पर्यटन, जल र जडिबुटी

सीता वली

पिछडिएको क्षेत्र, विकटता र गरिबी कर्णाली प्रदेशको पहिचानजस्तै बनिसकेको छ । कर्णाली भनेपछि धेरैको मस्तिष्कमा आउने विम्ब हुन् यी । तर कर्णालीमा त्यस्ता सम्भावनाहरू पनि छन्, जुन अन्य प्रदेशमा छैनन् । अर्थात् कर्णाली सम्भावनाहरूको खानी हो, तर खानीको सदुपयोग गर्न नसक्दा अहिले सबैभन्दा गरिब प्रदेशको रूपमा परिचित हुन पुगेको छ ।
केन्द्रीकृत शासन व्यवस्थाले वेवास्ता गरेका कारण पिछडिएको कर्णाली आफ्नो कुरूप विम्ब बदल्ने अभियानमा छ । भौगोलिक विकटताले भरिएको भए पनि सम्भावना भने थुप्रै बोकेको छ कर्णालीले । कर्णालीमा साँच्चिकै विकासको मूल फुटाउने हो भने ती सम्भावनाहरूलाई पहिचान गर्नु जरुरी छ ।

प्राकृतिक पर्यटन
कतिपय स्थानहरूमा पर्यटकीय क्षेत्र निर्माण गरिन्छ । मन्दिर, मनोरम बगैंचा, भ्यू टावर निर्माण गरेर पर्यटकहरूलाई आकर्षण समेत गरेको हामी पाउँछौं । तर कर्णाली देशभरका सात प्रदेशमध्ये यस्तो प्रदेश हो, जहाँ प्राकृतिक पर्यटकीय क्षेत्रहरू प्रशस्त छन् ।
प्रदेशका दशवटै जिल्ला सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पा, सल्यान, जाजरकोट र रुकुममा कुनै न कुनै प्रख्यात पर्यटकीय स्थलका नामले परिचित छन् । त्यसमा पनि प्राकृतिक पर्यटकीय स्थलहरू मात्रै रहेका छन् ।
कर्णाली प्रदेशको राजधानीको कुरा गर्दा बुलबुले ताल, काँक्रेविहार, देउतीबज्यै मन्दिर, बराहताल, अंधेरी गुफा, गोठीकाँडा, सिद्धपाईला लगायतका थुप्रै पर्यटकीय स्थलहरू छन् । प्रदेशको राजधानीमै थुप्रै घुम्न लायक स्थानहरू छन् ।
त्यसैगरी दैलेखमा ज्वाला, श्रीस्थान, नाभिस्थान, कालीकोटमा पचालझरना, पञ्चदेवल, जुम्लामा तातोपानी, नेपाली भाषाको उद्गमस्थल सिंजा, लगायतका थुप्रै स्थलहरू प्रकृतिले दिएका र घुम्न लायक छन् । मुगुमा स्वर्गकी अप्सरा मानिने रारातालले त झनै विदेशी पर्यटकलाई नै मोहित बनाएको छ । सल्यानमा कुपिण्डे दह, कछुवा ताल, खैरावाङ्ग मन्दिर, छत्रेश्वरी मन्दिर र लक्ष्मीपुर शक्तिपीठ, जाजरकोटमा जाजरकोट दरबार, हुम्लामा खार्पुनाथ मन्दिर, लिनी भ्याली, रलिङ्ग गुम्बा, डोल्पामा सेफोक्सुण्डो लगायतका थुप्रै पर्यटकीय स्थलहरू रहेका छन् ।
यी लगायत कर्णालीका १० जिल्लाहरूमा पहिचान हुन नसकेका अझै धेरै पर्यटकीय स्थलहरू समेत रहेका छन् । ती स्थलहरूलाई पर्यटन हबको रूपमा विकास गर्न सके औषधि नपाएर मर्नुपर्ने कर्णालीको दरिद्रता हट्ने कुरामा दुईमत छैन ।
कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न पर्यटकीय स्थलहरूमा हाल विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । त्यसो त मुगको रारा तालमा कर्णाली–रारा पर्यटन वर्ष गत वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन समेत भयो । यसले पनि कर्णालीको पर्यटन विकासमा सघाउ पु¥याउनेछ ।
प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाले कर्णाली प्रदेशलाई पर्यटनको हव बनाउनका लागि समेत थुप्रै बजेट छुट्याएको बताएका छन् । उनले भने ‘हामीले कर्णालीलाई पर्यटनमा देशभरकै नमुना प्रदेश बनाउनको लागि अधिक बजेट छुट्याएका छौं । प्रदेशका विभिन्न जिल्लाहरूका प्रख्यात पर्यटकीय स्थलहरूमा मेला तथा महोत्सवका कार्यक्रमहरू समेत आयोजना गर्दै आएका छौं ।’
कर्णाली प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आफ्नो मन्त्रालयको कूल बजेटको ५२ प्रतिशत बजेट पर्यटनका लागि छुट्याएको मन्त्री बुढाले जानकारी दिए ।

जलस्रोत
कर्णाली प्रदेश पर्यटनका हिसाबले मात्रै समृद्ध छैन । जलश्रोतका हिसाबले पनि उत्तिकै समृद्ध छ । कर्णाली नदी र भेरी नदीलाई विद्युत उत्पादनको लागि प्रयोग गर्न सक्ने हो भने त्यसबाट उल्लेख्य मात्रामा आम्दानी गर्न सकिने र कर्णालीलाई उज्यालो बनाउन सकिन्छ ।
जलपर्यटन समेत कर्णाली र भेरी नदीमा गर्न सकिन्छ । विद्युत विकास विभागको तथ्यांक अनुसार कर्णाली प्रदेशमा करिब १८ हजार (१७,७९९) मेगावाट भन्दा बढी विद्युत उत्पादनको क्षमता छ ।
विद्युत उत्पादन सम्भावनाका हिसाबले ७ प्रदेशमध्ये कर्णाली दोस्रो स्थानमा पर्छ । तर हाल यो प्रदेशबाट साढे ३ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको छ । हाल कर्णाली प्रदेशमा केवल ३.६ मेगावाटको आयोजना सञ्चालनमा रहेको छ । यो कुल उत्पादन क्षमताको करिब ०.०२ प्रतिशत मात्रै हो । पछिल्लो समय कर्णालीमा जलविद्युत आयोजनाका कामहरू अघि बढ्दै आएका छन् ।
करिब ४२०० मेगावाटभन्दा बढीका १० वटा आयोजना सर्वेक्षणको चरणमा रहेको वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले जानकारी दिए । यसका लागि नेपाल सरकारको जलविद्युत उत्पादन कम्पनी र निजी क्षेत्रले आयोजना सर्वेक्षणको कार्य अगाडि बढाएका छन् ।
कर्णालीको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो, माथिल्लो कर्णाली । ९ सय मेगावाट क्षमताको यो आयोजना निर्माणका लागि भारतीय निर्माण कम्पनी जीएमआरले जिम्मा लिएको छ । तर पटक–पटक म्याद थप गर्दा पनि निर्माणको काम भने सम्पन्न हुन सकेको छैन ।
त्यसैगरी ४८ मेगावाट क्षमताको भेरी–बबई डाईभर्सन जसले कामलाई तीव्रता दिएको छ । यो राष्ट्रिय गौरवको आयोजना समेत हो । यसको जिम्मा भने चिनियाँ कम्पनीले पाएको छ । त्यस्तै बेतन–कर्णाली ६८८ मेगावाट, फुकोट कर्णाली ४२६ मेगावाट, (तिला–१) ३०० मेगावाट,
(तिला–२) २९७ मेगावाट, नलगाड–४१० मेगावाट, जगदुल्ला ३०७– मेगावाट,
भेरी–१ (६१७ मेगावाट), भेरी–४(३०० मेगावाट) पनि सर्वेक्षण र निर्माणको तयारीमा रहेका छन् । भेरी र कर्णाली दुई ठूला नदी भएको कर्णालीलाई समृद्ध बनाउन कर्णाली प्रदेश सरकार पनि नीति कार्यक्रमसहित अगाडि बढेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् ।

जडिबुटी
कर्णाली प्रदेशमा सम्भावनाका कुरा गर्ने हो भने जडिबुटी, वन, जलश्रोत, कृषि तथा पर्यटन मात्रै होइन अन्य थुप्रै सम्भावनाहरू भेट्न सकिन्छ । त्यसमा पनि देशभरका ७ वटा प्रदेशका तुलनामा जडिबुटीको खानी हो कर्णाली प्रदेश ।
कर्णालीको हिमाली जिल्लाहरू विशेषगरी डोल्पाका जनताको मुख्य आर्थिक पाटो नै जडिबुटी हो । बहुमूल्य जडिबुटी यार्सागुम्बा, पाँचऔले, जटामसी, घोडमर्च, तितेपाती, पखेनीबेद लगायतका ८२ प्रकारका बहुमूल्य जडिबुटी कर्णालीमै पाइन्छन् । यसको लागि कर्णाली प्रदेश सरकारले प्रत्येक जिल्लाहरूमा हाईटेक नर्सरीको स्थापना गरी बहुमूल्य जडिबुटीका बिरुवा उत्पादन गर्ने र किसानलाई वितरण गर्ने तयारी गरेको कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाले बताएका छन् ।
सरकारले जडिबुटी प्रशोधन केन्द्रको स्थापना गर्नको लागि कर्णालीको राजधानी सुर्खेतमा समिति गठन गरी भवन समेत निर्माण गर्न लागेको मन्त्री बुढाले बताए । उनले भने ‘कर्णाली प्रदेशका सम्भावनाहरूलाई हामीहरूले चिन्दै गएका छौं । जडिबुटी र पर्यटनलाई व्यवस्थित बनाउनको लागि सरकारले बजेटको समेत विनियोजन गरेको छ ।’ कर्णाली विकासका लागि कर्णालीका जनता समेत उत्साहित भएको उनको भनाइ छ ।
कर्णाली प्रदेशलाई जसरी अपहेलनाको दृष्टिले हेरिन्छ त्यो भन्दा सैयौ गुणा सम्भावना बोकेको छ । यी सम्भावनाहरूलाई समयमै चिनेर नेतृत्व तहमा बस्नेहरूले त्यही अनुसारको नीति निर्माण गर्ने हो भने कर्णाली देशकै नमुना र धनी प्रदेश बन्न सक्दछ ।
पर्यटन, कृषि, जलस्रोत, जडिबुटी लगायतका थुप्रै सम्भावना छन् कर्णालीमा । त्यसो त पछिल्ला समय कर्णाली प्रदेश सरकारले स्वदेश तथा विदेशी लगानीलाई भिœयाउनको लागि प्रयास जारी समेत राखेको छ । उल्लेखित सम्भावनाहरूको विकासमा सरकारले ध्यान दिने हो भने अहिलेसम्म स्थापित कर्णालीको कुरूप विम्ब परिवर्तन भइ समृद्ध र नमुना प्रदेशको रूपमा स्थापित हुनेछ ।

प्रकाशित मितिः   १६ मंसिर २०७५, आईतवार ११:४५