‘रक्तदान गर्न नपाउँदा बेचैनी बढ्छ’ (अनुभूति)
-प्रवाशकुमार शाक्य-
कसैले रक्तदान गरेको देख्दा मलाई अचम्म लाग्थ्यो । सोच्थें, यो मान्छेको शरीरबाट यति धेरै रगत निकाल्दा पनि किन केही नभएको होला ? तर यो उहिलेको कुरा हो । तपाईंलाई अचम्म लाग्न सक्छ यो अनुभूति लेखिरहँदासम्म मैले ५४ पटक रक्तदान गरिसकेको छु ।
…
वि.सं. २०५२÷०५३ सालतिरको कुरा हो, म आफ्नो पसलमा बसिरहेको थिएँ । मेरो एक जना साथी (लक्ष्मण कँडेल) ले ‘तिमीसँग एकछिन काम छ’ भनेर बोलायो । उसले आफ्नो मोटरसाइकलमा बस्न लगायो, म बसें । उसले मोटरसाइकलमा मलाई राखेर बजार परिक्रमा गरायो अनि नेपाल सेडक्रस सोसाइटीले सञ्चालन गरेको रेडक्रसको रक्त सञ्चार केन्द्रमा पु¥यायो । त्यहाँ पुगेपछि थाहा भयो कि मलाई रक्तदानको लागि झुक्याएर ल्याइएको रहेछ । मनमा डर लागिरहेको थियो । तर न भाग्न सकें न त केही गर्न नै सकें । (मलाई स्मरण छ, त्यसभन्दा अगाडि कामको शिलशिलामा त्यही रक्त सञ्चार केन्द्रमा गएको बेला रक्तदान गर्नुपर्छ भनेर म भागेको थिएँ ।)
रक्त सञ्चारका प्राविधिक दाजु प्रकाश श्रेष्ठ (अहिले यस संसारबाट बिदा लिइ सक्नुभएको छ) ले मलाई रक्तदानका लागि प्रेरित गर्नुभयो । ‘तिमी दुब्लो÷पातलो भएर के भो ? तिम्रो शरीरमा रगत छ त्यसैले तिमीले रक्तदान गर्दा केही हुँदैन, तिम्रो शरीरलाई नै राम्रो हुन्छ’ उहाँले यसो भनेपछि मलाई पनि केही आँट र हौसला मिल्यो । मैले त्यस दिनदेखि रक्तदान गर्न सुरु गरेको हुँ ।
५४ औं पटकसम्म रक्तदान गरिसक्दा यसक्रममा मैले अनेक अनुभूतिहरू सङ्गालेको छु । एकदिन मैले रक्तदान गरिसकेपछि बिरामीका आफन्तले मलाइ थाहा नै नदिएर खाममा रू. १०० रूपैयाँ पनि दिएका थिए, त्यसबेला भने केही खल्लोपनको महसुस गरेको थिएँ । पछि सम्झें, मान्छेले नबुझेपछि कसको के लाग्छ र ? आजभोलि भने कहिले ३ महिना पुग्ला र रक्तदान गर्न पाउँला भनेर बाटो हेरेर बस्ने गरेको छु । वास्तवमा भन्नुपर्दा रक्तदान गरेर कसैलाई बेफाइदा हुँदैन, हुन्छ त केबल शरीरका लागि फाइदा । केबल मानिसको सोच हो । जसले रक्तदान गरे मेरो अब जीवनको इहलिला समाप्त हुने हो कि भनेर सोच्छ त्यस्तालाई केही नै केही समस्या हुने गरेको मैले पाएको छु । त्यसैले हामी सबैले रक्तदान गर्ने बेला केबल सकारात्मक सोच राख्नुपर्ने मेरो अनुभव रहेको छ ।
आध्यात्मिक संसारमा हामी सबै जानु नै छ त्यसैले हामी सबैले रक्तदान गरी सकारात्मक काम गर्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ । त्यसैले आजभोलि रक्तदान गर्न पाइएन भने मेरो मनमा कताकता बेचैनी हुने गर्दछ । अहिले मैले ५४ पटक रक्तदान गर्ने मौका पाएँ र मेरो शरीरले साथ दिएसम्म र यो सास रहेसम्म करिब १०० पटक रक्तदान गरी छाड्न सोच बनाएको छु । यदि शारीरिक अवस्थाले साथ नदिए मेरो सन्तानबाट निरन्तर रक्तदान गर्न लगाइ रहने मेरो इच्छा रहेको छ ।
मलाई सधैं रक्तदानका लागि प्रेरित गर्नु हुने आदर्णीय मेरो बुबा जीवनकुमार शाक्य हुनुहुन्छ भने त्यस्तै स्वर्गीय दाजु प्रकाश श्रेष्ठलाई पनि सम्झन चाहन्छु । आज विश्व रक्तदाता दिवसको अवसरमा साझा बिसौनी दैनिकमार्फत् रक्तदानका क्रममा मैले गरेका अनुभव र अनुभूतिहरू शब्दमा उतारी सबैसामू राख्न पाउँदा आफूलाई निकै भाग्यमानी ठानेको छु ।
(रक्त समूह ‘ए पोजेटिभ’ [email protected])
साझा बिसौनी संवाददाता ।