ट्रयाक खुल्यो, गाडी गुड्ने कहिले ?

साझा बिसौनी संवाददाता
सुर्खेत, ४ मंसिर ।
थुप्रै चट्टान र भिरपाखा छिचोल्दै डोल्पा सदरमुकाममा सडक पुगेको छ । नेपाली सेनाले जिम्मा लिएको जाजरकोट–डोल्पा सडक खण्ड अन्तर्गत जाजरकोटको पासगाडबाट डोल्पाको त्रिपुराकोटसम्म ट्रयाक निर्माणको काम सम्पन्न भएसँगै डोल्पा सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो ।


निर्माण कार्य सुरु गरेको १४ वर्षपछि डोल्पा सदरमुकामसम्म ट्रयाक पुगेको छ । जिल्ला सदरमुकामसम्म राष्ट्रिय सडक सञ्जाल पु¥याउने सरकारी नीति अनुसार वि.सं. २०६१ सालदेखि सेनाले सडक निर्माण कार्य सुरु गरेको थियो । कूल एक सय १८ किलोमिटर लम्बाई रहेको उक्त सडक खण्डको सुपानीदेखि दुनैसम्मको १४ दशमलब तीन किलोमिटर सडक खण्डको कच्ची ट्रयाक यसअघि नै तत्कालीन जिल्ला विकास समितिले खुलाइसकेको थियो । बाँकी रहेको एक सय तीन किलोमिटर सडक नेपाली सेनाले निर्माण गरेको हो । पहिलो चरणमा सेनाले जाजरकोटदेखि काम थालेको थियो । तर विवाद सिर्जना भएपछि दुई वर्ष काम ठप्प भयो । दोस्रो चरणमा वि.सं. २०६६ सालदेखि डोल्पाको सुपानीबाट पुनः सडक निर्माणको काम सुरु भएको थियो । उक्त सडकको निर्माण सकिएसँगै डोल्पाको सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको हो ।
सदरमुकामसम्म सडक पुगेपछि संघीय सरकारका उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलवार सडकको औपचारिक रूपमा उद्घाटन गरेका छन् । सडक उद्घाटन भएसँगै डोल्पाको आन्तरिक आयमा वृद्धि हुनुका साथै सर्वसाधारणको दैनिकीमा समेत सकारात्मक प्रभाव पर्ने उनले बताए । ‘अब सडक जोडिएसँगै बाह्य जिल्लासँग सहज पहुँच हुनेछ’ उनले भने, ‘डोल्पाको मात्रै नभइ तपाईंहरू सबैको आर्थिक विकास हुन्छ ।’
सडकमार्गको पहुँच नपुगेका कारण डोल्पावासीले महंगो भाडा तिरेर हवाई यात्रा गर्नुपर्ने बाध्यता थियो । सडक निर्माण भएसँगै हवाई यातायातकै भर पर्नुपर्ने बाध्यता हट्ने भएको छ । जसले गर्दा यतिबेला डोल्वावासी हर्षित भएका छन् । ‘डोल्पाका भिरपाखा छिचोल्दै गाडी पुग्ला भन्ने डोल्पालीले सोचेका थिएनन् । तर ढिलोचाँडो गाडी चढ्न पाउने भएका छन्’ त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाले भने, ‘सडक सञ्जाल जोडिँदा यात्रा गर्नका लागि मात्रै सहज भएको छैन, डोल्पाको अर्थतन्त्रमा समेत यसले मद्दत मिल्नेछ ।’ अहिलेलाई ट्रयाक खोलिएको उक्त सडकमा गाडी सञ्चालन भए सस्तो मूल्यमा खाद्यान्न लगायतका सामग्रीसमेत उपभोग गर्न पाइने भएकाले पनि सर्वसाधारणमा खुशी छाएको उनले बताए । डोल्पामा उत्पादन हुने सिमी, फापर र स्याउले अब बजार पाउनेछ । ‘कृषि उत्पादनले बजार पाउन सकेको छैन, जसले गर्दा डोल्पालीको जीवनस्तर माथि उठ्न सकेन’ उनले भने, ‘सडक पूर्ण रूपमा निर्माण भए किसानले बारीमै मेहेनतको मूल्य पाउने छन्, अर्गानिक उत्पादन उपभोक्ताले उपभोग गर्नेछन् ।’
जिल्ला सदरमुकाम दुनै सडक सञ्जालमा जोडिए पनि अहिले नै उक्त सडकमा सवारी साधनहरू भने सञ्चालन हुने छैनन् । ट्रयाक खुले पनि सो सडक खण्ड अन्तर्गत पर्ने खोलाहरूमा पुल निर्माण नभएसम्म सवारीका साधन सञ्चालन गर्न कठिनाइ हुनेछ । अहिले खोलिएको ट्रयाकलाई तत्काल स्तरोन्नति गरेर नियमित सवारी सञ्चालन गर्न मिल्ने बनाउनुपर्ने स्थानीयवासीको माग छ । त्रिपुरासुन्दरीका प्रमख ओमबहादुर बुढाले तत्कालका लागि खोलाहरूमा बेलीब्रिज निर्माण गरेर भए पनि सडक नियमित सञ्चालनमा ल्याउनुपर्ने बताए । ट्रयाक खुले पनि गाडी गुड्ने निश्चित नभइसकेको भन्दै उनले जतिसक्दो छिटो डोल्पाबासीले गाडी चढेर प्रदेश राजधानी पुग्न सक्ने बनाउनुपर्ने उनको भनाइ छ । छलगाडबाट डोल्पा सदरमुकाम दुनैसम्मको सडक चालु आर्थिक वर्षभित्र नेपाली सेनाले नै स्तरोन्नति गर्नेछ । सेनाले राज्यको विकासका लागि सदैब लागि परिरहेको बताए । डोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य वीरबहादुर शाहीले सडक सञ्जालले डोल्पालाई छोएसँगै डोल्पालीले विकटताबाट मुक्ति पाएको बताए ।

प्रकाशित मितिः   ५ मंसिर २०७५, बुधबार १४:२७