डाक्टर बन्ने सपना अधुरो शिक्षक बनेर रमाउँदै

ईश्वरबहादुर शाही वि.सं. २०४९ साल असोज ४ गते अछामको तुर्माखाँद गाउँपालिका–८ मा जन्मिएका हुन् । बुबा धिरजबहादुर शाही र आमा देवीकला शाहीको कोखबाट घरको जेठो छोराको रूपमा ईश्वर जन्मिएका हुन् ।
जन्मस्थान अछाम भए पनि बुबा रोजगारीको शिलशिलामा भारत बस्ने भएकोले ईश्वर पनि भारतमै बसेर पढेका हुन् । प्राथमिक शिक्षा कैलालीको श्री कर्णाली राष्ट्रिय प्राथमिक विद्यालयमा पढेपछि भारतको हैदरावादबाट माध्यमिक तहको शिक्षा उनले लिएका हुन् ।
सानोमा डाक्टर बन्ने सपना भए पनि घरको कमजोर आर्थिक अवस्थाका कारण उनले आफूले चाहेको पढ्न पाएनन् । शिक्षण पेसामा आवद्ध भए । अब जीवनको अन्तिम रोजाइ नै शिक्षण पेसा हो भन्ने उनको बुझाइ छ । अमरज्योति नमुना माध्यमिक विद्यालय नेवारे चनौटेमा माध्यमिक तहमा कम्प्युटर विषय अध्यापन गराउँदै आएका उनले आफ्नो पेसागत जीवनका कथाहरू साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी सुनाएः

नेपालको विकटता भएको जिल्ला अछाममा जन्मिएको भए पनि भारतमा गएर माध्यमिक शिक्षा आर्जन गर्ने अवसर पाएँ । मैले कैलालीको कर्णाली राष्ट्रिय प्राथमिक विद्यालयमा प्राथमिक शिक्षा लिएँ तर द्वन्द्वको कारण नेपालमा पढ्ने वातावरण नभएपछि म पनि बुबासँगै भारत गएँ । बुबा भारतमै सानोतिनो काम गर्ने भएकोले मलाई पनि बुबाले पढाउने उद्देश्यले भारत लैजानुभयो ।
मैले भारतको हैदरावादमा सिटीमोडल हाइस्कुलमा पढें । वि.सं. २०६८ सालमा त्यहीबाट एसएलसी पास गरें । म त्यसपछि नेपालमा फर्किएँ । कैलालीको कालिका उच्च माध्यमिक विद्यालयमा व्यवस्थापन विषय लिएर पढेको हुँ । अहिले अमरज्योति नमुना उच्च माध्यमिक विद्यालयमा कक्षा ६ देखि १० कक्षासम्मका भाइबहिनीहरूलाई कम्प्युटर विषय अध्यापन गरिरहेको छु ।
म मध्यपश्चिमामञ्चल विश्वविद्यालयमा एमबीबीयस तेस्रो सेमेष्टरमा पढ्दै पनि छु । मैले शिक्षण गर्न थालेको लगभग दुई वर्ष भन्दा बढी भयो ।
सानोमा डाक्टर बन्ने एकदमै ठूलो सपना देखेको थिएँ । तर घरको आर्थिक अवस्था कमजोर थियो । बुबाको कमाइले जीविकोपार्जन गर्नै मुस्किल हुन्थ्यो । आर्थिक अभावका कारण मैले त्यो सपनालाई कुण्ठित पार्नुपर्ने भयो । जब म शिक्षण पेसामा संलग्न भएँ तबदेखि मलाई यही पेसा प्यारो लाग्न थालेको छ । मेरो जीवनको अन्तिम रोजाइको पेसा यही हुन्छ भन्ने मलाई लागेको छ ।
शिक्षणमा प्रवेश गर्दाका सुरुवाती दिनहरूमा म त्यति रमाउन सकिनँ । तर अहिले विद्यार्थीको माया पाउँदा एकदमै हौसला बढेको छ । अरु पेसा भन्दा शिक्षण पेसा एकदमै फरक मैले पाएँ । विद्यार्थी र अभिभावकको माया पाइने रहेछ । त्यो भन्दा पनि आफूले जानेका कुराहरू अरुलाई सिकाएर उनीहरूको भविष्य निर्माणमा योगदान दिन पाउनु पनि एउटा समाज सेवा जस्तै हो । मलाई शिक्षण पेसामा संलग्न भएदेखि यो पेसाप्रति गर्व लागेको छ । तर पहिले भने मैले शिक्षक बन्छु भन्ने सोचेकै थिएन ।
म मेरो पेसाप्रति एकदमै सन्तुष्ट छु । सानोमा मेरो स्वभाव अलि उच्छृखंल थियो रे । तर आजभोलि आफूलाई बुझ्ने भएदेखि शान्त स्वभावको भएको छु । उमेर अनुसार आफ्ना स्वभावहरू परिवर्तन गर्न सकिएन भने पनि प्रगतिको बाधक नै हुन्छन् ती स्वभावहरू । मलाइ पढाइ र आफ्नो पेसा बाहेक अरु कुनै पनि कुरामा रुची छैन । राजनीति, संगीत लगायतका क्षेत्रहरूलाई मैले सम्मान त गर्छु । तर मैले ती पेसाहरूलाई अपनाउन सक्दिन । बरु मलाई विशुद्ध रूपमा समाज सेवामा रुची छ । पाएँ भने शिक्षण पेसाकै माध्यमबाट समाजमा शिक्षाबाट वञ्चित भएकाहरूलाई शिक्षा प्रदान गर्ने मेरो लक्ष्य छ ।
विशेष गरी आजको युगमा कम्प्युटर शिक्षा एकदमै आवश्यकता बनेको छ । मैले कम्प्युटर विषय नै शिक्षण गर्ने भएकोले यो विषयले विद्यार्थीको जीवनमा केही ऊर्जा थप्छ भन्ने मलाई लाग्छ । मलाई पढाइ नै सबैभन्दा प्यारो लाग्छ । जीवनमा सम्झनै पर्ने दुःख परेको छैन । सानातिना कुराहरूलाई मैले दुःख सम्झेर आत्तिने पनि गर्दैन । खुशीको क्षण पनी खासै सम्झन लाएक छैन भन्दा पनि हुन्छ । मेरो बुबा बैदेशिक रोजगारीमा हुनुहुन्छ र आमा भने घरमै बस्नुहुन्छ । म शिक्षण पेशामा नै रमाइहेको छु ।

प्रकाशित मितिः   ५ मंसिर २०७५, बुधबार १४:२३