लडाईं कहिलेसम्म ?

भूमिसरा चपाइँ
मानव विकासको सुरुवात पुरुष र महिला दुवैको समान अस्तित्वबाट भएको पाइन्छ । पुरुष र महिलाको समान अस्तित्वबाट परिवार र समाजको विकास भएता पनि विश्वमा पुरुषभन्दा महिला हरेक अवसरहरूमा निकै पछि परेको स्थिति छ । जसका कारण परिवार र समाजबाट प्राप्त गर्ने विभिन्न अवसर तथा विकासका प्रतिफल ग्रहण गर्ने सवालमा महिला र पुरुषबीच समानता देखिदैन ।
यी दुवै वर्गलाई समान बनाउने उद्देश्य अनुरूप समय–समयमा यिनीहरूका अधिकार र भूमिकालाई परिवर्तन गरी समान बनाउने कोशिसहरू नभएका भने होइनन् । जर्मनीमा महिलामाथि भएका विभेद हटाउनका लागि ‘क्लारा जेट्किनले गरेको संघर्षपूर्ण योगदान अविस्मरणीय छ । उनले तत्कालीन समयमा जर्मनीमा महिलामाथि भएका विभिन्न भेदभावका सवालहरू (जस्तोः महिलाहरूले मतदान गर्न नपाउने, पुरुषको अनुमतिविना घरबाहिर जान नपाउने, सम्पत्तिमाथि महिलाको अधिकार नरहने, राजनीतिक पार्टीमा महिलाको संलग्नता नरहने, श्रमिक महिलाहरूको दोहोरा उत्पीडन, समान कामका लागि पुरुष समान पारीश्रमिक नपाउने) विरुद्ध आवाज उठाएर महिलाहरूका अधिकार स्थापित गर्नका लागि संघर्ष गरिन् । फलस्वरूप सन् १९१० मा कोपनहेगनमा महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलन भयो । उक्त सम्मेलनमा क्लारा जेट्किनले हरेक वर्ष ८ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने प्रस्ताव गरिन् । उक्त प्रस्ताव पारित भइ सन् १९११ देखि हरेक वर्ष मार्च ८ मा मनाउँदै आएको अन्तर्राष्ट्रिय नारी दिवस जेट्किनकै योगदान हो ।
महिला अधिकारकै सन्दर्भमा सन् १९६० का दशकको अन्त्यमा विश्वका धेरै भागमा महिला सोधकर्ताहरूले विकास योजनाहरूले महिलाहरूको विकासमा वास्ता नगरेको कुरा ऊजागर गर्न थाले । सन् १९७० को दशकको सुरुमा इस्थर वोस्टपको ‘विकासमा महिला भूमिका’ नामक पुस्तिकामा आर्थिक विकासमा महिलाहरूलाई समाहित गर्नुपर्ने कुरा विशेष जोड दिइएको थियो । सन् १९७०–१९८० को दशकमा महिला तथा समाजको विकासका लागि महिला सहभागिता हुनुपर्ने कुरामा जोड दिँदै महिला केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिएका थिए । सन् १९७८ मा महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासंन्धी संयुक्त राष्ट्रसंघले पारित गरी सदस्य राष्ट्रहरूलाई समेत लागू गर्न दबाब सिर्जना ग¥यो । महिला अधिकारका बारेमा उठेका आवाज र दबाबको फलस्वरूप संयुक्त राष्ट्रसंघले महिला विश्व सम्मेलनको आयोजना गर्न थाल्यो । विश्वका विभिन्न स्थान र समयमा महिला सम्मेलनहरू पनि भए ।
नेपालमा पनि महिलामाथिका विभिन्न विभेदहरू हटाउने सम्बन्धमा महिलाहरूकै सक्रियतामा विभिन्न आन्दोलनहरू भए । फलस्वरूप नेपालको वर्तमान संविधान २०७२ को धारा ३८ उपधारा १ देखि ६ सम्म महिला सम्बन्धी हकको व्यवस्था पनि भएको छ । उक्त हकहरूको रक्षा गर्दै तिनको व्यवहारिक कार्यान्वयनतर्फ लाग्नु आजको आवश्यकता हो । यति हुँदाहुँदै पनि महिला हक र अधिकारका कुरा एकातिर सीमित छन् भने अर्कोतिर महिलाहरूका पीडा र भोग्नुपरेका हिंसा महिलाहरूकै रुझेका परेली र भिझेका सिरानीहरूले मात्र ऊजागर गर्छन् । न कि अधिकारका नाममा महंगा होटेलहरूमा गरिने कार्यक्रमहरूले, न त अधिकारकर्मीहरूले सडकमा बालेका बत्तीहरूले नै महिला र पुरुष जन्मदा जुन भिन्नता लिएर जन्मन्छन् यो प्राकृतिक विभेदलाई समान गर्न सकिदैन । किन कि यो त सम्मान र अस्तित्वको सवाल हो । बच्चा जन्माउने शारीरिक संरचना महिलामा छ यसलाई अवसर र अधिकारका रूपमा सम्मान गरिनुपर्छ । विडम्बना के छ भने जब छोरीको जन्म हुन्छ त्यहीँदेखि उनीमाथि सामाजिक हिंसा (विभेद) को विजारोपण हुन्छ । यसको दोषी सोह्रै आना समाज हो । छोरी जन्मेदेखि मृत्युसम्म समाजले गरेको हिंसाको शिकार बनेर चितामा जल्नुपर्ने चलनको अन्त्य कहिले हुन्छ होला ? प्रश्न अनुत्तरित छ ।
महिला अधिकार र जागरणका नाममा गरिने अभियानहरू सहरमुखी छन् । यस्ता कार्यक्रम सहरमा भइरहँदा एउटा दूर दराजमा बस्ने महिला अशिक्षाको अन्धकारमा डुबीरहेकी छन् । बोक्सीको आरोपमा कुटिएकी छन् । बलात्कृत भएकी छन् । दाइजोको नाममा हुने हिंसा सहेर बस्न बाध्य छन् । पारिवारिक शोषणमा परेकी छन् । छोरा नजन्माएकोमा अपहेलित भएकी छन् । के छोरी जन्माउनुमा महिला दोषी हो र ? छोरी जन्माएर वा जन्मिएर के भो त ? छोरी विनाको सृष्टि र आदर्श समाजको कल्पना गर्नेहरूलाई प्रश्न छ, छोरी नचाहिने बाबुलाई स्त्री पो किन चाहियो ? मान्छे जन्मनु पर्दैन, आमा पो किन चाहियो ? के छोरी विनाको सृष्टि चल्छ र ? जीवनरूपी रथको एउटा पांग्राको प्रतिनिधित्व गर्ने छोरी जन्मदा किन आमाको खानपान, परिवारको खुशी, सामाजिक मर्यादा र संस्कारगत कुरामा विभेद ? यसको रहस्य अब लुकाउनु पर्दैन । छोराछोरी जन्माउने आमा नै छोरीभन्दा छोरा जन्माउँदा खुशी हुन्छिन् रे, के यो सत्य हो ? किमार्थ सत्य हुन सक्दैन । किन कि ‘आमाका काखमा खेल्छन् छोराछोरी थरीथरी, तै पनि उनको माया सबैमा छ बराबरी’ । आमाका लागि छोरा या छोरी सबै सन्तान बराबर हुन्छन् । मातृवात्सल्यमा विभेद हुँदैन । तर समाजले यो कुरालाई सत्य बनाइदिएको छ । आमालाई नै विभिन्न प्रकारका पीडा उत्पीडन र हिंसा सहन बाध्य बनाएर छोरीप्रतिको वात्सल्यप्रति विमुख बनाइदिएको छ । अर्कोतर्फ आमाको अस्तित्व छोरासँग जोडिदिएको छ । यसैकारण आमा मातृवात्सल्यमा समेत विभेद गर्न बाध्य पारिएकी छन्, यही हो सामाजिक यथार्थता । धर्मले पनि महिलाहरूलाई ‘केही रात छदै उठेर घरको काम गर्नुपर्ने महाँ, उठ्दैनन सलमल घाम नपरी स्त्री धर्म हो त्यो कहाँ’ भनेर थिचोमिचो गरेकै छ ।
महिला हिंसाका विरुद्धमा गरिने अभियानहरू सहर बजारमा बस्ने र पढेलेखेका शिक्षित महिलाहरूसम्म त पुगेकी छन् । दूर दराजमा बस्ने, विभिन्न संस्कारहरूका सिकार भएका महिलाहरू जो अभियानका लक्षित वर्ग हुनुपर्ने हो तिनीहरूसम्म अभियानले छुनु र यो अभियानमा तिनीहरूको पहुँच पुग्नु आजको आवश्यकता हो जस्तो लाग्छ । छोरीहरूलाई जन्मदैदेखि मानसिक रूपमा कमजोर बनाइएको छ । अझै पनि यसरी अशिक्षाको भूमरीभित्र महिलाहरू फसिरहेका छन् । एक जना लेखकले लेख्नुभएको छ, आफू घुम्दै गाउँमा पुग्दा एक जना स्कुले उमेरकी बालिकाले बाख्रा चराइरहेको देखेर उहाँले सोध्नुभएछ ः
प्रश्नः नानी तिमी किन स्कुल नगएको ?
बालिकाले जवाफ दिइछन्ः ‘यसैगरी खाएइ भन्यो यही मेरो कर्मले
स्कुल जान कहाँ पाइन्छ छोरीका जन्मले ।’
आजसम्म पनि कतिपय स्थानमा महिलाहरूमा आफ्नो अधिकार सम्बन्धी चेतनाको स्तरलाई यो पंतिले ऊजागर गर्छ । यसरी छोरी भएर जन्मदैमा आफूलाई कर्म हारेर आएको मानसिकतामा छोरीहरू बाँचिरहेको यथार्थ वर्तमान समयसम्म पनि छ । महिला हिंसाका कारण छोरीहरूमाथि लगानी नहुँदा उनीहरू विभिन्न अवसरबाट वञ्चित छन् । शिक्षा, रोजगारी र राजनीतिमा पछाडि परेका छन् । फलस्वरूप निर्णय गर्ने ठाउँमा उनीहरूको पहुँच छैन । यसैकारण महिलाहरूले हिंसा खेपिरहनु परेको छ । महिला हिंसा बढाउने अन्य कारक तत्वहरूमा अशिक्षा, गरिबी, समाजमा जकडिएर रहेको पुरुषवादी सोच, मादनक पदार्थको सेवन, सामाजिक अपराधका घटनाहरू समेत पैसाले सुल्झाउने प्रवृत्ति, देखासिकी र आडम्बरी समाज जस्ता तत्वहरूले समाजमा महिलाहरूमाथि थप हिंसाका घटनाहरू बढाइरहेका छन् ।
महिला हिंसा विरुद्धको अभियानको उद्देश्य हिंसा रहित समाज हो । समाजमा महिला र पुरुष कसैले पनि हिंसामा बाँच्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ । हुन त समाजमा पुरुषमाथि महिलाले हिंसा गरेका घटनाहरू पनि छन् । तर ती औलामा गन्न सकिनेछन् । बहुसंख्यक घटनाहरू महिलामाथिको हिंसा र अत्याचारका छन् । यसकारण महिलामाथिको हिंसा अन्त्य गर्नका लागि महिला र पुरुष दुवैलाई सचेतना शिक्षा दिन, महिलालाई आयआर्जनका काममा लगाइ आर्थिक रूपले सवल बनाउन, समाजमा भएका गलत प्रवृत्ति विरुद्ध आवाज उठाउन र सरल जीवनशैली जिउने अभ्यास जस्ता कुरामा जोड दिनु आवश्यक छ । यो सबैको दायित्वभित्र पर्दछ ।
हिंसा रहित समाजका लागि महिला हिंसा विरुद्धका १६ दिने अभियानले मात्र पुग्दैन । तीन सय ६५ दिने अभियान चलाऔं । अभियान महिला–पुरुष दुवैको सहभागितामा सञ्चालन गरौं । घरघर, गाउँगाउँ, बस्तीबस्तीमा चेतनाको विगुल फुकौं । महिला अधिकारका सम्बन्धमा भएका कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि दबाब सिर्जना गरौं । महिलामाथि हिंसा गर्नेहरू विरुद्ध कडा कानुनी कारबाहीको माग गरौं । हिंसा रहित र समतामुलक समाजको स्थापनाका लागि जो जहाँ छौं त्यहीबाट आवाज उठाऔं । बत्ती बालौं । सरकार, नेतृत्व वर्ग र सचेत नागरिकहरूले महिला हिंसाविरुद्ध जनचेतना फैलाउनका लागि आ–आफ्नो स्थानबाट सहयोग गरौं । महिलाहरू दयामा होइन अधिकारमा बाँच्न सिकौं । ‘नारी तिमी हारेर होइन जितेर जन्मेकी छौं, जितेरै बाँच्न सिक ।’

(लेखक भैरव माध्यमिक विद्यालयमा कार्यरत छिन् ।)

प्रकाशित मितिः   २० मंसिर २०७५, बिहीबार ११:२५