प्रहरी बन्छु भन्थें, स्वास्थ्यकर्मी भए“

सीता शर्मा वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखाकी सिनियर अनमी हुन् । वि.सं. २०३५ भदौ २९ गते बुबा नारायणप्रसाद शर्मा र आमा पार्वती शर्माको कोखबाट वीरेन्द्रनगरको मनिकापुरमा जन्मिएकी उनी वि.सं. २०६० सालदेखि स्वास्थ्य सेवामा प्रवेश गरेकी हुन् ।
शर्मा पेसाले स्वास्थ्यकर्मी भए पनि समाजसेवामा उत्तिकै सक्रिय छिन् । महिनावारी सरसफाई र पाठेघर क्यान्सरबाट किशोरी र महिलाहरूलाई बचाउन विद्यालय तथा आमा समूहहरूमा अभियान नै सञ्चालन गर्दै आएकी छिन् । एकाउन्टेबिलिटी ल्याबले हरेक वर्ष सरकारी सेवामा रही उत्कृष्ट काम गर्ने सरकारी कर्मचारीलाई प्रदान गर्ने इन्टिग्रिटी आइडलका लागि उत्कृष्ट पाँचभित्र पर्न सफल शर्माले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटिन्ः

आमाबुबा पढेलेखेको हुनुहुन्छ । परिवार शिक्षित छ । बुबा सरकारी कर्मचारी, आमा समाजसेवामा सक्रिय हुनुहुन्थ्यो । गाउँघरमा कसैलाई अप्ठ्यारो प¥यो भने आमालाई भन्ने गर्थे । आमाबुबाले हामीलाई पढाइमा नै केन्द्रित गर्नुहुन्थ्यो । पढाइ बाहेक घरमा आमालाई सघाउने गथ्यौं । खाना पकाउनेदेखि घरको अन्य कामहरू पनि गर्थें ।
म सानोमा अलि बिरामी भइरन्थें । विद्यालय जान समस्या हुन्थ्यो तर म पढाइमा अब्बल थिएँ । विद्यालयमा जाँदा मलाई म भन्दा ठूला दिदीहरूले बोकेर विद्यालय लैजान्थे । परीक्षामा सिकाइदिन्छे भनेर पनि म भन्दा ठूला दिदीहरूले मलाई बोकेर विद्यालय लैजानुहुन्थ्यो । मैले कक्षा एकदेखि तीनसम्म खजुरामा पढें । पढाइमा राम्रो भएकाले साथीहरूका साथै शिक्षकहरू सबैले माया गर्नुहुन्थ्यो ।
मेरो सानैदेखि चञ्चले, सबै साथीहरूसँग मिलनसार अनि सहयोगी स्वभाव थियो । आमाले अरुलाई सहयोग गरेको देखेर हामीले पनि अरुलाई सहयोग गर्नुपर्छ भन्ने भावना आउँथ्यो । आमा गाउँमा प्रौढ शिक्षा पढाउनुहुन्थ्यो । पढेलेखेको भएका कारण आमासँग केही भयो भने सल्लाह सुझाव लिन मानिसहरू आउँथे । आमा पञ्चायतकालमा चुनाव लड्नुभयो । आमालाई जिताउन प्रचार–प्रसार गर्न गाउँ–गाउँमा गएर घरदैलो गरेको सम्झना आउँछ । आमाको चुनाव चिन्ह मन्दिर थियो । हामीले आफै मन्दिरको चित्र बनाएर आमालाई भोट दिनुहोला भनेर भोट माग्यौं । रमाइलो लाग्थ्यो । आमाले जित्नु पनि भयो ।
सात कक्षादेखि अमरज्योति नेवारेमा पढें । त्यसभन्दा पहिला इत्राम पनि पढें । घरबाट जाँदा बाटोमा इत्राम खोला पथ्र्यो । पौडी खेल्ने गथ्र्यौं । मलाई पौडी खेल्न डर लागे पनि साथीहरूले जबरजस्ती पौडी खेल्न पठाउँथे । धकेल्दिन्थे । फोहोर पानीमा पौडी खेलेपछि शरीर चिलाउँथ्यो । अनि बालुवामा आएर खेल्थ्यौं । बदमासी काम भने कहिले गरेनौं । आमाबुबाले पढाईमा नै ध्यान केन्द्रित गराइदिनुहुन्थ्यो । बाल्यकाल रमाइलोसँग नै बित्यो ।
बाल्यकालमा चाडपर्व रमाइलो लाग्थ्यो । तिहारका बेलामा आमालाई गाउँमा रोटी पकाउन बोलाउँथे । हामी पनि आमासँगै पनि जान्थ्यौं । देउसी–भैलो खेल्ने, तिजका बेलामा रमाइलो गर्ने गथ्र्यौं । बाल्यकालमा महिला प्रहरी बन्छु भन्ने सपना देखेको थिएँ । किने भने कसैले पनि जाँडरक्सी खाएको मलाई मन पर्दैनथ्यो । त्यसैले प्रहरी बन्छु र सबैलाई पक्राउ गरेर थुन्छु भन्ने सोच आउथ्यो । एसएलसी पछि अनमि पढ्नका लागि निःशुल्क कोटा खुलेको थियो । परीक्षा दिएको नाम निस्किहाल्यो । त्यसपछि अनमी पढें । पछि लोकसेवाको तयारी गरेर परीक्षा दिएको नाम निस्कियो । क्याम्पसको पढाइलाई पनि निरन्तरता दिएँ ।
आमाले राम्रोसँग बोल्नुपर्छ, सबैसँग राम्रो व्यवहार गर्नुपर्छ भनेर सिकाउनुहुन्थ्यो । आमा कहिले काँही बाहिर जानुभयो भने म आउने बेला राम्रो बन्नु है भन्नुहुन्थ्यो । मैले बहिनी र भाइलाई तिमी भनेर बोलाउँथे । प्रायः बहिनी भाईहरूलाई तिमी भन्दैन्थे । हामीलाई जिस्काउने गर्थे । भाइ र बहिनीलाई पनि तिमी भन्ने भनेर जिस्काउँथे । आमाले बोलिभाषा राम्रो गर्नुपर्छ भनेर हामीले तिमी भनेर बोल्थ्यौं । सहयोगी हुनुपर्छ, राम्रो बोली व्यवहार गर्नुपर्छ भन्ने आमाकै प्रेरणाले समाजसेवामा रुचि बढ्यो ।

प्रकाशित मितिः   १० मंसिर २०७५, सोमबार १३:५६