लैङ्गिक हिंसा र नेपाली परिदृश्य

वेदप्रकाश ढकाल

लैङ्गिकताको कुरा गर्दा हामी खासगरी पितृसत्ता, पुरुष प्रधानता र लैङ्गिक विभेदको कुरालाई बेवास्ता गर्न सक्दैनौं । किनकी विभेद, दमन, शोषण, अत्याचार र पीडाको जड यसैभित्र लुकेको छ । जानेर होस् वा अन्जानमै लैङ्गिक भेदभाव र पुरुष प्रभुत्व नेपाली समाजमा व्याप्त छ । परम्परागत सोच र मान्यताले सहजरूपमा यस्ता विभेद र पीडाहरूलाई छायाँमा पारेको छ । मान्यता र आस्थाको कुरा गर्दा हिन्दु धर्मले महिलालाई द्वैध रूपमा हेरेको पाइन्छ । एकातिर महिलालाई देवी, पूज्य, सिर्जनशील र सहयोगीको रूपमा हेरिएको पाइन्छ भने अर्कोतिर दासी, कामुक, अविश्वासी र युद्ध (झगडा) को कारकका रूपमा समेत चित्रण गरेको पाइन्छ । नेपाली समाजमा प्रचलित उखान ‘मर्दका सातवटी’ पनि धर्म र परम्पराबाटै उत्पत्ति भएको हो । यसरी हाम्रो समाजमा महिलालाई पुरुषको इच्छा अनुसार दमन गरी उपभोग्य साधनको रूपमा प्रयोग गर्ने कुराको सतही आँकलन गरिएको छ ।

पितृसत्ता र पुरुष प्रधानताको कुरा गर्दा यसको हैकमवादी चरित्र र मनोगत अभिमानलाई स्पष्ट रूपमा बुझ्न आवश्यक हुन्छ । सामाजिक लिङ्गभेद र लैङ्गिक हिंसा, अझ नेपाली समाजमा रहेको महिला हिंसाको कुरा गर्दा संरचनागत रूपमा रहेको पुरुषप्रधानता र परम्परागत रुढिवादी सोचलाई नजरअञ्दाज गर्न सकिदैन । बेलायती समाजशास्त्री सेल्भिया ओल्वीले पितृसत्तालाई सामाजिक संरचना र अभ्यासको एउटा प्रणालीको रूपमा उल्लेख गरेकी छन् । उनी भन्छिन्, ‘पितृसत्ता सामाजिक संरचना र अभ्यासको एउटा प्रणाली हो जहाँ पुरुषले महिलालाई दमन गर्दछ, दबाउँछ र शोषण गर्दछ ।’ यस प्रकार पितृसत्तामा महिलाहरूको मूल्य, मान्यता र अस्तित्वको कुनै ख्याल गरिदैन । महिलाहरूलाई कसरी र कति हदसम्म आफ्नो फाइदा र उपयोगको लागि प्रयोग गर्ने र प्रयोग गर्न सकिन्छ भन्ने ध्येय पितृसत्तामा हरबखत सल्बलाई रहेको हुन्छ । पितृसत्ता नारी दमनको शक्ति केन्द्र हो । परम्परावादी विद्वानहरूले नारी दमनलाई विश्वव्यापी, प्राकृतिक र ईश्वरीय देनको रूपमा व्याख्या गर्दछन् । श्रीमती बन्नु, बच्चा हेर्नु र घरको काम सम्हाल्नु नै महिलाको मुख्य काम हो भन्ने कुरालाई जोड दिएका छन् । एरिस्टोटलले पुरुषलाई सक्रिय र महिलालाई निष्क्रिय रूपमा ब्याख्या गरेका छन् । यसरी परम्परागत विद्वानहरूले समेत पुरुषलाई उच्च वर्गमा र महिलालाई निम्न वर्गमा राखेको देखिन्छ । पितृसत्ता महिला र पुरुषको जैविक फरकपनामा आधारित हुन्छ । यसमा महिलामाथि यौनिक, आर्थिक, शारीरिक र मनोवैज्ञानिक तवरले दमन गरिएको हुन्छ ।

त्यसो त महिला अधिकार र सशक्तीकरणका आवाजहरू उठिरहेका छन् । अनेकन आन्दोलन भएका छन्, वकालत गरिएको छ, कानुन बनाइएका छन्, सिद्धान्तहरू बनेका छन् । तर भाषण र नियम–कानुन जतिसुकै क्रान्तिकारी भए पनि त्यसको व्यवहारिक पक्ष निकै कमजोर छ । कानुनको कार्यान्वयन गर्ने तहमा पितृसत्तात्मक सामाजिक संरचनाले निर्माण गरेको हैसियतयुक्त र अख्तियारयुक्त सञ्जाल छ, जो पुस्तौदेखि चल्दै आएको आफ्नो हैकम र दमनलाई गुमाउन चाहन्न । सकेसम्म आफ्नो जन्मजात अधिकार र वर्चश्वलाई जोगाएर राख्न चाहन्छ ।
भारतीय समाजशास्त्री कमला भासिनले पितृसत्तामा महिला र पुरुषका बीचमा शक्ति सम्बन्ध हुने कुरामा जोड दिएकी छन् । उनका अनुसार पुरुषले महिलाको उत्पादन शक्ति, प्रजनन् शक्ति, यौनिकता, गतिशीलता, सम्पत्ति र अन्य स्रोतहरूमा नियन्त्रण गर्दछ । पितृसत्ताले विभिन्न माध्यमबाट महिलालाई आफ्नो नियन्त्रणमा लिइ शोषण गर्दछ । यसरी पुरुषवादी हैकम र संरचनाभित्र महिलाहरू आफू मोटिएर, सकिएर वा रित्तिएर पुरुषलाई सर्वश्व दिन बाध्य छन् र बाध्य पारिएका छन् । यति मात्र होइन पितृसत्तात्मक संरचनाले महिलाहरूलाई मानसिक रूपमा दास बनाएको छ । गहना, चुरा, पोते, सिन्दुर जस्ता कुरालाई सौभाग्य सूचक बनाएर पतिको विशेष नासोको रूपमा जोगाएर राख्नुपर्ने कुराले हरबखत उनीहरूलाई मानसिक रूपमा लोग्नेप्रतिको सम्मान र दासता स्वीकार गर्न बाध्य बनाउँछ । किनकी यी चिजहरू एउटी महिलाले लोग्ने अर्थात् श्रीमान्को नाममा ग्रहण गरेकी हुन्छिन् ।

नेपाली समाजमा विद्यमान महिला हिंसाको मुख्य कारण लैङ्गिक विभेद हो भने लैङ्गिक विभेदको मुख्य कारण परम्परागत मान्यता हो । परम्परागत मान्यताको मुख्य कारण पुरातनवादी सोच हो भने यसको कारण भनेको पितृसत्तात्मक सामाजिक संरचना हो । यी उल्लेखित कुराहरूको अभिभावक वा संरक्षक भनेको अभौतिक संस्कृति हो जुन धार्मिक विश्वास र मूल्य–मान्यताबाट प्रेरित हुन्छ । यसरी समस्याको जड खोज्दै जाने हो भने हामी अवैज्ञानिक र तर्कहिन कुरिती, कुप्रथा र कुसंस्कारसम्म पुग्छौं जुन समाजका आस्था र विश्वासको रूपमा रहेका सांस्कृतिक तत्वहरू हुन् । उदाहरणको रूपमा नेपाली समाजमा रहेको ‘छोरा’ मोहलाई लिन सकिन्छ ।

नेपाली समाजमा एउटा अचम्मको छोरा मोह छ, जसले छोरीलाई शरीरकै एउटा अंश वा सन्तानको रूपमा कहिल्यै स्वीकार गर्दैन । हाम्रो समाजमा छोराको चाहना गर्नेको संख्या झण्डै–झण्डै शतप्रतिशत छ भन्दा अन्यथा नहोला । नगन्य संख्याका मानिसहरू छोरा र छोरीलाई समान दृष्टिले हेर्छन् । निरक्षर र पुरानो पुस्ता मात्र होइन शिक्षित र सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने ठाउँमा रहेका तथा नीति नियमको कार्यान्वयन गर्ने तहमा रहेका नयाँ पुस्ताहरूमा समेत छोरा मोह अचाक्ली देखिन्छ । हिजोका दिनमा छोरा जन्माउने आशामा धेरै छोरीहरू जन्मन्थे किनकी त्यसबेला प्रविधिको उच्चतम विकास भइसकेको थिएन, साथै मानिस इमान्दार र अज्ञानी थिए । छोरीलाई गर्भमै मार्ने बारेमा जानकार थिएन, मानिस । आजको अवस्था फरक छ । मानिस पढेलेखेका र शिक्षित छन् । निकै आदर्शका कुरा गर्छन् । प्रविधिको उच्चतम विकास भएको छ, तसर्थ सतही रूपमा खोक्रो आदर्श छाँट्ने पठित पुस्ता भित्रभित्रै कसरी छोरा जन्माउन सकिन्छ भन्ने कुराको योजना बनाउन तल्लिन छ । मानिसका इमान र नैतिकता कम हुँदै गएको छ । गर्भमै बच्चाको लिङ्ग पहिचान गरेर छोरा वा छोरी के छ भनी जाँच्ने र छोरी भएमा उक्त भ्रूणलाई मार्ने अर्थात् गर्भपात गराउने पछिल्लो पुस्तको बठ्याइँ देखिन्छ ।

कानुनले लिङ्ग पहिचान गरी गरिने गर्भपतनलाई अवैध र दण्डनीय भने पनि डाक्टर र पढेलेखेका कथित शिक्षितहरूको मिलेमतोमा लुकिछिपी, महिलालाई बाध्य पारी गर्भमै लिङ्ग जाँच गराउने र यदि छोरी भएमा गर्भपात गराउने कार्य विगत केही दशकदेखि हुँदै आएको छ । एउटा अबोध भ्रूण छोरीको अङ्ग लिएर उत्पत्ति हुँदैमा अत्यन्त निमर्म तरिकाबाट संसार हेर्नै नपाइ लोप हुन्छ । अहिलेको नेपाली समाजमा खासगरी शहर बजार क्षेत्रमा देशभित्रै र बाहिर समेत गएर हजारौंको संख्यामा छोरी भ्रूणहरूको हत्या भइरहेको कुराबाट देश, कानुन, समाज बेखबर छ किनकी छोरी हुनु पाप हो, अपराध हो । जसलाई छोराले जहाँ जस्तोसुकै अवस्थामा दण्डित गर्न सक्छ त्यसैले संसारमा ल्याएर बोझ गराउनुको सट्टा गर्भमै खत्तम गर्नु बहादुरी ठान्छ, कथित शिक्षित पुस्ता । कानुनी दायरामा ल्याउन उजुरी र प्रमाणको आवश्यकता पर्छ । उजुरी गर्ने हिम्मत न पीडित आमाले गर्छिन् न त देखेर पनि आँखा चिम्लने तपाईं–हामी । यसरी संरक्षित छ, लैङ्गिक हिंसा र शोषण हाम्रो समाजमा ।

छोरा मोहका केही कारणहरू छन् । वंश परम्पराको निरन्तरता, मरेपछि काजकिरिया गर्ने अधिकारी, पिण्डपानीको दाता, स्वर्गको ढोका उघारीदिने पात्र, आफूपछिको पुरुष उत्तराधिकारी (सम्पत्तिको हकवाला), बुढेशकालको सहारा, सामाजिक मान्यता, छोरीप्रतिको अविश्वास आदि नै छोरा मोहका कारण हुन् । पुरातनवादी सोच र धार्मिक विश्वासका कारण मानिसहरू यी र यस्तै तर्कहिन कुराहरूलाई बचाइरहन चाहन्छन् तब जीवित छ, उनीहरूमा छोरा मोह । यिनै कारणले उनीहरू कहिल्यै छोरीलाई छोराको दर्जामा राख्न तयार
हुँदैनन् । महिलाहरू जतिसुकै ठूलो पदमा पुगे पनि उनीहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसक्नु यस्तै कारण्हरूले गर्दा हो । केही वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विधवा’ जस्तो अपशब्दको प्रयोग गर्दै जनकपुरको जानकी मन्दिरमा प्रवेश गर्न रोक लगाइयो । यसैबाट प्रष्ट हुन्छ कति हदसम्म गढेर रहेको छ पुरुषवादी सोच र आधिपत्य ।

छोरीहरूमाथि हुने शारीरिक तथा यौनजन्य हिंसाको कारण भनेको पुरुषवादी सामाजिक प्रशिक्षण पनि हो । जबसम्म छोरीहरू छोराहरू जस्तै गरेर विनारोकतोक स्वतन्त्र रूपमा ठाडो शीर लगायत सडकमा रातविरात हिँड्न सक्ने अवस्था आउँदैन तबसम्म सम्झिनुस् पुरुषवादी सामाजिक प्रशिक्षण कहिल्यै मर्दैन ।

परम्परागत अवस्था र सामाजिक व्यवस्था जस्ताको तस्तै रूपमा नरहेको भए पनि सारगत रूपमा हेर्ने हो भने यो उस्तै छ । यद्यपी रूपमा भएको परिवर्तनलाई हेर्ने हो भने पछिल्ला केही दशक खासगरी वि.सं. २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनको सफलतापछि नेपाली समाजमा महिला सहभागिता, अधिकार र न्यायको क्षेत्रमा केही महत्वपूर्ण उपलब्धिहरू भएको कुरालाई नकार्न सकिन्न । विशेषतः महिलाको राजनैतिक सहभागिता पहुँच, रोजगारीमा आरक्षण, जनप्रतिनिधिका रूपमा महिलाको अनिवार्य उपस्थिति, पैतृक सम्पत्तिमा अधिकार, सुरक्षित गर्भपतनको अधिकार, आमाको नामबाट वंशज नागरिकता आदि जस्ता उपलब्धीहरू महिला सशक्तीकरणका लागि केही महत्वपूर्ण आधारहरू पक्कै हुन् । यति हुँदाहुँदै पनि यिनको कार्यान्वयन पक्ष निकै कमजोर र फितलो छ । अझै पनि राज्यसत्ताको उच्च तहमा रहेकाहरूलाई लाग्छ उनीहरूकै कारण मात्र महिलाले अधिकार प्राप्त गरेका हुन् र यसमा उनीहरूको खास निगाह भएको छ । महिला सामाजिक न्याय र समानताका हकदार हुन् भन्ने कुरा अझै समाजले बुझ्न सकेको छैन । उनीहरू पुरुष सरह हरेक कामका लागि सक्षम र योग्य छन् र त्यो अवसर उनीहरूले प्राप्त गर्नु पर्दछ भन्ने सकारात्मक सोचको विकास अझैसम्म पनि हुन सकेको छैन ।

औपचारिक प्रमाणपत्र प्राप्त गर्दैमा व्यक्ति र विद्यालय तथा विश्वविद्यालय खोल्दैमा राष्ट्र सभ्य हुँदैन । सामाजिक न्याय र समानताको दृष्टिकोणबाट सोच्न व्यक्ति शिक्षित भएर मात्र पुग्दैन उसको चेतनागत विचार र सोचमा परिवर्तन आउन आवश्यक हुन्छ । साक्षरताको दर बढ्दैमा जनतामा चेतनाको स्तर बढ्दैन, त्यसका लागि पनि मानिसको चिन्तन, सोच, व्यवहार आदि पक्षमा सकारात्मक दृष्टिकोण पैदा हुन जरुरी हुन्छ । यस्तो खाले परिवर्तन परम्परागत सामाजिक संरचनाको रूपान्तरणबाट मात्र सम्भव हुन्छ । संरचनागत रूपमा सामाजिक रूपान्तरण गर्न शैक्षिक संस्थाहरूको भूमिका मात्र पर्याप्त हुँदैन । संस्कृतिको रूपमा सदियौंदेखि समाजमा जरा गाडेर रहेका मान्यतागत कुराहरू र परम्पराजस्ता अमूर्त कुराहरूलाई रूपान्तरण र परिवर्तन गराउन राज्यशक्ति, नागरिक समाज, राजनैतिक संस्थाहरू सबै एकजुट भएर लाग्नुपर्ने देखिन्छ । यसका निम्ति सामाजिक, सांस्कृतिक तथा राजनैतिक सुझबुझका आधारमा संरचनागत सामाजिक रूपान्तरण गर्नुपर्ने हुन्छ ।

छोरी (महिला)को आवश्यकता महत्व, क्षमता, योगदान र अस्तित्वजस्ता कुराहरू व्यक्तिगत एवम् पारिवारिकदेखि समुदाय हुँदै सामाजिक तहमा बुझाउनु पर्छ । त्यसका निम्ति विद्यालयबाट भन्दा पहिला घरबाटै आमा, दिदी, बहिनी, भाउजुहरूको सम्मान गर्न र उनीहरूको कामको उचित मूल्याङ्कन गर्न सिकाइनु पर्छ । छोरा र छोरीको बीचमा गरिने फरक–फरक व्यवहारलाई हटाइनु पर्दछ । जसले जुन काम गर्न सक्छ वा जसलाई जुन

काम गर्ने मौका मिल्छ त्यही काम गर्न लगाउनु, सिकाउनु पर्छ । छोरा र छोरीले गर्ने भनी तोकिएका कार्य विभाजनलाई हटाउनु पर्छ । घरमा श्रीमान् (बाबु) ले श्रीमती (आमा)लाई काममा सहयोग, माया, आदर र प्रेरणा दिँदै छोरालाई आमा र दिदी बहिनीको सम्मान गर्ने कुरामा सांकेतिक रूपमा सचेत बनाउनु पर्छ । भनेर वा पढाएर भन्दा पनि आफैले गरेर (नमुना) छोराछोरीलाई उनीहरूको कर्तव्यको बोध गराउनु पर्छ । पुरानो पुस्तामा यस्तो परिवर्तन ल्याउन निकै समय लाग्छ तर बच्चादेखि नै सोच र व्यवहारमा परिवर्तन ल्याउन सजिलो हुन्छ । तसर्थ लैङ्गिक विभेद वा हिंसाको अन्त्य गर्न कानुनको प्रभावकारी कार्यान्वयन सँगसँगै संरचनागत सामाजिक परिवर्तन गर्न अतिआवश्यक हुन्छ । यसको सुरुवात परिवारबाट गरिनु पर्दछ भने त्यसपछि विद्यालय, समुदाय, संघसंस्था, सरकारी कार्यालय, राजनैतिक एकाइहरू र अन्य सार्वजनिक क्षेत्रबाट विशेष पहल गरिनु पर्दछ । यसमा अधिकारकर्मीहरू, शिक्षक र सामाजिक अभियन्ताहरूको भूमिका नमुना व्यक्तिको रूपमा रहनु पर्दछ ।

(लेखक मप विश्वविद्यालयका उपप्रध्यापक हुन् ।)

प्रकाशित मितिः   १६ मंसिर २०७५, आईतवार ११:४२