उत्कृष्ट विश्वविद्यालयः समृद्ध सुर्खेत

dd-दिनेश गौतम-
केही वर्ष अगाडि मात्रै मध्यपश्चिम विश्वविद्यालय स्थापनाको लागि सुर्खेतमा गरिएको बृहत ज्ञान महायज्ञमा त्यसको लागि आवश्यक रकम दान गर्न तयार माहोल र गरिएको दानको निकै ठूलो प्रशंसा भएको थियो । त्यसपछि पनि त्यस महायज्ञका वाचक पण्डित दिनबन्धु पोख्रेल अन्य स्थानमा समेत गएर यहाँको प्रशंसा गर्ने गरेको पनि हामीले सुन्दै आएका छौं । विश्वविद्यालय सुर्खेतमा स्थापना भएपछिको यसबाट प्राप्त खास लाभ यहाँका स्थानीय जनताले के लिनेछन् वा कुन रूपमा लिने छन् भन्दा पनि त्यसबेला विश्वविद्यालयको पक्षमा एउटा माहोल बनेको थियो र त्यो माहोल निकै बृहत बन्यो । ठूलो परिमाणमा चल तथा अचल सम्पत्तिको सङ्कलन भयो । त्यो उत्साहले गर्दा सम्बन्धित निकायमा पनि यो दबाब प¥यो किन जसरी पनि मध्यपश्चिम विश्वविद्यालयको स्थापना सुर्खेतमै हुनुपर्छ । भयो पनि
त्यसै । सुर्खेत शिक्षाको हव बन्नसक्ने भयो । अथक प्रयासकै कारण मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको पोल्टामा
प¥यो । मध्यपश्चिम विश्वविद्यालय स्थापनाको लागि छिमेकी जिल्लामा भएको विभिन्न सङ्घर्ष तथा राजनैतिक नेतृत्वको दबाबलाई सुर्खेती जनताको समर्पण र उत्साहले पराजित ग¥यो ।
ठूलै सपना बोकेर, धेरैको आशाको प्रतिविम्ब स्वरूप स्थापना भएको केही समयमा नै मध्यपश्चिम विश्वविद्यालय भित्रका केही गतिविधिका कारण विश्वविद्यालय भित्र र विश्वविद्यालय बाहिर जतासुकै विश्वविद्यालयको बारेमा नकारात्मक धारणा बन्दै गयो । जुन गतिमा विश्वविद्यालय अगाडि बढ्नुपर्ने थियो, त्यो गतिमा बढ्न सकेन । विश्वविद्यालयको कारण धेरै नै निराशा उत्पन्न भएको थियो आम जनमानसमा । तर विगत केही समयदेखि अधिकांश मानिसको नजरमा निकै सकारात्मक धारणा उत्पन्न गराउन सफल भएको छ, मध्यपश्चिम विश्वविद्यालय । विश्वविद्यालयमा भएका विभिन्न गतिविधिहरू जो विगतमा भएका थिए, ती सबैलाई लगभग मानिसले बिर्सिसकेका छन् र अहिले सबैले समृद्ध सुर्खेत निर्माणको लागि विश्वविद्यालय महत्वपूर्ण संयन्त्र सावित हुने दाबी गरिरहेका छन् र यो असम्भव पनि छैन ।
रोजगारको विषय पनि
मध्यपश्चिम विश्वविद्यालयको खास लाभ यहाँका स्थानीयले कसरी प्राप्त गर्नेछन् भन्नेहरूले अहिले विश्वविद्यालयमा आवश्यक प्राध्यापक र कर्मचारीको नियुक्ति प्रक्रियापछि केही न केही लाभको महसुस गरिरहेका छन् । आफ्नै घरका, आफ्नै छिमेकका, आफ्नै समाजका र आफ्नै वरिपरिका मान्छेहरू विश्वविद्यालयमा रोजगारी प्राप्त गरिरहँदा यहाँका मानिसहरूलाई यो महसुस हुन थालेको छ कि एउटा विश्वविद्यालयको स्थापनाले त्यस क्षेत्रको शिक्षाको पहुँचलाई मात्रै सकारात्मक योगदान गर्ने होइन कि विश्वविद्यालयमा रोजगारीको अवसर जस्ता अन्य सामाजिक आवश्यकता पूरा गर्न सकारात्मक योगदान गरेको छ । यो अनुभूति अहिले आएर मानिसले गरिरहेका छन् । पहिले पहिले हरेक चिया पसलमा, चौतारीमा, जमघटमा जताततै विश्वविद्यालयको कुरा निस्कियो कि मानिसहरू नाक खुम्चाउँथे । मानिसहरू सकेसम्म विश्वविद्यालयको आलोचना गर्थे । शब्दले भ्याएसम्म विश्वविद्यालयका कार्यकारी पदमा बसेकाहरूको आलोचना गर्थे । तर अहिले त स्थिति बदलिएको छ । लगभग स्थानमा विश्वविद्यालयले लिएको सकारात्मक पहलको प्रशंसा हुँदै आएको छ । यसको लागि वर्तमानमा जसले विश्वविद्यालयको सञ्चालनको नेतृत्व लिएका छन्, उनीहरूलाई प्रशंसाका पात्र हुन् ।
शिक्षा समाजको सबैभन्दा महत्वपूर्ण अङ्ग हो । शिक्षा समृद्धिको महत्वपूर्ण सूचक पनि हो । विश्वका धेरै देशहरूले शिक्षाकै कारण समृद्ध मुलुकको बाटो अङ्गालेका छन् । वर्तमानलाई हेर्ने हो भने नेपालको शिक्षाको स्थिति विस्तारै सुधारिदैं गएको छ । र हाम्रै क्षेत्रको स्थिति हेर्ने हो भने कर्णाली नदीको वरिपरि पर्ने अधिकांश जिल्लाहरूमा शिक्षाको स्थिति त्यति राम्रो छैन । यस्तो अवस्थामा सुर्खेतमा स्थापना भएको मध्यपश्चिम विश्वविद्यालयको अत्यन्त ठूलो भूमिका हुने कुरामा कुनै दुईमत छैन । विश्वविद्यालयमा लगभग विषयहरू र सम्पूर्ण तहसम्म अध्ययन गर्न सकिने हुँदा पनि विद्यार्थीहरूलाई उच्च शिक्षा वा सामान्य भन्दा अलि फरक विषय अध्ययन गर्न बाहिर जानुपर्ने बाध्यता हटाउन पनि मध्यपश्चिम विश्वविद्यालय उपयोगी हुने कुरामा कुनै शंका छैन । अबका केही वर्षभित्रै सुर्खेतका लभगभग घरहरूमा कम्तीमा एउटा त डिग्रीको सर्टिफिकेट हुनेछ । प्रत्येक घरका छोराछोरीहरू विद्यार्थीको रूपमा, प्राध्यापक रूपमा वा कर्मचारीको रूपमा कुनै न कुनै रूपमा विश्वविद्यालयसँग जोडिएका हुनेछन् । यो कल्पना गर्नसक्छौं हामी र यो सम्भव पनि छ हाम्रै पालामा ।
विश्वविद्यालयले लिने गति यसमा जनताले राख्ने चासोसँग पनि सम्बन्धित छ । यहाँका नागरिकहरू निरन्तररूपमा विश्वविद्यालयप्रति सकारात्मक सोचको विकास गर्दै विश्वविद्यालयक देशकै नमुना र उत्कृष्ट विश्वविद्यालय बनाउनका लागि आवश्यक सहयोग गर्न तयार छन् र रहनु पनि पर्छ । केही निजी क्षेत्रमा अध्ययन गराउँदै आएका व्यक्तिहरूले पनि त्यो भन्दा अधिक लाभ मध्यपश्चिम विश्वविद्यालयबाट प्राप्त गर्न सकिन्छ भन्ने धारणाको विकास गर्न सकिन्छ । विश्वविद्यालयले शैक्षिक र भौतिक विकासका लक्ष्यहरूसहित आफ्नो २० वर्षे रणनीतिक योजना पनि सार्वजनिक गरिसकेको छ । योजनाले निर्धारण गरेका लक्ष्यहरू अत्यन्तै राम्रा छन् । यदि बनाइएको योजनालाई कार्यान्वयन गर्न सकियो भने मध्यपश्चिमाञ्चल विश्वविद्यालय मुलुककै शीर्ष शैक्षिक केन्द्रको रूपमा स्थापित हुनेमा दुई मत छैन । तर योजना कार्यान्वयनमा विश्वविद्यालय नेतृत्वले कस्तो भूमिका खेल्दछ र आम नागरिक समाज र स्थानीयवासीहरूबाट कस्तो सहयोग प्राप्त हुन्छ त्यसले यसको भविष्य निर्धारण गर्दछ ।
शैक्षिक समृद्धिको लागि विश्वविद्यालय
शिक्षित समाजविनाको समृद्धि कल्पना गर्न पनि सकिदैंन । त्यसैले समृद्ध र सभ्य समाज निर्माणको पहिलो आधार भनेको नै शिक्षा हो । आम नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्न सकियो भने नागरिकका सोच, विचार र जीवनपद्धतिमा परिवर्तन आउँछ र घर, परिवार, समाज र हुँदै सभ्य राष्ट्र निर्माणमा टेवा पुग्दछ । त्यसैले हामीले समृद्धि र सभ्य समाजको निर्माणका लागि पनि शिक्षामा जोड दिनुपर्ने जरुरी छ । भौगोलिक र विकासका हिसाबले पिछडिएको मध्यपश्चिम क्षेत्रको समृद्धिको सूत्राधार मध्यपश्चिमाञ्चल विश्वविद्यालय बन्न सक्दछ । शिक्षाका साथसाथै त्यो शिक्षाले शिक्षा ग्रहण गरेको व्यक्ति कतिसम्म सहज जीवनयापनको लागि सक्षम हुन्छ, त्यो पनि मुख्य विषय हो । अर्थात् विश्वविद्यालयले सैद्धान्तिक शिक्षा भन्दा पनि प्रयोगात्मक शिक्षामा बढावा दिन आवश्यक छ । र यसको लागि मध्यपश्चिम विश्वविद्यालय सक्षम हुनेछ । सम्पूर्ण सरोकारवाला तथा शुभेच्छुकहरूको चाहना पनि त्यही नै हो । यस क्षेत्र विगतदेखि नै पिछडिएको क्षेत्रको रूपमा परिचित भए पनि अबको यस क्षेत्रको समृद्धिका महत्वपूर्ण आधारहरू मध्ये मध्यपश्चिम विश्वविद्यालय सबैभन्दा बलियो आधार बनेर आउनेछ, यसको अपेक्षा सबैले गरेकै छन् । विश्वविद्यालयसँग पनि सम्बन्ध राख्ने र यो सँगै विश्वविद्यालयको विरुद्धमा लाग्ने विभिन्न तह र तप्कामा रहेका व्यक्तिहरूलाई सकेसम्म सुधार्ने नत्र बढार्ने नीति लिएर विश्वविद्यालय अगाडि बढ्नुपर्दछ । दोहोरो लाभ लिने व्यक्तिहरू तथा विश्वविद्यालयलाई आफ्नो कमाइखाने भाँडो बनाउने व्यक्तिहरूबाट विश्वविद्यालय जोगाउनु पर्दछ । विश्वविद्यालयमा विगतमा भएका विभिन्न नकारात्मक घटनाहरू फेरि–फेरि नदोहोरिने किसिमले विश्वविद्यालय अगाडि बढ्नुपर्छ । आफ्नो नितान्त व्यक्तिगत स्वार्थका लागि विश्वविद्यालयलाई प्रयोग गर्ने व्यक्तिहरूको कारण स्थापनाको तीन चार वर्षसम्म विश्वविद्यालयले जुन गति लिनुपर्ने हो, त्यो गति लिन सकेन र अबको दिनहरूमा त्यो घटना हुनेछैन । विश्वविद्यालयले तीव्र गतिका साथ आफ्नै शैक्षिक पहिचान कायम राख्नेछ । विश्वविद्यालयको देशभरीमै एउटा अलग पहिचान हुनेछ र त्यो पहिचान सुर्खेत तथा प्रदेश नम्बर ६ लाई देशको समृद्धिको क्षेत्र बनाउनमा उपयोगी सिद्ध हुनेछ । हामी यही अपेक्षा गरौं ।

प्रकाशित मितिः   ३१ जेष्ठ २०७३, सोमबार ०५:५६