भीरको बाटोमा मोटर सरर
कालिकोट, ३० जेठ ।
कर्णालीबासीले पुस्तौंदेखि पिठ्यूँमा भारी बोक्ने बाटोमा गाडी गुडेको देखेर खुशी भएका छन् । दुई दशकदेखि निर्माणाधीन कर्णाली करिडोरमा करोडौं रूपैयाँ राज्यले खर्च गरिसकेको छ । अन्तिममा नेपाली सेनाले सडकको जिम्मा लिएको एक वर्षभित्रै करिडोरमा गाडी गुडाउँदा स्थानीयको मनमा खुशीको सीमा छैन ।
जेठ २२ गते कर्णाली करिडोरको जिते–लालिघाट हुँदै रेगिलसम्म सात वटा जीप पुगका थिए । करिडोरकै सबैभन्दा अप्ठ्यारो चट्टान लालीघाटदेखि रेगिलसम्मको भए पनि एक वर्षभित्रै गाडी गुडाउन पाउँदा खुशी लागेको नेपाली सेना सडक निर्माण कार्यदलका प्रमुख कर्णेल इन्द्रवीर गुरुङले सुनाए । नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा घोषित गरेको बहुचर्चित कर्णाली करिडोरमा गाडी गुड्दा अब कर्णाली समृद्धिको यात्रामा अघि बढेको जानकारहरूको बुझाइ छ । करिडोर तीव्र गतिमा निर्माण कार्य गरिरहेकोमा स्थानीयबासीले नेपाली सेनाको प्रशंसा गरेका छन् ।
नेपाली सेनाले जिल्लाको कोडबाडा लालीघाटदेखि रकुमको रेगिलसम्म ६ किलोमिटर कडा चट्टान फाडेर गाडी पुगाएको हो । विगतको कर्णाली करिडोरमा बजेटको अभावसँगै ठेकेदारको चरम लापरवाही र समयमा काम नगर्दा बजेट फ्रिज जाने समस्याले ग्रसित थियो । रूपैडिया–हिल्सा सडक खण्ड अन्तर्गत कालिकोटको खुलालु–हुम्ला सिमिकोट सडक विस्फोटसहित निर्माणको जिम्मा नेपाली सेनालाई दिएपछि काममा तीव्रता आएको हो । नेपाली सेनाले सडक निर्माणको जिम्मा लिएपछि जिल्लाको कर्णाली पारिका १७ गाविससहित बाजुरा, मुगु र हुम्लाबासीको गाडी चढ्ने सपना पूरा हुँदैछ । कर्णाली करिडोर अन्र्तगत कालिकोटमा ४० किलोमिटर, बाजुरा जिल्लामा ४३ किलोमिटर र हुम्लामा एक सय १३ किलो मिटर रहेको छ ।
वि.सं. २०५७ सालमा नेपाल सरकारका तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेलले शिलान्यास गरेको कालिकोटको खुलालुदेखि हुम्लाको सिमिकोटसम्मको १९२ किलोमिटर सडकखण्ड १५ वर्षसम्म पनि गति लिन नसेकेपछि यहाँका स्थानीयवासीको माग अनुसार नै गतवर्ष चैत ९ गते नेपाली सेनाले कर्णाली करिडोर निर्माण गर्ने जिम्मा लिएको थियो । निर्माणको जिम्मा लिएको एक वर्षमा नै नेपाली सेनाले रेगिलघाटको चट्टान फोरेर गाडी गुडाएको हो । आमतडा भीर, भुराबगरको चट्टाने भीर तीब्र गतिमा छिचोली रहेको छ । चालू आर्थिक वर्षभित्र कालिकोटको खुलालुदेखि बाजुरको अर्थुगेचौरसम्मको ६८ किलोमिटर सडक निर्माण गरिसक्ने नेपाली सेना सडक निर्माण कार्यदलका प्रमुख कर्णेल इन्द्रवीर गुरुङले बताए । कालिकोटको खुलालुदेखि हुम्ला सिमिकोटसम्म ८ किलोमिटर ठूला–ठूला चट्टाने भू–भाग रहेको कर्णाली करिडोर चार वर्षभित्र निर्माण कार्य गरिसक्ने सडक निर्माण कार्यदलका कर्नेल गुरुङले बताए ।
कर्णाली करिडोर निर्माण पूरा भएपछि कर्णाली समृद्धिका पाइला अगाडि बढाउने निश्चित भएको जनाकारहरूको बुझाइ छ । करिडोरले चीनसँगको सीमाना जोडिएको हुम्लाको हिल्सादेखि भारतसँग सीमाना जोडिएको बाँकेको जमुनाहसम्म उत्तर दक्षिण जोड्ने सबैभन्दा छोटो दूरीको सडक बन्नेछ । यसको कूल लम्बाइ पाँच सय ३० किलोमिटर रहनेछ । सडकखण्ड निर्माण भएका भारतबाट हुम्लाको मानसरोवर आउने पर्यटकका लागि निकै राम्रो र छोटो दूरीको कर्णाली राजमार्ग हुनेछ ।
सडक निर्माण भए पर्यटन र व्यापारका दृष्टिकोणले तीन देशीय ट्रान्जिट बन्ने भएकोले विकासको दृष्टिकोणले पछाडि परेको कर्णालीको वास्तविक पहिचान हुने कर्णालीबासीको भनाइ छ । कर्णाली करिडोर निर्माण भए कर्णाली तीन देशको व्यापारिक मूलधार बन्ने नेपाली कांग्रेसका सभापति हर्षबहादुर बमले बताए । यस सडक निर्माण भए कर्णाली नेपाल, भारत र चीनको व्यापारका राम्रो हुने विश्वास गरिएको छ । हाल हुम्लादेखि हिल्सासम्मको ३५ किमी सडक खण्डमा मालबाहक ट्रक जीप लगायतका अन्य ३५ वटा सवारी साधन बिना दर्ता चलिरहेको छन् । ती सवारी साधनले इन्धन पनि चीनबाट नै प्रयोग गर्ने गरेका छन् ।
साझा बिसौनी संवाददाता ।