगार्ने र चल्न नदिने शैक्षिक माफियाहरूको एउटा ठूलो गिरोह छ, जसले निजी कलेज खोलेर चर्को शुल्क असुलिरहेका छन्, यस विषयमा समाजवादको नाम जपेर नथाक्ने नेकपा नेतृत्वको सरकार किन मौन छ ? किन यति धेरै लाचार बनेको छ ? पक्कै पनि यसको पछाडि थुप्रै स्वार्थहरू लुकेका छन् । नेताहरूले अध्यनका लागि आफ्ना छोराछोरीलाई चीन, अस्ट्रेलिया, जापान, अमेरिका, बेलायत जस्ता देशहरूमा पठाउने तर लाखौं विद्यार्थीहरूको भविश्य जोडिएका विश्वविद्यालयहरूलाई माथि उठाउन पहल नगर्नु नेपाल र नेपाली जनता माथिको धोका हो, पाप हो । नेपालको संविधानमा उल्लेख भएको गुणस्तरीय र सर्वसुलभ शिक्षा पाउने मौलिक हकको कार्यान्वयन गर्न सरकार कहिले गम्भीर बन्छ ?
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा दुरदराजका बस्तीहरूबाट उच्चशिक्षा हासिल गर्न आएका विद्यार्थीहरूका लागि छात्र र छात्रावासको व्यवस्थापन गर्नु अति आवश्यक देखिन्छ । विश्वविद्यालयमा पूर्वाधारको विकास धिमा गतिमा छ । प्राध्यापकहरूको शैक्षिक योग्यता र दक्षता भन्दा उनीहरूको पार्टी सदस्यता मापन हुनेबेलासम्म विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने सम्भावना रहँदैन, यसको अन्त्य गर्नैपर्छ प्राध्यापकहरूको तलब सुविधा अन्तर्राष्ट्रियस्तरमा ज्यादै न्यून र सार्कका मुलुकहरूको दाँजोमा पनि न्यून रहेकाले सक्षम र प्राज्ञिक व्यक्तिहरू विश्वविद्यालय सेवामा कम आकर्षित भइ उच्च प्रतिष्ठाको लागि निजामती सेवामा प्रवेश गर्न थालेका छन्, यसप्रति पनि सरकार चनाखो बन्नुपर्छ । विश्वविद्यालयमा शैक्षिक एवम् प्राज्ञिक वातावरणको लागि राजनीतिक प्रतिबद्धताको आवश्यकता पर्छ ,प्रधानमन्त्री ज्यूले नेतृत्व गरेको पार्टीबाट नै त्यो सुरुआत होस् । विश्वविद्यालयको स्वायत्ततालाई कमजोर बनाउने खालको कुनै पनि कदम हाम्रा लागि मान्य छैनन् ।
अन्त्यमा नेल्सन मण्डेलाको भनाइ, ‘शिक्षा नै परिवर्तनको लागि शक्तिशाली हतियार हो ।’ साँच्चै तपाईं नेपाली जनता छोराछोरीको भविश्य प्रति अलिकति पनि जिम्मेवार हुनुहुन्छ भने विश्वविद्यालयको उन्नति र प्रगतिका लागि जस्तो सुकै कदम उठाउन तयार बन्नुपर्छ ।